जिज्ञासा र जवाफ

संसारको पहिलो केन्द्रीय बैंक

कक्षा–१० को कार्यालय संचालन र लेखा विषयमा ‘रिक्स बैंक स्वीडेनलाई संसारको पहिलो केन्द्रीय बैंक’ भनी उल्लेख गरिएको छ । तर सोही कक्षाको अर्थशास्त्र विषयमा चाहिं ‘विश्वमा केन्द्रीय बैंकको शुरूआत बैंक अफ इङ्गल्यान्डबाट भएको’ भनी लेखिएको छ । एउटै कक्षाका विद्यार्थीले एकै प्रश्नको दुई थरी जवाफ कसरी दिने ?

मीनबहादुर पूर्वछाने, फौदसिंह जनता मावि, लालबन्दी–१७, सर्लाही

तपाईंले प्रश्न उठाउनुभएपछि यथार्थ बुझन हामीले पनि उल्लिखित दुवै पाठ्यपुस्तक पल्टायौं । तर, कक्षा–१० को अर्थशास्त्र विषयमा ‘बैंक अफ इङ्गल्यान्डलाई विश्वको पहिलो केन्द्रीय बैंक’ भनी कतै उल्लेख भएको पाइएन । कार्यालय संचालन र लेखा विषयमा दिइएको जानकारी अनुसार नै केन्द्रीय बैंकको शुरूआत स्वीडेनको रिक्स बैंकबाट भएको सत्य हो । उक्त बैंक सन् १६६८ मा स्थापना भएको थियो । बैंक अफ इङ्गल्यान्ड चाहिं बेलायतको सवा तीन सय वर्ष पुरानो केन्द्रीय बैंक हो । यो बैंक त्यहाँ सन् १६९४ मा खुलेको थियो । अलग अलग सन्देश दिने यी दुई तथ्यबारे विद्यार्थीहरूलाई यसरी नै जानकारी गराउनुहुन अनुरोध छ ।
गणेश भट्टराई, निर्देशक (सूचना अधिकारी), पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर

त्रुटि भएछ, सच्याइन्छ
कक्षा–५ को मेरो गणित किताबको पेज–३ को उदाहरण १ को अन्तिम अनुच्छेदमा ‘बिन्दु A र P जोड्दा PAB = 400  बन्यो’ भनिएको छ । यसैगरी पेज नम्बर ४ को उदाहरण २ को पहिलो अनुच्छेदमा ‘ABC = 300° रहेछ’ भनेर लेखिएको छ । उपर्युक्त दुवै कोणलाई प्रोट्र्याक्टरले नाप्दा क्रमशः 40° र 30° मात्र छ । पहिलो उदाहरणमा उल्लेख भए झैं कोणको नाप 400° कसरी हुन्छ ? यी दुवै उदाहरणलाई कसरी बुझने र बुझाउने ?

धीरेन्द्र यादव, श्री नेपाल राष्ट्रिय प्रावि, पिप्राढी–६, बारा

ती उदाहरणहरूमा उल्लिखित कोणहरूको नाप क्रमशः 40° 30° नै हो । तर प्राविधिक त्रुटिले  400°300° छापिन गएको रहेछ । यो त्रुटि औंल्याइदिनुभएकोमा तपाईंलाई धन्यवाद । पुस्तकको आगामी संस्करणमा यसलाई सच्याइनेछ ।

गणेश भट्टराई, निर्देशक (सूचना अधिकारी), पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर

प्रावि शिक्षकको अन्तिम ग्रेड ८ र ६ हो
२०७३ साल साउनमा ग्रेड निर्धारण हुँदा प्रावि तहका शिक्षकले श्रेणी अनुसार क्रमशः प्रथमले १०, द्वितीयले ८ र तृतीयले ६ ग्रेड पाउने व्यवस्था गरियो । तोकिएको ग्रेड संख्या पूरा हुँदा समेत उमेर हदका कारण अवकाश नपाएका शिक्षकले बाँकी अवधि पदमा बहाल रहँदाको थप ग्रेड के कति पाउँछन् या पाउँदैनन् ?

टीकाबल्लभ पराजुली, आदर्श जनता मावि, झापा गापा–६, झपा

प्रावि तहका शिक्षकको अधिकतम ग्रेड प्रथम र द्वितीय श्रेणीको ८ र तृतीय श्रेणीको ६ निर्धारण गरिएको छ । प्रथम श्रेणीको पनि १० नभई ८ नै हो । अनिवार्य अवकाशअघिको सेवा अवधि जति लामो भए पनि श्रेणी अनुसार तोकिएभन्दा बढी ग्रेड पाउने व्यवस्था छैन ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक, विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौं

Blind शब्द हटाइएकै हो
कक्षा–४ को अंग्रेजी विषयको युनिट–९ मा २०७४ सालको संस्करणमा 'The Six Blind Men And The Elephant' भन्ने शीर्षक थियो । तर २०७५ सालको संस्करणमा चाहिं 'The Six Men And The Elephant' छ । पछिल्लो संस्करणमा Blind शब्द छुटेको हो वा हटाइएको हो ? हटाइएको हो भने किन ?

हरिनारायण गौतम, श्री भगवती मावि, चैनपुर–२, चित्लाङ, संखुवासभा
उपर्युक्त पाठ अंग्रेजी भाषाको पुरानो लोककथाबाट लिइएको हो । अंग्रेजी विषयको पाठ्यपुस्तकमा त्यो कथा धेरै पहिलेदेखि नै जस्ताको तस्तै प्रयोग हुँदै आएको थियो । तर त्यसमा उल्लिखित  blind शब्द र कथामा प्रस्तुत सन्दर्भबाट दृष्टिविहीन समुदायको भावनामा चोट पुग्न सक्ने देखिएकाले सचेततापूर्वक नै २०७५ सालको संस्करणदेखि उक्त शब्द हटाइएको हो । पाठ्यपुस्तकबाट हटाइएका यस्ता शब्द र अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मानमा ठेस पुर्‍याउने कुनै पनि प्रसंग कक्षाकोठाभित्र र बाहिरका बोलीचालीबाट पनि हटाउन सिकाएर विद्यार्थीलाई नयाँ संस्कारले सुशोभित बनाउनु हामी सबैको कर्तव्य हो ।

गणेश भट्टराई, निर्देशक (सूचना अधिकारी), पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर

commercial commercial commercial commercial