अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको सन्देश

आजका बालबालिकाको जीवन र जीविकालाई समृद्ध बनाउनका लागि गुणस्तरीय शिक्षण अपरिहार्य छ । नेपालको संविधानले परिकल्पना गरेको अधिकारमा आधारित आधारभूत तहसम्मका लागि अनिवार्य तथा निःशुल्क गुणस्तरीय शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको सुनिश्चितताका लागि नेपालले गर्नुपर्ने धेरै कार्यहरूको फेहरिस्त हाम्रो अगाडि छ ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य–४ (एसडीजी–४) मा नेपालले गरेको प्रतिबद्धता र नेपालको विद्यालय शिक्षा विकासका लागि सरकारले आवधिक योजना, विद्यालय क्षेत्र विकास योजना र अन्य नीतिगत दस्तावेज मार्फत तय गरेका लक्ष्यहरूलाई समेत ध्यानमा राख्दै शैक्षिक रूपान्तरणका लागि नीति/निर्माण तहदेखि विद्यालय तहसम्म गरिनुपर्ने शैक्षिक सुधारका उपायहरूको पहिचान गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको सहकार्यमा २०७६ भदौ ७–९ मा ललितपुरमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनलाई एउटा सकारात्मक कदमको रूपमा लिन सकिन्छ । यस सम्मेलनबाट प्राप्त सिकाइहरू व्यवहारमा लागू गर्न सके नेपालको विद्यालय शिक्षालाई प्रवद्र्धन गर्न धेरै समय लाग्ने देखिंदैन ।

गुणस्तरीय शिक्षाकै बलमा मात्र नेपालले सन् २०३० सम्म मध्यम आय भएको मुलुकको अवस्थामा पुग्नका लागि सार्थक कदम चाल्न सक्दछ । सार्वजनिक शिक्षाको सुदृढीकरणमा यस्ता सम्मेलनहरू आयोजना हुने र केही विषयवस्तुहरू सिकिने भए पनि प्राप्त सिकाइलाई व्यवहारमा उतार्न सकिएन भने सम्मेलनले वास्तवमै सार्थकता पाउन सक्दैन । यी विषयमा सरकारको विशेष ध्यान पुग्नु जरूरी देखिन्छ ।

सिकारु–केन्द्रित शिक्षाको सुनिश्चितताका लागि आयोजना भएको उक्त शिक्षा सम्मेलनमा छलफलका लागि निम्न ६ वटा मुख्य उप–शीर्षक भित्र रही विषयवस्तुहरू तय गरिएका थिएः १. सिकारु–केन्द्रित प्रारम्भिक बाल विकास शिक्षा, २. गरेर सिक्ने शैली, ३. नेतृत्वको भूमिका, ४. शिक्षामा लगानी, ५. शिक्षामा निजी क्षेत्र र ६. दिगो विकासका लागि शिक्षा ।

सम्मेलनका मुख्य उद्देश्य निम्नानुसार तय गरिएका थिए:

–  गुणस्तरीय शिक्षाका साथै स्थानीय र विश्वका अनुभवहरू आदान–प्रदान गर्नु,
–  विद्यालयका सफल अभ्यासलाई संस्थागत गर्नु
–  संघ, प्रदेश र स्थानीय सरकारको समन्वयात्मक भूमिका सुदृढ बनाउने उपाय खोज्ने,
–  आशालाग्दा र उत्कृष्ट अभ्यासको प्रदर्शन र दस्तावेज तयार पार्ने,
–   गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरोकारवालाको सञ्जाल विकास गर्ने,
–   शिक्षाको सुधारका लागि विकास साझेदार, स्थानीय समुदाय, विद्यालय व्यवस्थापन,
–   शिक्षक समेत प्रमुख सरोकारवालाको भूमिका स्पष्ट पार्ने र प्रारम्भिक बाल विकास शिक्षाको मानक निर्धारण गर्दै सिकारु–केन्द्रित शिक्षाको सुनिश्चितताका लागि प्रतिबद्धता व्यक्त गर्ने ।

उपयुक्त अपेक्षा साथ सञ्चालन भएको अन्तर्राष्ट्रिय सम्मेलनले शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई आफ्नो अनुभव र ज्ञान आदान–प्रदान गर्नका लागि एउटै साझ मञ्चमा उभ्यायो । यसले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासकर्ता र विशेषज्ञहरूलाई समतामूलक, गुणस्तरीय शिक्षा, सान्दर्भिक शिक्षण र सिकाइका सम्बन्धमा ज्ञान र सीप आदान–प्रदान गर्ने अवसर प्रदान गर्‍यो । शिक्षाको गुणस्तर सुधारका लागि सामुदायिक–निजी साझेदारीको आवश्यकता पनि महसूस गराएको छ । यी सिकाइ र अनुभवलाई आत्मसात् गर्दै सबै सरोकारवालाबाट आ–आफ्नो ठाउँमा रहेर काम गर्न सकियो भने मात्र गुणस्तरीय शिक्षा टाढाको बाटो रहँदैन भन्ने सन्देश यो सम्मेलनले प्रवाह गरेको छ ।

गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सम्मेलनका मुख्य निष्कर्ष निम्नानुसार रहेका थिए:
१. गुणस्तरीयताको परिभाषा र मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याउने,  
२. बालबालिकाको सर्वाङ्गीण विकासका पक्षहरू समेटिएको पूर्व प्राथमिक शिक्षा कार्यान्वयनका लागि स्थानीय सरकारको क्षमता अभिवृद्धिमा सहयोग गर्ने,
३. संघ, प्रदेश र स्थानीय सरकारको भूमिका प्रष्ट पारी गुणस्तरीय शिक्षाका लागि सबै विद्यालयमा न्यूनतम आधारभूत आवश्यकताहरू पुर्‍याउने,
४. विद्यार्थीलाई परिवर्तनशील परिवेशसँग समायोजन हुनसक्ने क्षमताको विकास गर्न सक्ने सिकारु–केन्द्रित पाठ्यक्रम निर्माण गर्ने,
५. विद्यालय–सरोकारवालाहरूको सहभागितामा आधारित विद्यालय सुशासनका लागि उत्तरदायित्व खाका निर्माण गरी कार्यान्वयनमा ल्याउने,
६. सार्वजनिक विद्यालयहरूको रूपान्तरणमा स्थानीय सरकारको भूमिका सुदृढ गर्ने,
७. अनुसन्धानमा आधारित शैक्षिक नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने,
८. सीपमा आधारित सिकाइले प्राविधिक तथा व्यावसायिक शिक्षालाई सहयोग पुर्‍याउने भएकाले सीपमा आधारित सिकाइलाई व्यवहारमा लागू गर्ने र,
९. विद्यालयमा अभिभावकको सक्रिय भूमिकाका लागि अभिभावक शिक्षालाई कार्यान्वयन गर्दै गुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यालयको सम्बन्ध सुमधुर गर्न अभिभावकको भूमिका सुदृढ बनाउने ।

शर्मा पूर्व सचिव हुन् ।

commercial commercial commercial commercial