विद्यालय सुधार्न समुदायसँग सहकार्य

ज्योति माविका शिक्षकले टोलटोलमै पुगेर अभिभावकसँग मासिक बैठक गर्ने गरेका छन्। ती बैठकमा बालबालिकाको पठनपाठन, सिकाइमा देखिएका चुनौती, विद्यालयप्रति समुदायका गुनासा जस्ता विषयमा छलफल हुन्छ ।

नवलपरासीको सुनवल नगरपालिकास्थित असनैया गाउँमा रहेको ज्योति माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार्न समुदायसँग सहकार्यको नयाँ अभ्यास शुरू गरेको छ । यसै शैक्षिक सत्रदेखि सञ्चालन भएको विद्यालय–समुदाय सम्बन्ध  तथा शैक्षिक गुणस्तर विकास कार्यक्रम अन्तर्गत विद्यालयले आफ्नो सेवा क्षेत्रलाई १३ वटा टोलमा विभाजन गरेको छ । सबै टोलमा समुदाय विकास समिति बनाइएको छ ।

प्रत्येक टोलमा सामुदायिक क्रियाकलाप सञ्चालन गर्न दुईदेखि तीन जनाका दरले शिक्षकहरूलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका शिक्षकले टोलटोलमै पुगेर मासिक रूपमा बैठक सञ्चालन गर्छन् । बैठकमा बालबालिकाको पठनपाठन, सिकाइमा देखिएका चुनौती, विद्यालयप्रति समुदायका गुनासा, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध जस्ता विषयमा छलफल चलाउँछन् । ती शिक्षकले सबै क्रियाकलापको प्रतिवेदन विद्यालयमा पेश गर्नुपर्छ । त्यसपछि विद्यालयले कक्षागत रूपमा अभिभावकको भेला बोलाई थप छलफल गर्छ । देखिएका समस्या समाधानका लागि बेलाबेलामा शिक्षकहरूलाई घरदैलोमा पनि पठाउँछ ।

विद्यालय–समुदाय सम्बन्ध विस्तार कार्यक्रम का संयोजक र सदस्य शिक्षकहरू ।

सेवा क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बालबालिकाको सिकाइ उपलब्धि, घरको वातावरण, परिवारको आर्थिक अवस्था र समुदायको वातावरण बुझनु जरूरी भएकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक यादव खड्काले बताए । ज्योति माविमा जनजाति र दलित समुदायका बालबालिकाको बाहुल्य छ । यो शैक्षिक सत्र (२०७६) मा अध्ययनरत ९६६ बालबालिकामध्ये ४५६ जनजाति, २८२ दलित र २२८ अन्य जातिका बालबालिका छन् ।  

विद्यालयले गाउँमै पुगेर छलफल चलाउन थालेपछि बालबालिकाको पढाइप्रति ध्यान जान थालेको अभिभावक नेत्रबहादुर राक्से बताउँछन् । शिक्षकसँग गाउँमै कुरा राख्न पाइने हुँदा महीनामा एक दिनको केही घण्टा आफ्ना बच्चाका लागि छुट्याउने गरेको उनले सुनाए । स्कूल गइरहेका बालबच्चाको पढाइबारे गाउँमै आएका शिक्षकहरूबाट थाहा पाइने हुँदा यस्तो छलफल नछुटाउने गरेको अर्की अभिभावक मैना परियारले बताइन् । “स्कूल गइराख्ने समय मिल्दैनथ्यो, गाउँमै सर–मिसहरू आएपछि सजिलो भएको छ”, उनले भनिन् ।

अभिभावकले विद्यालयसँग गाउँमै प्रत्यक्ष संवाद गर्न पाउने भएकाले समुदायसँगका छलफलहरूमा अभिभावकको उपस्थिति सन्तोषजनक पाइएको शिक्षक शिवप्रसाद ढकालले बताए । यसबाट विद्यालयलाई अभिभावकको सल्लाह लिएर प्रभावकारी सिकाइका योजना बनाएर तदनुरूपका शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्नका लागि सहयोग पुगेको उनको भनाइ छ ।

यसरी टोलटोलमा अभिभावक भेट्न जाने शिक्षकले विद्यालयबाट थप सुविधा भने पाउने गरेका छैनन् । आर्थिक अवस्था बलियो नहुँदा नहुँदै पनि नमूना बन्नका लागि विद्यालयले थालेको राम्रो अभ्यासलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको उनीहरू बताउँछन् । शिक्षकहरूको त्याग र समर्पणकै कारण विद्यालयले पनि प्रगति गर्दै गएको प्रअ खड्का बताउँछन् ।

मासिक बैठकमा अभिभावकले आफ्ना बच्चाले पढ्न नमान्ने, खेल्नमा बढी ध्यान दिने, बढी सुत्ने, आफूलाई नटेर्ने, पढ्न मन नखोज्ने, झ्गडा गर्ने, पढ्न नजान्ने, बिरामी भइरहने, डुल्न रुचाउने, मोबाइल बढी चलाउने जस्ता गुनासा टिपाउने गरेका छन् ।

यो विद्यालयमा माध्यमिक तहका शिक्षकले कम योग्यता भएका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम दिने व्यवस्था पनि गरिएको छ । यसले शिक्षकहरूमा विद्यालयभित्र नै सिक्ने÷सिकाउने वातावरण बनेको छ । कमजोर विद्यार्थीका लागि पनि नतिजा निस्किएपछि पृष्ठपोषण कक्षा सञ्चालन गर्ने गरिएको छ ।
यहाँ हरेक तीन महीनामा विद्यार्थीको सिकाइको नतिजा विश्लेषण गर्ने गरेको छ । त्रैमासिक परीक्षाको नतिजा निस्किएको एक हप्ताभित्र अभिभावकलाई सिकाइ उपलब्धिको जानकारी दिई आवश्यक पृष्ठपोषण सहित पठनपाठन सुधारका लागि छलफल गर्ने गरिएको छ ।

अभिभावकसँग गाउँठाउँमै अन्तरक्रिया गर्दै शिक्षकद्वय सुशीला गहतराज र मीना बाँस्तोला।

समुदायसँगको नियमित छलफलले अपेक्षा गरे अनुसारकै नतिजा दिएको विद्यालयको दाबी छ । प्रअ खड्काका अनुसार नगरपालिकाको सहयोगमा ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको तथ्याङ्क लिंदा त्यस्ता कुनै पनि बालबालिका विद्यालय बाहिर रहेको पाइएन । विद्यालय र कक्षा कोठामा शिक्षक तथा विद्यार्थीको नियमितता विगतदेखि नै राम्रो छ । विद्यालयको अभिलेख अनुसार शैक्षिक सत्र २०७५ मा २४७ दिन विद्यालय खुलेकोमा शिक्षक र विद्यार्थी दुवैको औसत हाजिरी २३९ दिन छ । वर्षभर विद्यालयमा २१५ दिन पढाइ, ३२ दिन परीक्षा सञ्चालन, १४ दिन अतिरिक्त क्रियाकलाप र चार दिन अन्य कार्यक्रम सञ्चालन भएको थियो ।  
विव्यस अध्यक्ष हर्कबहादुर गुरुङ विद्यालयको व्यवस्थापनमा २०५७ सालदेखि निरन्तर लागिरहेका छन् । भारतीय सेनाको जागिरबाट अवकाश लिएपछिका १९ वर्ष यसै विद्यालयको व्यवस्थापन समितिमा कहिले सदस्य र कहिले अध्यक्ष भएर जिम्मेवारी सम्हाल्दै आएका गुरुङ भन्छन्, “हामी व्यवस्थापन समितिमा बसेकाहरूसँगै शिक्षक र अभिभावकहरू पनि उत्तिकै खटेका छन्, सबैले बगाएको पसिनाको फल देखिन थालेको छ ।” चालु शैक्षिक सत्रमा विद्यालयमा २०१ बालबालिका नयाँ भर्ना भएको र तीमध्येका १४५ जना निजी विद्यालय छाडेर आएको उनले जानकारी दिए ।

स्थानीय सरकारको सहयोग
सुनवल नगरपालिकाले यो विद्यालयलाई स्कूल बसका अतिरिक्त विद्यालय भवनमा रंगरोगन, फर्निचर, बायो फिल्टर सहितको खानेपानीको व्यवस्था, मावि तहको एक शिक्षकको निम्ति अनुदान तथा ३२ जना बालबालिकालाई रु.३ हजारका दरले छात्रवृत्ति समेत दिइरहेको छ । विद्यालयका अनुसार यसरी नगरपालिकाले वार्षिक रूपमा करीब रु.२० लाख बराबरको बजेट सहयोग दिंदै आएको छ ।

सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापाले पनि ‘पछिल्लो समय ज्योति माविको विद्यार्थी संख्या वृद्धि, भौतिक संरचना निर्माण र अभिभावकको बढ्दो रोजाइका कारण समग्रमा स्कूल राम्रो बन्दै गएको’ भनेर यसको प्रशंसा गरेका छन् । ज्योति माविको व्यवस्थापन समिति र त्यहाँका शिक्षकको मिहिनेतका कारण नगरपालिकालाई पनि उनीहरूसँग सहकार्य गर्न उत्साह मिलेको नगरप्रमुख थापाको अनुभव छ । सुनवल नगरपालिका अन्तर्गत १० वटा माध्यमिक तहका सामुदायिक विद्यालय रहेका र आफूले तिनलाई समानान्तर रूपमा एउटै मोडलमा लैजाने उद्देश्यका साथ सबै विद्यालयहरूलाई सहयोग गर्दै गएको पनि उनले बताए ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव विष्णुप्रसाद गोतामेले ज्योति माविको व्यवस्थापन र शिक्षण क्रियाकलाप अरूका लागि सिक्ने खालको रहेको बताए । शिक्षकको लगाव, टीम वर्कमा काम गरेको हुँदा उदाहरणीय विद्यालयको रूपमा देखिएको उनको भनाइ छ ।

शिक्षक मासिक, २०७६ असोज अंकमा प्रकाशित ।

 

commercial commercial commercial commercial