बोक्सीलाई खाना

कुनै कम्पनी गाउँको जग्गा अधिग्रहण गर्न आएको छ र त्यहाँका बासिन्दाको उठिबास गराउन अनेक तिगडम गर्दैछ । यसबीच एक महिलाले गाउँलेलाई कानूनी सहायता गर्न खोज्दा उनलाई बोक्सी भनिन्छ र अनेक हल्ला फैलाइन्छ । यस्तो वेला गाउँकी फुच्ची ‘गुडिया’ ले कसरी ती हल्लाहरूको जाँच गर्छे र बोक्सी हुनु कुनै नराम्रो कुरा होइन रहेछ भन्ने निष्कर्षमा पुग्छे ? ग्रामीण जनजीवनसँग जोडिएकी, छिमेकी मुलुककी लेखिकाको कलमबाट संवेदनशील कथा ।

ल पछाडिबाट एउटा गोरेटो शुरू हुन्थ्यो, जो उसको घरमा पुगेर टुंगिन्थ्यो । र, बीच बाटोबाटै गुडियाले आफ्नो घरको ढोका देख्न सक्थी । त्यसदिन टाढैबाट उसले देखी, ढोकाभित्र कोही पाहुना छ । उसलाई थाहा थियो, आमा त चूल्हाको छेउमै बसेकी होलिन् । नयाँ मानिसको एउटा भाग मात्र देखिन्थ्यो— नीलो सारी र चोलो । तर उनले सारी जसरी लगाएकी थिइन्, त्यो उसकी आमा र अरूले लगाउने भन्दा फरक थियो । गुडियाले बुझिहाली, यो बाहिरबाट आएकी त्यही ‘बोक्सी’ हो जसले आमालाई दुःख दिइरहेकी छ ।

फुच्ची गुडिया सोच्न थाली, ‘त्यो कस्ती देखिन्छे होली ?’ उसले कल्पना गरिसक्न नभ्याउँदै बोक्सी उसका सामु आइसकेकी थिई । गुडिया त जिल्लै परी । बोक्सीले उसलाई आँखा झिम्क्याई अनि मुख बिगारेर जिस्क्याई । गुडिया अलमल्ल परी र अर्कातिर दगुर्न थाली । बोक्सी हाँसिरहेकी थिई, अनि भन्दैथिई, ‘नानु... किन भागेकी ?’

‘ए गुडिया, के भयो ? बौलाइस् कि क्या हो ? घर आइज’, आमाले भनिन् ।
गुडियालाई थाहा थियो, ऊ रमाइलो गर्न दगुरेकी थिई । बोक्सीले आँखा झिम्क्याएर र मुख बिगारेर जुन खेल शुरू गरेकी थिई, त्यसको जवाफमा । ऊ दगुरेर कतै गइन, अलि परबाट छेकारो मारेर पछाडिको ढोकाबाट घरभित्र पसी, पाहुनाको सामना नगरी सीधै आमासँग पुग्ने हिसाबले ।
ऊ गएर आमासँगै बसी र आफ्नो अनुहार आमाको पछाडि लुकाई, अनि अस्फुट स्वरमा सोधी, ‘को आएको ?’
‘पाहुना देखेर भाग्छन् त ?’ आमाले उसलाई पर्तिर ठेलिन् । तर गुडियाले आफ्नो मुख आमाको सारीको फेरमा लुकाई । ‘अरे, कहिल्यै लजाउँदिनथिस् त, आज के भो तँलाई ?’, आमाले उसलाई अलि पर धकेलेर सीधा बसाइदिइन् ।
पाहुनाले सोधिन्, ‘त्यसो भए तिमी गुडिया हौ ?’
‘गुडिया पनि र चन्दा पनि’, गुडियाले आमाको पछाडिबाटै जवाफ दिई ।
‘दुइटै नाम तिम्रै हुन् ?’
‘अँ’, उसले टाउको हल्लाई ।
‘त्यसो भए म तिमीलाई गुडिया भनूँ कि चन्दा ?’
‘गुडिया । तपाईं घरमा हुनुहुन्छ र गुडिया मेरो घरको नाम हो । स्कूलमा आउनुभो भने चन्दा भन्नु ।’
पाहुनाले हाँस्तै सोधिन्, ‘अब भन त गुडिया, तिमी मलाई देखेर किन भागेकी ? म डरलाग्दी छु ?’
गुडियाले ‘हो’ भन्ने आशयमा टाउको हल्लाई ।
‘म बोक्सी हुँ त ?’
गुडियाले फेरि त्यसैगरी टाउको हल्लाई । उसकी आमाले असजिलो मानिन् तर पाहुना हाँस्न थालिन् ।
‘यसका कुरामा नराम्रो नमान्नोस् है बहिनी, जे पायो त्यही बोलिरहन्छे ।’
‘मैले के बोलें ? मैले त टाउको मात्र हल्लाएको त हो नि !’
गुडियाका कुरा सुनेर आमा पनि हाँसिन् ।

गुडियालाई थाहा थियो, पहिले आमा हाँसेकी थिइनन्, किन भने त्यो कुरा साँचो थियो । तीन दिन अघि मात्र नेतीराम उनीहरूकहाँ आएको थियो र उसले आमालाई भन्दै गरेको गुडियाले सुनेकी थिईः ‘जानकी, किन तिमीले हामी सबैलाई अप्ठ्यारोमा पार्न खोजेकी ? किन आफ्नै समाजका विरुद्ध जान लागेकी ?’
‘मैले त कम्पनीका विरुद्ध मुद्दा हालेकी, समाजका विरुद्ध के गरें र ?’ आमाले झवाँक्किएर सोधेकी थिइन् ।
‘तिमी कम्पनीले तिम्रो जग्गा अरू कसैबाट गैरकानूनी तवरमा किनेको हो भन्ने साबित गर्न खोज्दैछ्यौ । उनीहरू हाम्रै मान्छे हुन् । तिनको केही दोष छैन । तिनले त त्यही गरेका हुन्, जो कम्पनीका मान्छेले भने ।’
‘त्यसो भए उनीहरूलाई नै भन न, मसँग मिलेर कम्पनीका विरुद्ध मुद्दा लडुन् । मलाई आफ्नो जग्गा जोगाउनबाट किन रोक्न खोजेका ?’
‘यो सब तिमी त्यही बोक्सीले उक्साएर गर्दैछ्यौ । त्यसका कुरा नपत्याऊ, त्यसलाई त आफ्नो गोजी भर्नुसँग मात्र मतलब छ । ऊ कम्पनीलाई ब्ल्याकमेल गर्न खोज्दैछे ।’
‘मलाई थाहा छ, को आफ्नो गोजी भर्न चाहन्छ ।’
‘अहिले त्यसले तिमीलाई उक्साएकी छे, त्यसैले तिमी आफूलाई निकै शक्तिशाली ठान्दैछ्यौ । तर त्यो चाँडै फर्किन्छे अनि तिमीले एक्लै कम्पनीसँग भिड्नुपर्छ । उनीहरूले तिमीलाई बर्बाद गरिदिन्छन् ।’
‘मलाई उसले मुद्दा हाल्न लगाएकी होइन । मैले नै ऊसँग मदत मागेकी हुँ । तिमीहरू कसैले मदत गरेनौ अनि उसकहाँ गएकी’, एक छिन रोकिएर आमाले ठूलो स्वरमा भनिन्, ‘मलाई मदत गुर्नको साटो तिमी मलाई धम्क्याउन आएका छौ, अप्ठ्यारो लाग्दैन तिमीलाई ? मेरो जग्गा जोगियोस् भन्ने चाहँदैनौं ? तिमी त हाम्रा मुखिया हौ, नेतीराम !’

‘मलाई थाहा छ, तिमीलाई आफ्नो जग्गा कति प्यारो छ भनेर । तर यो सब नाटक हो, कम्पनीबाट बढी पैसा धुत्ने बहाना । यसबाट तिमीलाई केही फाइदा हुनेवाला छैन । अहिले जति पाउने थियौ, त्यो पनि पाउने छैनौ ।... अनि त्यो बोक्सी वकील, या त त्यो मारिन्छे या जेलमा कोचिन्छे । ... तिमीले पनि होश गरिराख्नू ।’
नेतीराम हिंडेपछि आमाको अनुहार कठोर भएको थियो । उनी केही बोलिनन् ।

एक छिन पछि गुडिया पानी लिन ट्यूबवेलमा जाँदा नेतीराम आफ्ना मान्छेहरूसँग त्यतै आयो । गुडियाले उनीहरूलाई नदेखेजस्तो गरेर छिटछिटो ट्यूबवेल चलाउन थाली । नजीकै आएर नेतीरामले बल्ढ्यांग्रे आँखाले उसलाई हेर्‍यो र पानी माग्यो । ऊ हाँसेरै कुरा गर्दैथियो तर गुडियालाई उसको चालामाला ठीक लागेन । उसले टाउको हल्लाएर पानी नदिने संकेत गरी । अनि नेतीरामले जोडले हाँस्तै भन्यो, ‘आमा त बोक्सी बन्नै लागिसकी, तँ पनि बोक्सी बन्छेस् कि क्या हो ?’ गुडियाले सुनी, ऊ फर्कन लाग्दा आफ्ना मान्छेहरूसँग भन्दैथियो, ‘कुटी कुटी भगाउनुपर्छ बोक्सीलाई ।’

त्यो रात गुडिया डरले आमासँग लपक्क टाँसिएर सुती, तर नेतीरामले बिहान के भनेको थियो भनेर आमालाई बताइन । नेतीरामको कुराले ऊ डराएकी थिई, तर, सँगसँगै सोच्तैथिई— यदि बोक्सीले आमालाई कम्पनीसँग लड्न मदत गरिरहेकी छ भने त्यो त्यति खराब त पक्कै होइन होला । आखिर, उसले अरू गाउँलेलाई पनि त उनीहरूको जग्गा जोगाउन मदत गरिरहेकी छ । कम्पनीसँग लड्न सबैलाई मदत गर्ने मान्छेलाई नेतीरामले किन खराब भनेको होला !

गुडियालाई पनि कम्पनी मन पर्दैनथ्यो । त्यसले सडक दुवैतिरबाट बन्द गरिदिएको थियो, जसले गर्दा सँगैको अर्को गाउँ जाने बाटो नै छेकिएको थियो । दुवै गाउँ यति नजीकै थिए कि एउटै गाउँ जस्ता लाग्थे । अरू त अरू, दुवै गाउँको पोखरी पनि एउटै थियो, जहाँ उनीहरू नुहाउँथे, पौडी खेल्थे र लुगा धुन्थे । कम्पनीले बार लगाउन थाल्दा सबैले अचम्म मानेका थिए । गुडियालाई पत्यारै लागेको थिएन । के, कुनै कम्पनीले सिंगै गाउँ किन्न, कब्जा गर्न सक्छ ? मानिसको घर, बारी, खेत, उनीहरूका रूख, देउता सबैथोक ? अर्को गाउँका केटाकेटी पनि अब यता आउन नसक्ने भएका थिए, किन भने बाटो निकै लामो भएको थियो । पर कहाँ कहाँ पुगेर, घुमेर आउनुपथ्र्यो । तर... आउनु पनि किन पो पर्‍यो र अब त पूरै गाउँ नै खाली हुँदैथियो । घरहरू भत्काइँदै थिए । गुडियाका साथीहरू गाउँ छोडेर गइसकेका थिए । भन्न त तिनका आमाबाबुले ‘हामी आफ्नै मर्जीले जान लागेका’ भनेका थिए, तर उनीहरूको अनुहार उज्यालो थिएन ।


बोक्सीले सोधी, ‘तिमीहरूले के खेलेको ?’
गुडियाले जवाफ दिई, ‘गाउँबाजी । म खाना फकाउन लागेकी ।’
‘मलाई पनि पकाऊ है ?’
‘तपाईं के खानुहुन्छ ?’
‘तिमीले जे पकाउँछ्यौ त्यही खान्छु— दाल, भात, तरकारी ।’
‘तपाईं केटाकेटीलाई खानुहुन्न ?’
‘खान्नँ । म त कम्पनीका दलालहरूलाई मात्र खान्छु ।’


अर्धनिद्रामा पनि गुडिया त्यो आइमाईका बारेमा सोचिरहेकी थिई, जसलाई दिउसो नेतीरामले बोक्सी भनेको थियो । उसका अनुसार, त्यसले गुडियाकी आमालाई पनि बोक्सी बनाइरहेकी थिई र शायद गुडिया स्वयंलाई पनि ।...

आमा र बोक्सी कुरा गरिनै रहेका थिए । आमा ऊसँग एकदमै आश्वस्त देखिन्थिन् । एक छिन पछि छरछिमेकका अरू महिलाहरू पनि आए र कुरा गर्न थाले । उनीहरू भन्दै थिएः ‘हामीसँग जमीन बाहेक के नै छ र ... ? जमीन गयो भने हामीसँग के बाँकी रहन्छ ... ? तिम्रो जमीन तिम्रै हो ... ! आफ्नो जमीन कसैले खोस्न आँट्यो भने त्यसलाई रोक्नु तिम्रो अधिकार हो ... त्यो त गैरकानूनी काम हो ... उनीहरूले नक्कली मान्छे खडा गरेर जग्गा कब्जा गरे भनेर हामीले कसरी प्रमाणित गर्ने ... !’

गुडियाले उनीहरूको जम्मै कुरा त बुझ्नि तर उसलाई उनीहरूका बीचमा बस्न राम्रो लाग्यो । सुरक्षित लाग्यो ।
एक छिन पछि ऊ बाहिर निस्किई । एउटा रूखमुनि उसका साथीहरू ‘गाउँबाजी’ खेल्दैथिए । ऊ पनि त्यसमा शामेल भई । गुडिया र दुईजना साथी खेतमा काम गर्न गए, एकजना खानेकुरा पकाउन रूखमुनि बस्यो । खेल्दाखेल्दै गुडियाले आफ्ना साथीहरूलाई बोक्सीका बारेमा सोधी ।
‘कोही मान्छे बोक्सी हो कि होइन भनेर कसरी थाहा पाउने ?’
ठ्याक्कै कसैलाई पनि थाहा थिएन । सबैले सुनेको कुरा गरेः
‘पहिले पहिले बोक्सीका खुट्टा उल्टोतिर फर्केका, डोरीजस्ता मोटा र फोहोरी जगटा हुन्थे रे, तर आजभोलि उनीहरू पनि चलाख भएका छन् अरे ! उनीहरू पनि अरू जस्तै देखिन्छन्, कसैले छुट्याउन सक्तैन अरे !’
‘तर उनीहरूको गन्ध फरक हुन्छ अरे !’
‘उनीहरूको पिसाब रातो हुन्छ अरे !’
‘कसरी ?’
‘उनीहरूले रगत चुस्छन् नि त, त्यही भएर ।’
एक छिन पछि उनीहरूले आफ्नो भूमिका बदले । गुडिया रूखमुनि खाना पकाउन थाली । अरू साथी खेतमा काम गर्न गए ।
गुडियालाई जे पनि शुरूदेखि गर्न मन लाग्छ । उसले पहिलेको चूल्हो भत्काई र नयाँ चूल्हो बनाई । तीनवटा ईंटा र अलिकति माटो । चूल्हो बनिसक्ता नसक्तै उही बोक्सी त्यहाँ आइपुगी । हेर्दा त अरू आइमाई जस्तै देखिन्छे, तर बोक्सी जस्तै ठ्याक्कै अगाडि आइपुग्छे । गुडियाले सुनेकी थिई— बोक्सीले आएर तिम्रो टाउकामा ‘फू’ गरेर फुकी भने तिमी पनि बोक्सी हुन्छ्यौ ।
बोक्सीले सोधी, ‘तिमीहरूले के खेलेको ?’
गुडियाले जवाफ दिई, ‘गाउँबाजी । म खाना फकाउन लागेकी ।’
‘मलाई पनि पकाऊ है ?’
‘तपाईं के खानुहुन्छ ?’
‘तिमीले जे पकाउँछ्यौ त्यही खान्छु— दाल, भात, तरकारी ।’
‘तपाईं केटाकेटीलाई खानुहुन्न ?’
‘खान्नँ । म त कम्पनीका दलालहरूलाई मात्र खान्छु ।’
बोक्सी अलिक पर गई र एउटा रूखमा छेलिएर पिसाब गर्न थाली । ऊ फर्केपछि गुडिया हतारहतार त्यहाँ पुगी, जहाँ उसले पिसाब गरेकी थिई । त्यहाँको माटो कालै थियो, ऊ अथवा उसका साथीहरूले पिसाब फेर्दा जस्तो । बोक्सीले रगतको पिसाब गर्ने भए त त्यहाँ रातो हुनुपर्ने !
उसको त जीउको गन्ध पनि फरक थिएन ... गुडिया सोच्न थाली ।
गुडिया र उसका साथीहरू फेरि खेल्नमा व्यस्त भए । कति काम थियो— घर बनाउनु थियो, लिपपोत गर्नु थियो, खेत जोत्नु थियो, धान रोप्नु थियो, खाना पकाउनु थियो, खानु थियो । खेल निकैबेर चल्यो अनि साथीहरू फर्कन थाले, किन भने आज कुनै अर्को गाउँबाट आएको टोलीले नाच देखाउने कार्यक्रम थियो । गुडियालाई पनि त्यहाँ जानु थियो ।

बोक्सी घरभित्रै थिई । एक छिन उसलाई पर्खेपछि गुडिया घरभित्रै पुगी । देखी— ऊ त आमासँगै बसेर खाना खाइरहेकी छ ।
गुडियाले भनी, ‘मैले पकाएको खाना के गर्ने ? यहीं खाने भए मलाई किन खाना पकाउन लगाएको ?’

‘ला, हो त !’ बोक्सी चुकचुकाई । अनि भनी, ‘गल्ती भयो नानू । नरिसाऊ है । पहिले यो खाना खाइसकूँ, अनि आएर तिम्रो खाना पनि खान्छु है !’
गुडिया मुख फुलाएर ठुस्स पर्दै बाहिर निस्की । उसलाई लाग्यो, ठूला मान्छे यस्तै हुन् । जे भन्छन् त्यो गर्दैनन् । एक थोक गरिदिन्छु भन्छन्, अनि बिर्सन्छन् ।
उसले बोक्सीलाई पस्किदिएको खाना हेरी— जुनेलोको भात थियो, मसीना ढुंगाको आलुको तरकारी थियो, ससाना सेता फूलको अचार थियो, हरिया पातलाई काटेर गोलो बनाएको रोटी थियो, कालो दाल पनि थियो ।

यत्तिकैमा पल्लो टोलमा बाजा बज्न थाल्यो । गुडियाले थाहा पाइहाली– नाच शुरू हुन लाग्यो । कतिन्जेल बोक्सीलाई पर्खेर बस्नु ? ऊ फेरि घरभित्र पसी र भनी, ‘म नाच हेर्न जान्छु । तपाईंको खाना इनारको छेउमा राखिदिएकी छु ।’

बोक्सीको जवाफ नपर्खीकन ऊ फटाफट हिंडिहाली । उसलाई रीस पनि उठेको थियो— खाना पकाऊ भन्ने, खान चाहिं नआउने ! आ... जेसुकै गरोस्, खाए खाओस्, नखाए नखाओस् । मलाई के मतलब ?
नाच रमाइलो थियो । फर्कंदा दिन ढल्किसकेको थियो । गुडियाले देखी— घरमा कोही छैन । ढोका बन्द छ ।
ऊ छिमेकीकहाँ गई ।

‘तिम्री आमा शहर गएकी छन्; वकील दिदीसँगै, मुद्दाको काममा । भोलि बिहान आउँछिन् ।’
गुडियाले कुरा बुझ्ेको देखाउन टाउको हल्लाई । उसले बुझ्सिकेकी थिई, आज राति छिमेकी काकीकहाँ नै सुत्नुपर्छ ।
‘म घर गएर आफ्नो कापी लिएर आउँछु है !’ ऊ फर्कन थाली ।
‘बारीबाट अलिकति टमाटर पनि लिएर आऊ है’, पछाडिबाट काकीले भनिन् ।
जब गुडिया आफ्नो बारीमा पुगी, रूख मुन्तिर रातो वस्तु देखी । भाँच्चिएको प्लास्टिकको प्लेट त्यहाँ धोईपखाली गरेर राखिएको थियो । यो त्यही प्लेट थियो, जसमा उसले बोक्सीलाई खाना पस्केकी थिई । खाना खाइसकिएको रहेछ— भात, दाल, रोटी, तरकारी, अचार सबै । प्लेटमाथि एउटा फूल राखिएको थियो । सँगै सानो ढुंगाले थिचेर राखिएको एउटा कागज पनि, जसमा लेखिएको थियो, ‘खाना ज्यादै मीठो थियो । प्यारी गुडियालाई बोक्सीको धेरै माया ।’
टमाटर लिएर काकीको घरतिर जाँदा गुडिया सोचिरहेकी थिई— बोक्सी दिदी अब कहिले आउने हुन् ... ! नेतीरामले भनेजस्तै म पनि बोक्सी भएँ भने खासै नराम्रो त केही नहुने रहेछ ! ! 

साभारः सन्दर्भ, पूर्णाङ्क ११६

भाषान्तरः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial