भूत !

संस्कृतमा भूतको प्रयोग तीन वटा प्रसङ्गमा भएको पाइन्छ: समयको, पदार्थको र आत्माको । समयको प्रसङ्गमा भूत भन्नाले बितेर गएको, व्यतीत, अतीत वा विगत समय भन्ने अर्थ राख्छ । संस्कृतमा बितेर गएको समयलाई भूतकाल (past time-period) भनिन्छ । अक्सर समयको प्रसङ्गमा प्रयोग हुँदा भूत शब्द एक्लै नभएर अन्य शब्दसँग जोडिएर प्रयोग भएको देखिन्छ; मूलतः भूतकाल नै लेखिएको देखिन्छ ।

पदार्थको प्रसङ्गमा भूतले भौतिक पदार्थजन्य अस्तित्व वा मेटेरियल–बिइङ्ग (material being) भन्ने जनाउँछ । सामान्यतः भू धातु नै भौतिक अस्तित्व भएको भन्नका लागि प्रयोग हुन्छ; जस्तै भूतत्व भन्दा हावा, पानी, माटो आदि जस्ता तत्वलाई बुझिन्छ। यो अर्थमा; जुनसुकै वस्तु वा पदार्थ जसको अस्तित्व रूप, रस, गन्ध, ध्वनि वा स्पर्शको उपयोग गरेर जान्न सकिन्छ, त्यसलाई संस्कृतमा भूत भनिन्छ । फलस्वरूप, सृष्टिमा प्रकृतिको गर्भबाट जे जति कुराहरू उत्पन्न वा प्राप्त हुन्छन् ती सबैलाई भूत भनेर भनिन्छ । त्यसैले; पृथ्वी, जल, अग्नि, वायु, आकाशलाई महाभूत (gross-element, great-element) भनिन्छ र कतिपय ठाउँमा भूत मात्र पनि भनिन्छ । एउटा परमाणु पनि भूत नै हो । मानिस, प्राणी, वनस्पति, नदी, हावा, पानी, पृथ्वी, सूर्य, चन्द्रमा, तारा, ग्रह आदि इन्द्रियद्वारा प्रत्यक्ष साक्षात्कार गर्न सकिने सबै कुराहरू भूत हुन् ।

भूत र भूतका गुणहरूको ज्ञानसँग सम्बन्धित भएकोले नै फिजिक्स (physics) लाई भौतिक विज्ञान भनेर भनिन्छ । भूतहरूलाई थप वर्गीकरण गरेर वनस्पति र प्राणीलाई जीव–भूत र बाँकी सबैलाई निर्जीव–भूत पनि भनिन्छ । सामान्य लेखाइमा भने विना विशेषण भूत मात्रै लेखिने हुनाले भूत शब्दले जीव, निर्जीव वा सर्व (सबै) मध्ये कसलाई सम्बोधन गरेर हो भनेर प्रसङ्ग अनुसार छुट्याउने गरिन्छ ।

आत्माको प्रसङ्गमा पुरानो शरीरको मृत्युदेखि पुनर्जन्मसम्मको अवधिमा मर्नेवाला शरीरधारीको जुन ‘न यता न उता’ को (transient, unstable) स्थिति हुन्छ त्यसलाई भूत भनिन्छ । मर्नु अघि पूर्ण र स्थिर रहेको एउटा जीव वा निर्जीव भूत जब मर्छ तब ऊ तुरुन्तै एउटा अस्थिर अवस्थामा प्रवेश गरेको मानिन्छ । अनि त्यो अस्थिरताको अवस्थामा प्रवेश गरेको मृतकलाई भूत भनिन्छ ।

यो मानिन्छ कि एउटा आत्माले युक्त शरीर मरेपछि त्यो शरीरबाट विघटित आत्मालाई पुनः पूर्णता र स्थायित्वको स्थितिमा पुग्न समय लागेको हुन्छ । त्यो अवस्थामा त्यो आत्माले एउटा अस्थिर तर अवश्यम्भावी–रूपान्तरणको चरणमा प्रवेश गरेको मानिन्छ । यो रूपान्तरणको अवधारणा जटिल छ ।

नेपालमा व्याप्त जनविश्वास र काल्पनिक साहित्यले अन्य कसैको शरीरमा प्रवेश नपाएर अशान्त रहेको वा भड्किरहेको मृत व्यक्तिको आत्मालाई भूत, प्रेत, भूतात्मा (अतीतको आत्मा) वा प्रेतात्मा भनेको पाइन्छ । यो प्रसङ्गमा भूत शब्दले अंग्रेजी घोस्ट (ghost) को जस्तो अर्थ राख्दछ, यद्यपि आत्मा सम्बन्धी वैदिक अवधारणा अन्य सभ्यतामा विद्यमान अवधारणा भन्दा पृथक् देखिन्छ ।

किन (तत्काल) विद्यमान वस्तुलाई पनि भूत र रूपान्तरणको अस्थायी अवस्थामा रहेका आत्मालाई पनि भूत भनियो होला भनेर जान्न वैदिक दार्शनिक मान्यतालाई हेर्नुपर्ने हुन्छ । वैदिक मतका अनुसार केवल सतहमा मात्र वस्तुहरू जड देखिने हुन्, गहिरिएर हेर्दा त जडभित्र पनि आत्मा अवस्थित छ । जडता त सामान्य आँखाका लागि मात्र देखिएको हो । अर्को, यहाँ कुनै पनि वस्तु स्थायी वा स्थिर छैन । सबै भूत जन्म–मरणको चक्रमा चलायमान नै छन्, केवल सामान्य आँखाका लागि मात्र ती स्थिर देखिएका हुन् । खाली प्राणी र वनस्पति जगतमा हुने मृत्यु अति अचानक र अति प्रत्यक्ष भएकोले हामीलाई आश्चर्यमा पारेको हो । त्यसैले, यथार्थ त यो हो कि यहाँ जे देखिन्छन् ती सबै अस्थायी र अस्थिर हुन्, रूपान्तरणको अवस्थामा रहेका भूत नै हुन् । केवल ब्रह्म मात्र स्थिर र स्थायी हो, बाँकी सबै त्यसबाट निर्मित भएका अस्थिर उपज हुन् । आजका दृश्यमय वस्तु त एउटा मिथक वा कल्पना जस्तै लोप भएर जानेवाला छन् । त्यसैले, हामीलाई स्थायी जस्ता प्रतीत हुने वस्तु पनि ब्रह्मको स्थायित्वका अगाडि मात्र भूत हुन्, ट्रान्जिएन्ट्–बिइङ् हुन् ।

(३० असार २०७६, काठमाडौंमा विमोचन गरिएको डा. प्रमोद ढकालको कृति ‘पूर्वीय दर्शनको पुनव्र्याख्या’ बाट साभार)

commercial commercial commercial commercial