बाल आत्महत्याले खल्बलिएको मनोलोक

‘मलाई कसैले माया गर्दैन’ भन्ने अन्तिम सन्देश (सुसाइड नोट) लेखेर कक्षा–५ मा पढ्ने ती बालकले झुण्डिएर मर्ने निर्णय गरेको सुन्दा कुन चाहिं मानवको मनोलोक नझक्झक्याउला र ?

अघिल्लो महीना ११ वर्षे ‘समिर’ को आत्महत्याको खबरले छापाहरू तरंगित भए । ‘मलाई कसैले माया गर्दैन’ भन्ने अन्तिम सन्देश (सुसाइड नोट) लेखेर कक्षा–५ मा पढ्ने ती बालकले झुण्डिएर मर्ने निर्णय गरेको सुन्दा कुन चाहिं मानवको मनोलोक नझक्झक्याउला र ? एक मनोचिकित्सकको नाताले यस्तो घटनाप्रति ममा विशेष चासो जाग्नु स्वाभाविक नै थियो ।

छापामा प्रकाशित यस प्रकृतिका समाचारहरू पछ्याउँदै जाँदा, जेठको अन्तिम हप्ता धादिङको १३ वर्षे बालक, जेठकै मध्यतिर १४ वर्षे बालक र फागुनको शुरूतिर काठमाडौंको एक होस्टलमा कक्षा–२ मा पढ्ने बालकले पनि झुण्डिएरै आत्महत्या गरेको देखियो । यी सबै घटनामा देखा परेका तथा अनुमान गरिएका कारणको विश्लेषण गर्दा, हामीलाई साधारण लाग्ने विषय नै कारकतत्वका रूपमा पाइएका छन् । त्यस मुताबिक; ती बालकहरूले आत्महत्या गर्नु पर्नाका निम्न कारण देखिन्छन्ः
‘कसैले माया नगरेकाले ........’
‘सर—मिसले हेला गरेकाले.........’
‘आफू बिरामी भए पनि अरूले भएको छैन भनेकाले.......’
‘केटाहरूलाई मात्र पिट्ने गरेकाले ........’
‘भाइलाई बढी माया गरेकाले .......’
‘......ले गाली गरेकाले.....’

त्यस्तै, पढाइमा कमजोर भएको कारणले शिक्षकले या अभिभावकले हेला गर्ने गरेको भनिने कारणहरू पनि यस्ता घटनामा कारकतत्व बनेर आउने गरेका छन् । परीक्षामा असफल भएर आत्महत्या गरेका खबर त प्रायःजसो हामीले सुन्ने गरेका नै छौं । यो लेख कोर्न बस्दा भर्खरै नतिजा आएको एसईई मा A+ नआएकोले एउटी किशोरीले आत्महत्या गरेको समाचार भुलुक्क देखें— फेसबूक  को भित्तामा । पहिले पहिले ‘एसएलसीमा फेल भएर आत्महत्या गरेका’ समाचारहरू असार–साउनको भेल सरी नै आउँथे । एसएलसीको मार्किङ सिस्टम  मा विद्यार्थीलाई पास/फेल  जनाउने कारणले गर्दा आत्महत्याका घटनाहरू ज्यादा हुने गरेको भन्दै मूल्यांकन प्रणालीलाई ग्रेडिङ सिस्टम  मा लगियो । तर पनि यस्ता खबरमा कमी आउन सकेको छैन । मलाई लाग्छ— जबसम्म परीक्षाको अंकलाई मात्र जीवनको सर्वोपरि लक्ष्यका रूपमा मान्ने हाम्रो चेतनास्तरमा परिवर्तन आउन सक्दैन, तबसम्म आत्महत्याका यस्ता घटनाहरू हामीले देखिरहनुपर्नेछ, भोगिरहनुपर्नेछ ।

विश्व परिदृश्यमा आत्महत्यालाई किशोरावस्थामा हुने मृत्युको दोस्रो ठूलो कारण मानिएको छ । हाम्रो मुलुकमा पनि यो एउटा प्रमुख कारण जस्तै नै रहेको पाइन्छ । नेपाल प्रहरीको २०७५/७६ को आँकडा अनुसार सो वर्ष मुलुकभर २ हजार २५ वटा आत्महत्याका घटना रेकर्ड भएकामा करीब १० प्रतिशत अर्थात् २१६ जना बालबालिकासँग सम्बन्धित छन् । त्यस्तै आव २०७४/७५ का ५ हजार ३४६ आत्महत्याका घटनामध्ये २५० जना, अनि २०७३/७४ मा ५ हजार १३१ मध्ये ३०४ जना बालबालिका थिए ।

विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार धेरै आत्महत्या हुने विश्वका देशहरूमध्ये शीर्ष १० भित्र नेपाल पनि पर्दछ । अनि त्यसमा ५–१० प्रतिशत बालबालिका पर्ने तथ्याङ्क हेर्दा परिस्थिति डरलाग्दो भइसकेको देखिन्छ । लोकलाजका कारण प्रकाशमा नआउने वा नल्याइने आत्महत्याका घटना पनि प्रशस्त हुनसक्छन् । संसारभरि नै, आत्महत्याको प्रयास गर्नेमा महिलाको संख्या धेरै भए तापनि आत्महत्या मार्फत मृत्युवरण नै गर्नेमा चाहिं पुरुष ज्यादा हुने गरेका छन् ।

बालबालिका या किशोरावस्थामा हुने आत्महत्याको विश्लेषण गर्दा प्रायःजसोमा सामान्य विषयमा नै यस्ता घटना घट्ने गरेको पाइन्छ । धेरैजसोले त आवेगपूर्ण अवस्थामा नै मृत्युवरण गरेको पाइन्छ । रिस, तनाव व्यवस्थापन गर्न नसक्ने अवस्था, गरीबी, आर्थिक असमानता आदि जस्ता मनोसामाजिक विषयहरूको समेत भूमिका भए तापनि आत्महत्याको अप्रत्यक्ष कारकका रूपमा अभिभावकको अति महत्वाकांक्षा अनि शिक्षक–विद्यालयका केही कमजोरीहरूलाई पनि औंल्याउनै पर्ने हुन्छ ।

आत्महत्या गर्न उद्यत हुनेहरूमध्ये प्रायःजसोलाई केही समयदेखि नै उदासीनता, तनाव या ‘डिप्रेसन’ का लक्षणहरूले ग्रस्त पारिरहेको हुन्छ भने कतिपयले आवेशपूर्ण या अप्रत्याशित रूपमा नै पनि ‘आत्महत्या’ गरेका हुन्छन् । नैराश्य, बेसहारा महसूस हुनु अनि आफ्ना योजना विफल हुन पुगेको, असफल भएको या असफल महसूस हुने अवस्था आएको, नजिकको व्यक्तिको मृत्यु आदि जस्ता मनोगत समस्याहरू अनि रक्सी, लागूपदार्थ सेवन, आफ्नो नजिकको व्यक्तिले आत्महत्या नै गरेको जस्ता घटनाहरू पनि कहिलेकाहीं आत्महत्याका तात्कालिक कारकका रूपमा देखा पर्ने गर्दछन् । पहिले कुनै समयमा आत्महत्याको प्रयास गरेको व्यक्तिले पुनः यस्तो प्रयास गर्ने सम्भावना ५० प्रतिशत भन्दा बढी हुने गर्दछ । अरूले यस्तो कृत्य गरेको देखेपछि त्यसकै असरस्वरुप आत्महत्या गरेका तथ्यहरू पनि पाइन्छन् । यौन या अन्य हिंसाका कारण पनि आत्महत्या हुने गरेका छन् ।

आत्महत्या— सम्बन्धित अभिभावकका लागि मात्र नभई मनोचिकित्साकर्मीका लागि पनि एकदमै पीडादायी अवस्था हो, जुन घटना घटेपछि त्यो व्यक्ति फर्केर आउँदैन । अझ् बालबालिका–किशोरकिशोरीको आत्महत्या पालुवा नलागिसकेको बिरुवा बगैंचाबाट हराउनु झ्ैं अत्यन्त मर्मस्पर्शी परिघटना हो । माथि उल्लिखित किशोरहरूले आत्महत्या गरेपछिको तिनका अभिभावक, शिक्षक अनि विद्यालयको अवस्था कस्तो भयो होला ? वर्णन नै गर्न सकिंंदैन ।
अतः एकपटक ‘आत्महत्याको प्रयास’ गरेका, तर असफल भएकाहरूले फेरि त्यस्तो कदम नचालुन् भनेर अथवा कलिला बालबालिका या किशोरकिशोरीले त्यतातिर सोच्ने अवस्था नआओस् अथवा त्यस्तो प्रयास नगरून् भनेर आत्महत्या न्यूनीकरणका लागि नै लाग्नुपर्ने हाम्रो कर्तव्य एवं अठोट हुनुपर्दछ ।

आत्महत्याका बारेमा समाजमा प्रचलित केही भ्रम
१. ‘आत्महत्या’ का बारेमा कुराकानी गरेमा त्यसतर्फ नै डोरिने सम्भावना रहन्छ । त्यसैले कुरै गर्नुहुँदैन ।
२. आत्महत्याको कुरा गरिरहने व्यक्तिले साँच्चिकै आत्महत्या भने गर्दैन ।
३. आत्महत्या गर्नेहरू सबै मानसिक रोगी या ‘पागल’ हुन्छन् ।
४. आत्महत्या गर्ने निश्चय नै गरिसकेकालाई कसैगरी रोक्न सकिन्नँ ।
५. आत्महत्या गर्नेहरू हिम्मत हारेका कायर या अरूसँग सहयोग लिन नचाहनेहरू हुन् ।
तर यथार्थ के हो भने यस्ता ‘भ्रम’ निवारण गर्न सकेमा धेरैजसो बालबालिका एवं छात्रछात्रालाई आत्महत्या जस्तो जघन्य कार्यबाट जोगाउन सकिन्छ ।

के गर्ने त ?
१. अभिभावक एवं शिक्षकले बालबालिकाको व्यवहारमा आएका स–साना परिवर्तनहरूतर्फ ध्यान दिने गर्नुपर्दछ । ‘तिमी अचेल उदास देखिन्छौ किन ?, केही कारण छन् ?’  जस्ता प्रश्न गरेर बालबालिकाका मनमा लागेको कुरा अभिव्यक्त गर्न अनि तिनका पीर; चिन्ता अभिभावक या शिक्षकसमक्ष खुलस्त राख्ने वातावरण तयार गर्नुपर्दछ ।

२. यदि त्यस्ता पीर, चिन्ता या आत्महत्याका कुरा कुनै  बालक–बालिकाले गर्दछ या कसैसँग गरेको छ भने त्यसलाई हलुका रूपमा नलिई आवश्यक परे मनोपरामर्शका लागि लैजानुपर्दछ ।

३. माथि भने झैं; आत्महत्या आवेशपूर्ण रूपमा या तनावको उचित व्यवस्थापन गर्न नसक्नाले समेत हुने गर्दछ । आत्महत्या गर्नेहरू सबै मनोरोगी हुँदैनन्; होइनन् । तनावको व्यवस्थापनमा सहायता गर्ने उचित संयन्त्र विद्यालयमा विकास गर्न सके यसको न्यूनीकरणमा बल पुग्छ ।

४. आत्महत्याको निश्चय गरिसकेकाहरूले पनि जिजीविषा भने बाँकी नै राखेका हुन्छन् । अभिभावक, शिक्षकवर्ग या साथीभाइहरूको सहयोगद्वारा पीर–मर्का या निराशाको कारण पहिचान गरी आत्महत्याको मनस्थिति बनाएका व्यक्ति वा बालबालिकालाई आफ्नो पीर–व्यथा अभिव्यक्त गर्ने उचित मौका दिन सकिएको खण्डमा तिनले त्यस्तो सोचाइ र प्रयास त्याग्न सक्दछन् ।

५. आत्महत्या गर्नेहरू सबै ‘कायर’ पनि होइनन् । तिनले आफ्ना चिन्ता, पीडा, तनाव या रिस व्यक्त गर्ने अवसरको खोजी गरिरहेका हुन्छन् । त्यस्तो मौका नपाएमा भने आत्महत्या जस्तो कदम चाल्न सक्दछन् ।

विश्व स्वास्थ्य संगठनले ‘सम्पर्क, संचार र छलफल’ लाई नै आत्महत्या न्यूनीकरणको प्रमुख उपाय ठहर्‍याएको छ । शिक्षक र अभिभावकको सक्रियतासँगै हामीकहाँ बाल क्लब, आमा समूह एवं अभिभावक सञ्जाल आदि बनाएर यसतर्फ दह्रो पाइला चाल्नु अत्यावश्यक भइसकेको छ । प्रत्येक विद्यालयमा मनोचिकित्साकर्मीहरूको सेवा पुर्‍याउनु पनि जरूरी छ ।

अर्को एउटा महत्वपूर्ण कुरा, आत्महत्या सम्बन्धी समाचार लेख्दा या सामाजिक सञ्जालमा फैलाउँदा या त्यस्ता घटनाका बारेमा कुराकानी गर्दा आवश्यक संवेदनशीलताको ख्याल गरिएन भने प्रत्युत्पादक परिणाम पनि आउन सक्दछ । ‘आत्महत्या’ देखासिकी गर्ने विषय बन्न या त्यसको दुष्चक्र समाजमा भयावह रूपमा फैलन नै पनि सक्दछ । अझ बालबालिकामा त्यस्तो संभावना ज्यादा हुन्छ । यी तथ्यहरूमा पनि विशेषतः मिडियाकर्मी, अभिभावकवर्ग एवं सचेत पाठकवृन्दहरूको उचित ध्यान जानुपर्दछ ।

मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल

commercial commercial commercial commercial