राष्ट्रिय विभूति शंखधर धेरै कुरा मिल्दैनन् !
नेपालमा केही लौकिक तथा अलौकिक व्यक्तित्वलाई ‘राष्ट्रिय विभूति’ घोषणा गरिएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा–६ को नेपाली किताब मा राष्ट्रिय विभूतिको अर्थ यसरी खुलाएको छ– ‘राष्ट्रलाई महान् योगदान दिने व्यक्तित्व वा महापुरुषलाई विभूति भनिन्छ । नेपालमा पनि विभिन्न क्षेत्रमा महान् कार्य गर्ने व्यक्तिहरूलाई विभूति घोषणा गरिएको छ । नेपालका राष्ट्रिय विभूतिहरूमध्ये शंखधर साख्वा पनि एक हुन् ।’
शंखधर साख्वाका बारेमा कैयौं कुरा सुन्न र पढ्न पाइए पनि ऐतिहासिक स्रोत–सामग्रीको अभावमा त्यस्ता कुराको पुष्टि भने हुँदैन । सामान्यतः उनलाई ‘नेपाल संवत्’ का प्रवर्तकका रूपमा चिनाइने गरेको छ । नेपाल संवत् आफैंमा एउटा ऐतिहासिक तथ्य हो र त्यो आजपर्यन्त प्रचलनमा पनि छ । तर नेपाल संवत् थालनीको इतिहासमा शंखधरको नाम जोडिएको पाइँदैन । पछि आएर जोडियो । यस सम्बन्धमा, कक्षा–६ को उक्त पाठमा एउटा तिलस्मी कथा यसरी उल्लेख गरिएको छ– ‘... शंखधर साख्वाः एक व्यापारी पनि थिए । त्यस्तै लोक प्रचलित कथन अनुसार मध्यम वर्गीय साख्वाले मध्यरातमा ज्योतिषीका घरमा बालुवा ओसारिरहेका ज्यामीसँग बालुवा किनेका थिए । भद्रमती र विष्णुमतीको संगमस्थलबाट विशेष मुहूर्तमा निकालेको बालुवा सुनमा परिणत हुन्छ भन्ने धारणा थियो । त्यसैले मध्यरातको विशेष मुहूर्तमा ज्योतिषीहरूले आफ्नो घरमा ज्यामीहरूलाई बालुवा बोकाएका थिए । शंखधरलाई बालुवा सुनमा परिणत हुन्छ भन्ने कुरा थाहा थिएन । केही खेप बालुवा घरमा खसाल्न लगाएका र त्यो बालुवा सुनको थुप्रोमा परिणत भएको थियो । त्यो सुन जनताको ऋण मोचन कार्यमा सदुपयोग गरेका थिए भन्ने किंवदन्ती पनि सुन्न पाइन्छ । कतिपयको बालुवा चालेर आएको सुनबाट ऋणीहरूको ऋण मोचन गरेका थिए भन्ने मत पनि पाइन्छ । उनले तत्कालीन अवस्थामा गरीब जनताको ऋण मोचन गर्ने महान् कार्य गरेका थिए ।’
पाठ्यपुस्तकमा उल्लिखित माथिको कथाको प्रस्तुति वा लेखाइ गज्याङमज्याङ हुनाका साथै प्रचलित कथाभन्दा अलि फरक पनि छ । यो लेखको मूल उद्देश्य, कक्षा–६ को पाठ्यपुस्तकमा राखिएको शंखधर सम्बन्धी पाठमा के कति गल्ती, अनुमान र होहल्लाका कुरा परेका छन् भन्ने केलाउनु रहेकोले तल तिनको बुँदागत विश्लेषण गरिन्छ ।
नाम र चरित्र
व्यक्तिको नाम र उसको स्वभावमा साम्यता हुनु जरूरी हुँदैन । प्रचलनमा ल्याइएका शंखधरको आकृतिमा दुवै हातले एउटा शंख समाउन लगाएको पाइन्छ । यसबाट, यो नामले उनलाई पछि मात्रै चिन्न थालिएको हो, वास्तविक नाम अरू नै हुनुपर्दछ भन्ने अनुमान सहजै गर्न सकिन्छ । थरको सम्बन्धमा शाख्वाल, शाखवा, साख्वा आदि उल्लेख भएको पाइन्छ भनेर पाठ्यपुस्तकमा उल्लेख छ । पाठ्यक्रममा ‘शाख्वा’ शब्द प्रयोग भए पनि यस लेखमा ‘साख्वाः’ प्रयोग गर्नुको तात्पर्य, अन्यत्र साख्वाः शब्द नै प्रयोग हुनुका साथै शाख्वाल आदि शब्दले कुनै अर्थ नदिनुु हो । उक्त पाठमा शंखधरलाई ‘रुपियाँ पैसाको कारोबारमा दुनियाँले पत्यार गरेको व्यक्ति वा ऋणदाता’ को अर्थमा लिइएको छ र त्यस्ता व्यक्तिलाई ‘सार्थवाह’ भन्ने प्रचलन छ । सोही शब्दको अपभ्रंश साख्वाः भएको मान्यता राख्नेहरू पनि छन्, तर ‘साख्वाः’ ले ‘गाईको अनुहार’ भन्ने अर्थ दिन्छ, ‘सार्थवाह’ को होइन । नेवार समाजमा साख्वाः भने जस्तै ध्वँख्वाः (स्यालको अनुहार), फैख्वाः (भेंडाको अनुुहार), हेंख्वाः (हाँसको अनुहार), खिचाख्वाः (कुकुरको अनुहार), च्वलेख्वाः (बाख्राको अनुहार), माकःख्वाः (बाँदरको अनुहार) लगायतका शब्द थरका रूपमा प्रचलित भएको बिर्सनुहुँदैन । तर साख्वाः थर अहिले प्रचलनमा छैन ।
समय मिल्दैन
नेपाल संवत्को विक्रम संवत्सँग ९३७ र इस्वी संवत्सँग ८८० वर्षको भिन्नता छ । अर्थात्, वि.सं. ९३७ वा इ.सं. ८८० मा नेपाल संवत् शुरू भएको हो । इतिहासमा कतिपय कुरा नखुल्नाले यस समयलाई ‘नेपालको अन्धकारको युग’ पनि भनिन्छ । तर स्पष्ट कुरा के हो भने, त्यो बेला काठमाडौं उपत्यकामा भक्तपुर र कान्तिपुर दुई पृथक् राज्य थिएनन् । नेपाल संवत् शुरू भएको करीब ५५० वर्षपछि मात्र, तत्कालीन एकीकृत नेपालका राजा यक्ष मल्लका माइला छोरा रत्न मल्ल (१४८२–१५२० इ.) ले भक्तपुरबाट कान्तिपुरमा आएर पहिलो पल्ट छुट्टै कान्तिपुर राज्य स्थापना गरेका थिए । अर्थात् त्यस अघिसम्म एकीकृत नेपालको राजधानी भक्तपुर थियो । यस अनुसार नेपाल संवत्को थालनीको समयमा भक्तपुरका राजा र कान्तिपुरका राजा भन्नु इतिहास सिद्ध कुरा हुँदैन । बरु, यही कथाले कान्तिपुर छुट्टै राज्य बनेपछि मात्रै यो तिलस्मी कथाको रचना भएको हुनसक्ने संकेत गर्दछ । यसअघि यो कथाको उल्लेख कहीं कतै पाइँदैन ।
नेपाल संवत् र म्हपूजा
नेपाल संवत् अनुसार नयाँ वर्ष र म्हपूजा एकै दिनमा पर्ने दुई पृथक् कुरा हुन् । लक्ष्मी पूजाको भोलिपल्ट नेवार समाजमा ‘म्हपूजा’ भनेर मण्डल अगाडि बसेर आफ्नै शरीरको पूजा गर्ने चलन छ । यो संस्कृतिको थालनी नेपाल संवत् शुरू हुनुभन्दा सयौं वर्षअघि नै भइसकेको हो । यसर्थ, नयाँ वर्षको सन्दर्भ पारेर म्हपूजा गर्ने गरेको भनेर बालबालिकालाई पढाउनु ठूलो गल्ती हो ।
नेपाल संवत् र म्हपूजाको बारेमा कक्षा–६ को उक्त पाठमा लेखिएको छ– ‘उनले कात्तिक शुक्लपक्षको प्रतिपदाका दिन भव्य समारोह गरेर ऋण मोचनको घोषणा गरेका थिए । त्यस समारोहमा उनले के भनेका थिए भने मानवता नै सबैभन्दा ठूलो कुरा हो । बाहिरको ईश्वरभन्दा मानिसको आत्मामा बास गर्ने ईश्वरको पूजा गर्नु नै मानिसको कर्तव्य हो ।’ उनले यस्तो तर्क राखेपछि मानिसको पूजा वा आत्मपूजाका रूपमा ‘म्हपूजा’ गर्ने प्रचलन पनि चलेको पाइन्छ । नेवारी समाजमा आज पनि म्हपूजाको विशेष महत्व रहेको छ । शंखधरले मानव सेवा, परोपकार र मानव कल्याणका लागि मानव पूजा गर्नुपर्छ भन्ने विचार राखेको पाइन्छ । परमात्माभन्दा आत्मा नै महान् भन्ने पवित्र विचारले कालान्तरमा ‘म्हपूजा’’ प्रचलित हुन गएको पाइन्छ ।
मानव, मानवता, आत्मा, परमात्मा आदि विषयमा शंखधरको विचार कस्तो थियो, उनी कस्तो सोच्थे भन्ने कुराको ठोस र प्रामाणिक जानकारी आजसम्म कतै फेला पारिएको छैन । यस हिसाबले पाठमा रहेका कुराहरू नितान्त कल्पनिक हुन् । इतिहासको नाममा यसरी काल्पनिक कुरा घुसाउनु जायज कुरा होइन ।
फेरि, पाठमा दाबी गरिए जस्तो, म्हपूजा भन्नु आत्मापूजा पनि होइन । ‘म्ह’ शब्दले शरीर वा देह मात्र बुुझउँछ । पूजा अवधिमा मानव शरीरको बाहेक अरू कुनै विषयवस्तुको प्रसङ्ग नै उठ्दैन । म्हपूजालाई बढाइँचढाइ गर्ने क्रममा अन्य शब्दले सिंगारपटार गर्नु बेग्लै हो । आत्मा र परमात्माको विषयवस्तु आध्यात्मिक चिन्तकहरूका लागि गहन र चिन्तनीय विषय हो । तर उक्त पाठ्यपुस्तकका लेखकले कुन दर्शनको आधारमा ‘परमात्माभन्दा आत्मा नै महान् भन्ने पवित्र विचार’ भनेका हुन् बुझन सकिन्न । आत्मा र परमात्मा सम्बन्धी दर्शनशास्त्रको कसीमा राखेर हेर्दा यस्ता वाक्य उट्पट्याङ र आपत्तिजनक बाहेक केही लाग्दैनन् । यस्ता अनर्गल कुरा म्हपूजा जस्तो जीवन्त संस्कृतिसँग जोडेर बालबालिकालाई पढाउनु झन् ठूलो भूल हो ।
राष्ट्रिय विभूतिको घोषणा
कक्षा–६ को उक्त पाठ्यपुस्तकमा लेखिएको छ– ‘उनले तत्कालीन समयमा नेपाली जनताको ऋण मोचन गरेर दासत्व उन्मूलन गरी नेपाल संवत् स्थापना गरेका थिए । त्यस बेलादेखि उनको महत्वपूर्ण योगदानको कदरस्वरुप नेपाल सरकारले वि.सं. २०५६ मंसीर २ गते (ने.संं १२२०) शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।’
तर, यो घोषणा नेपाल सरकारले नभई तत्कालीन ‘श्री ५ को सरकार’ ले गरेको हो । त्यस्तै कोष्ठमा उल्लिखित नेपाल संवत् १२२० नभएर ११२० थियो । पाठ्यपुस्तक तयार पार्दा यस्ता त्रुटिलाई पनि ‘साना–मसिना’ भनेर पन्छाउन मिल्दैन ।
इतिहास के भन्छ ?
इतिहासकार बाबुराम आचार्यका अनुसार राजा मानदेव (तृतीय) लिच्छवि वंशका अन्तिम राजा हुन् र त्यसपछि राघवदेव राजा भए । एउटा नयाँ राजवंशको उत्थानको उपलक्ष्यमा स्मारकस्वरुप राजा राघवदेवले नयाँ संवत् शुरू गरेको र कालान्तरमा त्यसलाई नेपाल संवत् भनी नामकरण गरेको पाइन्छ । नेपाल तिब्बतको प्रभावबाट मुक्त भएको खुशियालीमा नेपाल संवत् शुरू गरेको भन्ने भनाइ फ्रेन्च विद्वान सिल्भाँ लेवीको छ, जसलाई नेपाली इतिहासकारले नकार्दै आएको पाइन्छ । तर, यी दुई विद्वानको भनाइलाई त्यत्तिकै पन्छाउन मिल्दैन । गुप्तको अधीनमा पुगिसकेको तत्कालीन नेपालको राजगद्दी तिब्बती राजा श्रङ्–चङ्–गम्पोको सैन्य सहायताले पुनः लिच्छवि वंशमा फर्काउन राजा नरेन्द्रदेव सफल भएको कुरामा इतिहासकारहरूबीच प्रायः सहमति नै पाइन्छ । त्यसवेला तिब्बती सेना नेपालमा नै बसेको र त्यसपछि भारत आक्रमण गर्न आएका सेना पनि नेपालमा नै रहेको देखिन्छ । यस अवस्थामा नेपालमा तिब्बतको प्रभाव स्थायी रूपमा रहेको कुरा अझ् स्पष्ट हुन्छ । लिच्छविवंशको शासन अन्त्यलाई नै लेभीले तिब्बतबाट स्वतन्त्र भएको भनी व्याख्या गरेको बुझन सकिन्छ । तर के कति कारणले राजनीतिक उथलपुथल भयो भन्ने कुरा अज्ञात नै छ । तथापि, नयाँ व्यवस्था अनुसार आएका राजा राघवदेवकै अर्को नाम शंखधर हुने संभावना पनि धेरै देखिन्छ ।
अब के गर्ने ?
शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेपछि उनका बारेमा प्रचार–प्रसार लगायतका काम गर्ने उद्देश्यले ‘राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान’ समेत गठन गरिएको छ । सो प्रतिष्ठानले अनेक गतिविधिका साथै अनुसन्धान कार्यमा पनि ध्यान दिएको त पाइन्छ, तर अनुसन्धान नै भने गरेको पाइँदैन । ‘बालुवा सुन बनेको’ न विज्ञानसम्मत कुरा हो न त पत्याउँदो नै । कथामा मात्रै भन्न सकिने कुरा कसैको जीवनीमा भन्नु पर्दा शिक्षकलाई अप्ठ्यारो लाग्नु स्वाभाविक हो । बरु, अचानक ठूलो उपलब्धि हुँदा त्यसलाई ‘बालुवा सुन भएको’ जस्तो भन्ने प्रचलन नेपाली समाजमा छ । शंखधरको बालुवा र सुनको प्रसंगलाई पनि त्यस्तै कथनका रूपमा विद्यार्थीलाई बुझउनु एउटा निर्दोष उपाय हुन सक्छ । किंवदन्ती वा लोक कथाका कुरालाई ऐतिहासिक तथ्यका रूपमा पढाउने भूल चाहिं गरिनुहुँदैन ।
शिक्षक मासिक, २०७६ साउन अंकमा प्रकाशित ।