विपत्तिपछिको स्कूल व्यवस्थापन

“म त मामाघर जान्नँ । त्यहाँ त भुइँचालो जान्छ...”
“बाबा ! चाँडै घर आउनू है । भुइँचालो गयो भने के गर्ने ?”
“नाइँ मामु ! तपाईं यहीं बस्नू, कतै नजानू, मलाई त डर लाग्छ ।”

यस्तै यस्तै वार्तालाप हुने गर्दथे केटाकेटी र परिवारका सदस्यहरू बीच २०७२ सालको भूकम्पताका !

तर विपत्ति एकै प्रकारका हुँदैनन् । चार वर्षअघिको ठूलो भूकम्प अनि आजपर्यन्तका नियमित परकम्प एक प्रकारका विपत्ति हुन् भने वर्षात् लागेपछिका बाढीपहिरो अर्को प्रकारका प्राकृतिक विपत्ति हुन् । केही महीना पहिले बारा जिल्लामा आँधीले मच्चाएको विनाश पनि प्राकृतिक विपत्ति नै हो । भूकम्प, बाढीपहिरो, आँधीबेहरी, आगलागी, चट्याङ आदिमा परी केटाकेटी, तिनका आमाबाबा र अभिभावक, शिक्षक आदिको मृत्यु भएको, चोटपटक लागेको र उठिबास भएका दृश्यहरू टिभीका पर्दामा, पत्रपत्रिका/छापामा अनि सामाजिक सञ्जालमा आइरहेका हुन्छन् । अभिभावक र शिक्षकहरू समुदायमा हुने भयमिश्रित संवादहरू पनि बालबालिकाले सुनेका हुन्छन् । यी सबले तिनको मन–मस्तिष्कलाई कम्पित गराइरहेको हुन्छ ।

यो लेख त्यस्तो प्राकृतिक विपत्तिका असीमित शृंखला चलिरहेका वेलामा समेत बालबालिकालाई कसरी विद्यालय पठाउने र पठनपाठनमा सरिक गराउने; विपत्तिको प्रभावमा परेका शिक्षक, विद्यार्थी एवं अभिभावकको समेत मनोवैज्ञानिक उपचार कसरी गर्ने भन्नेमा केन्द्रित रहनेछ ।

प्राकृतिक विपत्तिले गर्दा बालबालिकाका मन–मुटुको कम्पनसँग सँगै तिनका स्कूल–भवन पनि चर्किएका हुन सक्छन्; पानी पसेर कक्षाकोठा भत्किएका हुन सक्छन्, अथवा कतै–कतै विद्यालय भवन/कक्षाहरू नै बगेका पनि हुन सक्छन् । तिनका प्यारा साथीभाइमध्ये कोही अनाथ भएका; कोही घाइते भएका अथवा कोही बेपत्ता भएका हुन सक्छन् । अझ तिनका विश्वासका धरोहर— कोही शिक्षक समेत शारीरिक रूपले अशक्त भएका हुन सक्छन् भने कोही अझै पनि मनोवैज्ञानिक त्रासबाट मुक्त हुन नसकेका हुन सक्छन् । यस्तो परिस्थितिमा कसरी बालबालिकाको पढाइ सुचारु र सम्भव तुल्याउने ? उनीहरूलाई मानसिक रूपमा कसरी सामान्य अवस्थामा फर्काउने ? विपत्–व्यवस्थापनको सन्दर्भमा यी अत्यन्त महत्वपूर्ण सवाल हुन् ।


प्राकृतिक विपत्तिाले गर्दा बालबालिकाका मन–मुटुको कम्पनसँगै तिनका स्कूल–भवन पनि चर्किएका हुन सक्छन्। साथी, शिक्षकहरू आहत भएका हुन सक्छन्। यस्तो बेला कसरी पढाइ सुचारु तुल्याउने ? उनीहरूलाई मानसिक रूपमा कसरी सामान्य अवस्थामा फर्काउने ? विपत्–व्यवस्थापनको सन्दर्भमा यी महत्तवपूर्ण सवाल हुन्।

विपत्ग्रस्त क्षेत्रका बालबालिकाको दैनिकीलाई पुनः सुचारु गराउन, अनि तिनको मन–मस्तिष्कबाट विपत्तिको ‘भूत’ भगाउन स्कूल नै अनिवार्य र सबैभन्दा उपयुक्त थलो हो । त्यसैले जस्तोसुकै प्रतिकूलता पछि पनि सुरक्षित वातावरण निर्माण गरी बालबालिकालाई विद्यालय फर्काउनु अपरिहार्य हुन्छ । अतः स्कूल, शिक्षक अनि अभिभावकहरू त्यसैको तयारीमा जुट्नुपर्छ । त्यसनिम्ति सर्वप्रथम भौतिक क्षति भएका संरचनाको मर्मत गरी विद्यालय भवन र कक्षाकोठालाई चुस्त दुरुस्त पार्नु आवश्यक हुन्छ । अभिभावक र शिक्षकहरूलाई मनोसामाजिक रूपमा तयार पार्नु अर्को महत्वपूर्ण कार्य हो ।

शिक्षक र विद्यार्थीसँगै अभिभावकलाई स्कूलमा ‘आफ्ना बालबच्चा सुरक्षित रहन्छन्, अनि तिनले विपत्ति भन्दा पहिलेको अवस्थामा झैं   ज्ञानार्जनका लागि अनुकूल वातावरण पाउनेछन्’ भन्ने विश्वास प्रत्याभूत गराउन सक्नुपर्छ । तब मात्र शैक्षिक अभियान अपेक्षित ढंगबाट सफल हुन सक्छ ।
विपत्तिपछिको स्कूललाई भौतिक र मनोसामाजिक रूपमा दुरुस्त पार्न निम्न बुँदाहरूमा ध्यान दिनु उपयुक्त हुनेछः

विद्यालयको भौतिक अवस्थामा सुधार
भत्किएका, चर्किएका विद्यालय भवन सबैका लागि असुरक्षित हुन्छन् । अतः प्राविधिकहरूले निरीक्षण गरेर योग्य ठानिएका भवन एवं कक्षाकोठामा मात्र अध्ययन–अध्यापन गराउनुपर्दछ । वैकल्पिक रूपमा अस्थायी टहराहरू बनाएर अथवा बिहानी–दिवा–रात्रि सत्रमा कक्षाहरू चलाएर या एउटै कक्षामा समानस्तरका विद्यार्थी राखेर पनि विपत् अवस्थामा शैक्षिक कार्यक्रमहरू सुचारु गर्न सकिन्छ ।

अभिभावक–शिक्षक–व्यवस्थापन पक्षबीच अन्तरक्रिया
भूकम्प, आगलागी, हुरीबतास, बाढीपहिरो जस्ता अकस्मात् आइपर्ने प्राकृतिक विपत्तिमा सामान्यतः कसैलाई दोषारोपण गर्ने ठाउँ हुँदैन । अतः विपत्तिको घडीमा आपसी समझ्दारी एवं छलफलद्वारा समस्याको समाधानका उपाय अवलम्बन गर्नेतिर सबैको ध्यान केन्द्रित हुनु उचित हुन्छ । विद्यालयको भवन सामाजिक सम्पत्ति हो । यसको पुनर्निर्माणका लागि सबैको सद्भाव र सहयोग चाहिन्छ । त्यस्तै विपत्तिका कारण विद्यार्थीको छुटेका पाठहरूको पूर्ति गर्न पनि आपसी छलफल आवश्यक हुन्छ । यी सबै कुरामा अभिभावकलाई समेत विश्वासमा लिएर काम गर्न सकेमा सफलता पाउन सजिलो हुन्छ ।

शिक्षकलाई मनोसामाजिक परामर्श र विपत्–अवस्थाको कार्यसम्पादन गर्न तालिम
विपत्को वेलामा मानवीय संवेदनाका कारण शिक्षकहरू पनि प्रभावित भएका हुन्छन् । ठूलो जनधनको क्षति गराउने प्राकृतिक प्रकोपले तिनलाई पनि असर पारेको हुन्छ । अतः तिनलाई मनोविमर्शको जरूरत पर्दछ । यस्तो समयमा शैक्षिक क्रियाकलाप पनि विशेष प्रकारको हुने गर्दछ । त्यसका लागि कमै शिक्षक दक्ष र अनुभवी हुन सक्छन् । अतः नजानेकालाई सिकाउने अनि जानिसकेकालाई पुनर्ताजगी तालिम दिलाउने अवसर पनि यही नै हो ।

प्राकृतिक विपत्तिको प्रभावमा परेका व्यक्ति (शिक्षक, विद्यार्थी एवं अभिभावक) लाई निम्न तरीकाबाट प्राथमिक मनोवैज्ञानिक उपचार गर्न सकिन्छः
क. ‘म सुरक्षित छु’ भन्ने भावना जगाउन प्रभावितहरूलाई खाना, छाना अनि आकस्मिक स्वास्थ्य सुविधा उपलब्ध गराउने । त्यस्ता सुविधा कहाँ र कसरी पाउन सकिन्छ भन्ने कुराको जानकारी गराउने ।
ख. आफन्त, परिवारजन, छिमेकी, साथीसँगीसँग निरन्तर सम्पर्कमा रहन सक्ने वातावरण तयार गर्ने ।
ग. व्यवहारोपयोगी सुझाव–सल्लाह प्रदान गरेर एकापसमा सहयोग गर्न समर्थ तुल्याउने । आफ्ना आवश्यकता आफैं पूरा गर्न सक्ने गरी सबैलाई सकारात्मक अनुभूति गराउन खोज्ने ।
घ. प्रभावित व्यक्तिहरूको कथा–व्यथा सुन्ने अनि एकले अर्कालाई आफ्ना अनुभव, चिन्ता, पीर–मर्का खुलस्त राख्न सक्ने वातावरण बनाउने । जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि सहयोगी भावना कायमै राख्ने । विपत्तिका बारेमा यथार्थ जानकारी गराउने । जस्तैः परकम्प या बाढीपहिरोका बारेमा सही वस्तुस्थिति बताई भ्रामक हल्लाहरू निस्तेज गर्न सकेमा जनमानसमा व्याप्त भय उल्लेख्य मात्रामा घट्न सक्छ ।
ङ. उपलब्ध राहत सामग्री, सहायताको स्रोत, स्वास्थ्योपचार सुविधा आदिका बारेमा यथेष्ट जानकारी दिई आशा एवं सकारात्मक वातावरणको संचार सम्प्रेषण गर्ने ।
तर यस किसिमका मनोसामाजिक उपचार पद्धति लागू गर्न मनोचिकित्साकर्मीहरूको प्रयास मात्रले सम्भव हुँदैन । यसमा स्थानीय नागरिक समाज, राजनीतिक नेतृत्व, शिक्षक, मिडियाकर्मी सबैको हातेमालो आवश्यक पर्छ ।

विशेष प्रकारको पाठ्यक्रमको तयारी
भूकम्प/परकम्पहरू फेरि फेरि पनि आउन सक्दछन्, आगलागी, आँधी र बाढीपहिरो त वर्षेनि आइनै रहन्छन् । यस्ता हरेक विपत्को वेला नचाहिंदो हल्लाका कारण विद्यार्थीमा भ्रम अनि त्रास पैदा हुन्छ । तसर्थ त्यस्ता प्राकृतिक विपत्तिका बारेमा वैज्ञानिक तवरमा सबैलाई शिक्षित गराउनु जरूरी हुन्छ । त्यसनिम्ति तत्सम्बन्धी समस्या निराकरणका उपाय समेटिएको पाठ्यक्रम तयार गरी उमेर समूह अनुसारको शिक्षा दिन सम्बद्ध निकायहरू तत्पर हुनुपर्छ । त्यस्तो शिक्षाबाट परिवार एवं समाजमा समेत सकारात्मक प्रभाव पर्न सक्दछ ।

विद्यार्थीको मनोसामाजिक समस्याको न्यूनीकरण
प्राकृतिक विपत्को घडीमा कतिपय व्यक्तिमा चिन्ता, डर, छटपटी, स्मरणशक्तिमा कमी, एकाग्रतामा ह्रास आदि मनोवैज्ञानिक लक्षणका साथसाथै जीउ÷पेट या टाउको दुख्ने, थकाइ लाग्ने, रिंगटा चल्ने जस्ता शारीरिक समस्या पनि देखा पर्न सक्दछन् । यी सबै प्राकृतिक विपत्तिपछिका स्वाभाविक मनोसामाजिक प्रतिक्रिया पनि हुन् । यस्तो समयमा सामान्य अवस्थामा जस्तो शिक्षण विधि प्रभावकारी नहुन सक्छ । त्यस्तै, विद्यालयको भौतिक संरचनामा भएको क्षतिका कारण छुट्टाछुट्टै कक्षाकोठा पनि उपलब्ध नहुन सक्दछन् । डर–त्रासका कारण विद्यार्थी अलमलमा हुन्छन्, एकाग्रता पनि हराएको हुन्छ । यस्तो वेलामा चित्रकला, गायन, नाटक, रूपक, छलफल, वादविवाद, खेल, कथा–श्रवण आदिका माध्यमबाट तिनलाई भूकम्प या प्राकृतिक विपत्तिका असर–प्रभावका बारेमा, अनि ‘प्राकृतिक विपत्ति आइहालेमा के गर्ने ?’ आदि विषयहरूमा ज्ञान दिलाउन सकिन्छ । सानो उमेरका विद्यार्थी चित्र र समूहगत–व्यक्तिगत खेलहरूकै माध्यमबाट आफूभित्रका डर, चिन्ता अभिव्यक्त गर्न सक्दछन् । ठूलो उमेरका विद्यार्थीलाई भने उद्धार एवं राहतकार्यमा स्वयंसेवीका रूपमा खटाउन सके यसबाट मनोवैज्ञानिक उपचार/शिक्षा सँगै आवश्यक परेकालाई सेवा समेत उपलब्ध गराउन सकिन्छ ।

प्राकृतिक विपत्तिको सीधा प्रभाव हराएको केही हप्तापछि भने केही विद्यार्थीमा डिप्रेसन, पोष्टट्रमाटिकस्ट्रेस डिस्अर्डर जस्ता दीर्घ मानसिक रोग पनि देखा पर्न सक्दछन्, त्यसका लागि मनोचिकित्सककै सल्लाह एवं सुझव आवश्यक पर्दछ ।

अन्य क्रियाकलाप
विपत्को समय विद्यार्थीलाई स्वास्थ्य–सरसफाइको चेतना जागृत गराउने अपूर्व अवसर पनि हो । विद्यार्थीलाई कक्षाकोठा–विद्यालय प्राङ्गण मात्र नभएर टोलछिमेक, गाउँघर, बजार आदिको सरसफाइ अभियानमा अनि स्वास्थ्य जागरण प्रचारप्रसारमा पनि लगाउन सकिन्छ, जसले समाजमा नै सकारात्मक प्रेरणा जगाउन सक्दछ ।
अतः विद्यालय संरचनाको मर्मत–संभार, व्यवस्थापन पक्षको सद्व्यवहार, शिक्षकको प्रोत्साहन अनि अभिभावकवर्गको सकारात्मक प्रेरणा भएमा बालबालिकालाई कुनै विषम परिस्थितिमा पनि शिक्षारूपी उज्यालोबाट वञ्चित रहनुपर्दैन । सही दिशा पाएमा तिनले समाजलाई नै साँचो अग्रगमनतिर डोर्‍याउन सक्छन् । यसमा सरकार, राजनीतिज्ञ, नागरिक समाज, मिडिया, शिक्षाविद्, स्वास्थ्यकर्मी आदि सबैको हातेमालो भने आवश्यक पर्छ ।

शिक्षक  मासिक, २०७६ भदौ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial