गलत कुरा नसिकाऊँ !

पाठ्यपुस्तकमा लेखिएका कुरा विद्यार्थीले सही वा गलत के हो भन्ने खुट्याउन सक्दैनन्। पाठ्यपुस्तकमै गलत पढेपछि तिनको सिकाइको स्तर के कस्तो होला ? तसर्थ, यस्ता कमजोरी प्रति सम्बद्घ लेखकका साथै पाठ्यक्रम विकास केन्द्र सजग हुनुपर्ने देखिन्छ।

इन्द्रराज उपाध्यायद्वारा लिखित र पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत कक्षा–८ को ‘कन्सेप्चुयल साइन्स एण्ड इन्भायरोमेन्ट’ शीर्षक पुस्तकमा नेपालको संरक्षित वन्यजन्तुको नामावली र तिनका केही तस्वीर समावेश गरिएको छ । विद्यार्थी वर्गलाई विद्यायल तहबाटै महत्वपूर्ण तथा दुर्लभ वन्यजन्तुबारे जानकारी गराउनु वन्यजन्तु संरक्षणप्रति अत्यन्त सकारात्मक कदम हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौं संशोधन, २०७३) को अनुसूची–१ मा हाम्रा संरक्षित वन्यजन्तुको सूची समावेश छ । जस अनुसार स्तनधारी, पक्षी र घस्रने वन्यजन्तुका क्रमशः २७, ९ र ३ प्रजातिलाई संरक्षित वन्यजन्तु मानिएको छ । स्तनधारीतर्फ आसामी रातो बाँदर, सालक (चाइनिज र इन्डियन पेंगुलिन), हिसपिड खरायो, सोंस, ब्वाँसो, हिमाली रातो भालु, हाब्रे (रेड पाण्डा), लिङ्गसाङ, हुँडार, चरी बाघ (लेपर्ड क्याट), लिंक्स, ध्वाँसे चितुवा, बाघ, हिउँचितुवा, जङ्गली हात्ती, गैंडा, सानो जातको बँदेल, कस्तूरी मृग, बाह्रसिंगा, गोवड्सन, योक नाक, अर्ना, नायन, चिरु, कृष्णसार, चौका संरक्षित वन्यजन्तु हुन् ।

यसैगरी पक्षी तथा घस्रने वन्यजन्तुतर्फ कालो र सेतो स्टर्क, सारस, चीर, डाँफे, मोला, खर मुजुर, सानो खर मुजुर, ठूलो धनेश, अजिङ्गर, घडियाल गोही र सुन गोहोरो हुन् । ऐनमा; संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरीद–बिक्री वा ओसार–पसार गर्ने व्यक्तिलाई रु.५ लाखदेखि रु.१० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

यो लेखमा माथि उल्लिखित ऐनको अनुसूची–१ मा परेका केही वन्यजन्तुहरू नेपालमा अहिले अस्तित्वमा छन् कि छैनन् भन्ने चर्चा गरिंदैछ ।

चिरु
चिरु (Chiru) समुद्री सतहबाट ३२०० देखि ५५०० मिटर उच्च तर समथर भूभागमा पाइने वन्यजन्तु हो । यो वन्यजन्तु यसको अत्यन्त नरम भुवाका कारण संसारभर चिनिन्छ । झण्डै १ मिटर जति अग्लो र ४० केजीसम्म तौल हुने यो वन्यजन्तुबारे हेमसागर बराल र करनबहादुर शाहद्वारा लिखित ‘नेपालका स्तनधारी वन्यजन्तुहरू’ (वि.सं. २०६५) शीर्षक पुस्तकमा ‘नेपाल–तिब्बत सिमाना आसपासका क्षेत्रहरूमा धेरै पहिले पाइने गरेको, तर अहिले नेपालबाट लोप भएको आशंका गरिन्छ’ भन्ने लेखिएको पढ्न पाइन्छ । शान्तराज ज्ञवाली र अरूहरू लिखित ‘द स्टेटस् अफ नेपाल्स म्यामल्स्ः द नेशनल रेड लिष्ट सेरिज’ (सन् २०११) पुस्तकमा यो वन्यजन्तु अझै  नेपालमा छ/छैन भन्ने अध्ययन नभएको जिकिर गरिएको छ । चिरु र त्यसको नेपाल सम्बन्धबारे केही जानकारी अन्न दत्तले डेभिड वाटरहाउस सम्पादित ‘द ओरिजिन्स अफ हिमालयन स्टडिज’ (सन् २००५) शीर्षकको पुस्तकमा दिएकी छन् ।

चिरुको पहिलो अध्ययन–अनुसन्धान गर्ने व्यक्ति ब्रायन हड्सन हुन् । हड्सनले सन् १८२५–२६ ताका चिरुको नमूना काठमाडौंबाट केही टिपोट सहित कलकत्ता पठाएका थिए । हड्सनले जीवितै चिरु पनि काठमाडौंस्थित राजदरबारमा देखेका थिए । ती चिरु तिब्बतस्थित दिगुर्चीका लामाले राजालाई उपहारस्वरुप पठाइदिएका थिए । चाल्र्स एलेन लिखित पुस्तक ‘द प्रिजन अफ काठमाडौं’ (सन् २०१५) मा दरबारमा पालिएका ती चिरु बारेमा थप जानकारी छ ।

उच्च हिमालमा रहने चिरुले काठमाडौंको गर्मी खप्न सकेन । हड्सन चिरुबारे अभिरुचि राख्छन् भन्ने जानकारी भीमसेन थापालाई थियो । त्यसै भएर थापाले मर्न लागेको चिरु हड्सनलाई उपलब्ध गराए । हड्सनले त्यही चिरुका नमूना केही टिपोट सहित कलकत्ता पठाए ।

हड्सनबाट पठाइएका नमूना र टिपोटका आधारमा चिरुबारे डा. क्लार्क एबेलको लेख सन् १८२६ मा प्रकाशित भयो । डा. एबेलले चिरुको वैज्ञानिक नाम एन्टिलोप हड्सोनी (Antelope hodgsonii) राखे । यता नेपालमा, हड्सन चिरुको निरन्तर अध्ययनमै थिए । उनको ‘फर्दर इलुष्ट्रेसन अफ एन्टिलोप हड्सोनी’ शीर्षक लेख सन् १८३२ मा ‘जर्नल अफ द एसियाटिक सोसाइटी अफ बेंगाल’ मा प्रकाशित भयो । लेखमा चिरुको आकृति, हाडखोर सहितको विवरण प्रस्तुत छ ।

डा. एबेलले चिरु पाउने ठाउँको रूपमा तिब्बतको कुती भञ्ज्याङ नजिकको टिंग्री मैदान भन्ने लेखेका छन् । हड्सनले सन् १८३२ मा लेखेको लेखमा पनि चिरु तिब्बतमा पाइने भन्ने छ । हड्सनले सन् १८३४ मा चिरुको सही वैज्ञानिक नाम प्यान्थोलोप्स हड्सोनी (Pantholops hodgsonii)  हो भन्ने ठहर गरे । त्यस उप्रान्त आजसम्म चिरुको वैज्ञानिक नाम— प्यान्थोलोप्स हड्सोनी नै कायम छ । तर, यसलाई तिब्बती एन्टिलोप्स (Tibetan Antelops) भनेर पनि चिनिन्छ ।

हड्सनले सन् १८४० ताका नेपाली चित्रकार राजमान सिंहलाई चिरुको तस्वीर बनाउन लगाएका थिए । त्यो चित्र हिजोआज बेलायतको जुलोजिकल सोसाइटी अफ लन्डनमा छ । उक्त चित्रको पछाडिपट्टि देवनागरीमा चिरु चीनको ठिंग्री (पठार) मैदानमा बस्छ भन्ने लेखिएको छ । हड्सन लिखित— ‘क्याटलग अफ द स्पेसिमेन्स एण्ड ड्रवङ्गस् अफ म्यामलिया एण्ड बर्डस् अफ नेपाल एण्ड थिबेट’ (सन् १८४६) शीर्षकको पुस्तकमा दुइटा भाले र एउटा पोथी चिरुको चित्र बनाएको कुरा उल्लेख छ ।

यता, विश्व संरक्षण संघ (आईयूसीएन) ले सन् २०१६ मा प्रकाशित गरेको एक जानकारी अनुसार चिरु लोप हुने खतराको नजिक छ भन्दै हिजोआज यसको अस्तित्व तिब्बत र भारतमा मात्र बाँकी रहेको भन्ने छ । रन्जन अमिन र अरूहरू लिखित ‘द स्टेट्स अफ नेपाल्स म्यामल्स’ शीर्षक लेख ‘जर्नल अफ थ्रेटेन्ड ट्याक्सा’ को २६ मार्च २०१८ संस्करणमा छापियो । सो लेखमा ‘चिरु नेपालको स्तनधारी त हो, तर तथ्याङ्क अप्राप्य छ’ भन्ने लेखिएको छ । १४ जना मूर्धन्य वन्यजन्तु विज्ञबाट लेखिएको उक्त लेखमा के आधारमा चिरु नेपालमा अझै छ, तर तथ्याङ्क अप्राप्य छ किन भनिएको हो ? बुझन सकिन्न ।

सानो जातको बँदेल
ब्रायन हड्सनले नेपालबाट विश्वका निम्ति दुई दर्जन जति स्तनधारी नयाँ प्रजाति पत्ता लगाए । हड्सनले नै पत्ता लगाएका हुन् सानो जातको बँदेल पनि । यसको वैज्ञानिक नाम— ‘सस् साल्भानियस्’ (Sus salvanius) राखेका थिए । हिजोआज यसको वैज्ञानिक नाम परिवर्तन भएर ‘पोर्कुला साल्भानियस्’ (Porcula salvanius) छ । तर, आम रूपमा यसलाई ‘पिग्मी हग’ (Pigmy hog) भनिन्छ । अति संकटापन्न (Critically Endangered) अवस्थामा रहेको यो वन्यजन्तु हिजोआज आसामको मानस नेशनल पार्क र मानस टाइगर रिजर्भमा २५० जति संख्यामा रहेको बताइन्छ । पहिले यो वन्यजन्तु नेपालमा पाइन्छ भन्ने जानकारी ब्रायन हड्सनले दिएका थिए । हड्सनले नेपालमा यसका हाडखोर र सग्लो नमूना सिक्किममा फेला पारेका थिए ।

यो वन्यजन्तु २० देखि ३० सेन्टिमिटरसम्म अग्लो र ६ देखि ९ केजीसम्मको हुन्छ । अक्सर रातमा विचरण गर्ने यो वन्यजन्तु अग्लो घाँस भएको पानी नजिक भएको वनमा ४ देखि ६ वटासम्मको झुण्डमा रहन्छ । तर, मस्त जवान बिर भने एक्लै विचरण गर्छ । यो वन्यजन्तुबारे हेमसागर बराल र करनबहादुर शाह लिखित पुस्तक ‘नेपालका स्तनधारी वन्यजन्तुहरू’ मा ‘नेपालमा लोप भएको आशङ्का गरिएको’ भन्ने लेखिएको छ । यसैगरी ‘द स्टेटस अफ नेपाल्स म्यामल्सः द नेशनल रेडलिष्ट सेरिज’ शीर्षक पुस्तकमा ‘रेजिनल्ली इष्टिंक्ट अर्थात् नेपालमा पहिले थियो, अहिले पाइन्न’ भनिएको छ । ‘द स्टेटस् अफ नेपाल्स म्यामल्स’ शीर्षक लेखमा पनि ‘रेजिनल्ली इक्सिटिंक्ट’ नै लेखिएको छ । यसको अर्थ सानो जातको बँदेल नेपालमा आजका दिनमा पाइन्न नै भन्ने हो । यो बँदेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बन्दा ताका पनि नेपालबाट लोप भइसकेको थियो । तर, अझै ऐनमा एक संरक्षित वन्यजन्तुको रूपमा सूचीकृत छ ।

जंगली याक
वन्यजन्तु संरक्षण ऐनमा योकको नाकलाई पनि एक संरक्षित वन्यजन्तु मानिएको छ । यसको वैज्ञानिक नाम— बस ग्रन्नियन्स् (Bos grunniens) भन्ने लेखिएको छ । तर, घरपालुवा याकको वैज्ञानिक नाम पनि बस ग्रन्नियन्स् नै हो । घरपालुवा जनावरलाई संरक्षित वन्यजन्तु मानिंदैन । यसैले योक नाक संरक्षित वन्यजन्तु हुन सक्दैन ।

याक जस्तै तर जंगलमा बसोबास गर्ने याकलाई जंगली याक भनिन्छ । यसको आकार घरपालुवा याक भन्दा निकै ठूलो हुन्छ । जंगली याकको वैज्ञानिक नाम बस म्युटस् (Bos mutus) हो । जंगली याक डोल्पा, हुम्ला जिल्लामा पहिले पाइन्थ्यो । तर, त्यो करीब सन् १९७० यता वन्यजन्तु अध्ययन–अनुसन्धान गर्नेले फेला पारेका थिएनन् । सन् २०१३–१४ ताका वन्यजन्तु अध्ययन–अनुसन्धानकर्ता राजु आचार्य, यादव घिमिरे, जेरार्डिन वेर्हान, नरेश कुशी, विधान आचार्य र विनोद कुँवरले हुम्लाको लिमी उपत्यकाको तिब्बती सीमा क्षेत्रमा अझै जंगली याक पाइन्छ भन्ने जानकारी प्रकाशमा ल्याए । सन् २०१७ मा प्रकाशन भएको राजु आचार्य र यादव घिमिरेको ‘द रिमोट ट्रान्स–हिमालयन ल्याण्डस्केप्स अफ लिमी भ्याल्ली, हुम्ला डिष्ट्रिक, नोर्थ–वेष्ट नेपाल’ शीर्षक लेखमा जंगली याकको तस्वीर छापियो ।

जेरार्डिन वेर्हान र नरेश कुशी लिमी उपत्यकामै दुईवटा जंगली याकको तस्वीर तथा भिडियो लिन सफल भए । हिजोआज प्रचलनमा रहेको पाँच रुपैयाँको नोटमा भएको एउटा जंगली याकको तस्वीर त्यसैबेला लिमीमा खिचिएको हो । आईयूसीएन ले जंगली याकलाई विश्वको निम्ति लोपोन्मुख (Vulnerable)वन्यजन्तु मानेको छ । ‘द स्टेटस् अफ नेपाल्स म्यामल्स’ शीर्षक लेखमा जंगली याकबारे तथ्याङ्क अप्राप्त भन्ने छ ।

जंगली वा घरपालुवा याकसँग गाई संसर्ग भएर निस्कने वर्णसंकर जनावर चौंरी हो । अर्थात् याक र गाईबीचबाट जन्मेको जनावर चौंरी हो । पोथी चौंरी भाले याक वा घरपालुवा बहर गोरुबाट गर्भधान हुन्छे । पोथी चौंरीले बच्चा त जन्माउँछ, तर यसका बाच्छाबाच्छी सद्धे हुँदैन । कक्षा–८ को विज्ञान पुस्तक लेखक इन्द्रराज उपाध्यायले चौंरीगाई र जंगली याक एकै हो भन्ठानेका छन् । चौंरीगाईपछि कोष्ठमा ‘वाइल्ड याक’ लेखिएको छ । तर यो गलत हो । वन्यजन्तु संरक्षण ऐन र यो पुस्तक समेत दुवैमा जंगली याकप्रति प्रयोग गरिएका शब्दावली गलत छन् ।

हाम्रा प्रायः वन्यजन्तु विज्ञहरू पुरानै तथ्याङ्क सार्ने काम गर्दै आएका छन् । लेखकले पुस्तक तयार पार्दा बृहत् अध्ययन गर्नुपर्छ । ऐनको अनुसूचीमा गलत लेखिनु र पाठ्यक्रममा गलत लेखिनु फरक हो । पाठ्यपुस्तकमा लेखिएका कुरा विद्यार्थीले सही वा गलत के हो भन्ने खुट्याउन सक्दैनन् । पाठ्यपुस्तकमै गलत पढेपछि तिनको सिकाइको स्तर के कस्तो होला ? तसर्थ, यस्ता कमजोरी प्रति सम्बद्ध लेखकका साथै पाठ्यक्रम विकास केन्द्र सजग हुनुपर्ने देखिन्छ ।

वनस्पतिविद्, स्वतन्त्र अनुसन्धाता

शिक्षक मासिक, २०७६ साउन अंकमा प्रकाशित ।

 

commercial commercial commercial commercial