शहरी खुला क्षेत्र टुँडिखेलको दशा विद्यालयका चउरमा नसरोस् !

टुँडिखेललाई एशियाकै सबभन्दा ठूलो कवाज खेल्ने मैदान भन्ने गरिन्थ्यो। आज हाम्रोसामु त्यही टुँडिखेल टुक्रिएर खण्ड–खण्डमा बाँडिएको छ। महाबौद्घबाट आएर खेल्ने मेरो चउर त अहिले सवारी साधन पार्क गर्ने स्थल बनेको छ।

हेर्दाहेर्दै काठमाडौं खाल्डो मान्छे मात्रले भरिएको; उकुसमुकुस लाग्ने कुवा जस्तो भइसक्यो । खुला ठाउँ सबै मासिइसके । मात्र चार/पाँच लाखको जनसंख्यामा हुर्केको मेरो पुस्ता ४०/५० लाखको मानव सागरमा बाँच्न बाध्य भएको छ । लगभग ६०० वर्ग किलोमिटरको यो उपत्यकालाई चन्द्रागिरी वा स्वयम्भूको डाँडाबाट नियाल्दा आज हरियो जमीन विरलै देख्न पाइन्छ ।

खुला ठाउँको खोजी अभियानबारे २०७६ को असार पहिलो साता ललितपुरको यलमाया केन्द्रमा एउटा छलफल कार्यक्रम भयो । त्यसमा मलाई उहिलेको टुँडिखेल सम्झना बारे केही बोल्ने अवसर मिल्यो । आजका नयाँ पुस्तालाई उहिलेको टुँडिखेलको बयान एकादेशको दन्त्यकथा लाग्दो हो । त्यसै परिप्रेक्ष्यमा उबेलाका कुरा अहिलेको पुस्तासमक्ष पस्कने जमर्को गर्दैछु ।

विक्रम संवत् १९९४ मा वीर अस्पतालको पश्चिममा पर्ने महाबौद्ध टोलमा मेरो जन्म भएको थियो । दरबार हाईस्कूलबाट २०१० सालमा प्रवेशिका परीक्षा (एसएलसी) पास भएपछि त्रिचन्द्र कलेज, घन्टाघरमा विज्ञानको पढाइतिर लागें । त्यसो हुँदा रानीपोखरी, टुँडिखेल, सुन्धारा र धरहरा मेरो दैनिकीसँग नै जोडिएका थिए ।
त्यसबेला हामी टुँडिखेललाई ‘तिंख्यः’ भन्दथ्यौं । नेवारी भाषामा ‘ख्यः’ भनेको खुला चउर र ‘तिं’ भनेको नर्कट भन्ने बुझिन्छ । चउर आसपासको टुकुचा फाँटमा नर्कटघारी थिए । काजकिरिया, चाडपर्व विशेष गरेर गठाँ मुग (घण्टाकर्ण) को लागि आवश्यक नर्कट लिन जाने ठाउँ टुँडिखेल आसपासमा नै हुन्थ्यो । त्यो टुँडिखेल रानीपोखरीदेखि भद्रकाली पारि हालको दशरथ रंगशालाको साँधसम्म फैलिएको थियो ।

दिउँसोको १२ बज्दाको संकेत स्वरुप घण्टाघरले १२ वटा घण्टा ठोक्न थालेपछि घण्टाघर नजिकै बिजुली अड्डाको छेउमा टुँडिखेलको पहरा दिने सिपाहीले केहीपर दक्षिणतिर पहरा दिने सिपाहीलाई इशारा गर्दै आफ्नो टोप (Hat) झिकेर हल्लाउँदथ्यो । त्यस सिपाहीले पनि टाउकोको टोप हल्लाएर अलिपर भद्रकालीनिरको सिपाहीलाई इशारा गर्दथ्यो । भद्रकालीको सिपाहीको इशारा पाएपछि हालको जंगीअड्डानिर तैनाथ सिपाहीले दुईपाङ्ग्रे बडेमानको तोपमा आगो झेस्दथ्यो । हामी रानीपोखरी छेउमा बसेर हेर्दा मिलिक्क आगोको झ्ल्किा देख्थ्यौं । तोप पड्केको आवाज ड्याम्म सुनिन्थ्यो । मेरो अन्दाजमा लगभग १.५ किलोमिटर उत्तर–दक्षिण फैलिएको त्यो मैदानको दूरी तय गर्न तोपको ध्वनिलाई ४ सेकेण्ड लाग्दो हो । किनभने सामान्यतया ध्वनिको गतिलाई एक किलोमिटरको दूरी तय गर्न २.९ सेकेण्ड लाग्दछ । त्यही टुँडिखेललाई एशियाकै सबभन्दा ठूलो कवाज खेल्ने मैदान भन्ने गरिन्थ्यो । आज हाम्रोसामु त्यही टुँडिखेल टुक्रिएर खण्ड–खण्डमा बाँडिएको छ । कहीं रत्नपार्क, कहीं खुलामञ्च, कहीं सैनिकमञ्च त कहीं जंगीअड्डा । महाबौद्धबाट आएर खेल्ने मेरो चउर त अहिले सवारी साधन पार्क गर्ने स्थल बनेको छ । निरन्तर धूलो र हिलोको होलीमा धुवाँको सास फेर्दछन् त्यस स्थलका मानिसहरू ।

उहिलेको बेला ध्वनि प्रदूषण हाम्रो चेतमा नखुलेको विषय थियो । बिहान र साँझ्पख घण्टाघर बजेको महाबौद्धबाट सुन्न सकिन्थ्यो । तर, काठमाडौं उपत्यकाभरिका मानिसलाई समय बताउन टुँडिखेलको तोप नै पड्काउने चलन थियो । मानिसहरू भेट्दा ‘तोप पड्किसक्यो ?’ भनेर समय सोध्ने चलन थियो । अधिक मानिससँग घडी हुँदैनथ्यो । टुँडिखेलको तोपले काठमाडौं उपत्यकाभरिका कानमा १२ बजाउँदथ्यो । प्रदूषणरहित शान्त काठमाडौंमा ध्वनिको तरङ्ग टाढा–टाढासम्म पुग्ने अवस्था थियो । वर्तमानको काठमाडौंमा घण्टाघरको घण्टको ध्वनि रत्नपार्कसम्म पनि राम्ररी पुग्दैन ।

आजभोलि टुँडिखेल छेउ बसेर वरिपरि हेर्‍यौं भने कतै पनि हिमशिखरको दर्शन हुँदैन । हिउँदमा यदाकदा लाङटाङ, लेरुङ देखिन्छ । पूर्वी क्षितिजका हिमालहरू बिल्कुलै देखिने अवस्था छैन । मेरो बाल्यकालमा साँझको टुँडिखेलबाट गौरीशंकर हिमाल राम्रै देखिन्थ्यो । आजभोलि टुरिष्टका भाकामा (Thumb's up) भनिने च्छोभाभामारेलाई हामी ‘गोपीचन्द्र महाराज घोडा चढेर हिमाल गएको’ भन्ने कथा हाल्दथ्यौं । टुँडिखेलबाट हेर्दा त्यो हिमालमा कुनै घोडचडी सवार भएको आकृति हामी देख्दथ्यौं । धूलो, धुवाँ, तुवाँलो आदि केही नभएको टुँडिखेलको स्वच्छ हावामा हामी सास फेर्दथ्यौं । चैत–वैशाखको तुवाँलो र असार–साउनको झरीलाई छोडेर बाँकी अरू महीनाको पूर्व दिशा गौरीशंकर हिमालसम्म तन्किएको हुन्थ्यो ।

हाम्रा लागि टुँडिखेल खेलमैदान नै थियो । सबै प्रकारका खेलकुद, शारीरिक व्यायामको निम्ति यो मैदान खुला थियो । बारबन्देज कहीं थिएन । मसला, काँगियो र कपुरका वृक्षहरूले घेरिएर टुँडिखेल शोभायमान थियो । बीचमा एउटा विशाल चौतारामा खरीको बोट भनाउँदो काभ्रोको वृक्ष थियो । शायद पहिलेको खरीको बोट मासिएर पछि काभ्रो पलाएको होला । त्यस चौतारालाई नेवारीमा ‘चाक्ला सिमा’ (गोलो वृक्ष) भनिन्थ्यो । किनभने त्यो चौतारो गोलो चक्काको आकृतिमा थियो । ‘टुँडिखेल, खरीको बोट’ भनेपछि त्यसको आफ्नै विशेष पहिचान थियो । २००७ सालभन्दा पहिलेको राणा सरकारहरूको विशेष उर्दी वा फरमान त्यहींबाट जारी हुने प्रथा थियो । त्यही खरीको बोट आसपास सिपाहीहरू कवाज खेल्दथे । कवाज खेलेको सिको गरेर हामी बालबालिकाहरू पनि टेन्छेन्, ठंडेज इज, क्वीक मार्च, आजिवार  आदि सैनिक बोली बोल्दथ्यौं । पछि ज्ञान भयो, अंग्रेजी एटेन्सन  (Attention) लाई टेन्छेन, स्ट्याण्ड (अ्)याट  इज (Stand at ease) लाई ठंडेज इज, क्वीक मार्च  (Quick March)  र एज यू आर  (As you are) लाई आजिवार  भनिएको रहेछ ।


धेरैजसो पुराना स्कूल, पाठशालामा विद्यार्थीका लागि खेलकुद एवं शारीरिक व्यायामका लागि प्रशस्त खुला क्षेत्र छोडिएको हुन्थ्यो। तर, अहिले तिनै खुला चउर–मैदानहरू धमाधम भू–माफियाको पञ्जामा परिरहेका छन्।

टुँडिखेलमा सबै प्रकारको खेल खेलिन्थ्यो । जस्तैः दौडने, कुद्ने, डोरी नाघेर हाइजम्प, लामो छलाङ्ग लिएर लङजम्प, फूटबल आदि बढी प्रचलित थियो । कवाज खेल्ने सैनिक अभ्यास पनि साथसाथै चल्दथ्यो । त्यसका अतिरिक्त काठमाडौंको विभिन्न सांस्कृतिक पर्व र गुठीगाना पनि टुँडिखेलमा सम्पन्न हुन्थे । जस्तैः गठेमुगल, होली, गुरुमापालाई भोजन, देवदेवीका रथजात्रा आदि । घोडेजात्रा फूलपाती बढाइँ, शिवरात्रि बढाइँ आदि जात्रा भने सैनिक जवानबाट सम्पन्न हुने चलन थियो । घोडेजात्रामा सर्वसाधारणले भाग लिन पाउँथे । त्यसबेला साइकल दौड विशेष रोमाञ्चक लाग्दथ्यो । रानीपोखरीदेखि दशरथ रंगशालासम्मको खुला मैदानमा सामाजिक, सांस्कृतिक एवं सैनिक क्रियाकलापहरू एकै ठाउँमा अटाएका थिए । २००७ सालपछि खरीको बोटले खुलामञ्चको रूप लियो । मन्त्री, प्रधानमन्त्री एवं राजकीय पाहुनाहरूलाई नागरिक अभिनन्दन तथा जनसम्बोधन गर्ने थलोको रूपमा पनि प्रयोग हुन थाल्यो । हामी त्रिचन्द्र कलेजका विद्यार्थी हुँदा भारतका प्रधानमन्त्री पं.जवाहरलाल नेहरूको नागरिक अभिनन्दन त्यही मञ्चबाट भएको थियो । विश्वेश्वरप्रसाद, मातृकाप्रसाद र टंकप्रसादका भाषणहरू पनि त्यही मञ्चबाट सुनेको सम्झना छ । सरकार, सेना र समाजको सार्वजनिक उपयोग र उपभोगको यो थलो कति सरकारी वा कति सार्वजनिक हो भन्ने हेक्का राख्न कठिन छ । तर काठमाडौंवासी सबैको लागि सास फेर्ने खुला क्षेत्र अथवा भनौं काठमाडौं उपत्यकाको सास फेर्ने फोक्सो यताका दिनमा निरन्तर निर्जीव प्रायः हुँदो छ ।

खुला क्षेत्रको अभाव काठमाडौंको कुनाकाप्चासम्म अनुभव हुन थालेको छ । सार्वजनिक जग्गाजमीन हडप्ने खेल आजभोलि विशेष चर्चाको विषय बन्न पुगेको छ । त्यसमा पनि विद्यालय र विश्वविद्यालयको जग्गा हडप्ने प्रवृत्ति अझ् बढेको छ । जुद्धोदय माध्यमिक विद्यालयको हातामा खुला क्षेत्र कत्ति पनि नराखी व्यापारिक भवन निर्माण गर्ने चलखेलको खेदपूर्ण खुलासा शिक्षक  मासिकमा पढ्दैछु । धेरैजसो पुराना स्कूल, पाठशाला, विद्यालयले स्थापनाकालमा विद्यार्थीका लागि खेलकुद एवं शारीरिक व्यायामका लागि खुला क्षेत्र छोडेका हुन्छन् । तिनलाई हालका भू–माफियाको पञ्जाबाट मुक्त राख्न विद्यालय एवं स्थानीय सरकारबाट विशेष प्रयास गर्नु परेको छ ।

 विद्यालय भनेको समग्र स्वस्थ अर्थात् तन, मन र मस्तिष्कको विकास गर्ने थलो हो भन्ने कुरा बिर्सनुहुँदैन । एउटा मान्छेको फोक्सोमा हावा खेल्ने ठाउँ लगभग १३० वर्गमिटर अर्थात् एउटा ‘लन टेनिस’ (Lawn Tennis) कोर्टको आधा जति हुन्छ । त्यत्रो फोक्सोलाई हावा आपूर्ति गर्ने खुला चउर त्योभन्दा कम वा सानो हुनु वाञ्छनीय कुरा होइन । तसर्थ, टुँडिखेलको दशा विद्यालय परिसरमा सर्न नपाओस् भन्नेमा हामी सबै चनाखो हुनु आवश्यक छ ।

commercial commercial commercial commercial