शिक्षकको आत्मसम्मान जिम्मेवारी कसको ?

६ वर्षकी छोरीलाई भविष्यमा के बन्ने भन्दा ‘टीचर’  बन्ने भनेर तुरुन्तै जवाफ दिन्छे । अबोध बालबालिकाहरूको मनमा ‘टीचर’  जस्तो ठूलो अरू कोही पनि हुँदैनन् भन्ने छ । थाहा छैन, २०–२५ वर्षपछि ऊ के बन्न पुग्छे ... ।

तर; शिक्षक को २०७६, जेठ अंकमा प्रकाशित लेखहरूले भने तथ्य अर्कै देखाउँछन् । ‘शिक्षाको समाजशास्त्र’ सन्दर्भमा लेखिएका ती लेखले निजी विद्यालयका शिक्षकमा रहेको पीडा प्रष्ट्याएका छन् । आत्मसम्मानमा धक्का पुगेर विद्यालय शिक्षकले शिक्षण पेशा त्याग गरी कतारमा भासिनुपरेको जस्तो कारुणिक तथ्य पढ्दा अनि ‘पैसाभन्दा आत्मसम्मान नै प्यारो’ भन्ने मनोविज्ञान केलाउनु पर्दा म साँच्चै नै झस्कन पुगें ।

हाम्रो अस्पतालको ओपीडीमा आउने शिक्षक–पूर्व शिक्षकका कथा पनि करीब करीब त्यस्तै–त्यस्तै छन् । एक २५ वर्षे महिला शिक्षकले आफूले पढाउने गरेको निजी विद्यालयले सुत्केरी विदा नदिंदा आफू बेरोजगार हुनु परेको पीडा सुनाउँदा मेरा पनि आँखा रसाएका थिए । त्यस्तै ३५ वर्षका एक शिक्षकले ‘प्रधानाध्यापकले गरेको अपमानका कारण १० वर्षदेखि आफूले पढाइरहेको विद्यालय छोड्नु पर्दा परिवारको बेहाल भएको’ सुनाउँदा एक होनहार युवक कसरी ‘डिप्रेसन’ को रोगी अनि मद्यपानको दलदलमा फस्न पुगेको हुन्छ भन्ने तथ्य आँखै अगाडि छर्लंङ भएको थियो । त्यस्तै शारीरिक रोगका कारण पेशा त्याग्ने, तलबमा असमानताका कारण अरू पेशाहरू समेत गर्नुपर्ने, शिक्षकमा तलबी असमानता आदि अनेकौं सामाजिक एवं आर्थिक समस्याका पोका खुल्ने गर्दछन्, हामी मनोचिकित्साकर्मीहरूको अगाडि । अझ कुनै–कुनै विद्यालयमा त विना योग्यताका आफन्तहरूलाई राम्रो तलब दिएर सजिला कार्यमा लगाउने अनि योग्यहरूलाई न्यून तलबमा काममा लदाउने गरिएको पनि पाइन्छ ।

यसरी आत्मसम्मान र स्वाभिमानमा गम्भीर आघात परेर घायल भएका, आर्थिक कमजोरीका कारण पारिवारिक जिम्मेवारीमा अस्तव्यस्तता छाएका शिक्षकहरू विभिन्न मनोरोगबाट ग्रस्त भएर हामीकहाँ आइपुग्दा कहिलेकाहीं त सोच्दछु— हामीले दिने औषधिबाट मात्रै निको होलान् त तिनका रोग ? कि यस्ता रोगको प्रमुख कारकतत्व अर्थात् तिनको आत्मसम्मानमा भइरहेको प्रहार आदिको निदान एवं उपचार पनि गरिनुपर्ने हो ? तर, के हामी मनोचिकित्साकर्मीहरूले मात्र गरेर सार्थक होला त यो काम ।

शिक्षक वर्गको आत्मसम्मान क्षयीकरणका कारण केलाउँदा सर्वप्रथम त शिक्षक छनोटको मापदण्ड नै गलत देख्दछु म । हामीकहाँ ‘शिक्षक’ को जतिसुकै देवत्वकरण गरिए पनि माथिल्ला कक्षा चढ्दै गएपछि शुरूमा ‘शिक्षक’ नै बन्ने लक्ष्य राख्ने बालबालिका पनि क्रमशः डाक्टर, इन्जिनियर जस्ता प्राविधिक विषय नै छनोट गर्न पुग्छन् । मध्यमस्तरको परीक्षाफल भएकाहरूले व्यवस्थापन जस्ता विषय छान्छन् । तेस्रो श्रेणी आएमा अथवा मुश्किलले पास भएकाहरू भने ‘केही लागेन’ भनी शिक्षण–पेशामा झुण्डिन पुग्दछन् । यसरी शुरूआतबाट नै स्वत्वमा कमजोर भएकाहरूले छान्ने पेशा ‘शिक्षण’ ले कसरी आत्मसम्मान जोगाउन सक्ला र ? अरूहरूले जस्तो ती शिक्षकले आफ्नो पेशागत हक, इज्जत, पारिश्रमिक, अधिकार आदिको वकालत कसरी गर्न सक्लान् र ? अनि तिनले आफ्ना विद्यार्थीहरूलाई पछि शिक्षण पेशामा नै लाग्ने हुटहुटी कसरी जगाउन सक्लान् ?

फिनल्याण्ड, दक्षिण कोरिया, सिंगापुर जस्ता देशमा उच्च विद्यालय स्तरमा अत्यधिक अंक ल्याउने मेरिटवाला  हरूले शिक्षण पेशाका लागि नै उच्च अध्ययन गर्न र शिक्षण पेशा नै सम्हाल्न गौरव गर्ने गर्दछन् । रहरले शिक्षण पेशा अँगाल्नेहरू दक्षिण एशियाली मुलुकमा विरलै भेटिन्छन् । यसरी शुरूआती अवस्थामा नै हीनग्रन्थीले गाँजेका पेशाकर्मीका रूपमा शिक्षकहरू जागिरमा झुन्डिरहन पुग्दछन् ।

निजी विद्यालयका शिक्षकको पीडाहरूको त गत महीनाको शिक्षक मासिकले नै समाजशास्त्रीय विश्लेषण गरिसकेको छ । महँगा निजी विद्यालयमा पढ्ने हाम्रा नानीबाबुहरूको मासिक शुल्क देख्दा त्यस्ता विद्यालयका शिक्षकहरू त तलब सुविधामा सन्तुष्ट नै छन् होला भन्ने ठान्दथें म, तर वास्तविकता भने अति नै फरक रहेछ । न्यून तलब, विदा आदिको सुविधाको अभाव, सञ्चय कोषको अभाव अनि भविष्यको असुरक्षा (जुनसुकै बेला विना कारण हटाइन सक्ने) आदिका कारण तिनीहरू पनि तनावमय वातावरणमा जागिर खान विवश भए झैं लाग्दछ ।

एक मनोचिकित्सकको नाताले मानसिक समस्या एवं तनावमय वातावरणमा रहेका थुप्रै शिक्षकसँग कुरा गर्ने, तिनको पीडा सुन्ने र मनोदशा अनुभव गर्ने अवसर मलाई मिलेको छ । त्यस आधारमा म के निष्कर्षमा पुगेको छु भने, समस्याग्रस्तमध्ये ५० प्रतिशत भन्दा बढी शिक्षकहरूको समस्याको जड आत्मसम्मानको कमी नै हो । कोही–कोही अति धेरै समस्या भएकालाई हाम्रो औषधि चाहिने नै होला, तर अत्यधिक शिक्षकहरूलाई आत्मसम्मानमा टेवा पुर्‍याउने कार्यक्रमहरू संचालन गर्न सकेमा तिनका मनोसामाजिक समस्या विस्तारै हराउँदै जानेछन् ।

शिक्षकहरूको मनो–सामाजिक समस्या सम्बोधन गर्न अपनाउन सकिने केही उपायः
१. शिक्षण पेशामा पनि राम्रो अंकमा उच्च अध्ययन (सकेसम्म ‘शिक्षा’ विधामा नै) आकर्षित गर्ने अवस्थाको निर्माण ।
२. सरकारी एवं निजी विद्यालयमा रहेका पेशागत भिन्नताहरूको निरुपणका लागि प्रयास गर्ने । यसो गर्दा विद्यालयहरूको सबलीकरण अनि शिक्षण पेशाको महत्व अझ बढ्न जाने हुन्छ ।
३. सबै खालका विद्यालय शिक्षकहरूलाई समय–समयमा प्रयोगात्मक तालिम अनि अनुभव आदान–प्रदान गर्ने कार्यक्रम संचालन गर्ने ।
४. शिक्षकहरूको क्षमता अनि कार्य सम्पादनको आधारमा मूल्याङ्कन गरेर दण्ड–पुरस्कार–पदोन्नतिको व्यवस्था गर्ने ।
५. विद्यालयमा शिक्षकहरूका लागि व्यावसायिक वातावरण
निर्माण गर्ने ।

यी पक्षहरूमा ध्यान पुर्‍याउन सकेमा शिक्षकहरूको आत्मसम्मानमा बढोत्तरी हुन गई तिनका मनोसामाजिक समस्या पनि हराउने छन् । हुन सक्छ, हामी सबैले सामूहिक प्रयास र हातेमालो गरेमा शिक्षण पेशाको आकर्षण पनि बढ्नेछ । त्यसो भएमा मेरा छोरी जस्ता आजका बालबालिकाहरू पनि भविष्यमा गएर साँच्चै नै असल ‘टीचर’ बन्ने सम्भावना बढ्न सक्ने थियो ।

मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल

commercial commercial commercial commercial