प्रतिक्रिया र सुझाव

अंग्रेजी माध्यमः पहिला शिक्षक तयार गरौं अनि रहर गरौं !

शिक्षक  को साउन अङ्कमा अंग्रेजी माध्यम सम्बन्धी रिपोर्टिङ पढेपछि आफ्नो अनुभवका आधारमा केही कुरा लेख्न मन लाग्यो ।

खासगरी विद्यार्थी संख्या घट्दै गएपछि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम छिरेको हो । अभिभावकले सामुदायिक छोडेर निजी स्कूलमा छोराछोरी भर्ना गर्न थालेपछि सामुदायिकले विद्यार्थी थाम्न अंग्रेजी माध्यमबाट पढाउन थालेका हुन् । अंग्रेजीसँगै ती विद्यालयले विद्यार्थीलाई यूनिफर्म, टाई, बेल्ट र जुत्ता पनि अनिवार्य गरे । यति भएपछि अभिभावकले सामुदायिकमा भर्ना गरे पनि छोराछोरी बोर्डिङमा पढाएको महसूस गर्न थाले । यसले गर्दा विद्यालयमा विद्यार्थी थामिए पनि ।

तर पढाइ–सिकाइको स्तरका विषयमा यसले केही गम्भीर प्रश्न खडा गरेको छ । जस्तो कि; अंग्रेजी माध्यम त पढाउने तर पढाउने को हो ? पढाउने उनै नेपाली माध्यमबाट पढाइरहेका शिक्षक ? वर्षौंदेखि नेपालीमा पढाइरहेका शिक्षकलाई नै अंग्रेजीको बोझ् बोकाइयो । उनीहरूलाई भनियो– ‘अंग्रेजी भनेको भाषा हो, प्रयोग गरेपछि जानीहालिन्छ नि !’ प्रअ र व्यवस्थापन समितिले यसै भन्दै भटाभट बोर्डिङमा पढाइ हुने कोर्सका पुस्तक विद्यार्थीलाई किनाए । टाई बेल्ट दिए । झेला बोकाए । अनि तिनै पुराना शिक्षकलाई विना कुनै तालिम र ‘ओरेन्टेसन’ अंग्रेजी माध्यमबाट पढाउनू भनेर कक्षामा पठाए ।


अंग्रेजीमा बोल्नु पर्दा विद्यार्थीका सामु शिक्षकका बोल्ने शब्द नै सकिए। ‘भन्नै पर्ने कुरा’ भने धेरै बाँकी रहन थाल्यो।

‘अंग्रेजी माध्यमबाट पढाउने’ निर्णयसँगै आधाआधी आत्मबल गिराइसकेका शिक्षकहरू कक्षामा पस्दा आफैं विद्यार्थी जस्ता भएर पसे । कक्षामा छिनछिनमा प्रयोग हुने ‘हल्ला नगर’, ‘नचल’ ‘पछाडि नफर्क’ जस्ता शब्द पनि अंग्रेजीमा सहजतापूर्वक भन्न सकेनन् । यस्ता शब्दलाई कतिले आफूखुशी अनुवाद गर्न थाले । विद्यार्थीले त्यही सिक्दै गए । अंग्रेजीमा बोल्नु पर्दा विद्यार्थीका सामु शिक्षकका बोल्ने शब्द नै सकिए । सीमित शब्द उच्चारण गरेपछि भन्ने कुरै सकिन थाल्यो । ‘भन्नै पर्ने कुरा’ भने धेरै बाँकी रहन थाल्यो । यसले गर्दा विद्यार्थीमा ज्ञानको स्थानान्तरण एकदमै थोरै हुन थाल्यो । अब शिक्षकलाई ४० मिनेट कक्षामा अडिन झन् गाह्रो हुन थाल्यो ।
साना कक्षामा आधा अंग्रेजी र आधा नेपाली बोल्छन् शिक्षकहरू । केहीले परम्परागत अंग्रेजी शिक्षण गरे जस्तो अंग्रेजीबाट पाठ पढ्ने र त्यसलाई नेपालीमा उल्था गर्ने गरेका छन् । ४०–५० मिनेटको समय कटाउन पनि ‘विद्यार्थीकेन्द्रित शिक्षण’ भन्दै कतिपय शिक्षकले विद्यार्थीलाई नाच्न–गाउन लगाउन थाले ।

विद्यालयमा अंगे्रजी माध्यम छिराउनमा शैक्षिक क्षेत्रको नीतिगत तहमा बसेका केही कर्मचारी र सामुदायिकका केही शिक्षकहरूको साझ स्वार्थले पनि काम गरेको छ । खासगरी सामुदायिक विद्यालयबाट एसईई पास गरेको विद्यार्थीले उच्च शिक्षामा पाउने छात्रवृत्ति तथा अन्य सहुलियतका कारण यो मेसो बुझ्ेका अभिभावकले बोर्डिङबाट छोराछोरी झ्किेर कक्षा–९ मा सामुदायिकमा भर्ना गर्न थाले । यसले गर्दा सामुदायिकमा अंगे्रजीका कक्षा शुरू भए, तर पढाउने शिक्षकको स्तर चाहिं उकासिएन । विद्यार्थीको चाप बढ्दै गएपछि केही विद्यालयले निजी स्रोतबाट अंग्रेजी माध्यमका शिक्षक नियुक्ति गरे । केहीले पुरानै शिक्षकबाट काम चलाइरहेका छन् ।

अंग्रेजी माध्यमबाट माध्यमिक तहमा सामाजिक पढाउने एक जना साथीको भनाइमा अंग्रेजी शब्दको सानो भण्डारका भरमा यो विषय पढाउँदा धेरै विद्यार्थी फेल भएका छन् । सामाजिक विषय आफैंमा बहुविषयको योग हो । यस विषयमा इतिहास, भूगोल, अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, जनसंख्या आदि जस्ता विषयका जानकारीहरू समेटिएका छन् । सामाजिक पढाउने शिक्षक उल्लिखित विषयमध्ये एउटा विषयमा स्नातक गरेर आएको हुन्छ । तर, त्यति धेरै विषय विद्यार्थीले बुझने गरी पढाउनु उसका लागि आफैंमा चुनौतीपूर्ण कुरा हो । त्यसमाथि आफूले परीक्षा प्रयोजनमा बाहेक कहिल्यै प्रयोग नगरेको अंगे्रजी भाषामा पढाउनु पर्दा उसले विद्यार्थी समक्ष ज्ञान स्थानान्तरण गर्नै सक्दैन । जसोतसो अंगे्रजीमा पढाउँदा कि त विद्यार्थीले अल्प बुझछन् कि उल्टो बुझने समस्या पनि देखिएको छ । सामाजिक विषय पढाउँदा विभिन्न उदाहरण दिएर, शब्द खेलाइ–खेलाइ, विद्यार्थीको परिवेशसँग विषयवस्तुलाई सामान्यीकरण गरेर पढाउनुपर्ने हुन्छ । तर आफूसँग भएको ज्ञान व्यक्त गर्ने शब्दै नभएपछि शिक्षकले कसरी बुझाएर पढाउलान् ?

अंग्रेजी माध्यम भएका कारण आफू नै कुहिराको काग जस्तो भएर कक्षा जानुपर्ने शिक्षकले ठूला कक्षामा दुई तरिकाले अंगे्रजी माध्यम पढाउने गरेका छन् । अंग्रेजी माध्यमको पुस्तकको पाठ सरर्र पढ्ने र त्यसलाई नेपालीमा उल्था गरिदिने । दोस्रो, आज पढाउनुपर्ने पाठको बारेमा छोटा छोटा बुँदाहरू डायरीमा तयार गर्ने र विद्यार्थीलाई टिपाइदिने । तर यी दुवै विधिले विद्यार्थीलाई सही कुरा बुझाउन सक्दैन ।

पछिल्ला दिनमा अंग्रेजी माध्यममा नै पढेर आएका केही शिक्षकहरू कक्षामा पुगेका छन् । उनीहरूले अंगे्रजीमा राम्ररी पढाउन, बुझउन सक्छन्, तर विद्यार्थीले उनीहरूको कुरा बुझदैनन् । किनभने सामुदायिक स्कूलका अधिकांश विद्यार्थीको अंग्रेजी धेरै नै कमजोर हुन्छ । यस्ता प्रकारका शिक्षकका लागि बोर्डिङ छोडेर आएका विद्यार्थी चाहिं उपयुक्त हुन्छन् ।

त्यसकारण, हामी अंग्रेजी माध्यमको पछि लागेर हाँस न बकुल्लाको चालतिर जाँदैछौं । यदि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा नै पढाउने हो भने पहिला शिक्षक तयार गरौं । शिक्षकहरूको क्षमताले नभ्याउने कुरा जबर्जस्ती नलादौं । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले पनि धेरै विद्यार्थी देखाएर दरबन्दी जोगाउने, अनुदान हात पार्ने लक्ष्य नराखौं । जुन कुनै बहानामा सयौं विद्यार्थीको भविष्य डामाडोल पार्नु अनैतिक र अक्षम्य कार्य हो ।

जागरण शर्मा, घट्टेकुलो, काठमाडौं

commercial commercial commercial commercial