हेराइ र बुझाइ

शब्दार्थ
एक मनमोजी सेठले चौतारोको अर्को छेउमा थकाइ मारिरहेका भिखारी जस्ता लाग्ने चार जना फिरन्ताहरूलाई सुनको एउटा सिक्का दिंदै भने— ‘ल, यो चारै जनाले बाँडेर लिनू !’

ती फिरन्ताहरू एक–अर्कालाई चिन्दैनथे । त्यसमाथि एउटा सिक्का कसरी बाँड्नु ? चारमध्येको एक फारसीले प्रस्ताव राख्यो— “यसो गरौं, यो सिक्काको अंगूर (Angoor) किनेर बाँडौं !”

तर, दोस्रो यात्री; जो अरबी थियो, उसले फारसीको प्रस्तावप्रति आपत्ति जनाउँदै भन्यो— “यो गर्मीमा अंगूर होइन, इनाब (Enab) किनौं ।”

तेस्रो यात्री तुर्कले रवाफी शैलीमा आफ्नो मत राख्यो— “अंगूर, इनाब होइन, मलाई त अंजुम चाहिन्छ जुन तिमीहरूलाई पनि मन पर्नेछ ।”

चौथो यूनानीले आफ्नो फैसला सुनायो— “मलाई तिमीहरू तीनै जनाले रोजेको कुरा चाहिएन । मलाई त ‘स्ताफिल’ खानु छ ।”

सिक्का एउटा, आकांक्षा चार वटा ! फिरन्तेहरूबीच चर्काचर्की बढ्दै हात हालाहालको स्थिति पैदा भयो । त्यसैबेला एक सूफी सन्त त्यहाँ आइपुगे । चारै जनाको रुचि र प्रस्ताव सुनेपछि मन्द मुस्कुराउँदै सन्तले भने— “यदि तिमीहरूलाई मञ्जुर छ भने म यो एउटा सिक्काबाटै सबैका इच्छा पूरा गराइदिन सक्छु । त्यति मात्रै होइन, तिमीहरू चार जनाका चार वटा इच्छालाई एउटा इच्छामा पनि बदलिदिन सक्छु । पत्याउँछौं ?”

सन्तको कुराले फिरन्ताहरू छक्क परे । सन्तले चारै जनाका अलग–अलग भाषा बुझेर समाधान पहिल्याएको कुरा बुझन तिनलाई कठिन भइरहेको थियो । खासमा सबैले खान चाहेको त्यो फल उही थियो— अंगूर ।

तात्पर्य: ज्ञानी, सन्त र सक्षम शिक्षकहरू नै अज्ञानतालाई चिरेर मान्छे–मान्छे बीचको अन्योल र द्वन्द्व मेटाई समाजलाई सही मार्गदर्शन गर्न सक्षम हुन्छन् ।

शिक्षक मासिक, २०७६ असोज अंकमा प्रकाशित ।

commercial commercial commercial commercial