विद्यालय पाठ्यक्रममा व्यवहारकुशल सीप के हो र किन ?

व्यवहारकुशल सीप  (soft skills) सबैलाई आवश्यक पर्ने कुरा हो । यस्तो सीपले व्यक्तिलाई सकारात्मक हुन, सामाजिक सहभागिता वृद्धि गर्न, पेशा र रोजगारीका क्षेत्रमा सफलतापूर्वक टिक्न र दक्ष हुन सहयोग पुर्‍याउँछ ।

नेपालको पाठ्यक्रम र पाठ्यसामग्रीमा व्यवहारकुशल सीप
विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी, वि.सं. २०६६–२०७२) कार्यान्वयनसँगै नेपालको शिक्षा नीतिमा व्यवहारकुशल सीप सम्बन्धी अवधारणाले प्रवेश पाएको हो । सो योजना अन्तर्गत माध्यमिक तहको गुणस्तर र सान्दर्भिकता अभिवृद्धिका लागि व्यवहारकुशल सीप सहितको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम विद्यालय शिक्षामा नै एकीकरण हुने गरी परीक्षणका रूपमा संचालन भएको पाइन्छ । विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी, (वि.सं.२०७३–२०७९) ले चाहिं विद्यालय तहको पाठ्यक्रममा नै व्यवहारकुशल सीप समावेश गर्ने कुरा उल्लेख गरेको छ ।

नेपालको शिक्षा नीति तथा कार्यक्रममा व्यवहारकुशल सीप समावेश भएपछि त्यही नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउन सन् २०१२ देखि ‘टीएसएसपी’  र ‘टीएसएसएस’ नामका दुई वटा परियोजना संचालन गरिए । व्यवहारकुशल सीप (सफ्ट स्किल) भनेको के हो भन्ने स्पष्ट पार्दै त्यसको परिभाषा र प्रकार तय गरियो । परियोजनाले तयार पारेको परिभाषा अनुसार “व्यक्तिलाई आत्मविकास, सामाजिक सहभागिता र व्यावसायिक जीवनमा सफल रहनका लागि आवश्यक पर्ने वैयक्तिक, सहयोग, सोचाइ, नवप्रवर्तन तथा व्यावसायिक सीपहरू नै व्यवहारकुशल सीप हुन् ।” ("Soft skills are the personal, cooperation, thinking, innovation and business skills, which a person needs to succeed in self development, social participation and professional life.")
व्यवहारकुशल सीपलाई निम्न चार वटा क्षेत्र र १४ वटा उपक्षेत्रमा वर्गीकरण गरिएको छः

व्यवहारकुशल सीपका प्रकार


कक्षा १–३ को एकीकृत पाठ्यक्रममा व्यवहारकुशल सीप
विद्यालय शिक्षाको एउटा महत्वपूर्ण कार्य विद्यार्थीमा व्यवहारकुशल सीप (Soft skills) विकास गराउन सहयोग गर्नु हो । व्यवहारकुशल सीप सबैलाई आवश्यक पर्ने कुरा हुन् । यिनको खाँचो कुनै निश्चित कार्य वा भूमिकामा मात्र सीमित हुँदैन । यस्ता सीप विशेषतः विद्यार्थीको दैनिक जीवनका वास्तविक समस्या समाधानमा सहायक हुन्छन् । व्यवहारकुशल सीपलाई फरक–फरक नामले पहिचान गर्ने गरिन्छ । जस्तै, यिनलाई समतलीय, सामान्य, अन्तरसम्बन्धित, स्थानान्तरणीय, आधारभूत, व्यावहारिक, रोजगारीमूलक वा २१औं शताब्दीका सीप समेत भन्ने गरिन्छ ।

सिकाइलाई दैनिक जीवनसँग आवद्ध गर्नका लागि विभिन्न विषय र तहका पाठ्यक्रमबीच अन्तरक्रिया हुनु जरूरी हुन्छ । यस्तो अन्तरक्रियाबाट सिकाइलाई सामान्य विषयगत ज्ञान तथा सीपमा मात्र सीमित नगरी अधिसंज्ञानात्मक (Metacognitive सिकाइलाई सहज गराई जीवनका समस्या समाधानका लागि उपयोगी बनाउन समेत सहयोग प्राप्त हुन्छ । व्यवहारकुशल सीप सिकाइलाई अधिसंज्ञानात्मक तहमा पुर्‍याउन सहयोग पुग्ने भएकाले यी सीपलाई उपयुक्तताका आधारमा सबै विषय र तहमा एकीकृत गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा १–३ को पाठ्यक्रममा समावेश गरिएका व्यवहारकुशल सीपका विभिन्न पाँच वटा मुख्य क्षेत्र र २९ वटा उपक्षेत्रहरू छुट्याएको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

व्यवहारकुशल सीपका ५ क्षेत्र र २९ उपक्षेत्र
१. सोचाइ सीप (Thinking Skills) (S1)

बालबालिकाले सूचना प्रशोधन गर्न, विभिन्न सूचनालाई संयोजन गर्न, निर्णय लिन र नयाँ विचार सिर्जना गर्न प्रयोग गर्ने संज्ञानात्मक क्रियाकलापहरू नै सोचाइ सीप हुन् । बालबालिकाले आफ्ना अनुभव बोध गर्दा, समस्या हल गर्दा, निर्णय लिंदा, प्रश्न गर्दा, योजना बनाउँदा अथवा सूचना संगठित गर्दा आफ्नो सोचाइ सीप प्रयोग गर्दछन् । ब्लूम (Bloom) को वर्गीकरण (Bloom's Taxonomy) अनुसार सोचाइ सीपलाई संज्ञानात्मक सोचाइ सीप र प्रतिबिम्बित सोचाइ सीप गरी दुई भागमा विभाजन गरिएको छ ।

संज्ञानात्मक सोचाइ सीपलाई पनि दुई किसिममा विभाजन गर्न सकिन्छः पहिलो, संवेदना बारे सूचना संकलन (हेर्ने, सुन्ने र छुने) र पुनः प्राप्त गर्ने (स्मरण सीप), आधारभूत बुझाइ (संकलित सूचनाहरू संगठित गर्ने, धारणा निर्माण गरी एक आपसमा जोड्ने) र उत्पादनशील/सिर्जनात्मक सीपहरू (सूचना प्रयोग गर्ने, बुझने, निर्णय गर्ने, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने र सृजना गर्ने) । प्रतिबिम्बित सोचाइ सीपले संज्ञानात्मक सीपको प्रयोगबारे योजना निर्माण, अनुगमन र मूल्याङ्कनलाई जनाउँछ ।

२. वैयक्तिक सीप (Intrapersonal Skills) (S2)
वैयक्तिक सीप पनि विभिन्न किसिमका छन् । यस अन्तर्गत जिम्मेवारी एवं प्रतिबद्धता विकास गर्नु, स्व–व्यवस्थापन, आत्मबल/स्वाभिमानको विकास, इमानदारिता/स्व–अनुशासन, समय व्यवस्थापन, स्वतन्त्र सिकाइ, लचकता र अनुकूलनता जस्ता सीप पर्दछन् । एक्काइसौं शताब्दीका लागि बालबालिकाले वैयक्तिक सीपहरू विकसित गर्नुपर्दछ । त्यसलाई व्यवहारकुशल सीप; व्यक्तिका सीप अथवा अन्तरवैयक्तिक सीप पनि भनिन्छ । वैयक्तिक सीपका सम्बन्धमा पाठ्यक्रमले बालबालिकाको संज्ञानात्मक विकास, सामाजिक तथा संवेगात्मक विकास, वाचन तथा भाषा विकास र कुशल क्रियात्मक सीप विकासको लागि व्यवस्था गरेको हुनुपर्दछ । वैयक्तिक सीपले विद्यार्थीलाई काम तथा क्रियाकलापको जिम्मेवारी लिन, विभिन्न काम तथा क्रियाकलापप्रति प्रतिबद्धता एवं आत्मविश्वास प्रदर्शित गर्न, आफ्नो योग्यताको लेखाजोखा गर्न र आफ्नो जीवनको लक्ष्यबारे व्यक्त गर्न सहयोग पुर्‍याउनुपर्दछ ।

आफ्नो हेरचाह गर्ने योग्यता, दैनिक जीवन व्यवस्थापन गर्ने योग्यता, कार्ययोजना विकास गर्ने, मूल्याङ्कन गर्ने कार्यसमेत समावेश गरी वैयक्तिक लक्ष्यहरू पहिचान गर्ने, मूल्याङ्कन गर्ने र प्राप्त गर्ने जस्ता स्व–व्यवस्थापन सम्बन्धी सीपहरू यस अन्तर्गत पर्दछन् । त्यसै गरी यस अन्तर्गत आत्मबल तथा स्वाभिमानको विकास; इमानदारिता/स्व–अनुशासन; व्यक्तिगत लक्ष्य निर्धारण र कार्यमा अग्रसरता; स्वतन्त्र सिकाइ, लचकता र अनुकूलनता; जिम्मेवारी एवं प्रतिबद्धता जस्ता वैयक्तिक सीपहरू पनि पर्दछन् ।

३. अन्तर वैयक्तिक सीप Interpersonal Skills) (S3)

अन्तरवैयक्तिक सीपले एक व्यक्ति र अर्को व्यक्तिबीच प्रभावकारी रूपमा संचार र समन्वय गरी सहयोग तथा सद्भाव कायम गर्न सक्ने योग्यता या सक्षमतालाई जनाउँछ । यो सीप अन्तर्गत फरक फरक लक्ष्य र उद्देश्यका विविध सन्दर्भमा अरूसँग कार्य गर्ने, सामूहिक लक्ष्य पहिचान गर्ने, मूल्याङ्कन गर्ने र प्राप्त गर्ने, समूहमा जिम्मेवारी पहिचान गर्ने र भूमिका बाँडफाँड गर्ने, समूहमा राम्रो सम्बन्ध विकास गर्ने, समूहको प्रगतिको लेखाजोखा गर्ने, समूहको कार्यको समीक्षा गर्ने र व्यक्तिगत रूपमा आफ्नो योगदान प्रतिबिम्बन गर्ने जस्ता पक्षहरू पनि समावेश हुन्छन् ।

अन्तरवैयक्तिक सीपहरूमध्ये संचार एउटा ज्यादै महत्वपूर्ण सीप हो ।  सुन्न र बोल्न सक्ने योग्यता आधारभूत संचार सीप हुन् । यी सीप कक्षा १, २ र ३ का विद्यार्थीमा विद्यालयमा रहँदा विकसित हुनुपर्दछ । जबसम्म विद्यार्थीहरू आफ्नो स्थानीय वा राष्ट्रिय भाषामा संचार गर्न सक्दैनन् तबसम्म उनीहरू आफ्नो जीवनका लक्ष्य प्राप्त गर्न र आफ्नो ज्ञान एवं सामथ्र्य विकास गर्न सक्षम भएको मानिंदैन । संचार सीपले बालबालिकालाई संवेगात्मक बौद्धिकता, स्थिरता र स्पष्टता, भिन्नता, आत्मविश्वास, सहानुभूति, आदरभाव, सुन्ने, खुला सोच र राम्रो प्रश्न सोध्ने क्षमता विकास गर्नमा सघाउँछ । असल संचार भनेको समग्रमा प्रभावकारी सुनाइ हो । बालबालिकाले विद्यालय अवधिभर खुला सोच विकास गर्नुपर्दछ । सुदृढ संचारका लागि एउटा व्यक्ति खुला मस्तिष्कसहित अन्य व्यक्तिका दृष्टिकोण बुझनेतर्फ प्रतिबद्ध हुनुपर्दछ ।

व्यक्तिको जीवन तथा कार्यका प्रायः सबै पक्षहरूमा सहकार्य सीपको खाँचो पर्दछ । हिजोआज व्यापार; उद्योग वा कुनै व्यवसायमा सफल हुनका लागि सँगसँगै मिलेर समूहमा काम गर्न सक्षम हुनुपर्दछ भन्ने मान्यता स्थापित हुँदै गएको छ । त्यसो त जुन कुनै क्षेत्रमा सहयोग तथा सहकार्यलाई एउटा आवश्यक सीपकै रूपमा लिइन्छ । एक्काइसौं शताब्दीमा विद्यार्थीले आफूलाई परियोजना तथा खोजमूलक सिकाइमा व्यस्त राख्न सक्नुपर्दछ । साथै तिनले सामाजिक परिवेशमा आफ्ना ज्ञान एवं समस्या समाधानका सीपहरू प्रभावकारी ढंगबाट प्रयोग गर्न सक्नु पर्दछ । सहकार्य सीपले विद्यार्थीलाई उनीहरूका साझ लक्ष्य हासिल गर्न सँगै मिलेर; सहयोगी रूपमा काम गर्न मद्दत गर्दछ । जब बालबालिका एकआपसमा मिलेर सिक्ने प्रक्रियामा रहन्छन्, तब उनीहरू कुनै समस्या मिलेर समाधान गर्न र मिलेरै कुनै काम पूरा गर्न वा कुनै उत्पादन गर्न सक्षम हुन्छन् । सहयोगी सिकाइ वातावरणमा सिकारुका अलग–अलग दृष्टिकोणले सुन्नुपर्ने हुँदा सिकारुहरूले सामाजिक एवं संवेगात्मक दुवै पक्षबाट चुनौतीको सामना गर्नुपर्दछ र आफ्ना विचारहरूलाई स्पष्ट पार्ने र प्रतिरक्षा गर्नुपर्दछ । यसो गर्दा सिकारुले विज्ञ वा शिक्षकहरूले दिएको प्रारूप वा ढाँचामा भर नपरी आफ्नै विशेष प्रकारका धारणागत प्रारूपहरू सृजना गर्न थाल्दछन् । यसभन्दा बढी सहकार्य गर्दा साझ सिकाइले सिकारुलाई छलफलमा भाग लिने आवसरहरू दिने, आफ्ना सिकाइको जिम्मेवारी लिने र यस अनुरूप गहन सोच गर्ने व्यक्तिका रूपमा विकसित गर्दछ ।

बालबालिकाहरूमा संचार र सहकार्य सीप सँगसँगै सहयोग तथा सहानुभूति, सक्रियतापूर्वक सुन्ने र सांस्कृतिक तथा नैतिकता जस्ता अन्तरवैयक्तिक सीपहरूको विकास पनि उत्तिकै आवश्यक हुन्छ ।

४. सूचनाप्रविधि तथा बहुसाक्षरता सीप nformation technology and multiliteracy skills) (S4)

एक्काइसौं शताब्दीमा सफलता पाउन विद्यार्थीले विज्ञान, प्रविधिका साथै संस्कृतिमा समेत कुशलता प्राप्त गर्नुपर्दछ । त्यस्तै विभिन्न रूपमा सूचनाहरूको राम्रो बुझाइ हुनुपर्दछ । यसभन्दा बढी विद्यार्थीले विविध वातावरणको व्यवस्थापन, संस्कृतिहरूको ज्ञान, एउटा विश्वव्यापी सोच, प्रभावकारी समाधान, सिक्नका लागि जिज्ञासु, सफलतापूर्वक बाह्य जगतबाट चिन्तन गर्नु; दूरसंचार सीपहरू र विश्लेषणलाई बुझन सक्ने जस्ता विभिन्न सीपहरू विकसित गर्नुपर्दछ । यसकारण बालबालिकाहरूले विद्यालयमा रहँदा शुरूबाट नै डिजिटल साक्षरता विकसित गर्नुपर्दछ ।

५. नागरिक सीप (Citizenship Skills) (S5)

शिक्षाको एउटा उद्देश्य बालबालिकामा नागरिक अधिकार र दायित्वप्रति सचेतता विकास गराई नागरिक अधिकार प्राप्ति गरी त्यो दायित्व कुशलतापूर्वक निर्वाह गर्न सक्षम हुन सहयोग गर्नु हो । यसका लागि विद्यालय शिक्षाका प्रारम्भिक कक्षादेखि नै नागरिक शिक्षालाई विभिन्न विषयमा एकीकृत गर्नु गर्दछ । यस अन्तर्गत लोकतन्त्रिक मूल्य र मान्यता, सहभागिता, सहाशीलता र खुलापन, विविधताको बोध र सम्मान, राष्ट्रिय पहिचान, समाज, भाषा, संस्कृति र राष्ट्रप्रति प्रेम र अपनत्व, व्यक्तिगत, सामाजिक तथा नागरिक दायित्व र जिम्मेवारी वहन गर्ने लगायत विश्वव्यापी चेतनाको विकास गराउनुपर्दछ । एउटा असल नागरिकको विकासका लागि विभिन्न विषयमा एकीकृत गरी नागरिक दक्षतासँग सम्बन्धित सीपमा विद्यार्थीलाई सक्षम तुल्याउनुपर्दछ ।

शिक्षकका लागि व्यवहारकुशल सीपको आवश्यकता
निश्चित तहको अध्ययन पश्चात् शिक्षकले प्राप्त गरेको योग्यताको प्रमाणपत्र प्राविधिक सीप हो । त्यस्तो सीप अवलम्बन गरी शिक्षकको व्यक्तिगत तथा पेशागत जीवनलाई सार्थक र प्रभावकारी बनाउन तथा प्राविधिक सीपलाई फलाउन, चम्काउन, टिकाउन, बिकाउन र कार्यस्थलमा सफलता प्राप्त गर्न आवश्यक पर्ने सीप चाहिं व्यवहारकुशल सीप हो । शिक्षकलाई आफ्नो पेशामा दक्षता बढाउन, अनुकरणीय व्यक्ति कहलिन, आफ्नो पेशामा रमाउन र टिक्न, नमूनाका रूपमा प्रदर्शन गर्न व्यवहारकुशल सीपको आवश्यकता पर्दछ । शिक्षकका लागि व्यवहारकुशल सीपको आवश्यकता निम्नानुसार उल्लेख गर्न सकिन्छ:

  • बालमनोविज्ञानको अवधारणा अनुसार बालबालिकाको रुचि, क्षमता, आवश्यकता, विविधतालाई बुझी तदनुकूल क्रियाकलापको विकास गर्न र सिकाइलाई व्यावहारिक र जीवनोपयोगी बनाउन,
  • बालबालिकाहरूलाई सिर्जनशील, अन्वेषक, तार्किक र सहयोगी व्यक्तिका रूपमा विकास गर्न,
  • पाठ्यक्रममा निर्धारित सिकाइ उपलब्धिलाई बालबालिकाको जीवनसँग तादाम्य गरी दैनिक जीवनमा आइपर्ने समस्या समाधानमा सहयोग गर्न,
  • शिक्षण सिकाइ प्रक्रियालाई बढीभन्दा बढी व्यावहारिक र प्रयोगात्मक बनाई विभिन्न स्रोतबाट प्राप्त ज्ञानको व्यवस्थापन गर्न,
  • विद्यालयका सरोकारवालाहरूसँग समन्वय, सहकार्य र अन्तरवैयक्तिक सम्बन्ध स्थापित गरी विद्यार्थीहरूबाट अपेक्षित उपलब्धीलाई परा गर्न सहयोग गर्न,
  • समालोचनात्मक सोचाइको विकास गरी विद्यार्थीमा तर्क गर्ने, निर्णय गर्ने, समस्या समाधानका विकल्पहरूको पहिचान गर्ने, समाधान गर्ने सीपको विकास गर्न,
  • शिक्षण सिकाइ प्रक्रियामा देखिएका समस्या प्रभावकारी रूपमा समाधान गर्न,
  • सकारात्मक सोचको विकास गर्न र शिक्षण पेशालाई सम्मान तथा निरन्तरता दिन ।

विद्यार्थीका लागि व्यवहारकुशल सीपको आवश्यकता
सिकाइ प्रक्रियाको केन्द्रविन्दु बालबालिका हुन् । देश निर्माणका कर्णधार मानिएका बालबालिकामा दैनिक जीवनका समस्या समाधान गर्न, विश्व परिवेशमा आएका सिद्धान्त, तथ्य, उपागम, प्रविधिहरूसँग परिचित हुन, असल नागरिक बन्नको लागि सानैदेखि आवश्यक सीपको विकास गरी सकारात्मक व्यवहार तथा सोचको विकास गर्न व्यवहारकुशल सीपको आवश्यकता पर्दछ । यी पक्षहरूको अलावा विद्यार्थीको लागि व्यवहारकुशल सीपको आवश्यकतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

  • असल चिन्तक बन्न, समूहमा मिलेर काम गर्न र सहयोग गर्ने बानीको विकास गर्न,
  • तर्क र प्रमाण सहित आफ्ना कुराहरू निर्धक्क तरिकाले प्रस्तुत गर्ने सीपको विकास गर्न,
  • सूचना र अनुभवहरूबाट ज्ञान निर्माण गरी ज्ञान, सीप र धारणालाई सक्षमताका साथ व्यवहारमा प्रयोग गर्न,
  • विभिन्न विकल्पका आधारमा समस्या समाधान गर्न र समालोचनात्मक सिकाइ सीप अभिवृद्धि गरी सिर्जनशील हुन,
  • अन्तरवैयक्तिक सीपको विकास गरी व्यवहारमा प्रयोग गर्न र असल नागरिक बन्न,
  • एकले अर्काको संस्कार र संस्कृति बुझी त्यसको सम्मान गर्न र समाजमा स्थापित असल संस्कृतिको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन तथा खराब संस्कृति हटाउन सक्ने नागरिक बन्न,
  • समय र परिस्थिति अनुसार आफूलाई समायोजन गर्न तथा अनुकूलित भई कार्य व्यवहार प्रदर्शन गर्न,
  • तर्कपूर्ण सोचाइलाई व्यावहारिक रूपमा प्रयोग गर्न र सहयोगात्मक सिकाइ पद्धतिलाई अवलम्बन गर्न,
  • स्व–व्यवस्थापन सीपको विकास गरी इमानदारी, स्व–अनुशासन, स्वाभिमानी, जिम्मेवारी र प्रतिबद्ध नागरिक बन्न ।
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र, भक्तपुर

commercial commercial commercial commercial