छिमेकी देशमा शिक्षक चर्चा

साउन महीनाको अन्तिम साता हामी भारतको उत्तराखण्ड राज्यको शैक्षिक भ्रमणमा थियौं । उत्तराखण्डका पहाडी जिल्लामा पुग्दा नेपालकै डाँडाकाँडाको झ्ल्को आइरहन्थ्यो । भूबनोटका दृष्टिले मात्र होइन, त्यहाँको जलवायु, त्यहाँका बासिन्दाहरूको जीवनशैली र बसोबासको स्थिति ठ्याक्कै नेपालको पहाडी क्षेत्रसँग मिल्दोजुल्दो थियो । नेपालभन्दा एउटा कुरामा भिन्नता देखियो, त्यो के भने— त्यहाँका पहाडबाट रैथाने बासिन्दा पलायन भएछन् । पुराना घर–कटेरा भग्न देखिन्थे । तरेली परेका खेतबारी र टारी बाँझै थिए । त्यहाँका बासिन्दा सुख, सुविधा र सन्तानलाई राम्रो शिक्षाको खोजीमा तराईतिर झरेछन् । नेपालका पहाडेहरू पनि पलायन हुँदैछन् तर त्यसरी पहाडका बस्तीहरू रित्तिइसकेका भने छैनन् ।

हामी केही शिक्षक, शिक्षाकर्मी, सार्वजनिक शिक्षाको क्षेत्रमा काम गर्ने उत्प्रेरक समेत गरी १५ जना थियौं । हामी उधमसिंह नगर, नैनिताल, अल्मोडा, पिथौरागढ र चम्पावत जिल्लाका केही विद्यालयमा पुग्यौं । सार्वजनिक शिक्षाको सबलीकरणका निम्ति अभियान चलाइरहेका त्यहाँका अभियन्ताहरूसँग संवाद गर्‍यौं । हाम्रो भ्रमणलाई ‘अजीम प्रेमजी’ फाउण्डेसनले सहजीकरण गरिरहेको थियो । यो संस्थाले सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सरकारी विद्यालयमा अध्यापनरत शिक्षकहरूको मनोबल उच्च बनाउनुपर्ने, उनीहरूको पेशागत मर्यादा र सम्मान बढाउनुपर्ने, शिक्षकले गरेका स–साना असल अभ्यास र प्रयत्नलाई उजागर गर्नुपर्ने मान्यता राख्दोरहेछ । सरकारी विद्यालयका शिक्षकहरूको टाउकोमा दोष थोपरेर होइन, उनीहरूका समस्या बुझेर उनीहरूलाई उत्प्रेरित गरेर, हौसला बढाएर अनि गुणस्तरीय शिक्षण सीप सिकाइमा उनीहरूलाई मद्दत गरेर सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न सकिन्छ भन्ने विश्वास राख्दोरहेछ । विद्यार्थी के र कसरी सिक्न चाहन्छन् भन्ने कुरालाई प्राथमिकतामा राखेर सूचना मात्र हस्तान्तरण गर्ने परम्परागत शिक्षण शैलीमा व्यापक परिवर्तन गरेर सहभागितामूलक, प्रयोगपरक र सिर्जनात्मक शिक्षणशैली अपनाउन शिक्षकहरूलाई सहयोग गर्दोरहेछ ।

२०७६ साउन ३० गते साँझ् हामी अजीम प्रेमजी फाउण्डेसनको पिथौरागढस्थित शिक्षक सिकाइ केन्द्र (टी.एल.सी.) हलमा भेला भएका थियौं । त्यहाँ सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षकको साथीका रूपमा रहेको उत्तराखण्डबाट प्रकाशित हुने शैक्षिक दखल  नामक मासिक पत्रिकाको सम्पादन तथा व्यवस्थापन समूहका साथीहरू हुनुहुन्थ्यो । पठन संस्कृतिको विकासका निम्ति समर्पित कलेजस्तरका विद्यार्थीले चलाएको आरम्भ नामक अभियानका विद्यार्थी साथीहरू पनि हुनुहुन्थ्यो । आरम्भ  ले विभिन्न कलेजका विद्यार्थीलाई तत्तत् स्थानमा सङ्गठित गरेर पुस्तकालयको स्थापना, साहित्य, संस्कृति, समाज र राजनीतिबारेमा छलफल चलाउँदो रहेछ । विद्यार्थी राजनीतिमा देखिएका दलीय विकृति विरुद्ध शुद्धीकरणको अभियान सञ्चालन गर्ने जस्ता रचनात्मक कार्यमा आरम्भ का विद्यार्थी साथीहरू लागेका रहेछन् । पठनसीपको विकासका निम्ति उनीहरूले विद्यालयस्तरमा पनि कार्यक्रम चलाउँदा रहेछन् ।

त्यस हलमा अजीम प्रेमजी फाउण्डेसनका प्रशिक्षक तथा विषय विज्ञहरूको पनि उपस्थिति थियो । कार्यक्रमको शुरूमै शैक्षिक दखल  सम्पादन समूहका महेशजीले नेपालबाट प्रकाशित हुने शिक्षक  मासिक पत्रिकाको प्रदर्शन गरेर हामीलाई चकित पार्नुभयो । दुई वर्ष अगाडि उहाँ बैतडी आउनुभएको रहेछ । त्यहाँको पत्रिका पसलमा झुण्ड्याइएको शिक्षक माथि उहाँका आँखा परेछन् । मागेर उभिई–उभिई सरर्र पढ्नुभएछ । उपयोगी ठानेर किनेर लैजानुभएछ । पछि शिक्षक को गुणवत्ता थाहा पाएपछि सीमावर्ती जिल्लाबाट बरोबर मगाउन थाल्नुभएछ । महेशजीले बैतडीका पत्रिका पसलेसँग भएको संवाद पनि उद्धृत गर्नुभयो— शिक्षक  पत्रिका ओल्टाईपल्टाई गरेपछि सोध्नुभएछ, “भाइ ! यो पत्रिका तिम्रो पसलबाट कति प्रति बिक्री हुन्छ ?” पसलेले जवाफ दिएछन्, “त्यस्तै ४०/५० कपी ।” “बैतडी जिल्लाभरि कति प्रति बिक्री हुन्छ होला हँ ?” पसलेले भनेछन्, “३०० को हाराहारीमा ।” त्यस्तो दुर्गम पहाडी जिल्लामा त्यत्रो शिक्षक बिक्री हुने कुरो सुनेर उहाँलाई किञ्चित आश्चर्य लागेछ । नेपाली शिक्षकहरूप्रति श्रद्धाभाव जागेछ र मनमनै शिक्षक  मासिक प्रकाशन समूहलाई धन्यवाद दिनुभएछ ।

शिक्षक  का बारेमा थप चर्चा गर्दै महेशजीले भन्नुभयो, शिक्षक ले नेपालको सार्वजनिक शिक्षाको क्षेत्रमा देखिएका समस्या र महत्वपूर्ण मुद्दाहरूलाई सशक्त ढंगले उठाई समाधानका उपाय समेत सुझाएको छ । शिक्षकका कमजोर पक्षलाई भन्दा सबल पक्षलाई उजागर गर्दै आएको छ । हेमराज भट्टको एक प्राथमिक शिक्षकको डायरी, तोत्तो–चान र गिजुभाईको दिवास्वप्न को नेपाली संस्करण प्रकाशन गरेकोमा समेत प्रशंसा गर्नुभयो ।

शैक्षिक दखल  शिक्षकहरूको एक समूहले प्रकाशन गर्दो रहेछ । त्यसै हुनाले महेशजीले जिज्ञासा राख्नुभएको थियो, के शिक्षक पनि शिक्षकहरूको समूहले निकाल्छ ? यस मिसनमा कति जति शिक्षक संलग्न छन् ? त्यहाँ हामीले भन्यौं— शिक्षक को प्रकाशन र व्यवस्थापनमा त्यस्तो कुनै शिक्षक समूहको संलग्नता त छैन तर हजारौं शिक्षक यसका ग्राहक र पाठक छन् । त्यसैले शिक्षक  मासिकको जीवन्तता र निरन्तरता शिक्षककै योगदानमा आधारित छ । महेशजीले शिक्षक  का सम्पादक राजेन्द्र दाहालको पनि खुलेर प्रशंसा गर्नुभयो, “दाहालजीलाई भेट्ने उत्कट चाहना छ । मेरो सन्देश र शुभकामना दाहालजीसम्म पुर्‍याइदिनुहोला । शैक्षिक दखल र शिक्षक मासिकबीच मित्रता गाँस्ने सेतु पनि तपाईंहरू नै बनिदिनुहोला ।”

शैक्षिक दखल  को प्रति हामीलाई हस्तान्तरण गर्दै यो ‘राजेन्द्रजी कहाँसम्म पुगोस् है !’ पनि भन्नुभयो । सार्वजनिक शिक्षाको सबलीकरण अभियानमा उत्तराखण्ड राज्यमा सक्रिय शैक्षिक दखल  समूहले कहिल्यै भेटघाट र बोलचाल समेत हुन नपाएका राजेन्द्र दाहाल र शिक्षक  मासिकप्रति दर्शाएको अपनत्व, प्रशंसा र श्रद्धाभाव देखेर हामी चकित भयौं । समान विचार, समान उद्देश्य र उस्तै अभियानमा लागेका अभियन्ताबीच भेटघाट नभएरै पनि गज्जबको आत्मीय भाव हुँदोरहेछ भन्ने हामीले अनुभव गर्‍यौं ।


सार्वजनिक शिक्षाको सबलीकरणमा उत्ताराखण्ड राज्यमा सक्रिय शैक्षिक दखल समूहले कहिल्यै भेटघाट र बोलचाल समेत हुन नपाएका राजेन्द्र दाहाल र शिक्षक  मासिकप्रति दर्शाएको अपनत्व, प्रशंसा र श्रद्घाभाव देखेर हामी चकित भयौं।

उत्तराखण्डको भूभाग पनि कुनै समय नेपाल राज्यको अधीनमा थियो । क्षेत्रफलका हिसाबले उत्तराखण्ड नेपालभन्दा अलि सानो छ । भूबनोटमा समानता छ । त्यहाँ पनि ८० प्रतिशत पहाड र २० प्रतिशत भूभाग तराई रहेछ । उत्तराखण्डमा ५० प्रतिशत भन्दा बढी विद्यालय जाने उमेर समूहका बालबालिका प्राइभेट स्कूलमा जाँदा रहेछन् । त्यसैले महेशजी भन्दै हुनुहुन्थ्यो– उत्तराखण्डको तुलनामा नेपालमा सार्वजनिक शिक्षाको स्थिति बलियो छ । शैक्षिक दखल  शिक्षक  मासिकको तुलना गर्दै उहाँले भन्नुभयो, “नेपालमा शिक्षक को बिक्री जति उत्साहप्रद छ, यहाँ शैक्षिक दखल  को छैन । यसबाट नेपालमा पठन संस्कृतिको स्थिति पनि मजबूत रहेको अनुमान गर्न सकिन्छ ।”

शैक्षिक दखल  समूहले दीवार नामक भित्तेपत्रिका पनि प्रकाशन गर्दोरहेछ । दीवार मा स्कूले नानीबाबुका रचनाले प्राथमिकता पाउँदा रहेछन् । यसको प्रकाशन र व्यवस्थापनको जिम्मेवारी पनि बालबालिकालाई दिइँदोरहेछ । दीवार को गुणवत्ता, निरन्तरता र वितरण प्रणाली अत्यन्त प्रशंसनीय रहेछ । सयौं बालबालिकाको सहभागिताले यसको व्यापकता र लोकप्रियता मात्र उजागर गरेको होइन, यसले त स्कूल तहका बालबालिकामा रचनात्मकता र सिर्जनशीलताको विकासमा ठूलो टेवा पुर्‍याएको रहेछ ।

महेशजी स्वयं शिक्षक हुनुहुँदोरहेछ । समाजमा नकारात्मकता र पैसामुखी प्रवृत्ति बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । सकारात्मक सोच र सहयोगी भावनाको विकासमा शिक्षकको महत्वपूर्ण भूमिका रहने हुँदा हामी शिक्षक यसतर्फ बढी केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । वर्तमान शिक्षा प्रणालीप्रति उहाँ सन्तुष्ट हुनुहुन्न । भन्नुहुन्छ, “बालबालिकालाई ज्ञान दिने होइन, ज्ञान निर्माण प्रक्रियामा शिक्षक सहजकर्ता बन्ने हो । ज्ञान निर्माणका निम्ति उपयुक्त वातावरण निर्माण गरिदिने हो ।” साना साना बालबालिकाको बालापन र बालमन अहिलेको शिक्षाले कुण्ठित पारेको र उनीहरूले उचित सम्मान नपाएको महेशजीको ठहर छ ।

“अहिले अर्थ बजारको जबरजस्त हस्तक्षेपले शिक्षा पूँजीपतिहरूको पोल्टामा पुग्न लागेको छ । सार्वजनिक शिक्षाप्रति अभिभावकहरूको मोहभङ्ग गराएर शिक्षालाई बजारको जिम्मा लगाउने वातावरण बनाइँदैछ । शिक्षा किनबेचको वस्तु जस्तै भएको छ । अभिभावकहरू आफ्नो हैसियत अनुसार मोलतोल गर्न बाध्य भएका छन् । अहिलेको अवस्था कस्तो भएको छ भने; धनीहरूका लागि आर्थिक, भौतिक रूपले सम्पन्न, प्रविधियुक्त र सक्षम मानवीय संशाधनले पूर्ण प्राइभेट स्कूल, मध्यम वर्गका लागि पनि हैसियत अनुसारको अलि कम महँगो प्राइभेट स्कूल र गरीबहरूका निम्ति साधनविहीन सरकारी स्कूल बनाइएका छन् । नाफाका उद्देश्यले पूँजीपतिहरूले शिक्षामा पूँजी लगानी गर्ने परिपाटीलाई सरकारी तवरबाटै निरुत्साहित नगरेसम्म सार्वजनिक शिक्षाको सबलीकरणको मुद्दा जटिल समस्याकै रूपमा रहनेछ । अब शिक्षामा सामाजिक हस्तक्षेपको आवश्यकता छ । त्यसैले शैक्षिक दखल र शिक्षक मासिक जस्ता पत्रिका अगाडि आउनै पर्छ” महेशजीको निचोड थियो ।

शिक्षक मासिक, २०७६ असोज अंकमा प्रकाशित ।

commercial commercial commercial commercial