हाम्रा पूजनीय बोट–वृक्ष !

वृक्ष अर्थात् रूख हामी सबैले देखेका हुन्छौं, तर त्यसलाई परिभाषित गर्नु पर्‍यो भने अलमलिन सक्छौं । वृक्षको आयु लामो हुन्छ । कद ठूलो हुन्छ र यसको फेदैबाट हाँगा छुट्टिएर जाँदैनन् । खाँबो जस्तो फेदको मजबूत भागले सबै भार थामेको हुन्छ । साल अथवा सखुवाको वृक्षको बारेमा भनाइ छ— ‘त्यो सय वर्ष खडा बस्छ, ढल्यो भने सय वर्ष ‘पडा’ अर्थात् सड्ने–गल्ने हुँदैन र सय वर्ष ‘सडा’ अर्थात् सय वर्ष सड्नै लाग्छ ।’ संसारमा केही रूखहरू जस्तै, अमेरिकाको क्यालिफोर्नियामा पाइने रातो–काठे सल्लो (Red-Wood Pine) झण्डै १०० मिटरसम्म अग्लो हुन्छ । हाम्रो ढलेको धरहराभन्दा झ्ण्डै दोब्बर अग्लो । त्यहाँका केही वृक्ष २५०० वर्षभन्दा बढी पुराना भइसके । तीमध्ये केही वृक्ष सिद्धार्थ गौतम जन्मनुभन्दा पहिले नै उम्रिसकेका थिए ।

नेपाली वृक्ष जगतमा, सबभन्दा अग्लो कद हिमाली क्षेत्रमा देवदारले र तराईमा सालले ओगटेको हुन्छ । देवदार झ्ण्डै ५० मिटर अग्लो हुन्छ भने साल लगभग ३० मिटर । चाँप, गुराँस, उत्तिस, चिलौने, कटुस, बाँझ्, फलाँट आदि वृक्षले पनि अग्लो कद लिन्छन् । यसैगरी सिमल पनि अग्लो कद हुने वृक्ष हो । यी सबै वृक्ष मानव लगायत चराचुरुङ्गीलाई ठूलो गुन लगाएर बाँचेका हुन्छन् । त्यसैले ती सबै पूजनीय प्राकृतिक वरदान हुन् । वृक्षको प्रकृति हेर्‍यौं भने, हामी जीव–प्राणीका लागि ती जीवन आधारको रूपमा देखा पर्छन् । हाम्रो गाँस–बासदेखि श्वास–प्रश्वाससम्ममा तिनको योगदान अपरिहार्य रहन्छ । वृक्ष, वनस्पति र वनले बादललाई वर्षिन, हुरीबतासको विनाशकारी शक्ति थाम्न र बाढी–पहिरो रोक्न पनि मद्दत गर्छन् । रूख–बिरुवा हाम्रो सुरक्षाकवच मात्र हैन मनोरञ्जनका पनि आधार हुन् । त्यसका अतिरिक्त मानिसलाई बुद्ध बन्ने शक्ति पनि वृक्षकै छहारीले प्रदान गर्दछ । त्यसकारण पनि वृक्षहरू पूजनीय छन् ।

पञ्चपल्लभका स्रोत वृक्ष
हाम्रो धर्म, संस्कृति, संस्कार एवं विभिन्न अनुष्ठानले पनि वृक्षलाई विशेष महत्व दिंदै आएका छन् । हामीले पूजा गर्ने वा हाम्रा पूजाआजामा चढाइने फल, फूल, पात, काठ आदिका विशेषता अध्ययन गर्दा अधिकांश वृक्ष प्राकृतिक भन्दा सांस्कृतिक सम्पदाको रूपमा स्थापित पाइन्छन् । हामी विभिन्न धार्मिक अनुष्ठानका लागि ‘पञ्चपल्लभ’ भनेर हिजोआज बजारबाट एक बिटा सुकेको पात चोयाले बेरेको अवस्थामा किनेर ल्याउँछौं र देवतालाई चढाउँछौं । त्यसमा पीपल, वर, डुम्री, पाखरी र आँपका पल्लभ (पात) हुन्छन् । यी सबै हाम्रो आफ्नै परिवेशमा हुर्कने–बढ्ने वृक्ष हुन्, विशेष गरेर दुई हजार मिटरभन्दा होचो उप–उष्ण क्षेत्रमा ।

पञ्चपल्लभमा पर्ने वृक्षको आफ्नै वन वा जंगल भेटिंदैन । यिनलाई मानिसले रोपेको, हुर्काएको वा संरक्षण दिएको विशेष अवस्था छ । यी वृक्ष अरू देश–विदेश वा महादेशबाट आयातित पनि हैनन् । आफ्नै महादेशका रैथाने हुन् । त्यस अर्थमा, यी वृक्ष हाम्रो प्राकृतिक परिवेशको आफ्नै वन–जङ्गलका अवशेष पनि हुन् । हाम्रो धर्म, कर्म र संस्कृतिले संरक्षण गरेका वृक्ष हुन् यी । हाम्रो गाउँघर तथा पाठशाला परिसरमा यिनलाई प्राथमिकता साथ रोपेर, हुर्काएर, आफ्नो आराधनाका सामग्री बनाउनु उत्तम र उचित हुन्छ । हुन त यी वृक्षकै नाममा गाउँबस्ती बसालेका धेरै उदाहरण पनि भेटिन्छन् । त्यस्ता स्थान नाममध्ये पिप्ले, तीनपिप्ले, बरबोटे, डुम्रे, पाख्रीबास, आँपचउर, ढल्केबर आदि उल्लेख गर्न सकिन्छ । तर यताका दिनमा ती ठाउँमै पनि यी वृक्षको उपस्थिति घट्दो छ । वर्तमान नेपालको विकास निर्माण क्रममा वर–पीपलका चौतारी पनि विस्तारै विस्थापित हुँदैछन् । तर पनि; अझै बसपार्क वा सवारी कुर्ने ठाउँमा वर, पीपल, पाखरी, डुम्री एवं आँपका वृक्ष रोपेर तिनको शोभा बढाउने मात्र हैन वातावरण पनि स्वच्छ राख्न सकिन्छ । गर्मीको वेला यी वृक्षको छहारी अनुपम वरदान हुन्छ । त्यसका अतिरिक्त यी वृक्षले धेरै चराचुरुङ्गीको चिरबिरलाई जीवन्त राख्न मद्दत गर्छन् ।

पीपलको बोट

हाम्रा पूजनीय वृक्षमध्ये पीपलको विशेष महत्व रहेको त स्पष्ट नै छ । हिन्दू धर्मावलम्बीहरूका आराध्य देवदेवी विशेष गरेर ब्रह्मा, विष्णु, शिव र लक्ष्मीको अवतारको रूपमा पीपललाई पूजा गरिन्छ । शनिवारका दिन पीपलको बोटमा नारायणको बास हुन्छ भनेर पीपलको विधिपूर्वक पूजा–आराधना गर्ने प्रचलन अद्यापि कायम छ । विभिन्न मठ, मन्दिर मात्र हैन बाटोघाटोका चौतारीमा पनि पीपल रोप्ने चलन छ । पीपलको बीउ उम्रेर मठ–मन्दिरका छाना, पर्खाल एवं घर–गोठलाई बिगार्दा पनि बिरुवा उखेलेर फाल्न मानिस हिच्किचाउँछन् । धार्मिक आस्थाले पीपललाई धेरै जोगाएको छ ।

पीपलको बोटलाई ‘बोधि–वृक्ष’ पनि भनिन्छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्तिका लागि पीपलको छहारीमा बसेर ध्यान–तपस्या गरेका थिए । सोही वृक्षको एउटा हाँगो श्रीलङ्काको अनुराधापुरमा हुर्केर विश्व प्रसिद्ध धार्मिक वृक्षको रूपमा स्थापित छ । इसापूर्व २८८ मा उक्त वृक्ष रोपिएको भन्ने मान्यता छ । त्यसअर्थमा, यो वृक्षले पनि २३०० वर्ष उमेर काटिसकेको छ । प्रशस्त पातसहित झङ्गिएको विशाल वृक्ष हुनाले पीपलको छहारी विशेष रूपमा शीतल हुन्छ । चौडा पात मार्फत अधिक मात्रामा अक्सिजन प्रदान गर्ने यो वृक्षको वातावरणीय योगदान निकै ठूलो छ ।

पीपल र वरको जोडीलाई नर–नारायण मानिन्छ । वर–पीपलको चौतारी स्थापना र तिनको विधिवत् विवाह सम्पन्न गर्नाले ठूलो धर्म मिल्छ भन्ने मान्यता रहिआएको छ । वरको वृक्ष पनि पीपल जस्तै विशाल हुन्छ । तर यसका हाँगा पीपलका भन्दा बढी फिजिएका हुन्छन् । केही प्रजातिका वरका हाँगाबाट जरा पलाउँछन् । ती जरा तलतिर झ्र्दै जमीन छोएपछि तिनले पनि जरा हाल्छन् र नयाँ टेकोको रूपमा स्थापित हुन्छन् । भारतको कोलकातास्थित आचार्य जगदीशचन्द्र बोस वनस्पति उद्यानमा रहेको करीब २५० वर्ष पुरानो वरको रूखमा वृक्षको मूल फेद (खाँबो) छँदै छैन, तर हाँगाबिंगाबाट उम्रेका खाँबाको सङ्ख्या सयौं पुग्दछ । फलस्वरुप यो एउटै वृक्षले ३०–३५ रोपनी जमीन ओगटेको छ । वरलाई भारतको राष्ट्रिय वृक्ष मानिन्छ । यो वृक्ष पीपल जस्तै हिन्दू एवं बौद्धधर्ममा पूजनीय छ ।


रूख–बिरुवा हाम्रो सुरक्षाकवच मात्र हैन मनोरञ्जनका पनि आधार हुन्। त्यसका अतिरिक्त मानिसलाई बुद्घ बन्ने शत्तिाm पनि वृक्षकै छहारीले प्रदान गर्दछ । त्यसकारण पनि वृक्षहरू पूजनीय छन् ।

वैदिक धर्मकर्ममा प्रयोग हुने पञ्चपल्लभमध्ये डुम्री विशेष शोभायमान वृक्ष हो । यो वृक्ष वर वा पीपलभन्दा सानो कदको भए पनि यसको फल पाक्दा हरियो हाँगामा राता दाना लटरम्म हुन्छन् । त्यसमा विभिन्न जातका चराचुरुङ्गी झ्ुम्मिन्छन् । यो वृक्ष पनि धेरैजसो मठ–मन्दिर परिसरमा रोपिएको हुन्छ । यसको पात वर, पीपलको जस्तै बाक्लो र चम्किलो हुन्छ । साउन महीनाको द्वितीया तिथिमा यसको रूखमुनि बसेर ‘ओदुम्बर’ नामक व्रत–पूजा गर्ने चलन छ । संस्कृतमा यसलाई ‘उदुम्बर’ पनि भनिन्छ र, पहाडी भेकमा डुम्री भनिए तापनि मधेश–तराई र भारततिर यसलाई ‘गुलर’ भनिन्छ ।

डुम्री, वर र पीपलको वनस्पतिशास्त्रीय परिवार ‘मोरेसी’ (Moracee) भित्रको अर्को वृक्ष पाखरी पनि पञ्चपल्लभको अभिन्न अङ्ग हो । यो पनि बहुतै उपयोगी छायाँदार रूख हो । मठ, मन्दिर, पाटी, पौवा वा बटुवाहरूले बास बस्ने ठाउँमा यो रूख लगाइन्छ । धनकुटा नजिकैको पाख्रीबास यही वृक्षको नाममा स्थापित छ । वनस्पतिशास्त्रको नामकरण अनुसार यी चारै वृक्षको जातीय नाम (Generic name) ‘फाइकस’ (Ficus)  हो । प्रजातीय हिसाबले पाखरीलाई फाइकस इन्फेक्टोरिया (F. infectoria), डुम्रीलाई फाइकस ग्लोमिरेटा (F. glomerata), वरलाई फाइकस बेंगालेन्सिस (F. benghalensis) र पीपललाई फाइकस रिलिजिओसा (F. religiosa) भनिन्छ । यी चारै प्रजातिका वृक्षमा सेतो चोप (latex) हुन्छ ।

पञ्चपल्लभमध्येको पाँचौं वृक्ष आँप हो । विभिन्न कर्मकाण्ड र यज्ञादिमा आँपको पात प्रयोग गरिन्छ । आँपलाई वनस्पतिशास्त्रले म्याग्निफेरा इण्डिका (Magnifera indica)  भनेर चिन्छ । आँप फलको राजा जस्तै लोकप्रिय छ । धार्मिक र सांस्कृतिक महत्व भने यसको पातमा निहित छ ।

पञ्चपल्लभ जस्तै पञ्चवट
हिन्दू संस्कार र संस्कृति अनुसार ‘पञ्चवट’ अन्तर्गतका पाँच किसिमका वृक्षमा वर, पीपलका साथै अमला, अशोक र बेल पर्न आउँछन् । अशोक वृक्ष साराका इण्डिका (Saraca indica) नेपालको रैथाने (Indigenous) वनस्पति होइन । यो दक्षिण भारत एवं श्रीलङ्कातिरबाट ल्याएर रोप्ने चलन छ । तर अमला र बेल भने नेपालको वन–जङ्गलमा प्राकृत अवस्थामा पाइन्छन् । आयुर्वेदको सर्वाधिक लोकप्रिय औषधि ‘त्रिफला’ (हर्रो, बर्राे र अमला) को एक अभिन्न तत्व अमलाको धार्मिक महत्वमध्ये कात्तिक महीनामा अमलाको रूखमुनि बसेर गरेको पिण्डदानले पितृहरूको सद्गति हुने बताइन्छ । साथै अमलाको रूखमुनि बसेर विष्णुको पूजा गर्नाले ठूलो पुण्य मिल्ने विश्वास गरिन्छ ।

वरको हाँगो ।

एवं प्रकारले अर्को पूजनीय वृक्ष बेल पनि मधेश–तराई एवं पहाडका औल, बेंसीतिर प्राकृत रूपमा नै अधिक पाइन्छ । शिवको आराधनामा बेलको पात नभई हुँदैन भन्दा पनि हुन्छ । हरितालिका (तीज) को पूजा विधिमा बेलपत्रको विशेष स्थान हुन्छ । दशैंको नवरात्रिका विभिन्न पूजामा पनि बेलपत्र आवश्यक पर्छ । बेलको फलले विष्णु भगवानलाई अर्घ दिने चलन छ । र, नेवार जातिमा बेलको फललाई नारायणको प्रतीक मानेर आफ्ना नानीहरूको बेलविवाह ‘इही’ गर्ने विशेष परम्परा चलिआएको छ । बेलको फल स्वास्थ्यवद्र्धक र विभिन्न रोगव्याध (झाडा–पखाला, आउँ आदि पेटको रोग) को उपचारमा प्रयोग हुन्छ । बेलको वैज्ञानिक नाम एइगल मार्मेलस (Aegle marmelos) हो । यो वनस्पति कागती, भोगटे, सुन्तलाको परिवारमा पर्दछ, तर यसको फल जस्तो साह्रो अरू कुनै फल हुँदैन । तसर्थ, ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भन्ने उक्ति नेपालीमा अधिक प्रयोग गरिन्छ ।

वृक्षरोपणमा धार्मिक बिरुवा
हाम्रा धार्मिक वृक्षहरूको उपादेयता धार्मिक कर्मकाण्ड, यज्ञ, होम, सांस्कृतिक परम्परा आदिसम्म मात्र सीमित देख्नु वास्तवमा सांस्कृतिक अज्ञानता हो । केही वर्ष पहिले मैले बजारबाट पञ्चपल्लभको एउटा बिटो किनेर ल्याएको थिएँ । त्यसलाई पानीमा ढड्याएर फुकाई हेर्दा न त्यहाँ वरको पात थियो, न पीपलको; न आँप र डुम्री नै थियो । निकै मिहिनेतपछि पत्ता लाग्यो, त्यस बिटामा चिउरीका साना–ठूला पाँच वटा पात मात्र रहेछन् ! त्यसदिन बजारले मलाई धोका दियो । तर त्यस्तो अवस्था किन र कसरी आयो ? त्यो घटनाले मलाई यी प्रश्नतिर घोत्लिन बाध्य बनायो । यथार्थमा, हाम्रो संस्कृतिले यी वृक्षहरू हाम्रै वरिपरिको परिवेशमा जीवित अवस्थामै मौजुद हुनुपर्ने अपेक्षा गरेको हुनुपर्छ । तिनका शीतल छहारीमा शुद्ध वायुको श्वास फेरेर बस्ने वातावरणको सपना त्यसमा निहित हुनुपर्छ ।

बढ्दो शहरीकरणमाझ हाम्रा धार्मिक बोटबिरुवालाई पूजनीय दृष्टिले हेर्न वा देख्न सकेका छैनौं । वास्तवमा हाम्रा धार्मिक बोटबिरुवाहरू रोप्न र हुर्काउन अरूभन्दा सहज र सजिलो हुन्छ । तसर्थ, हरियाली प्रवद्र्धनको कार्यमा आफ्नै पूजनीय वृक्षहरूलाई प्राथमिकता दिन सक्यौं भने त्यसको प्रतिफल राम्रो हुन्छ । हामीले निर्माण गर्ने बगैंचा, सार्वजनिक पार्क वा सवारी बिसौनी, सडकका दोबाटो वा चौबाटो एवं घुम्ती र भञ्ज्याङमा पञ्चपल्लभ र पञ्चवटीका विभिन्न वृक्ष शोभायमान हुन्छन्, उपयोगी हुन्छन् । सामान्यतया दुईहजार मिटरभन्दा होचो भूभागमा तिनलाई सजिलै रोप्न र हुर्काउन सकिन्छ । नेपाली धर्म र संस्कृतिले अँगालेका यस्ता थुप्रै वनस्पति छन् । तीमध्ये चाँप, रुद्राक्ष, कदम, कपुर, देवदार, शिरीष, शमी थप उपयुक्त वृक्ष हुन् । भारतबाट आयात हुनसक्ने श्रीखण्ड, रक्तचन्दन, अशोक लगायत अरू धार्मिक वृक्षको सम्भाव्यता पनि राम्रो छ ।

तसर्थ, वातावरण व्यवस्थापनको सन्दर्भमा हरियाली प्रवद्र्धन गर्ने क्रममा हाम्रो धर्म, संस्कृति र संस्कारले समेत अँगालेका पूजनीय वृक्ष र वनस्पतिलाई नबिर्सौं । हिजोआज अनेकौ गैरनेपाली वृक्ष रोपेर महोत्सव मनाउने चलन बढ्दो छ । राष्ट्रिय वृक्षरोपण कार्यक्रममा धार्मिक एवं सांस्कृतिक महत्व बोकेका वृक्षलाई समावेश गर्न नसक्नु ठूलो सांस्कृतिक क्षति हो, सांस्कृतिक अन्धता हो । तसर्थ हाम्रा स्कूल, पाठशाला, विद्यालय वा विश्वविद्यालयहरूले आफ्नो परिसरमा आफ्नै संस्कृति र आफ्नै परिवेशका पूजनीय बिरुवा रोपेर सुन्दर वातावरण सिर्जना गर्न सके मात्र तिनको शैक्षिक प्रयत्न सार्थक ठहरिनेछ ।

शिक्षक मासिक, २०७६ भदौ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial