एउटा ऐतिहासिक विद्यालयः सरस्वती सतन मावि

२००७ सालमा स्थापित यो विद्यालय २०४९ मा मात्रै निमाविमा र २०६० मा माध्यमिक तहमा स्तरोन्नति भयो। २०४७ मै स्कूलको नाममा ‘सतन’ समावेश गर्न सहमति भए पनि शिक्षा कार्यालयले २०६५ सालमा मात्र ‘सरस्वती सतन’ बनाउन स्वीकृति दियो ।

सुनसरी जिल्लामा पहिलो विद्यालयको नाम लिनु पर्दा धरान बजारको पब्लिक हाईस्कूलको नाम आउँछ । यो विद्यालय २००६ सालमा स्थापना भएको हो । त्यसपछि लगत्तै इटहरीमा स्थापना भएको सरस्वती स्कूल दोस्रो हो । यो स्कूल इटहरीको खोलाटोली गैसारमा अवस्थित छ । स्थापनाकालमा खोलाटोली गैसारको के महत्व थियो भन्ने प्रश्न उठ्न सक्छ । खोलाटोली गैसार, जहाँ गच्छदार परिवारले जग्गा दिएर स्कूल स्थापना गराए, त्यहाँ ठूलो बस्ती थियो र सम्पन्नता पनि थियो । इटहरी नामले अहिले जहाँ भव्य शहर बसेको छ त्यही नै हो खोलाटोली गैसार । पूर्व–पश्चिम राजमार्गले धरान–विराटनगर बाटोलाई छेदन गरेपछि मात्र विस्तार भएको हो आजको इटहरी ।

इटहरीः शब्दको इतिहास
इटहरी, सरस्वती स्कूल र खोलाटोली गैसारलाई अलग्गै राखेर हेर्दा तीन वटैको इतिहास प्रष्ट नहुने हुँदा स्कूलको बारेमा चर्चा गर्नुपूर्व इटहरी र खोलाटोली गैसारको बारेमा लेख्नुपर्छ । धेरै मान्छेहरूलाई जस्तै मलाई पनि चासो थियो के इटहरी नाम इँटकै कारणले रहन गएको हो त ? तर यसपल्टको खोजीमा नयाँ आधार फेला पर्‍यो । त्यस अनुसार इटहरीको अहिलेको हाट लाग्ने ठाउँभन्दा पूर्व र बूढीगंगा भन्दा पश्चिम नरसिंह चौधरी नाम गरेका दरोगा थिए । पछि उनको बढुवा भएर सुब्बा पद पाए । सुब्बा नरसिंह चौधरीकोमा ठिंगुरा थियो । त्यहाँ मान्छेहरूलाई थुन्ने र सजाय दिने गरिन्थ्यो । यो थारूहरूको बसोबास रहेको ठाउँ भएको कारण इटहरी नाम पनि थारू भाषाबाटै रहन गएको हो भन्नेमा कुनै विवाद छैन । थारू भाषामा ‘इटा’ भनेको ‘यो’ र हरी भनेको ‘चेपुवा’ हुन्छ । सुब्बा नरसिं चौधरीको ठिंगुरालाई टाढा–नजिकका थारूहरूले चेपुवा अर्थात् ‘हरी’ भने । हरीलाई संकेत गर्न उनीहरूले ‘यो’ अर्थात् ‘इटा’ भनेर ठिंगुरालाई ‘हरी’ भने । त्यसैले यो ठाउँको नाम— इटहरी रहन गयो ।

हालको इटहरी उपमहानगरकै वडा–८, जहाँ सरस्वती स्कूल स्थापना भयो, त्यसलाई किन खोलाटोली गैसार भनियो ? यो जिज्ञासा उठ्नु पनि स्वाभाविक हो । र, त्यसको जवाफ हो— पुरानो इटहरी या पुरानो आवादी भएको ठाउँ यही खोलाटोली गैसार हो । त्यसै कारणले नै यहाँ स्कूल खुलेको हो । त्यहाँ बसोबास गर्ने पुराना मान्छे आज पनि भन्छन्— बस्तीको पश्चिमपट्टि हात्ती डुब्न सक्ने ठूला–ठूला खोला–खोल्सी थिए, त्यसैले खोलाटोली भनियो । गाउँको पूर्वतर्फ चार–पाँच सय मालजाल (गाई–गोरु) पालिएका हुन्थे । त्यसै कारण गाईसार भनिन थाल्यो ! गाईसारको अपभ्रंश गैसार भयो ।

सरस्वती सतनको स्थापना
अब विद्यालयको कुरा गरौं । स्थापनाकालमा ‘सरस्वती प्राइमरी’ नाम रहेको स्कूलको वर्तमान नाम सरस्वती सतन मावि भएको छ । यो विद्यालय २००७ माघ १८ गते श्रीपञ्चमीका दिन स्थापना भएको हो । यसबाट यो स्कूल राणाकालमै स्थापना भएको प्रमाणित हुन्छ, राणा विरुद्धको क्रान्ति सम्पन्न हुन १८ दिन बाँकी हुँदै । सतन भनेका सतनलाल गच्छदार हुन् । त्यो समयमा शिक्षाको आवश्यकता महसूस गरेर, आफ्नो सम्पत्ति दिएर भारतदेखि शिक्षक ल्याएर स्कूल स्थापना गर्ने सतन गच्छदार समेतका संस्थापकहरू साँच्चै आदर्श व्यक्तिहरू हुन्, धन्यवाद ज्ञापन गर्नुपर्छ वर्तमान पुस्ताले ।

विद्यालय स्थापनाको समयमा लक्ष्मणलाल गच्छदार सञ्चालक समितिका अध्यक्ष रहेका थिए । लक्ष्मणलाल सतनलालका जेठा छोरा हुन् । त्यसपछि सतनलालका अरू छोराहरू क्रमशः शंकरलाल, भुवनेश्वरलाल, वैजनाथलाल, बंकरलाल र टेमनलाल संचालक समितिका अध्यक्ष भएको कुरा विद्यालयमा भएको रेकर्डबाट देखिन्छ । यो दोस्रो पुस्ता पछि तेस्रो, चौथो पुस्ता हुँदै सोनालाल, महेशलाल, सुधिरलाल, चन्दनलाल, कल्पना, उपेन्द्र यो विद्यालय संचालक समितिका अध्यक्ष भए । यतिबेला सतनलालका पाँचौं पुस्ताका सन्तान अरुण चौधरी विद्यार्थी व्यवस्थापन समितिका अध्यक्ष छन् ।

सरस्वती सतन विद्यालय स्थापनाकालका प्रथम शिक्षक हेमनारायण दास कर्ण हुन् । उनलाई भारतको पटनाबाट ल्याइएको थियो । विद्यालयको अभिलेख अनुसार यस विद्यालयमा हालसम्म दश जना प्रधानाध्यापक भएको देखिन्छ । हेमनारायण दास कर्ण पछि क्रमशः भीष्मप्रसाद ठाकुर, उमाशंकर प्रसाद, देवेन्द्र झा, त्रिलोचन झा प्रधानाध्यापक भए ती सबै भारतबाट ल्याइएका थिए । त्यसपछि रंगबहादुर थापा, महेश चौधरी, रामप्रसाद न्यौपाने भगतलाल चौधरी प्रअ भए भने हाल वासुदेव कर्ण प्रधानाध्यापक रहेका छन् ।


थारू भाषामा ‘इटा’ भनेको ‘यो’ र हरी भनेको ‘चेपुवा’ हुन्छ। सुब्बा नरसिं चौधरीको ठिंगुरालाई टाढा–नजिकका थारूहरूले चेपुवा अर्थात् ‘हरी’ भने। हरीलाई संकेत गर्न उनीहरूले ‘यो’ अर्थात् ‘इटा’ भनेर ठिंगुरालाई ‘हरी’ भने। त्यसैले यो ठाउँको नाम— इटहरी रहन गयो।

विद्यालयको विकास क्रम
सरस्वती सतन माविमा अहिले पनि एउटा पुरानो आगन्तुक पुस्तिका छ । त्यो आगन्तुक पुस्तिकामा मुद्रित भाषा हिन्दी छ । निरीक्षण की तिथि, निरीक्षणका उद्देश्य, निरीक्षण की सम्मती  भन्ने वाक्यांश त्यसमा छन् । त्यही पुस्तिकामा विश्वेश्वरप्रसाद कोइरालाले प्रधानमन्त्रीको रूपमा २०१६ माघ २३ गते निरीक्षण दस्तखत गर्नुभएको छ । त्यही पानामा रक्षा सहायक मन्त्री मीनबहादुरको पनि सही छ । त्यही सालको माघ महीनामा गृहमन्त्री सूर्यप्रसाद उपाध्यायको निरीक्षण देखिन्छ । निरीक्षण पुस्तिका अनुसार पहिलो निरीक्षण चाहिं २०१३ साल पुस ९ गते सिद्धिलाल श्रेष्ठले गरेका थिए । उनको पद सब–इन्स्पेक्टर डी.ई. अफिस, धनकुटा भन्ने उल्लेख छ । २०१४ साल फागुन १५ गते रामसिंह ठकुरीले निरीक्षण गरेका छन् । ठकुरीको पद डिभिजनल इन्स्पेक्टर अफ स्कूल्स, धनकुटा भनिएको छ र निरीक्षणको उद्देश्य वार्षिक निरीक्षण भनिएको छ ।

त्यसैगरी २०१५ सालमा शम्भुप्रसाद रिजालले सो विद्यालय निरीक्षण गरेका छन् र उनको पद ‘सदस्य, प्रगन्ना शिक्षा विकास समिति इटहरी’ भनिएको छ र २०२३ सालमा जिल्ला पञ्चायत मोरङका सभापतिको हैसियतले चैतुलाल चौधरीले पनि निरीक्षण गरेको पाइन्छ । यस्तो धेरै निरीक्षणको भीडमा प्रजातन्त्र पुनस्र्थापनापछिका निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ साल कात्तिक ११ गते निरीक्षण गरेका छन् । गिरिजाप्रसाद कोइरालाले सही गरेको पानामा अर्थमन्त्री महेश आचार्यले पनि सही गरेका छन् ।

गिरिजाप्रसाद कोइराला चाहिं निरीक्षण गर्न मात्र नभई विद्यालयको नवनिर्मित भवनको उद्घाटनका निम्ति आएका थिए । सो विद्यालयको पुरानो भवन २०४५ सालको भूकम्पले भत्काइदिएको थियो । त्यसको सट्टामा स्कूलका संस्थापक सतन गच्छदारका सन्ततिले निःशुल्क उपलब्ध गराएको एक बिघा जग्गामा इटहरी जेसिजले नयाँ पक्की भवन बनाएको थियो । प्रम कोइरालाले त्यस दिन त्यही भवनको उद्घाटन गरेका थिए । त्यो भवन अद्यापि विद्यालयको उपयोगमा छ । सो भवन बन्दा यो पंक्तिकार इटहरी जेसिजको अध्यक्ष थियो ।

२००७ सालमा स्थापना भएको यो विद्यालय शुरूमा कक्षा–५ सम्म भए पनि २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि कक्षा–३ मा झरियो । ज–जसले जति भ्रमण र निरीक्षण गरे पनि स्कूलको स्थायी व्यवस्था र सुसञ्चालन हुनसकेको थिएन । सतन गच्छदारका सन्ततिले जग्गा उपलब्ध गराएपछि इटहरी जेसिजको प्रयासमा भवन निर्माण भयो । त्यसपछि, २०४९ सालमा मात्रै यो विद्यालय निमाविमा र २०६० सालमा माध्यमिक तहमा स्तरोन्नति भयो । २०४७ सालमै स्कूलको नाममा ‘सतन’ समावेश गर्न सहमति भए पनि शिक्षा कार्यालयले १८ वर्षपछि अर्थात् २०६५ सालमा मात्र ‘सरस्वती सतन’ बनाउन स्वीकृति प्रदान गर्‍यो । त्यसपछि मात्र यो ऐतिहासिक विद्यालयको नाम सरस्वती सतन माध्यमिक विद्यालय हुन सक्यो । स्कूलको अभिलेख अनुसार यो शैक्षिक सत्रमा छात्रा १६३ र छात्र १९५ गरी ३५८ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

हमारे राजा
त्यसबेला नेपालका सामुदायिक स्कूलमा हिन्दी भाषामा पनि पढाइ हुन्थ्यो भन्दा आजको पुस्ताले नपत्याउन सक्छ, तर सरस्वती सतन स्कूलमा हिन्दी भाषामै पढाइ हुन्थ्यो । र, पाठ्यपुस्तक पनि हिन्दीमै उपलब्ध थिए । हिन्दी भाषामा लेखिएको ‘नेपाल सुषमा’ नामको पुस्तकमा नेपालबारे पढ्ने त्यसबेलाका छात्र नरेशलाल चौधरी, सुधीरलाल चौधरी र रघुकुमार चौधरी अहिले पनि खोलाटोली गैसारमै छन् । नरेशलाल चौधरीले २०१७ सालमा र चन्द्रकला कुमारी चौधरीले २०२१ सालमा लेखेर बुझाएको र शिक्षकले जाँच गरेको गृहकार्य (होमवर्क) को पाना रघुकुमार चौधरीसँग सुरक्षित छ । त्यति मात्र हैन रघुकुमारसँग आफैंले पढेको हिन्दी भाषाको सो पुस्तक पनि सुरक्षित छ ।

उल्लिखित पुस्तकको ५ नं. पेजमा ‘विनय’ शीर्षकको बालगीत यस्तो छ:
हम छोटे छोटे बच्चे है !
नादान उमेर के कच्चे है,
पर अपनी धुनके सच्चे है
जननीका जयजय गायेंगे ।
नेपाली ध्वजा उठायेंगे ।१ ।

त्यसैगरी सोही पुस्तकको पेज नम्बर ७ मा ‘हमारे राजा’ शीर्षकको पाठ छ । त्यसमा राजा महेन्द्र र त्रिभुवनको फोटो छ । पेज–८ मा ‘हमारा देश’ भन्ने पाठ छ । त्यसमा नेपालका खोलानाला, जङ्गल झल्किने चित्र र बुद्धको फोटो छापिएको छ । पेज नम्बर १३ मा ‘विज्ञान’ को पाठ छ ।

त्यतिबेलाको प्रकाशित प्राथमिक तहको पाठ्यपुस्तकको छपाइ तथा चित्र आदिको सजावट आजको कम्प्युटर जमानाको भन्दा कम लाग्दैन । जिंक ब्लकको प्रयोग गरेर दुई रङमा पुरानो लेटर प्रेसबाट छापिएको त्यो किताब जनक शिक्षाले हिजोआज छाप्ने पाठ्यपुस्तकको तुलनामा निकै स्तरीय लाग्छ ।

चन्द्रकला कुमारी चौधरीको वर्ग–५, (कक्षा–५) को हिन्दीमा लेखिएको होमवर्क कापीमा शिक्षकले जाँच गरेको मिति २०२१ साल देखिन्छ । यसको आधारमा के भन्न सकिन्छ भने २१/२२ सालसम्म यो विद्यालयमा हिन्दी भाषामा नै पढाइ हुन्थ्यो । अर्को महत्वपूर्ण कुरा, सरस्वती स्कूलमा २०२१ सालमा चन्द्रकला कुमारी चौधरी कक्षा–५ मा पढ्दै गरेको पुष्टि हुन्छ । यसकारण इटहरीका थारू गच्छदार वा चौधरीहरू पिछडिएका र पुरातन विचारका हैन अग्रगामी र उदार सोचका थिए भन्ने पुष्टि हुन्छ ।

सरस्वती सतन माविको अवस्था अहिले अपेक्षा अनुरूप राम्रो छैन । यसमा सम्बन्धित पक्षहरूको ध्यान पुग्न जरूरी देखिन्छ । ऐतिहासिक विद्यालय सरस्वती सतन माविको उत्तरोत्तर उन्नतिको हार्दिक शुभकामना !

पुराना पत्रकार अधिकारी हाल इटहरीको सामाजिक/साहित्यिक विकासमा क्रियाशील छन्

शिक्षक  मासिक, २०७६ असोज अंकमा प्रकाशित ।

commercial commercial commercial commercial