‘गाउँमा धेरै नराम्रो हुनेवाला छ’

‘मलाई एक किलो मासु देऊ त । ... होइन, दुई किलो नै तौलिदेऊ ! गाउँमा के–के नराम्रो हुनेवाला छ भन्ने सुन्दैछु; के हो, के हो !’

उटा सानो गाउँको कुरा हो, जहाँ एकजना बूढी आमा पनि बस्छिन् । उनका दुई केटाकेटी छन् । एउटा १७ वर्षको, अर्की १४ वर्षकी । उनी खाना पस्कँदैछिन् र उनको अनुहारमा चिन्ताका गाढा रेखा स्पष्ट देखिएका छन् । केटाकेटीले ‘के भयो ?’ भनेर सोध्छन् । उनी भन्छिन्, ‘मलाई थाहा छैन । तर किन किन यो गाउँमा केही नराम्रो हुन्छ जस्तो लाग्न थालेको छ । धेरै नराम्रो हुन्छ होला । यही चिन्ताले राति निद्रा पनि राम्ररी परेन ।’
आमाका कुरा सुनेर छोराछोरी हाँस्छन् ।

भनिन्छ, जे हुनेवाला छ त्यसको पूर्वाभास बूढाबूढीलाई हुन्छ । छोरो गाउँको एकमात्र पूल सेन्टरमा पूल खेल्न जान्छ । एउटा निक्कै सजिलो बल प्वालमा खसालेर जित्नै लागेको वेला अर्को खेलाडीले प्वाक्क भनिदिन्छ, ‘ल, एक पेसो (कोलम्बियाली मुद्रा) बाजी भो, तैैंले यो बल छिराउन सक्तैनस् ।’ वरिपरिका सबैजना हाँस्छन् । ऊ पनि हाँस्छ । बललाई लठ्ठीले ठेल्छ, नभन्दै बल प्वालमा छिर्दैन । बाजीको एक पेसो तिर्छ । सबैजनाले एकैचोटि सोध्छन्, ‘के भयो हँ, तलाई ? त्यति सजिलो बल पनि नछिराएको ?’ ऊ भन्छ, ‘खै, के भो, के भो । आज बिहान आमाले ‘यो गाउँमा धेरै नराम्रो हुनेवाला छ’ भन्नुभएको थियो, मेरो मनमा पनि त्यही कुरा खेलिरहेको थियो ।’

सबैजना उसको कुरा सुनेर हाँस्छन् । बाजी जित्ने केटो आफ्नो घर फर्कन्छ, जहाँ उसकी आमा र परिवारका सदस्य छन् । एकजना छिमेकी महिला पनि आइपुगेकी हुन्छिन् । पेसो देखाउँदै केटो भन्छ, ‘मैले दामासोसँग सजिलै बाजी जितें, किन भने त्यो मूर्ख हो ।’

‘कसरी ?’
‘उसले असाध्यै सजिलो बल पनि छिराउन सकेन । किन त भने, उसकी आमालाई यो गाउँमा धेरै नराम्रो हुन्छ भन्ने लागेको छ रे अनि त्यो कुरा उसको दिमागमा खेलिरहेको थियो अरे ।’

केटाकी आमा भन्छिन्, ‘बूढाबूढीका कुरालाई ख्यालठट्टा नठान् है । कहिलेकाहीं त साँचो पो हुन्छ त !’

छिमेकी महिला एकछिन पछि उठेर हिंड्छिन् । उनलाई मासु किन्न जानुछ । बगरेकहाँ पुगेर भन्छिन्, ‘मलाई एक किलो मासु देऊ त । ... होइन, दुई किलो नै तौलिदेऊ । गाउँमा धेरै नराम्रो हुनेवाला छ भन्ने सुन्दैछु; के हो, के हो ।’

बगरेले उनलाई मासु दिन्छ । त्यसपछि मासु किन्न आएकी अर्की बूढी महिलालाई भन्छ, ‘तपाईं पनि दुई किलो नै लैजानोस् है । किनभने, मानिसहरू गाउँमा धेरै नराम्रो हुनेवाला छ भनेर सरसामानको जोहो गर्दैछन् ।’

बूढी महिला भन्छिन्, ‘मेरा त धेरै बालबच्चा छन् । यसो गर, मलाई चार किलो मासु तौलिदेऊ ।’
उनी चार किलो मासु लिएर जान्छिन् ।

कथा नतन्काउने हिसाबले भनिदिन्छु, बगरेको जम्मै मासु आधा घण्टामा सकिन्छ । ऊ अर्को गोरु काट्छ, त्यो पनि एक छिन पछि सफाचट हुन्छ र गाउँमा नराम्रो हुने हल्ला तीव्र गतिमा फैलिंदै जान्छ । यस्तो समय आउँछ, जब सबै गाउँले गाउँमा ‘केही हुने’ प्रतीक्षा गर्न थाल्छन् । उनीहरूका गतिविधि मानौं पक्षघातले थलिन्छन् ।


गाउँ छोडेर हिंड्नेहरूको जत्थामा अनिष्टको पूर्वाभास गर्ने ती वृद्घ महिला पनि मन्द गतिमा पाइला चाल्दै हुन्छिन्। उनी भन्छिन्, ‘मैले त भनेकै थिएँ नि, हाम्रो गाउँमा धेरै नराम्रो हुनेवाला छ भनेर, तर त्यसवेला मलाई कसैले पत्याएनन्, उल्टै बौलाहीसम्म भने !’

एकदिन दिउसो दुई बजेपछि, सधैं झैं गर्मी चर्किन्छ । कसैले भन्छ, ‘ख्याल गरेको हो; कस्तो गर्मी छ आज ?’
त्यसो त त्यो गाउँमा सधैं चर्को गर्मी हुनेगथ्र्यो । गर्मी कस्तो भने, ढोलवालाहरूले ढोललाई मोटो कपडाले छोपेर राख्थे र छायामा राखेर बजाउँथे । किन भने, घाममा निकाल्दा ढोल नै पग्लिन थाल्थ्यो ।

‘कुरै नगर’, अर्को कसैको बोली सुनिन्छ, ‘यस्तो गर्मी त कहिल्यै भएको थिएन ।’
‘तर दिउसो दुई बजे त बढी गर्मी हुने वेला नै हो नि, होइन र !’
‘हो । तर अहिले जति गर्मी त होइन नि !’
सुनसान जस्तो लाग्ने गाउँको चकमन्न खुला डबलीमा अकस्मात् एउटा सानो चरो कतैबाट आएर बस्छ । कसैले भन्छ, ‘डबलीमा एउटा चरो आएर बसेको छ ।’ गाउँभरि यही हल्ला फैलिन्छ ।
सिंगो गाउँ डरले काम्दै त्यो चरा हेर्न हिंड्छ ।
एकजनाले भन्छ, ‘साथीहरू, चरा त डबलीमा सधैं आउँथे नि, होइन र ?’  
थुप्रैले तुरुन्तै उसलाई छोप्छन्, ‘तर यसवेला कहिल्यै आउँदैनथे ।’
गाउँलेहरूका बीच तनावको यस्तो क्षण आइपुग्छ, जब हरेक व्यक्ति गाउँ नै छोडेर हिंड्नका निम्ति बेचैन हुन्छ, तर त्यसो गर्ने साहस जुटाउन सक्तैन ।
‘ममा छ हिम्मत’— अकस्मात् कोही चिच्याउँछ, ‘म त हिंडें ।’ आफ्ना सरसामान, केटाकेटी र जनावरलाई एउटा ट्रकमा हालेर ऊ त्यही बाटोबाट हिंड्छ, अरू सबैले उसलाई हेरिरहेका हुन्छन् ।

यसैबीच अरूले पनि भन्न थाल्छन्, ‘त्यो त गाउँ छोडेर हिंड्न सक्छ भने हामी किन नसक्ने ? हामी पनि हिंड्छौं ।’

साँच्चै सबैजना क्रमशः गाउँ छोडेर हिंड्न थाल्छन् । परिवार, सरसामान, वस्तुभाउ सबै लिएर । सबैभन्दा पछिल्लो समूहमा रहेको एउटालाई लाग्छ, ‘कतै यो अभिशापको असर मैले घर–घरमा छोडेका सामानमाथि परेर त्यसले मलाई नपछ्याओस् । के हो, के हो !’ अनि उसले आफ्नो घरमा आगो लगाइदिन्छ । त्यो देखेर अरूले पनि आआफ्नो घरमा आगो लगाउँछन् र भयंकर अस्तव्यस्ततासँग यसरी दगुर्न थाल्छन्, मानौं कुनै युद्धका लागि प्रस्थान गरिरहेका छन् ।
गाउँ छोडेर हिंड्नेहरूको जत्थामा अनिष्टको पूर्वाभास गर्ने ती वृद्ध महिला पनि मन्द गतिमा पाइला चाल्दै हुन्छिन् । उनी भन्छिन्, ‘मैले त भनेकै थिएँ नि, हाम्रो गाउँमा धेरै नराम्रो हुनेवाला छ भनेर, तर त्यसवेला मलाई कसैले पत्याएनन्, उल्टै बौलाहीसम्म भने !’

कोलम्बियाली साहित्यकार गाब्रियल गार्सिया माक्र्वेज (सन् १९२७–२०१४) साहित्यतर्फको नोबल पुरस्कार (१९८२) विजेता हुन् ।
साभारः सन्दर्भ, पूर्णाङ्क १२३

commercial commercial commercial commercial