अंग्रेजीका नाउँमा अपहत्ते सन्दर्भ

  •  अंग्रेजीको मोहले निजी स्कूलतिर लहसिंदै गएका बालबालिका र अभिभावकलाई आफनो विद्यालयतर्फ आकर्षित गर्न उहाँहरूले सर्वप्रथम विद्यालयको सम्पूर्ण पठन–पाठनको माध्यम अंग्रेजी बनाउने निर्णय गर्नुभयो ।
  • सरकारी दरबन्दीका पुराना शिक्षक सबैले अंग्रेजीमा पढाउन नसक्ने भएकोले विद्यालयको निजी स्रोतबाट तलब खुवाउने गरी नयाँ शिक्षकहरू भर्ना गर्नुभयो ।
  • निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अन्य उपायका अतिरिक्त विद्यार्थी/अभिभावकबाट मासिक शुल्क उठाउने निर्णय गर्नुभयो ।
  • यति गर्दा पनि अपेक्षा अनुरूप विद्यार्थी संख्या बढ्न नसकेपछि उहाँहरूले थप छलफल गर्नुभयो । कसैले सुझाव दियो— ‘हिजोआजका बालबालिकालाई आकर्षित गर्न त गाडीको सुविधा पो चाहिन्छ ।
  • प्राप्त सुझावलाई आत्मसात् गर्दै घरघरबाट बच्चा ओसार्ने र पुर्‍याउने प्रयोजनको निम्ति गाडी किन्ने निर्णय गर्नुभयो । त्यसअनुरूप विद्यालयले तीनपाङ्ग्रे अटो खरीद गरेर विद्यार्थीको सेवामा लगायो ।
  • तर, यति गर्दा पनि अपेक्षित परिणाम हासिल भएन । सोचे अनुरूप विद्यार्थी भर्ना हुन नआएपछि निजी स्रोतमा राखेका शिक्षकलाई तलब–भत्ता दिन पुग्ने शुल्क उठेन । गाडी (टेम्पो) मा ड्राइभर पाल्न र मर्मत गर्न चाहिने खर्च धान्न पनि धौ–धौ पर्‍यो । गर्दागर्दै टेम्पो थला नै पर्‍यो, लामो समयदेखि कबाडीको रूपमा गोदाममा थन्किएको छ ।
  • पर्याप्त शुल्क नउठेको र विद्यालयको आम्दानीको अन्य स्रोत पनि नभएका कारण निजी स्रोतमा राखिएका शिक्षकको तलब बक्यौता बढ्दै गएको छ । उनीहरूलाई काममा लगाउन कक्षामा विद्यार्थी छैनन्, विदा दिएर घर पठाउन पाकेको तलब दिने पैसा छैन । परिणामतः सिंगो विद्यालय नै फन्दामा परेको छ ।

विद्यार्थी संख्या बढाउन र भएकालाई टिकाउन विशेषगरी बजार र शहरी क्षेत्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम अपनाउने लहर उर्लंदो छ । त्यहाँका प्रअ तथा विव्यसका पदाधिकारीलाई अंग्रेजी माध्यम शुरू नगरे भएका विद्यार्थी पनि अभिभावकले निजीमा लैजान्छन् र विद्यालय रित्तिन्छ भन्ने दबाबले थिच्न थालेको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्ने समस्याको एक मात्र रामवाण समाधानका रूपमा अंग्रेजी माध्यमलाई प्रयोग गर्न थालिएको छ । अंग्रेजी माध्यममा गइयो भने विद्यालयको कायापलट हुन्छ भन्ने ठानेर कतिपय स्कूल आफैं लागेका छन् भने कतै स्थानीय तह पनि । तर अंग्रेजी माध्यममा पढाउन सक्ने शिक्षक नहुँदा समेत कतिपय विद्यालय अंग्रेजी माध्यममा गएका छन् । कतै केही हप्ता शिक्षकलाई तालिम दिएको भरमा अंग्रेजी माध्यम शुरू गरिएको छ भने केहीमा भएका शिक्षकबाटै काम चलाइएको छ । कतै चाहिं पालिकाले अंग्रेजी माध्यमका शिक्षकका लागि अनुदान दिएर सहयोग गरेका छन् । थुप्रै विद्यालयले निजी स्रोतबाट शिक्षक राख्न अभिभावकसँग शुल्क लिएका छन् । अंग्रेजी मोहका कारण प्रायः अभिभावकले त्यस्तो शुल्क खुशीसाथ तिर्ने गरेका छन् ।

कुन तहबाट अंग्रेजी माध्यम शुरू गर्ने हो, कुनै स्पष्ट मापदण्ड नहुँदा कुनैमा कक्षा–२ सम्म छ, कतै प्राथमिक तहसम्म छ । कसैले तलदेखि माथिसम्म नै लागू गरेका छन् । कतै कक्षा–१ देखि ६ सम्म अंग्रेजी माध्यम र त्यसभन्दा माथि दुवै थरी माध्यम छ । कतै कक्षा–१ देखि ५ सम्म अंग्रेजी माध्यम भए पनि नेपाली, सामाजिक र नैतिक शिक्षा नेपालीमै पढाएका छन् । कुनै विद्यालयले चाहिं कक्षा–८ बाट शुरू गरेर कक्षा ८–९ मा मात्र लागू गरेका छन् । एक्कासी कक्षा–८ मा शुरू गर्नुको कारण निजी विद्यालयबाट आउने विद्यार्थी बताइने गरिन्छ । यस्तैमध्ये एक हो— पर्साको वीरगंज महानगरपालिका–४ मा अवस्थित त्रि–जुद्ध महावीरप्रसाद रघुवीर राम मावि ।

२०७२ सालमा कक्षा–८ बाट अंग्रेजी माध्यम थालनी भएको त्रि–जुद्ध माविमा अहिले कक्षा–६ देखि १० सम्म नै अंग्रेजी माध्यमबाट पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक हरेन्द्रप्रसाद कुर्मी बताउँछन् । गत वर्षबाट कक्षा–१ र २ मा पनि त्यही क्रम शुरू भएको छ । यो विद्यालयले निजी स्रोतका शिक्षकका लागि सहयोग भनी विद्यार्थीबाट शुल्क लिंदै आएको छ । वीरगञ्ज महानगरपालिकाले शुल्क लिन कडाइ गरेपछि केही दिनदेखि अंग्रेजी माध्यमका विद्यार्थीबाट शुल्क लिने क्रम रोकिएको छ । ‘शुल्क उठाउन नै नमिल्ने भनी निर्णय आए अंग्रेजी माध्यम नै बन्द हुने खतरा छ’ प्रअ कुर्मी चिन्ता व्यक्त गर्छन् ।

सवैला नगरपालिका, धनुषाको कमलामाई राष्ट्रिय प्राथमिक विद्यालयमा भने भएका शिक्षकबाट नै अंग्रेजी माध्यम शुरू भएको छ । प्रधानाध्यापक जिवछ यादव भन्छन्, “अंग्रेजी माध्यममा पढ्न टाढा–टाढासम्म विद्यार्थी निजीमा जान थाले । विद्यार्थी संख्या बढाउनका लागि पनि हामीले अंग्रेजी माध्यममा पठनपाठन शुरू गर्‍यौं ।” नगरपालिकाले लिखित रूपमा सबै विद्यालयलाई प्राथमिक तहमा अंग्रेजी माध्यम लागू गर्न परिपत्र गरेकाले पनि बाध्यता भएको प्रअ यादवले बताए । धनुषाकै जनमुक्तिनगर बटेश्वर गाउँपालिका वडा–१, स्थित मटुक महतो रंकीदेवी आधारभूत विद्यालयले पनि गाउँपालिकाबाट आदेश आएपछि अंग्रेजी माध्यम शुरू गरेको छ ।

विद्यार्थी संख्या जोगाउन र बढाउने विकल्प बन्न थालेको छ, अंग्रेजी माध्यम । “छ्यापछ्याप्ती खुलेका निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नु छ । अंग्रेजीमा पढाएन भने अभिभावकले विद्यार्थी झिक्छन् ”, धुलाबारी मावि, झापाका प्रअ महेन्द्र विलास लुईंटेलको भनाइ र अनुभव दुवै हो, यो । उनका अनुसार शुल्क नभनी अभिभावकबाट सहयोग लिनु परेको अवस्था छ ।

घट्दै गएको विद्यार्थी संख्या बढाउन आदर्श मावि, विराटनगर, मोरङले अभिभावक भेला गर्‍यो । उनीहरूले निजी स्कूल जस्तो बनाएमा शुल्क तिर्न तयार छौं भने । त्यसपछि अंग्रेजी माध्यममा पढाइयो । प्रअ तुलसीप्रसाद दुलाल भन्छन्, “विद्यार्थी बढाउन सोचिएको उपाय पछि गएर विद्यार्थी र अभिभावकको मागमा परिणत भयो ।”

विद्यार्थी संख्या राम्रो भएको आदर्श मावि, इलामले यसै वर्षदेखि अंग्रेजी माध्यम शुरू गरेको छ । “एक हजारभन्दा बढी विद्यार्थी छन् । तर अंग्रेजी माध्यममा पढाइएन भने भोलि विद्यार्थी भाग्लान् कि भन्ने डर छ”, प्रअ कुमार पौडेल भन्छन् । प्रअहरूलाई विद्यार्थी संख्याको पिरलो छ भने शिक्षकहरूलाई जागिर जाने । गोकुण्डेश्वर मावि, धनकुटाका शिक्षक, भक्त खड्का भन्छन्, “अंग्रेजी माध्यम शुरू नगरे विद्यार्थी आउँदैनन् । विद्यार्थी नआए जागिर जान्छ । जागिर जोगाउन पनि विद्यालयहरूलाई अंग्रेजी माध्यममा जानै परेको छ ।”

स्थानीय तहलाई पनि अंग्रेजी माध्यम जादूको छडी झैं लाग्न थालेको छ । बर्दिबास नगरपालिका–७ का फाल्गुण मुस्लिङ (मगर) को बुझाइमा केही सरकारी विद्यालयले अंग्रेजी माध्यम भएकै कारण फड्को मारिरहेका छन् । उनी भन्छन्, “ती विद्यालयमा अंग्रेजी भाषा शुरू गरेदेखि विद्यार्थी संख्या बढेको छ । यदि मगर भाषा पढायो भने विद्यार्थीले पछि रोजगारी पाउने कुरा हुँदैन ।”

झापाको भद्रपुर नगरपालिका–३ की वडाध्यक्ष, कमला थुलुङ पनि स्वीकार्छिन्, “मै पनि अंग्रेजी माध्यमबाट पढाउँछौं भनेर घरघर पुगेकी छु ।”

अभिभावकमा अंग्रेजी मोह
अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले, आफ्ना केटाकेटी अंग्रेजी बोलून् भन्ने चाहनाले अभिभावकमा अंग्रेजी मोह बढ्दो छ । “अंग्रेजी माध्यम विश्वभरि नै मान्य हुने भाषा हुनाले प्राथमिक तहदेखि नै पठनपाठन हुन आवश्यक हुन्छ”, फिदिम माध्यमिक विद्यालय, पाँचथरमा अध्ययनरत विद्यार्थीका अभिभावक देउकुमार केरुङको बुझाइ यस्तो छ । अर्का अभिभावक छविलाल उराव भन्छन्, “आदर्श मावि, मोरङले अंग्रेजी माध्यममा राम्रो पढाइ संचालन गरेको छ । त्यही भएर बोर्डिङबाट झ्किेर यहाँ ल्याएको हो ।”

देवी मावि, बिर्तामोड, झापाका अभिभावक बाबुराम राजवंशी भन्छन्, “अहिले सबैले अंग्रेजी पढ्नुपर्छ भन्छन् । बोर्डिङमा पढाउन पैसा छैन त्यही भएर अंग्रेजीबाट पढाउने सरकारी स्कूलमा हालेको हो ।”

धुलाबारी मावि, झपाका अभिभावक तेजप्रसाद चौलागाई भन्छन्, “गरीब अभिभावकले निजी विद्यालयमा पढाउन सकिंदैन । सरकारी विद्यालयमा अंग्रेजीबाट पढाइ हुँदा गरीबका छोराछोरीले पनि अंग्रेजी बोल्न सक्छन् ।” सुनसरीका महानन्द मेहताको चाहना पनि आफ्ना छोराछोरी अंग्रेजी पढुन् भन्ने छ ।

“अभिभावकको चाहना आफ्ना केटाकेटीले अंग्रेजी राम्रो सिकुन् बोलुन् भन्ने हो । उनीहरूले सबै विषय अंग्रेजी माध्यममा पढाउनुपर्छ भनेका छैनन्” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायतर्फ अंंग्रेजी विभागका पूर्व प्रमुख सह–प्राध्यापक डा. प्रेम फ्याक भन्छन्, “राम्रो शिक्षक भएन भने सबै विषय अंग्रेजीमा पढाए पनि अंग्रेजी राम्रो हुँदैन । तल्लो तहदेखि नै अनिवार्य अंग्रेजी विषय पढाउने दक्ष शिक्षकको व्यवस्था हुनुपर्छ । अंग्रेजी राम्रो बनाउन अतिरिक्त कक्षा थप्न पनि सकिन्छ ।”
झपा जिल्ला, कमल गाउँपालिका–२ को महेन्द्ररत्न माविमा सामाजिक विषय पढाइरहेका शिक्षक बद्री कार्कीको सोचाइ पनि डा. फ्याकसँग मिल्दोजुल्दो छ । “सबै कक्षामा विद्यार्थीको स्तर अनुसारको एक/एक पिरियड अंग्रेजी व्याकरण पनि थपौं, तर अंग्रेजी माध्यमबाट पढाउने नाममा भरपुर सिक्नुपर्ने उमेरका विद्यार्थीलाई यता न उताका नपारौं”, कार्की भन्छन् ।

सामाजिक विषयका शिक्षक के भन्छन् ?
इलामको चुलाचुली–२ स्थित जनता माविमा प्राथमिक तहमा अंग्रेजी माध्यमबाट सामाजिक विषय पढाउने शिक्षक भीम बोहोराको अनुभवमा मौलिक संस्कृतिसँग सम्बन्धित कतिपय जानकारी अंग्रेजी भाषामा बुझाउन खोज्दा अर्थमा अनर्थ हुन्छ । उनी भन्छन्, “लिम्बू जातिको धान नाच, राई जातिको साकेला जस्ता विषयमा नेपालीमा नबताए विद्यार्थीले बुझनै पाउँदैनन् ।” १२ वर्षसम्म अर्कै विद्यालयमा अंग्रेजी विषय पढाएर सोही विद्यालयमा भर्खरै सरुवा भएपछि सामाजिक विषय पढाउन थालेका अर्का शिक्षक महेन्द्र बस्नेत माध्यमिक तहमा अंग्रेजी माध्यमका कक्षा नभएकाले सामाजिक विषय पनि नेपालीमै बुझाउँछन् । आफूलाई अंग्रेजी माध्यमबाट पढाउन कुनै समस्या नभए पनि गहिरोसँग नेपाली समाज चिनाउनका लागि सामाजिक विषय अंग्रेजी भाषामा पढाउनु उपयुक्त नहुने उनको मत छ । “अंग्रेजी समाजमा नभएका कैयौं कुरा हाम्रो समाजमा छन्, तिनलाई अंग्रेजीमा कसरी बुझउनु ?” उनले भने ।

गौरादह–१, झापाको मोती माविका शिक्षक शैलेन्द्र बस्नेत पनि सामाजिक, इतिहास जस्ता नेपालीपनसँग जोडिएका विषय अंग्रेजी माध्यमबाट पढाउँदा विद्यार्थी कुहिराको काग बन्ने खतरा देख्छन् । भाषामा भन्दा पनि विद्यार्थीले बुझने र सधैं सम्झने गरी पढाउन सक्नुमा सिकाइको सफलता निर्भर रहने भएकाले सामाजिक विषयलाई नेपालीमै पढाउनुपर्ने उनको तर्क छ ।


अंग्रेजी माध्यमका लाभ पक्ष

सामुदायिक विद्यालयहरूको खस्किंदै गएको साख फर्काउन, विद्यार्थीमा स्फूर्ति ल्याउन र शिक्षकमा सक्रियता अनि अभिभावकमा विद्यालयप्रति विश्वास जगाउनमा अंग्रेजी माध्यमको चमकले पु र्‍याएको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन । अभिभावककै सहमतिमा उनीहरूबाट सहयोग लिएर शिक्षक व्यवस्थापन गरी केही विद्यालयले राम्रो गर्ने प्रयास पनि गरेका छन् । भौतिक पूर्वाधारदेखि शिक्षण सामग्री थप गरेका छन् । यस्ता विद्यालय राष्ट्रिय र स्थानीय रूपमा पुरस्कृत पनि भएका छन् । निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थी ती विद्यालयमा पढाइ–लेखाइ राम्रो भएकोले त्यहाँ भर्ना भएको बताउँछन् ।

यद्यपि, शिक्षण माध्यमको रूपमा अंग्रेजी भाषालाई कुन तहदेखि कुन कुन विषयमा, के कति परिमाणमा र कस्तो परिणामका लागि उपयोग गर्नु औचित्यपूर्ण हुन्छ भन्ने बहस सम्बन्धित सबै सरोकारवालाहरूबीच व्यापक रूपले चलाउनु जरूरी देखिएको छ ।


झापाकै शिवसताक्षी–१ को लक्ष्मीनारायण माविमा कक्षा–७ मा सामाजिक विषय पढाउने शिक्षक कुमार खतिवडा यो विषय अंग्रेजी माध्यममा पढाए झनै भद्रगोल हुने बताउँछन् । त्यसैले यस विद्यालयमा कक्षा–६ देखि गणित, विज्ञान र अंग्रेजी विषय मात्र अंग्रेजी माध्यममा र बाँकी सबै नेपालीमा पढाइ हुन्छ । “इतिहास, भूगोल, नैतिक शिक्षा जस्ता समाजसँग सोझै जोडिएका विषय अंग्रेजी मात्र बोलिने देशको भन्दा निकै फरक भएकाले अंग्रेजी भाषाभित्र नेपाली समाज अटाउँदैन्”, उनले भने ।

अंग्रेजी माध्यमबाट सामाजिक विषय बुझाउन व्यावहारिक नभएपछि केही शिक्षकले विकल्पको खोजी गरेका छन् । कमल–७ को सरस्वती माविमा कक्षा–९ सम्म सामाजिक विषय पढाउने सौरभजंग कार्की अंग्रेजी रूपान्तरण नभएका शब्द रोमनमा लेखेर बुझाउँछन् । “अंग्रेजी बोल्ने देशमा नभएका कैयौं विशेषता र सम्पदा हाम्रो देशमा छन्, तिनको अंग्रेजी रूपान्तरण खोजेर भएन नि !’ कार्की भन्छन् । उनकै सहकर्मी गंगाराम मिश्र अनेक चित्र तथा फोटोहरूका माध्यमबाट नेपाली समाज अंग्रेजी माध्यमबाट बुझाउने प्रयास गर्छन् । “लाखे नाच बुझाउनु पर्‍यो भने अंग्रेजीमा कति व्याख्या गर्नु, बरू त्यससँग सम्बन्धित फोटो वा चित्र लगेर देखाइन्छ अनि ‘लाइक दिस्’ भनेर बुझाइन्छ”, उनले आफ्नो उपाय सुनाए ।

गौरादह–१ को मोती माविमा सामाजिक विषय पढाउने द्रोणाचार्य घिमिरे पनि अंग्रेजीमा व्याख्या गर्न गाह्रो हुँदा श्रव्यदृश्य सामग्री वा तस्वीरको उपयोग गर्छन् । क्याम्पस तहमा पनि सामाजिक विषयवस्तु अंग्रेजी माध्यममा पढाउने गरेका उनी विद्यालयमा भने नेपाली माध्यममै सामाजिक पढाउँछन् । दक्षता, अभ्यास र उपाय भएमा सामाजिक पनि अंग्रेजीमा बुझाउन सकिने तर भाषा माध्यमका नाममा भाषिक रूपान्तरण तथा अनुवादमा फस्न नहुने उनको सुझाव छ । “देउसी भैली बुझाउँदा पनि अनुवाद खोज्ने, झिलिमिली  झिलिमिली देउसी रे भन्दा पनि भाषिक रूपान्तरण खोजियो भने शिक्षक डुब्छ, ऊ सँगै विद्यार्थी पनि डुब्छन्” उनले भने, “त्यसैले हुबहु अंग्रेजी भाषामा पढाउने नाममा विद्यार्थीलाई कुहिराको काग हुनबाट जोगाउन चाहिं शिक्षक जिम्मेवार हुनुपर्छ ।”

आफैं उपाय निकाल्दै विद्यालय
दमक–९, झापाको पाणिनी माविले सामाजिक लगायतका केही विषय नेपाली र अरू विषय अंग्रेजी भाषामा पढाइरहेको छ । अंग्रेजी माध्यमले विद्यार्थी पनि टिकाउने र नेपालीको प्रयोगबाट उनीहरूलाई राम्ररी बुझउने दुवै उद्देश्य पूरा गर्न यस्तो मध्यमार्गी उपाय निकाल्नु परेको प्रअ टीकाराम भण्डारी बताउँछन् । यस विद्यालयमा ७ वर्षदेखि गणित, अंग्रेजी, कम्प्युटर र विज्ञान विषय मात्र अंग्रेजी माध्यममा बाँकी सबै नेपालीमा पढाइ हुन्छ । विद्यालयले सामाजिक विषय अंग्रेजीमा पढाउँदा परिणाम राम्रो आउँदैन भन्ने पाठ त्यसअघिका दुई वर्षको अभ्यासबाट सिकेर माध्यम भाषा बदलेको थियो ।

सबै कक्षा अंग्रेजी माध्यमबाट चलाइरहेको दमक–९ कै सरस्वती माविमा पनि सामाजिक लगायतका केही विषय भने नेपालीमै पढाइएको छ । अंग्रेजी विषयका शिक्षक समेत रहेका प्रधानाध्यापक सीताराम ढकाल अंग्रेजीमा जति नै दक्खल भएका शिक्षकबाट पनि सामाजिक जस्तो गम्भीर विषय अंग्रेजीबाट बुझाउन सम्भव नदेखेर नै नेपालीमा पढाउनु परेको बताउँछन् ।

६ वर्षदेखि अंग्रेजी माध्यमबाट पढाइरहेको झपाको मेचीनगर–८ को आदर्श माविले शुरूदेखि नै अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषय बाहेकका अरू सबै विषयलाई नेपाली माध्यमबाट पढाउँदै आएको छ । त्यसकारण यहाँका प्रधानाध्यापक हेम खड्का आफ्नो विद्यालयलाई पूर्ण अंग्रेजी माध्यमको भन्न रुचाउँदैनन् । “नेपालीमा बुझन सजिलो हुने विषय अंग्रेजीमा पढाएर विद्यार्थीको सृजनात्मकता र रचनात्मकता मार्नुहुँदैन भन्ने हाम्रो निष्कर्ष हो”, खड्काले भने । घरपरिवार, आफन्त र साथीहरूसँग नेपाली नबोली नहुने विद्यार्थीलाई कक्षाकोठामा थुनेर जबर्जस्ती अंग्रेजी बोल्न दबाब दिंदा यसको प्रभाव झनै नकारात्मक हुनेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।

अंग्रेजी माध्यममा पढाउन शिक्षकलाई सास्ती
अंग्रेजी माध्यम लादिंदा कतिपय शिक्षकलाई पढाउन गाह्रो भएको उनीहरू स्वयं स्वीकार्छन् । मटुक महतो रंकीदेवी आधारभूत विद्यालय, जनमुक्तिनगर बटेश्वर गाउँपालिका, धनुषाका शिक्षक दिलीप सिंह भन्छन्, “हामी आफैं कतिपय शब्दहरू बारेमा अनभिज्ञ छौं । विद्यार्थी पनि अंग्रेजी नजानेर स्थानीय मातृभाषामा सम्झाइदिन आग्रह गर्छन् ।” त्रि–जुद्ध महावीरप्रसाद रघुवीर राम माविका प्रअ कुर्मीका अनुसार पहिलेदेखि नेपाली माध्यममा पढाउँदै आएका शिक्षकहरूलाई अंगे्रजी माध्यममा पढाउन समस्या छ ।

झपाको मेचीनगर–८ को आदर्श माविका प्रधानाध्यापक हेम खड्का अवकाश पाउन लागेका शिक्षकलाई जबरजस्ती अंग्रेजी माध्यममा पढाउन दबाब दिन नहुने बताउँछन् । दमक–९ को सरस्वती माविका प्रअ ढकालको तर्क पनि उस्तै छ । नेपाली माध्यममा पढ्ने, नेपाली माध्यमबाटै आयोगको परीक्षा दिने र नियुक्ति भएर आउने शिक्षकलाई अंग्रेजी भिडाउनुहुँदैन भन्छन्, उनी । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममै पढाउनुपर्ने हो भने शिक्षक छनोट पनि सोही ढंगबाट हुनुपर्ने उनको तर्क छ ।

मातृभाषी विद्यार्थीलाई गाह्रो
विशेषगरी घरमा नेपाली बाहेकका भाषा बोल्ने बालबालिकालाई अंग्रेजी माध्यममा पढ्दा गाह्रो भएको पाइएको छ । पाँचथर जिल्लाको फिदिम नगरपालिकास्थित खलङ्गाटार माध्यमिक विद्यालयमा कक्षा–१ देखि ३ सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । यहाँ लिम्बू समुदायका विद्यार्थी बढी छन् । कक्षा–३ मा अध्ययनरत युन्छोहाङ जवेगु घरमा आमा–बुवासँग आफ्नो भाषामा बोल्छन् । स्कूलमा अंग्रेजी माध्यममा पठनपाठन हुँदा उनलाई बुझन गाह्रो हुन्छ ।

यस्तै, मटुक महतो रंकीदेवी आधारभूत विद्यालय, धनुषा कक्षा–२ की विद्यार्थी सुभनकुमारी महरा भन्छिन्, “घरमा मैथिली बोल्छु । स्कूलमा आएर नेपाली र अंग्रेजी बोल्नुपर्छ । नेपाली र अंग्रेजी आउँदैन । सरले मैथिलीमा भन्दा बुझने गरेकी छु ।” घरमा आफ्नो भाषा बोल्ने देवी मावि, झपाका विद्यार्थी अनुप राजवंशीलाई पनि विद्यालयमा आएर अंग्रेजी पढ्दा शुरूमा गाह्रो भएको थियो । उनी भन्छन्, “सरहरू घरमा पनि अंग्रेजी बोल भन्नुहुन्छ ।”

सिकाइ: घोकाइ बन्दै, खस्कँदै
अंग्रेजी माध्यममा पढाइ हुने केही सामुदायिक विद्यालयका कक्षाहरू हेर्दा त्यहाँ शिक्षक विद्यार्थीबीच जीवन्त रूपमा दोहोरो छलफल भएको ज्यादै कम पाइन्छ । किताबको पाठको नामदेखि जे लेखेको छ, त्यही पढेर सुनाउने र विद्यार्थीलाई त्यही भन्न लगाएको देखिन्छ । कतिपयमा चाहिं अंग्रेजीलाई नेपालीमा उल्था गरेर पढाइन्छ । धुलाबारी मावि, झापाका प्रअ महेन्द्र विलास लुईंटेल भन्छन्, “निजीसँग प्रतिस्पर्धाका लागि बाध्य हुँदा शुरू गरिएको अंग्रेजी माध्यमले विद्यार्थीको न नेपाली राम्रो छ न त अंग्रेजी ।”

नेपाल राष्ट्रिय मावि, बाराकी शिक्षक जानुका अधिकारीलाई साना केटाकेटीले बुझने भाषामा पढाउन नसक्दा उनीहरू कसरी टिक्लान् भन्ने चिन्ता लागेको छ । उनी भन्छिन्— “ईसीडीका तामाङ भाषी केटाकेटीलाई हामी केरालाई Banana भन्न सिकाउँछौं । तर उनीहरू त घरमा मोजे भन्छन् । Banana भनेको सुन्दा उनीहरू अचम्म मान्छन् ।”

आदर्श मावि, मोरङका शिक्षक इन्द्रबहादुर चौहानको अनुभवमा नेपालीमा उदाहरण दिएर बुझाउँदा जुन चमक शिक्षक विद्यार्थीको अनुहारमा आउँछ, त्यो अंग्रेजीमा पढाउँदा हुँदैन । मौलिक र सामाजिक विषयहरूमा जसरी विद्यार्थीलाई महसूस गराउन सक्नुपर्ने हो, त्यो हुनसकेको छैन । अंग्रेजी माध्यमका संयोजक समेत रहेका शिक्षक चौहान भन्छन्, “त्यसैले पहिले कक्षाकोठामा नेपाली प्रयोग गर्न कडाइ गरे पनि अहिले छुट दिएका छौं । सिकाइका लागि टिकाउ नीति होइन अंग्रेजी माध्यम ।” अंग्रेजी माध्यमले विद्यार्थी त बढे पनि राष्ट्रिय भाषा र मातृभाषाको प्रयोग सकिने चिन्ता थपिएको उनी बताउँछन् ।

अंग्रेजी माध्यम लागू गरिएका इलामको देउमाई नगरपालिकाका सामुदायिक विद्यालयमा सिकाइ स्तर खस्किएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख रूपेन्द्र न्यौपाने भन्छन्, “अंग्रेजी त केही सुधार भयो तर सामाजिक शिक्षा र गणित विषयको स्तर भने झ्न् खस्किएको छ ।” देउमाई नगरपालिकाले अंग्रेजी माध्यममा प्रोत्साहनका लागि शिक्षक राख्न अनुदान दिएको थियो ।

यस्तै निजी शिक्षकको व्यवस्था गरी सर्लाहीको लालबन्दी नगरपालिकाले पनि शिशु कक्षादेखि नै अंग्रेजी भाषा अनिवार्य भनेर निर्णय गर्‍यो । तर अहिले निल्नु न ओकल्नु भएको छ । “कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी नभएर खोज्नुपर्ने अवस्था आएपछि अंग्रेजी माध्यम लागू गर्‍यौं, तर नाममात्रको अंग्रेजी माध्यम भएको छ । हामीलाई अभिभावक तथा शिक्षक सबैलाई समस्या आएको छ”, वडा–५ का अध्यक्ष मोहनहरि भण्डारी भन्छन् ।

“अंग्रेजी माध्यमका लागि दक्ष जनशक्ति नहुँदा ज्ञान त कता हो कता भाषा पनि गतिलोसँग सिकाउन सकिएको छैन” आदर्श मावि, इलामका प्रअ कुमार पौडेल भन्छन्, “बहुभाषिक, बहुसांस्कृतिक हाम्रो समाजलाई अंग्रेजीले बर्बाद पार्दैछ ।”

नेपाल लगायतका ५५ देशमा गरिएको एक अध्ययन अनुसार अंग्रेजी माध्यममा पढाउन सक्ने शिक्षक करीब २ प्रतिशत मात्र छन् । शिक्षकहरूलाई पनि अंग्रेजी माध्यममा खुलेर पढाउन कठिन अवस्था छ । नेपालीमा विज्ञान, सामाजिक राम्ररी पढाउन सक्ने शिक्षक अंग्रेजी माध्यमका कारण प्रश्न उत्तर लेखाउने घोकाउनेमा सीमित भएका छन् । यसबाट विषयगत, कक्षागत र तहगत उद्देश्य पूरा नभएको डा. फ्याक बताउँछन् । उनी भन्छन्, “कतिपय  निजीमा पनि अंग्रेजी माध्यमको नाममा रटाइ मात्र छ । How are yo  भनेर साना विद्यार्थीलाई सोध्यो भने लगभग सबैले I am fine भन्छन् । कोही I am not feeling well भन्दैनन् । त्यही रटाइएको छ ।”

कतिपय अभिभावक, शिक्षक, शिक्षाकर्मी तथा शिक्षाविद्लाई समेत सानैदेखि आफ्ना सन्तानलाई मातृभाषा सिकायो भने विशेषतः अंग्रेजी र अन्य भाषा राम्रो हुँदैन भन्ने भ्रम छ । तर, अमेरिकामा गरिएको एक अध्ययनले अंग्रेजी माध्यममा पढेका विद्यार्थी भन्दा मातृभाषामा दक्खल बनाएकाले अंग्रेजी विषय र अन्य विषयमा राम्रो नतिजा हासिल गरेको देखाएको छ ।

डा. प्रेम फ्याक आफैं यस्ता एक उदाहरण हुन् । लिम्बू मातृभाषी फ्याकको नेपाली दोस्रो र अंग्रेजी तेस्रो भाषा हो । उनी विद्यालयमा नेपाली माध्यममा पढेका हुन् । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्रतर्फ अंग्रेजी शिक्षाका उत्कृष्ट विद्यार्थी हुँदै उनी सोही विश्वविद्यालयको शिक्षाशास्त्र संकाय, अंग्रेजी विभागका प्रमुख समेत भइसकेका छन् ।

समाधानको बाटो
सामुदायिक विद्यालयमा विना तयारी अंग्रेजी माध्यम चलाउने होडबाजीले विशेषगरी बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पार्न नसकेपछि कतिपय प्रअ तथा शिक्षकले आफ्नै विद्यालयमा समाधानका उपायहरूको पनि खोजी गर्न थालेका छन् । सरस्वती मावि, दमकका प्रअ ढकाल भन्छन्, “अभिभावक तथा विद्यालय व्यवस्थापन समितिलाई पनि अंग्रेजी माध्यमको नाममा सिर्जना भएका भ्रमबारे बुझउनुपर्छ ।”

झापाको कमल गाउँपालिका–७, झापास्थित सरस्वती माविका प्रअ रुकमान लिम्बू अंग्रेजी माध्यमलाई नै शैक्षिक गुणस्तर ठान्ने भ्रम हटाउन सके सामुदायिक विद्यालय टिकाउन अंग्रेजी माध्यम चलाउनैपर्ने बाध्यताको अन्त्यसँगै बालबालिकाले सिक्ने अवसर बढी पाउने बताउँछन् । अंग्रेजी भाषा अनिवार्य चाहिन्छ भन्ने भासमा नफसी विद्यार्थीलाई अधिकतम बुझउन दोहोरो भाषा नीतिको उपयोग गर्नु व्यावहारिक हुने उनको मान्यता छ । “नेपालको परम्परागत खेती प्रणालीबारे बुझाउँदा फेसो, अनौ, कुटो, हल्लुँड, ठेडीलाई अंग्रेजीमा कुन शब्दले बुझउनु ? त्यसैले गणित, कम्प्युटर, विज्ञान लगायतका विषय अंग्रेजीमा र बाँकी नेपाली माध्यममै पढाउनु व्यावहारिक हुन्छ”, प्रअ लिम्बूले भने ।

डा. प्रेम फ्याकका अनुसार कहिल्यै घरमा नबोलेको भाषा वा कमजोर दक्षता भएको भाषा माध्यमका रूपमा लैजाँदा सिकाइ बलियो हुँदैन । गुणस्तरीय सिकाइका लागि विद्यार्थीले आफ्ना साथी र शिक्षकसँग ढुक्क भएर अन्तरक्रिया गर्न पाउनुपर्छ । पढाएको विषयमा सोच्ने, विश्लेषण गर्ने, प्रश्न सोध्ने, तर्क गर्ने संज्ञानात्मक क्षमताको विकास गुणस्तरीय सिकाइ हो । तर अंग्रेजी माध्यममा पढाएर यी शर्त पूरा हुँदैनन् । आधारभूत तहका बालबालिकाले अंग्रेजी भाषाको प्रयोग गर्ने सीप विकास गरेका हुँदैनन् ।

अंग्रेजी माध्यमको नाममा सबै विषयका कक्षा अंग्रेजी भाषाका कक्षा जस्ता भएकोमा उनी चिन्ता प्रकट गर्छन् । यसो हुन नदिन सामुदायिक र निजी दुवै खालका विद्यालयमा सके कक्षा–५ र त्यो सम्भव नभए कम्तीमा कक्षा–३ सम्म भाषागत विषय बाहेकको शिक्षा बालबालिकाले घरमा बोल्ने र बुझने भाषामै दिनुपर्ने र यसो गर्दा आफ्ना भाषा पनि बाँच्ने उनको सुझव छ । लहडका भरमा अपनाइएको अंग्रेजी माध्यमले गुणस्तरीय सिकाइ नभई दुर्घटना निम्त्याउने ठोकुवा गर्दै डा. फ्याक भन्छन्, “यो मुद्दामा शिक्षा मन्त्रालय, स्थानीय सरकार, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाबीच यथार्थपरक छलफल गरी निष्कर्षमा पुग्न ढिला गरिए परिणाम भयावह हुन सक्छ ।” 


गोदाममा थन्किएको अंग्रेजी रहर

तस्वीरमा देखिएको अटो कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित जनता राष्ट्रिय मावि, राजपुरको असफल अंग्रेजी माध्यमको इतिहास हो । अंग्रेजी माध्यमबाट पठनपाठन चलाई अभिभावकको आँखामा विद्यालयलाई लोभलाग्दो बनाउने र घट्दै गएको विद्यार्थी संख्या बढाएर कक्षाकोठा भरिभराउ पार्ने योजनामा तीन वर्षअघि शुरू भएको उत्साहको कथा यसरी एउटा अँध्यारो कोठामा कैद भएको पनि वर्ष दिन बितिसकेको छ ।

अंग्रेजी माध्यमको ‘आकर्षण’ सहित सिकाइको गुणस्तर बढाउने उद्देश्यले २०७३ सालमा महायज्ञ लगाएर विद्यालयले केही पैसा उठायो । त्यही पैसाको आँट लिएर  अभिभावकबाट समेत न्यूनतम शुल्क उठाउने समर्थनमा विद्यालयले २०७४ को शैक्षिक सत्रदेखि नर्सरी तहबाट अंग्रेजी माध्यमको कक्षा शुरू गर्‍यो ।
शुरूआतमै २४ बालबालिका भर्ना भए पनि उनीहरू अंग्रेजी माध्यमले मात्र विद्यालयमा तानिएनन् । उस्तै शिक्षा दिने निजी स्कूलहरूले बालबालिका बोक्न टोलटोलमा गाडी पठाउने गरेको देखेका अभिभावक र विद्यार्थीले त्यही देखासिकी गर्दै गाडी चढ्न पाए मात्र विद्यालय जाने शर्त अघि सारे । उनीहरूको रहर पूरा नगरी नहुने भएपछि विद्यालयले महायज्ञबाट उठेको रकममध्ये रु.१ लाख ७५ हजार खर्च गरेर चालु हालतको पुरानो अटो किन्यो । तर स–साना बालबालिका बस चढ्दा जति अटोमा रमाएनन् । पैसा तिरेर भर्ना भइसकेकाले पहिलो वर्ष साँघुरो अटोमा कोचाकोच गरेर भए पनि उनीहरू विद्यालय आइरहे । अटो प्रयोग गरेबापत अभिभावकले प्रतिविद्यार्थी मासिक रु.१५० भाडा तिर्नुपथ्र्यो ।

महायज्ञकै पैसाबाट निजी स्रोतमा नियुक्त दुई शिक्षकले कक्षाकोठामा अंग्रेजी माध्यमको अस्तित्व जीवितै राखेका थिए । तर पुरानो अटोले आफ्नो क्षमता बराबरको विद्यार्थी पनि तान्न नसकेपछि २०७५ को शैक्षिक सत्रमा २४ बाट घटेर बालबालिकाको संख्या १५ मा झर्‍यो । भएको अटो पनि बेलाबेलामा बिग्रँदा मर्मतमा खर्च भइरह्यो । अलि पछि त त्यै पनि नचल्ने अवस्थामा पुग्यो । वर्ष दिनसम्म जेनतेन चलेको अंग्रेजी माध्यम यो वर्षदेखि बन्द भयो । माथिल्ला कक्षाहरू नेपाली माध्यमबाट चलेकाले अंग्रेजीको जगमा टेकेका बाँकी विद्यार्थीमध्ये कोही निजी स्कूलतिर लगिए, कोही वडा–३ को त्रिभुवन माविमा सञ्चालित अंग्रेजी माध्यमको नयाँ कक्षातिर लागे ।

अंग्रेजी माध्यम विफल भएपछि महायज्ञको पैसा पनि उठेन । यसरी इतिहास हुन पुगेको अंग्रेजी माध्यमले विद्यालयलाई बिर्सन लायकको अनुभव र सधैं झ्स्काइरहने ऋणको भार बोकाएर गएको प्रधानाध्यापक विष्णुप्रसाद चौधरी बताउँछन् । अंग्रेजी माध्यमकै लागि नियुक्त गरिएका एक शिक्षक भने विद्यालयमा अझै कार्यरत छन् । एक वर्षदेखि बाँकी पारिश्रमिक दिने स्रोत नहुँदा उनलाई राखिरहन विद्यालय बाध्य छ । हरियाली सपना तुहिएपछिको यो पहेंले अटो विद्यालयको गोदाम कोठामा छ र अंग्रेजी माध्यम अभिलेखमा ।

शब्द/तस्वीरः एकल सिलवाल

शिक्षक मासिक, २०७६ साउन अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial