मातृभाषामा शिक्षा रोजगारले थप्नेछ आकर्षण

शिक्षा मातृभाषामा हुनुपर्दछ— यो सबै पक्षले स्वीकार गरेको तथ्य हो । विश्वका अनेकौं संविधान जस्तै नेपालको संविधान २०७२ ले पनि मातृभाषामा शिक्षा लिन पाउनुलाई मौलिक हकको रूपमा स्वीकारेको छ । बहुभाषिक शिक्षा निर्देशिका–२०६६ ले आधारभूत तहसम्म मातृभाषाबाट शिक्षा दिने भनेको छ । त्यसै कारण पनि प्राथमिक कक्षामा मातृभाषाको माध्यमबाट पढाइ हुनुपर्ने वकालत गर्ने गरिएको छ ।

नेपालमा मातृभाषा शिक्षाको व्यवस्थापन २०५४ सालदेखि नै शुरूआत भए पनि यसको लागि पाठ्यपुस्तक लेखनको काम २०५५ सालदेखि भएको हो । यस कार्यक्रम अन्तर्गत २५ वटा मातृभाषाका पुस्तकहरू तयार पारिएको तथ्याङ्कले देखाउँछ । प्रथम चरणमा हिमाल, पहाड र तराईमा बोलिने विभिन्न चार भाषा परिवार (भोटबर्मेली, भारोपेली, एस्टो एशियाटिक र द्रविडियन) का आठ भाषामा कामको थालनी भएको थियो । तर प्राप्त जानकारी अनुसार, अझ पनि यसमा व्यापक प्रयासको आवश्यकता छ । कक्षाकोठासम्म पर्याप्त रूपमा पुस्तकहरू पुग्न सकेका छैनन् । पुगे पनि स्थायित्व प्राप्त गर्न सकेका छैनन् ।

प्रारम्भिक समयमा भाषा प्रेम र अध्ययन सहजताकै कारण पनि मातृभाषाका पुस्तकहरू प्राथमिक कक्षामा प्रशस्त मात्रामा पुगे । विद्यालयहरूले उत्साहपूर्वक आ–आफ्ना कक्षामा यसको शिक्षण प्रारम्भ गरे । तर उनीहरूको उत्साह— विद्यार्थीको निराशा र अरुचिले गर्दा केही समयमै विलीन हुँदै गयो र आज तराई–मधेशतिरका विद्यालयमा यसको सुइँको सम्म पाउन छाडिएको छ । वास्तवमा मातृभाषाप्रतिको विमोहनको कारण के होला ? यो अध्ययन–अनुसन्धानको विषय हुन सक्छ ।

म नेपालका सबै १२३ वटा मातृभाषाका समस्या बारे बोल्ने हिम्मत गर्न सक्तिनँ । तर यहाँ प्रस्तुत कुनै प्रसंग र समस्या धेरैका निम्ति साम्य हुन सक्छ । मेरो क्षेत्र नेपालको दोस्रो ठूलो भाषाको रूपमा स्थापित मैथिली (११.६७) हो र त्यसमा आफ्ना विचार राख्न चाहन्छु ।

मातृभाषाको प्रथम कक्षाको पाठ्यपुस्तक २०५४–५५ तिर प्रकाशित भएको थियो । शुरूमा विद्यालयलाई पुस्तक उपलब्ध गराउन सकिएन भन्ने गुनासो आयो । यता जनक शिक्षा सामग्री केन्द्रको गोदाममा पुस्तकहरू थन्किरहेको जानकारी पनि दिइयो । पछि त अनेकौं संस्करण प्रकाशित भएको पनि तथ्याङ्क छ । तर आश्चर्यजनक रूपमा मैथिली भाषी क्षेत्रहरूमा प्राथमिक कक्षामा मैथिली विषयको अध्ययन न्यून वा नगन्य रूपमा छ । यो विरोधाभास कसरी भयो— यसको बारेमा शिक्षा विभाग, जिल्ला शिक्षा इकाइ वा सम्बन्धित पक्षले नै जवाफ देला । तर विगत केही वर्षयता यस विषयमा भएको अध्ययनले केही तथ्यगत प्रश्न खडा गरेको देखिएको छ । सम्भवतः यसै कारणले गर्दा नै होला मातृभाषाका पाठ्यपुस्तक पढाउन चाहने विद्यालयहरूले अब आफ्नै प्रयासमा चाहिने संख्यामा पाठ्यपुस्तकहरू जनक शिक्षा सामग्रीबाट छपाई लैजानुपर्ने व्यवस्था गरिएको छ ।

भाषाको समस्या: मैथिलीमा लेखिने पाठ्यपुस्तकमा भाषाको समस्या सबैभन्दा बढी देखिएको छ । प्राथमिक कक्षामा अधिकांश विद्यार्थी ‘मानक मैथिली’ भनिने खास वर्गको भाषाशैली भन्दा भिन्न समुदायका हुन्छन् । कठिन र एक वर्गीय परिवेशका शब्द तथा विषयवस्तुसँग अपनत्व नगाँसिएका कारण पनि ती विद्यार्थी मैथिली पढ्न रुचाउँदैनन् ।

ऐच्छिक विषयमा राख्नु: प्राथमिक तहदेखि माध्यमिकसम्म मैथिली (मातृभाषा) लाई ऐच्छिक विषयमा राखिएको छ । रोजगारको लागि आवश्यक ज्ञानको सट्टा मातृभाषा राख्नु उपयुक्त नभएर पनि मैथिली (मातृभाषा) पछाडि परेको हुन सक्दछ ।

शिक्षकको अतिरिक्त व्यवस्था नहुनु: प्राथमिक कक्षामा शिक्षण अत्यन्त कठिन विषय हो । प्राथमिक शिक्षणमा शिक्षकहरूको वहाली हुँदा मातृभाषा शिक्षकहरूको पनि दरबन्दी तय गर्नुपर्दछ । दरबन्दी भएमा पक्कै मैथिली लगायत अन्य मातृभाषी विद्यार्थीको लागि पाठ्यपुस्तकको व्यवस्थापनका साथै शिक्षणतिर विद्यालयको ध्यान जानेथियो । अबको एकीकृत पाठ्यसामग्री पढाउन शिक्षक पनि पोख्त हुनुपर्दछ । उसले नयाँ पाठ्यक्रममा सामेल गरिएका विद्यार्थीको अभ्यास पुस्तिका, शिक्षक निर्देशिकाको गहन अध्ययन र अभ्यास गरेको हुनुपर्दछ । त्यसले पनि शिक्षक पूर्णरूपमा तालिमप्राप्त हुनुपर्दछ । वैकल्पिक शिक्षकले आधारभूत शिक्षाको मान्यतालाई न्याय गर्न सक्दैनन् ।

सरकारी नीतिमा उदासीनता: ‘प्राथमिक शिक्षा मातृभाषामा’ राम्रो राजनीतिक नारा हुन सक्छ, तर यसको वास्तविक प्रयोगको व्यवस्थापन गर्न सरकारले कुनै चासो देखाएको छैन । माथिका तीन वटै अवरोधलाई हटाउने जिम्मा सरकारकै भए पनि; शिक्षाका अन्य क्षेत्रमा लगानी गरे पनि; प्राथमिक मातृभाषा शिक्षामा कार्यक्रम सहितको त्यत्रो लगानी हुँदा पनि त्यसको उचित व्यवस्थापन भएको देखिंदैन ।

अब के गर्ने ?: देशमा तीन वटा सरकार छन् । सबैभन्दा बढी प्रभावकारी शक्तिशाली संघीय सरकार, त्यसपछि स्थानीय सरकार र अहिलेको अवस्थामा निरीह जस्तो देखिने प्रदेश सरकार । शिक्षा क्षेत्रमा पनि धेरै जस्तो अधिकार स्थानीय सरकारमा गइसकेको छ । अब विद्यालयमा पाठ्यपुस्तक कसरी लेखाउने, कसरी छाप्ने, कसरी वितरण गर्ने जस्ता अधिकार पनि प्राप्त गरिसकेको अवस्था छ । त्यसले गर्दा प्राथमिक शिक्षामा पुस्तक, लेखन र पढाइको बन्दोबस्त स्थानीय सरकारले नै गर्नुपर्छ ।

पाठ्यक्रम विकास केन्द्रको भूमिका खुम्चिंदै गएको छ । उसले अहिलेको अवस्थामा पाठ्यक्रमको स्वरुप निर्धारण गरी त्यस अनुरूपको पाठ्यक्रम विकास गरेर त्यही स्थानीय निकायको लागि प्रक्षेपण गर्ने नीति लिएको हुन सक्छ । प्रारम्भिक रूपमा यसलाई आधार मानेर पाठ्यक्रमको विकास गर्न सजिलो होस् भन्ने मनसाय मात्र भएको देखिन्छ । र, यो नराम्रो पनि हैन ।

अहिले बहुभाषिक शिक्षा अन्तर्गत तयार पारिंदै गरिएका पाठ्यक्रम र पाठ्यपुस्तकमा समयानुकूल परिवर्तन गर्ने प्रयास गरिएको छ । स्थानीय भाषा, शब्द, सम्पदा र विधि–व्यवहारलाई समेटिने गरी पाठ्यपुस्तकको तयारीको काम भइरहेको छ । यो निश्चय सराहनीय प्रयास मान्न सकिन्छ । तर यस प्रयासमा सघाउन आउने मातृभाषी जानकारहरू कति सक्षम छन्; यसको मूल्याङ्कन गर्ने अवस्था अहिले नै भएको छैन । यसको कारणमा पाठ्यपुस्तक लेखनमा वर्षौंदेखि केही खास पद्धतिको लेखन र एकाधिकार झैं लाग्ने व्यवस्थापनले अन्य इच्छुक, योग्य, योगदान दिनसक्ने व्यक्तिहरू र पाठ्यक्रम विकास केन्द्रबीचको दूरी बढ्दै गएको छ । परिणामतः मैथिली विषयमा योग्य, प्रशिक्षण पनि प्राप्त गरिसकेका अनेकौं व्यक्तित्व सामेल हुन रुचाएका छैनन् । यसको परिणाम के हुने हो; अनुमान गर्न सकिन्छ ।

स्थानीय सरकारको भूमिका: आफ्ना मातहतका विद्यालयको लागि प्राथमिक कक्षामा मातृभाषा शिक्षाको व्यवस्था गर्न लाग्दा मातृभाषा शिक्षण ५० नम्बरको भए पनि अनिवार्य गर्न लगाउनुपर्दछ । र यसको लागि छुट्टै दरबन्दी कायम गरी उक्त भाषामा पोख्त व्यक्तिलाई शिक्षकमा छनोट गरी विद्यालयमा राख्नुपर्दछ । यसले गर्दा मातृभाषा शिक्षण सहज र बढी उपयोगी हुन जानेछ ।

अब मातृभाषाको शिक्षण रोजगारमूलक पनि हुने पक्का छ । प्रदेशहरूले संविधानले दिएको प्रावधान अनुसार प्रदेशमा सबैभन्दा बढी बोलिने एक वा एकभन्दा बढी मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्नेछन् । यो लागू हुँदा मातृभाषाका अनुवादक, दोभाषिया र विज्ञहरूको आवश्यकता प्रदेशलाई पर्ने पक्कै हुन्छ । यस्तो अवस्थामा मैथिली लगायतका अन्य मातृभाषाहरूप्रतिको अध्ययन रुझनमा आशातीत परिवर्तन हुन सक्नेछ । र, यसरी वर्षौंदेखिको मातृभाषा शिक्षणको सपना पनि साकार हुने र मातृभाषाहरू पनि बलियो हुँँदै जाने पक्का छ ।

जनकपुर

commercial commercial commercial commercial