बढ्दो हिंसाको मनोसामाजिक मार्गचित्र

“आफ्नो विवाहेत्तर प्रेमका बारेमा थाहा पाएकोले पेशेवर हत्यारा प्रयोग गरेर विवाहित छोरीद्वारा आमाको हत्या...”
“दोब्बर बीमा रकम पाइने लोभमा बाबुद्वारा चारवर्षे छोरीको हत्या...”
केही महीनाअघि छापामा छाएका यी दुई खबरले मेरो अन्तस्करणलाई अझै पनि उद्वेलित गराइरहेका छन् । कतातिर जाँदैछ हाम्रो समाज ? नातागोता, बन्धुबान्धव, प्रेम–दया–करुणा सबैबाट टाढा, मानवीय मूल्यमान्यतारहित कस्तो समाज बन्न गइरहेछ अचेल ? कस्तो होला यस्तो पाशविक कृत्य गर्ने–गराउनेहरूको मनस्थिति ? नैतिकता, हार्दिकता, स्व–बन्धुत्वको भावना कता हराएको होला ?
एक मनोचिकित्सकको हैसियतले सबै गर्ने/गराउने मन नै हो भन्ने तथ्यमा म दृढ नै छु । भनिएको नै छ— ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः !’ अनि अध्ययन–विश्लेषणको कसीमा यस्तो हिंसाको जड मनैमा छ भन्ने मानिएको पनि छ । कतिपय त यस्ता हिंस्रक विचार राख्ने या यस्तो असोचनीय कृत्य गर्ने/गराउनेहरू सबै मनोरोगी नै हुन् भन्ने पनि मान्दछन् । तर मलाई लाग्दैन, यस्ता जघन्य आपराधिक क्रियाकलापलाई ‘मानसिक रोग’ को छाता ओढाउँदैमा समस्या समाधान हुनेछन् ।
यस प्रकारका घटनालाई ‘अपराध’ दायरामा पारेर कानूनको कठघरामा उभ्याउँदैमा मात्र पनि समाजमा अपराधको कमी हुन जाने होइन । त्यसरी नै, नैतिकता, धर्म, पाप–पुण्य आदि सामाजिक मूल्यमान्यताको घोकाइबाट मात्रै यस्ता समाचार घट्न सक्दैनन् ।
हिंसाको मनोसामाजिक विश्लेषण
यस्ता हिंसात्मक अपराधलाई मनोवैज्ञानिक र सामाजिक दृष्टिकोणबाट अलग–अलग अनि मनोसामाजिक आँखाबाट समष्टिगत रूपमा विश्लेषण गरिनुपर्ने हुन्छ ।
सामाजिक परिवेशमा हेर्दा, हिंसा, अपराध अनि मनोसामाजिक समस्याहरूको स्रोेतका रूपमा गरीबी र बेरोजगारीलाई लिने गरिएको छ । यो दृष्टिकोणलाई मात्र सत्य मान्ने हो भने धनीमानी र शहरी परिवेशमा यस्ता घटना नहुनुपर्ने हो । तर तथ्यहरूले देखाउँछन्, अमेरिका जस्तो सुसम्पन्न देशमा नै गोलीकाण्डका सबैभन्दा बढी घटना भइरहेका छन् । त्यस्तै, बलात्कार, यौनहिंसा अनि लुटपाटका घटनाहरू शहर–बस्तीमै बढी भएको पाइन्छ । तसर्थ कुनै एउटा कोणबाट मात्रै यी घटनाको विश्लेषण गरिनुपर्ने हुन्छ ।
सामाजिक दृष्टिकोणलाई थप गहिराइमा लैजाँदा, पारिवारिक–सामाजिक धरातलको विघटन, सामुदायिक भावनाको विनिर्माण र वैवाहिक सम्बन्धहरूमा उत्पन्न विचलन एवं अस्थिरतालाई सामाजिक हिंसाको कारकतत्वका रूपमा औंल्याउन थालिएको छ । पिता वा पिता समान अभिभावकको अभाव, परित्यक्त आमा, परित्यक्त छोरा (छोरी) अनि पिताको अनुशासनको अभावले गर्दा साना बालबालिकामा पारिवारिक स्नेह, नैतिकता आदिको खडेरी परिरहेको हुन्छ । आमाको स्नेहको अभाव, आमाबाबु बीचको कलह, सम्बन्धविच्छेद, बालबालिकाहरूको हुर्काइ आदिमा आउने असमानताले बाल–किशोर मनोविज्ञानमा पार्ने असरले पनि उसको व्यक्तित्व निर्माणमा नै फरकपना ल्याइसकेको हुन्छ ।
आमाबाबुबाट परित्यक्त या बारम्बार तिनीहरूबाट तिरस्कृत या पीडित भएको बच्चा भविष्यमा परपीडक नै बन्न सक्ने संभावना अत्यधिक हुन्छ । आमाबाबु नै आपराधिक पृष्ठभूमिका छन् भने त त्यसको प्रभाव तिनका छोराछोरीमा झनै बढी पर्न सक्छ ।
समाजमा व्याप्त हत्या–हिंसा–अपराधलाई एउटै कारकतत्वको आधारमा मात्र विश्लेषण गरेर पुग्दैन। सामाजिक हिंसाको मार्गचित्र बहुआयामिक छ ।
बाल्यावस्थादेखि नै आपराधिक क्रियाकलापमा अभ्यस्त बालबालिकाहरू तिनका साथीसँगी एवं शिक्षकवर्गबाट हुनसक्ने तिरस्कारका कारण त्यस्तै कार्यतिर नै धकेलिने संभावना ज्यादा हुन्छ । विद्यालयमा हातलाग्ने तिरस्कार र असफलता, अध्ययनको कमी आदि कारणले त्यस्तै पृष्ठभूमिका साथीहरूको समूह (ग्याङ) बन्ने संभावना रहन्छ । त्यस्तो समूहमा लागूपदार्थ दुव्र्यसन, चोरी–डकैती, लुटपाट, अरूलाई पिट्ने/गोद्ने, अनि बिस्तारै यौनहिंसा, बलात्कार एवं हत्या जस्ता आपराधिक कार्यहरू गर्ने/गराउने संभावना रहन्छ । यसरी एउटा विघटित परिवारको सदस्यको सामाजिक हिंसातिर डोरिने प्रवृत्तिको विकास हुनसक्छ ।
हिंस्रक–आपराधिक मनोवृत्तिलाई जैविक कोणहरूबाट पनि विश्लेषण गरिने गरिएको छ । आनुवंशिकता एवं अन्य जैविक कारकतत्वहरूले पनि मानिसको व्यक्तित्व विकासमा प्रभाव पार्ने गरेको कुरा अध्ययनहरूमा देख्न पाइन्छ । एन्टिसोसियल, इम्पल्सिभ, बोर्डरलाइन, नार्सिसिस्टिक जस्ता व्यक्तित्वजन्य समस्या (पर्सनालिटी डिस्अर्डर) भएका व्यक्तिहरू प्रायशः आपराधिक अनि हिंसात्मक क्रियाकलापहरूमा लाग्ने गरेको भेटिएको छ । त्यस्तै साइकोसिस, मद्यपान या लागूपदार्थ दुर्व्यसन जस्ता मानसिक रोगहरूको सेरोफेरोमा समेत हिंसात्मक अपराधहरू हुने गरेका छन् । तर एउटै कारकको रूपमा मान्दा भने यो पनि एक अपुरो अनि अति सरलीकृत विश्लेषण हुनसक्छ ।
नैतिक मूल्य–मान्यता र आचरणको विकास पनि बालबच्चाको हुर्काइ एवं हेरचाहसँग सम्बन्धित हुन्छ । बालबालिकालाई ‘असल’ एवं ‘खराब’ छुट्याएर असल मार्गतिर लाग्ने प्रेरणा दिनु नै आमाबाबु अनि शिक्षकवर्गको कर्तव्य मानिएको छ । अतः माथि उल्लेख गरिए झैं सम्बन्धहरूमा चिसोपन आएका आमाबुबा वा विघटित जस्तो अवस्थामा रहेको पारिवारिक/सामाजिक परिस्थितिले पनि बालबालिकाको उच्च नैतिकता निर्माणमा असर पारिरहेको हुन्छ । अर्को शब्दमा भन्दा, आफ्ना आमाहरूसँगको नजिकपन, सम्बन्ध या बालबालिकाको रेखदेखमा आमाहरूको संलग्नता आदिले पनि तिनको मनोवैज्ञानिक नैतिक विकासमा प्रभाव पार्ने गर्दछ ।
सम्बन्धविच्छेद आदिले गर्दा बाल्यावस्थामा नै आमा या बाबुसँग छुट्टिन पुगेका बालबालिकाहरूको भावनात्मक विकास पनि राम्रोसँग हुन पाएको हुँदैन । तिनले स्नेह, करुणा, ममता जस्ता भावनाहरू बुझन नै पाउँदैनन् । अतः युवावस्थामा तिनले पनि त्यस्ता सकारात्मक भावना अभिव्यक्त गर्न सक्दैनन् । तिनको रिस, अत्यास अनि कुण्ठाग्रस्त मनस्थितिले तिनलाई हिंसात्मक या आपराधिक क्रियाकलापमा सजिलै डोर्याउन सक्ने हुन्छ ।
अब अलि भिन्न कोणबाट नैतिकताको व्याख्या गरौं । माथि शुरूमा उल्लिखित पहिलो घटना एउटी विवाहित महिलाको विवाहेत्तर प्रेमसँग सम्बन्धित छ । यसमा आफ्नो प्रेमको अगाडि आमाको स्थानलाई गौण मानेकी हुनसक्छिन् ती महिलाले । तिनले आफ्नो नैतिकताको कसीमा, आफ्नो प्रेमलाई जायज आमाको हस्तक्षेपलाई अनुचित ठहर्याएकी हुन सक्छिन् । त्यस्तै, दोस्रो घटनाको सन्दर्भमा एउटा गरीब ( ?) व्यक्तिले अर्थोपार्जनका लागि बीमाको रकमलाई प्रमुख स्रोत मानेका कारण उसले पैसाका निम्ति ‘छोरीको हत्या’ लाई सामान्य ठानेको पनि हुन सक्दछ । त्यसैगरी, आतङ्ककारी गतिविधि गर्नेहरूले आफूले अँगालेको सिद्धान्त तथा धार्मिक आतङ्क फैलाउनेहरूने आफ्नो धर्मको रक्षा या उन्नतिका लागि गरेका हत्या–अपराध आदिलाई आफ्नो नैतिकताको मानकमा तौलने र त्यसलाई स्वाभाविक ठान्ने गरेको पाइन्छ ।
अतः समाजमा व्याप्त हत्या–हिंसालाई सम्बद्ध अपराधी या पीडकहरूकै ‘नैतिकता’ को कसीमा पनि जोख्नुपर्ने हुन्छ । किन तिनको मनमा आफ्नो प्रेम, आफ्नो आर्थिक सबलता, आफ्नो सिद्धान्त या आफ्नो धर्मका लागि हत्या, हिंसा या आपराधिक कार्य नै ठीक मार्ग हो भन्ने विचार आउने गर्छ ? यस्तो विचार आउनुमा माथि उल्लेख गरिए झैं पारिवारिक–सामाजिक या अन्य मनोसामाजिक परिस्थितिहरू नै जिम्मेवार त छैनन् ? त्यस्तै स्वघोषित नैतिकताको पृष्ठभूमिमा आवेगमय रूपमा आएको एउटा विचारले त्यस्ता घटनाहरू हुन पुगेका त होइनन् ?
सारमा भन्नुपर्दा समाजमा व्याप्त हत्या–हिंसा–अपराधलाई एउटै कारकतत्वको आधारमा मात्र विश्लेषण गरेर पुग्दैन । सामाजिक हिंसाको मार्गचित्र बहुआयामिक छ । विभिन्न कारकतत्वहरूले घटाएका यस्ता घटनाको न्यूनीकरण पनि एउटै मार्गचित्रबाट मात्र कदापि सम्भव छैन । पीडकलाई मनोरोगी, अपराधी या पापी मानेर मात्र तिनको हिंस्रक प्रवृत्तिमा कमी ल्याउन सकिन्न । नैतिकताकै कुरा गर्दा पनि एकाङ्की रूपमा समाजले मानिआएको नैतिकताको कसीमा मात्र त्यस्तो प्रवृत्तिलाई परख गर्न सकिन्न । त्यसमा पीडकहरूको नैतिकताको मानक के हो ? भन्ने समेत बुझेर मात्र सामाजिक परिचालनका कार्यक्रमहरू ल्याउनुपर्ने हुन्छ ।
समाजका सबै प्रमुख अवयवहरू— मनोचिकित्सक, प्रहरी–सुरक्षाकर्मी–न्यायकर्मी, शिक्षक–अभिभावक, मिडियाकर्मी, राजनीतिकर्मी सबैले सामाजिक हिंसाको यो बृहत् मार्गचित्रलाई बुझन सकेमा हिंसामय समाचारहरूको न्यूनीकरणमा केही सहयोग पुग्नेथियो कि ?
शिक्षक मासिक, २०७६ असोज अंकमा प्रकाशित ।