शब्दकोश कि अशुद्घिको ठेली ?

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोश (नवौं संस्करण, २०७२) ले नेपाली–भाषा जगतमा त्यसअघि कहिल्यै नदेखिएको आतङ्क सिर्जना गर्‍यो । त्यसले संयुक्ताक्षर लेख्नुको साटो व्यञ्जन वर्णको खुट्टा काट्नैपर्ने वा तान्नैपर्ने नियम लादेर शब्दकोशको मूल प्रविष्टिमै त्यस्ता रूप राख्यो । त्यस अनुसार ‘विद्या’ शब्द लेख्ता ‘विद्या’, ‘बुद्धि’ लेख्ता ‘बुद्धि’, ‘अङ्क’ लाई ‘अङ्क’, ‘उद्देश्य’ लाई ‘उद्देश्य’ र ‘चिह्न’ लेख्ता ‘चिन्ह’ आदि लेख्नैपर्ने बनाइयो ।

यसका साथै शुद्ध र सही हिज्जे भएका शब्दहरू (जस्तै अबीर, गरीब, कानून, नमूना, कोशिश, मुश्किल, चश्मा, सुझाव आदि) लाई शब्दकोशबाटै हटाएर तिनका स्थानमा हिज्जे बिगारिएका रूपहरू (जस्तै अबिर, गरिब, कानुन, नमुना, कोसिस, मुस्किल, चस्मा, सुझब आदि) जबर्जस्ती थोपर्ने काम पनि भयो । अघिल्ला संस्करणहरूको विकृतिको भारी त त्यसले बोकेकै थियो ।

यस प्रकार त्रिविवि नेपाली विभाग र पाठ्यक्रम विकास केन्द्र समेतको सहयोग र मिलेमतोमा नेपाल प्रज्ञा–प्रतिष्ठानको शब्दकोशमा वर्णविन्यास विकृत पार्दै अतिचार गर्न लागेपछि भाषाप्रेमी नेपाली–भाषा–प्रयोगकर्ताहरूको धैर्यको बाँध टुट्यो । वर्णविन्यासको विकृति विरुद्ध भाषा प्रयोक्ताहरू सशक्त आन्दोलनमा होमिन बाध्य भए । परिणामस्वरूप, नेपाली बृहत् शब्दकोशको (नवौं संस्करण, २०७२) लाई ‘सच्याउने’ भनी ‘खारेज’ गरेर दशौं संस्करण तयार गर्न प्रज्ञा–प्रतिष्ठान बाध्य हुनुपर्‍यो । दशौं संस्करणका लागि प्रतिष्ठानले कुलपतिको संयोजकत्वमा पाँच सदस्यीय ‘संशोधन समिति’ समेत गठन गरेर काम अघि बढाएको समाचार सार्वजनिक भयो ।

शब्दकोशमा रुचि राख्ने र एक्लो प्रयासले भए पनि अंग्रेजी र नेपाली शब्दकोशहरू तयार पार्ने काममा लागिआएको हुँदा, प्रज्ञा–प्रतिष्ठानले शब्दकोश सच्याउन के–कस्तो प्रक्रिया र कार्यविधि अपनाउँदो रहेछ भन्ने थाहा पाउन ममा तीव्र उत्सुकता थियो । त्यसको समाधान भने कतैबाट हुन सकिरहेको थिएन । यसैबीच एक प्रातःकालिक भ्रमणमा मेरो जम्काभेट गोपीकृष्ण शर्मासित भयो । उहाँ नेपाली बृहत् शब्दकोशको दशौं संस्करण संशोधन समितिका पाँचमध्ये एक सदस्य हुनुहुन्थ्यो । नमस्कार आदान–प्रदानपछि मैले जिज्ञासा राख्तै भनें, “ल, बन्धु ! नयाँ शब्दकोश छिट्टै प्रकाशित हुन लागेछ । तपाईं जस्ता विद्वान्ले संशोधन गर्दा शिष्टपरम्परा अनुकूल तथा नेपाली–भाषा–प्रयोगकर्ताहरूले स्वीकार्ने शुद्ध शब्दकोश आउला नि !”

तर, उहाँबाट जुन जवाफ आयो, त्यसले त मलाई तिरिमिरीझयाइँ पो पार्‍यो । उहाँको जवाफ थियो, “शब्दकोश कहाँ हेर्नु, संशोधन समितिको कागजमा सही गरेको मात्र न हुँ ।”

दशौं संस्करण (वि.सं. २०७५) बजारमा आइसकेपछिको कुरा हो— एक जना पाठकले सो शब्दकोशको पृष्ठ ११६९ मा रहेका (१) ‘विष्णुवाद’ र (२) ‘विष्णुवादी’ गलत प्रविष्टिमा परेको तस्वीर मोबाइलमा व्यापक बनाउनुभएछ । तदनुसार सो शब्दकोशमा ‘विष्णुवाद’ भनेको ‘विसङ्गतिवाद’ हो र ‘विष्णुवादी’ भनेको ‘विसङ्गतिवादी’ लाई भनिन्छ भन्ने अर्थ रहेछ ।

अलिक दिनपछि मैले उक्त संशोधन समितिका अर्का सदस्य डा. तुलसीप्रसाद भट्टराईलाई फोन गरेर उक्त कुराप्रति ध्यानाकर्षण गराई जिज्ञासा राख्तै भनें, “ल, डाक्टरसा’ब, तपाईं समेत लागेपछि त शब्दकोश शुद्ध, विवादरहित तथा सर्वस्वीकार्य हुनुपर्ने नि !” उहाँको जवाफ थियो, “तयार भएको शब्दकोश हेर्नका लागि तीन भाग लगाइएको थियो, एक भाग सरसर्ती त हेरियो, तर कुन चाहिं भाग हो हेक्का रहेन; गल्ती रहेको पनि देखिएन होला ।”
उहाँको जवाफले म स्तब्ध भएँ ।

पर्सिपल्ट मैले संशोधन समितिका अर्का सदस्य प्रा.डा. हेमनाथ पौडेललाई फोन गरेर जिज्ञासा राख्तै भनें, “ल, प्रा.डा.सा’ब, सच्याइने भनेको नेपाली बृहत् शब्दकोश (दशौं संस्करण, २०७५) कस्तो निस्केछ त ?”

उहाँको जवाफ थियो, “मलाई दिइएको भाग सरसर्ती त हेरेकै हो, तर गल्ती रहेको कुन चाहिं भाग हो र कसले हेरेको हो, भन्न सक्ने कुरै भएन । धेरै जनाले हेर्दा गल्ती रहन पनि सक्ने रहेछ । एक जनाले मात्र शिर–पुछार हेर्नुपर्ने रहेछ, तर त्यसो हुन सकेन ।”
उहाँको जवाफले म जिल्ल परें ।

त्यसको एक हप्तापछि संशोधन समितिका अर्का सदस्य प्रा.डा.कर्णाखर खतिवडालाई फोन गरें । उहाँले शब्दकोशमा परेको गलत सामग्रीको तस्वीर देखेको र गल्ती भएको स्वीकार्दै भन्नुभयो— ‘विष्णुवाद’ र ‘विष्णुवादी’ दुवै शब्द अप्रासङ्गिक हुन्, तर ती शब्द कसरी गलत स्थान र रूपमा रहे भन्न सकिंदैन । ती शब्द ‘विसङ्गत’ तथा ‘विसङ्गति’ भन्दा पछाडि आएकाले यहाँ अकारादिक्रम पनि भङ्ग भएको स्थिति छ ।

शब्दकोश संशोधन समितिका पदेन संयोजक कुलपतिबाहेक सो कामका लागि नियुक्त चारै जना विद्वान्सँगको यस्तो कुराकानीपछि म छाँगाबाट खसे जस्तो भएँ । शब्दकोश बनाउने वा संशोधन गर्ने भनिएका विद्वान्हरूले नै पूरै शब्दकोश एकचोटि समेत पढ्दै नपढी नयाँ संस्करण प्रकाशित गर्ने जानकारी मेरा लागि जति अप्रत्याशित थियो, त्रुटि र कमजोरीको जिम्मेवारी लिन कोही तयार नभएको अवस्था उत्तिकै स्तब्धकारी ! प्रज्ञा–प्रतिष्ठानले नै उहाँहरूलाई शब्दकोश छापिनुअघि पूरै हेर्न नदिने योजना बनाएको हो कि, पूरै नहेरे पनि हुने पूर्वसहमति भएको हो कि, पूरै हेर्न उहाँहरूले नै आवश्यक नठान्नुभएको हो कि, अनि आफ्नो भागमा परेको अंश समेत राम्ररी हेर्न जरूरी नसम्झ्नुभएको हो— केही बुझन, ठम्याउन, पर्गेल्न नसकेर म जिल्लाराम भएको छु । जेहोस्, यस प्रकरणबाट मलाई स्पष्ट भएको छ— नेपाल प्रज्ञा–प्रतिष्ठानको शब्दकोश सच्याउने तरीका ‘अजब प्रज्ञाको गजब चाला’ रहेछ ।

आफूले तयार गरेका अंग्रेजी तथा नेपाली व्याकरण, शब्दकोश आदिमा कहीं कतै कुनै त्रुटि नरहोस् भनेर लागे–पुगेसम्मको मिहिनेत गर्ने र कतै केही त्रुटि भइहालेछ भने त्यसको पूर्ण जिम्मेवारी लिनु सामान्य कर्तव्य भित्र पर्ने कुरा हो । चालीस–वर्षे लेखनकालमा म सदैव त्यही मान्यतामा अडिग रहन प्रयत्नशील छु ।
उक्त प्रकरणपछि मलाई प्रज्ञा–प्रतिष्ठानको शब्दकोशको दशौं संस्करण कस्तो भएको रहेछ त भन्ने हेर्न कुतकुती लाग्यो र प्रज्ञाबाटै किनेर ल्याई पाता पल्टाउन थालें । त्यो सरसर्ती हेराइमा ‘विष्णुवाद’ र ‘विष्णुवादी’ बाहेक आँखा बिझउने र खट्किने अरू पनि धेरै शब्द फेला परे । पर्याप्त समय दिएर साँच्चै अध्ययन गर्ने हो भने अरू के–कस्ता गल्ती र विसङ्गतिहरूको बिस्कुन फेला पर्ला, भनिरहनु परोइन । तीमध्ये केही हुन्—

घमण्ड    पृष्ठ २३    बायाँ स्तम्भ    छैटौं हरफ
घमन्ड    पृष्ठ ३४४    दायाँ स्तम्भ    १३औं हरफ  
घमन्डी    पृष्ठ ३४४    दायाँ स्तम्भ    २५औं हरफ  
अनिर्णित    पृष्ठ ३३    दायाँ स्तम्भ    २३औं हरफ  
आकाशफल    पृष्ठ ९४    बायाँ स्तम्भ    ११औं हरफ
कैलाश    पृष्ठ २४६    बायाँ स्तम्भ    १२औं हरफ  
कौसल्या    पृष्ठ २५४    दायाँ स्तम्भ    २१औं हरफ
दुखान्त    पृष्ठ ६१३    दायाँ स्तम्भ    ४३औं हरफ  
त्रूकरता    पृष्ठ ७०५    बायाँ स्तम्भ    ४४ औं हरफ
पेटे पम्प    पृष्ठ ८०१    बायाँ स्तम्भ    ४४औं हरफ  
फिर्तो    पृष्ठ ८१६    दायाँ स्तम्भ    २५औं हरफ  
राहतदानी    पृष्ठ १०७७    दायाँ स्तम्भ    ३३औं हरफ  
निष्कृय    पृष्ठ १२८९    दायाँ स्तम्भ    तेस्रो हरफ
स्नतपायी    पृष्ठ १३०९    बायाँ स्तम्भ    २५औं हरफ

उक्त शब्दहरूमध्ये ‘घमण्ड’ ‘घमन्ड’ तथा ‘घमन्डी’ जस्ता हिज्जे रहनु सम्पादकैपिच्छे फरक–फरक धारणा भएर गाईजात्रे अनेकरूप भएको हो कि ! ‘अनिर्णित’ र ‘त्रूकरता’ लाई ‘प्रुफ मिस्टेक’ भनेर पन्छाउन सकिन्छ । लेखिनुपर्ने शुद्ध रूप ‘अनिर्णीत’ र ‘क्रूरता’ हुन् । तर, शब्दकोशमा ‘प्रुफ मिस्टेक’ कति सहनीय हुन्छ ? जहाँसम्म ‘निष्कृय’ को कुरा छ, यो ‘कृ’ र ‘क्रि’ मा रहेको फरक छुट्ट्याउन नसकेको प्रमाण हो । ‘निष्क्रिय’ लाई ‘निष्कृय’ लेख्न थाल्ने हो भने ‘क्रीडा’ पनि ‘कृडा’ लेखिएला र ‘ग्रीष्म’ पनि ‘गृष्म’ होला ।

‘पेटे पम्प’ नेपालीले कहिल्यै नसुनेको उदेकको शब्द हो । ‘राहतदानी’ पनि त्यस्तै शब्द हो । ‘पेटे भोटो’ वा ‘पेट्रोल पम्प’ र ‘राहदानी’ वा ‘पीकदानी’ शब्दसँग त नेपाली भाषा परिचित छ । ‘विष्णुवाद’ र ‘विष्णुवादी’ पनि यस्तै शब्द हुन् । उक्त शब्दकोशले ‘पेटे पम्प’ लाई ‘बिक्री–वितरणका लागि पम्पमा डिजल, पेट्रोल आदि राखिएको स्थल’ भनेको छ भने ‘फिर्तो’ शब्दको अर्थ के होला ? ‘राहतदानी’ को अर्थ ‘पासपोर्र्ट’ भनेको छ । नेपाली भाषामा हुँदै नभएका शब्द राखेर यस्तो अर्थ दिनुलाई वmे भन्ने ? यसै गरी सो शब्दकोशमा ‘विष्णुवाद’ को अर्थ ‘विसङ्गतिमा विश्वास गर्ने एक वाद’ भनिएको छ भने ‘विष्णुवादी’ को अर्थ ‘विसङ्गतिवादमा विश्वास गर्ने’, ‘विसङ्गतिवादको अनुयायी’ भन्ने दिइएको छ । यसले भगवान विष्णु विसङ्गतिका पर्याय हुन् भन्ने कुत्सित मान्यता पाठकको मस्तिष्कमा आरोपित गर्न खोजेको देखिन्छ । ‘स्नतपायी’ को अर्थ ‘स्तनपान गर्ने’ भन्ने दिइएको छ । यस्तो अक्षम्य कृत्यको कुन शब्दमा भत्र्सना गर्ने ?

अब प्रश्न उठ्छ— विद्वान् तथा विदुषीलाई प्राज्ञ पदमा आसीन गराएर नेपाली भाषाको उत्कृष्ट शब्दकोश बनाउनका लागि नेपाली जनताले राष्ट्रलाई तिरेको रकमबाट करोडौं रुपैयाँ खर्चेर सच्याइएको भनिएको नेपाली बृहत् शब्दकोश (दशौं संस्करण, २०७५) को बेहाल देख्नुपर्दा (प्राज्ञ बाहेकका) निरीह नेपाली जनताले चाहिं अशुद्ध पुस्तक नै किनेर ज्ञानको भोक मेट्नुपर्ने ?

स्मरणीय त के छ भने कुनै व्यक्तिले लेखेको, सम्पादन वा प्रकाशन गरेको पुस्तकमा भरमार अशुद्धि रहेछ भने जनताले नै त्यस विरुद्ध कारबाही गर्छन्— अर्थात् उसको पुस्तक नबिकेर लगानी समेत डुब्छ । तर प्रतिष्ठानका पदाधिकारीले जस्तोसुकै गल्ती गरे पनि लाभको सुविधाबाट वञ्चित हुनुपर्दैन र गलत काम भएको देख्तादेख्तै पनि कुनै जिम्मेवारी लिनुपर्दैन । बौद्धिक सामग्री रहेको शब्दकोश नै प्रदूषित बनाउने पदधारीहरूले राष्ट्र वा संस्थालाई घरघरानाबाट भए पनि हर्जाना बुझउनुपर्ने होइन र ?

साथै, प्रज्ञा–प्रतिष्ठानले बेचेका अशुद्ध प्रतिहरू रेडियो, एफएम, टीभी, समाचारपत्र आदिद्वारा सूचना सार्वजनिक गराई ग्राहकहरूबाट फिर्ता लिएर सच्याउने र त्यसपछि ग्राहक सन्तुष्ट भए उनीहरूलाई नै फिर्ता दिने नत्र पुस्तक किनेबापतको रकम ग्राहकलाई नै फिर्ता दिनुपर्ने ‘विवेक’ सम्म त हुनुपर्ने होइन ? अनि, माथि उल्लेख भएका तमाम कृत्यहरूको पापमोचन हेतु आमजनतासित क्षमायाचना पनि गर्नुपर्ने हो कि !

अब दुई लाख शब्दको कोश निकाल्ने ‘हावादारी डीङ’ हाँकी हिंड्नुभन्दा मौजूदा ठेली दोस्रोपल्ट ‘साँच्चै सच्याएर’ विवादरहित बनाउनु चाहिं गुम्न लागेको ‘बाह्रवर्षे प्रतिष्ठा’ जोगाउने अचूक उपचार होइन र !

शिक्षक  मासिक, २०७६ कात्तिक अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial