एउटै कक्षामा १४ जना ‘फस्र्ट ब्वाय-फस्र्ट गर्ल’ !

अघिल्लो शैक्षिक सत्रमा विभिन्न विद्यालयबाट प्रथम भएर आठ कक्षा पास गरेका विभिन्न ९ जिल्लाका १४ जना विद्यार्थी जनता माध्यमिक विद्यालय; इटहरीको कक्षा–९ मा जम्मा हुन आइपुगेका छन् । सो कक्षाका कुल ४० मध्ये बाँकी २६ जनामा पनि अधिकांश दोस्रो र तेस्रो स्थानमा कक्षा–८ उत्तीर्ण गरेकाहरू छन् ।

प्रथम विद्यार्थीको भीड यो विद्यालयको कक्षा–९ मा मात्र लागेको भने होइन । विद्यालयको अंग्रेजी माध्यमतर्फका चौथोदेखि आठौंसम्मका अरू पाँच वटा कक्षामा पनि विद्यार्थीको उपस्थिति उस्तै छ । कक्षा–४ मा नौ जना, कक्षा–५ मा सात जना, कक्षा–६ मा आठ जना, कक्षा–७ मा ११ जना र कक्षा–८ मा १३ जना अघिल्लो कक्षामा प्रथम भएर आएका विद्यार्थी छन् ।

कक्षा–९ मा भेला भएका १४ ‘प्रथम’ मध्येकी एक हुन्, इटहरी उपमहानगरपालिका–७ की मोनिका मग्राँती । कक्षा–८ सम्म घर नजिकैको निजी विद्यालयमा पढेर यहाँ आएकी मोनिका कैयौं पटक विद्यालय प्रथम समेत भएकी थिइन् । त्यसरी पढाइमा राम्रो गरिरहेको विद्यालय छाडेर नयाँमा सरेपछि कक्षामा उनको रोल नम्बर १७ भएको छ । तथापि उनलाई त्यसले केही फरक परेको छैन । भन्छिन्, “रोल नम्बर बदलिएर नजान्ने भइँदैन, लगनशील भएर पढ्ने बानी बदलियो भने मात्र पछि परिन्छ ।”

मोनिका आफ्नै इच्छाले सामुदायिक विद्यालयमा सरेकी भने होइनन् । उनको रुचि नहुँदानहुँदै पनि अभिभावकले सारिदिएपछि बाध्य भएर नयाँ विद्यालयमा आइन् । त्यसबेला उनलाई आफ्नो पढाइ बर्बाद हुने हो कि भन्ने चिन्ता थियो । तर जनता माविमा कक्षा चल्न थालेपछि उनको त्यस्तो चिन्ता गलत साबित भयो जसबाट अभिभावकहरू पनि खुशी भए । मोनिकाका बुबा सुमन मग्राँती भन्छन्, “पढाइ शुरू भएको पहिलो दिनमै जनता माविले छोरीलाई आकर्षित गरेछ, त्यसपछि मात्र उनले हामीलाई पत्याइन् ।” किताबमा मात्र केन्द्रित नभई प्रयोगात्मक कक्षा र अतिरिक्त क्रियाकलापबाट समेत सिकाउने जनता माविको शैलीले उनलाई सन्तुष्ट बनाएको मग्राँतीले बताए ।

इटहरीकै उन्नति पौडेल पनि कक्षा–९ की अर्की प्रथम विद्यार्थी हुन् । उनी यहींको एउटा निजी विद्यालयमा कक्षाको पहिलो स्थान अरूलाई नै छाडेर अन्तिम अर्थात् ४०औं रोलक्रममा जनता माविमा भर्ना भइन् । उनलाई शिक्षकसँग पटक–पटक प्रश्न सोधेर बुझन पाइने हुँदा यो विद्यालय मन परेको छ । पहिले पढेको स्कूलमा त्यसरी पटक–पटक प्रश्न सोध्न उनलाई डर लाग्थ्यो किनभने सोध्ने विद्यार्थी नजान्ने हुन् भन्ने बुझाइ शिक्षक र उनका सहपाठीहरूमा थियो । उनी स्वयंलाई पनि त्यस्तै लाग्थ्यो । तर यहाँ सोधखोजको सीपलाई प्रोत्साहित गर्न कक्षामा बढी प्रश्न सोध्ने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ । उन्नति भन्छिन्, “पुरस्कार पनि पाइने भएपछि सोध्नुपर्ने प्रश्न धेरै भइदिए हुन्थ्यो झैं लाग्दो रहेछ, म त सोधेको सोध्यै गर्छु ।” कक्षामा प्रथमहरू बीचको प्रतिस्पर्धाले सोधखोज गर्ने, बुझने र सिक्ने उत्सुकता अझ् बढाएको र त्यसमा आफूलाई आनन्द लागेको उनको अनुभव छ ।

अहिले मोनिका र उन्नतिसँगै पढिरहेका ४० मध्ये उनीहरूका अरू १२ जना साथीले पनि आठ कक्षा उत्तीर्ण गर्दा प्रथम स्थान ओगटेका थिए । एकै कक्षाकोठामा भेट भएपछि उनीहरू सबैले आफ्नो ‘प्रथम’ स्थान गुमाउनुपरेको छ । कक्षा प्रथम भएका प्रायः विद्यार्थीको मनोविज्ञान आफ्नो स्थान त्योभन्दा तल नझ्रोस् भन्ने हुन्छ । तर एउटै कक्षामा परस्पर स्पर्धा गरिरहेका दर्जन भन्दा बढी यी पूर्व ‘प्रथम’ हरू बीचबाट सर्वप्रथम हुने सौभाग्य अब चाहिं एक जनाले मात्र पाउनेछन् । तर जनता माविमा जम्काभेट भएका यी ‘प्रथम’ हरूले त्यो चुनौतीलाई स्वीकारेका छन् । तिनैमध्येकी उन्नति पौडेल भन्छिन्, “यसअघि कक्षामा मभन्दा जान्ने अरू नभएर म फस्र्ट भएकी हुँ जस्तो लाग्छ । अब पनि त्यो चुनौती स्वीकार्ने सक्दो प्रयास गर्छु तर आफूले राम्रो गर्दागर्दै पनि मैले भन्दा अझ राम्रो गर्ने अरू नै साथी प्रथम भएमा चिन्तित हुन्नँ ।” उनका बुवा उद्धव पौडेल छोरीको यो समझदारीपनको सराहना गर्छन् ।


विद्यार्थीले शिक्षकका कुरा सुनेर भन्दा पनि आफैंले खोजेर सिक्ने बानीको विकास गरून् भन्ने हामी चाहन्छौं। त्यसरी सिक्ने वातावरण दिएपछि विद्यार्थी रमाउँदा रहेछन्।
- काशीनाथ दंगाल, विव्यस अध्यक्ष

कक्षामा कहिल्यै दोस्रो नभएका आफ्ना दुई छोराछोरी सुभाङ्गम र विवश्वनालाई निजी विद्यालयबाट निकालेर जनता माविमा भर्ना गराएका अर्का अभिभावक डा. दिवाकर रेग्मी पनि उनीहरूले अर्को वर्ष पाउने कक्षागत नतिजा स्वीकार्न तयार छन् । विवश्वना कक्षा–८ र सुभाङ्गम कक्षा–६ मा पढिरहेका छन् । उनीहरू दुवैलाई ‘कक्षा’ मा फेलै भए पनि फरक पर्दैन तर ‘जीवन’ मा फेल नहोऊन् भनेर आफूले निजीबाट सामुदायिक विद्यालयमा सारेको डा. रेग्मी बताउँछन् । विगतमा निजी विद्यालय पढेका विद्यार्थी स्वदेशको सार्वजनिक जीवनमा खासै नदेखिएर विदेशिने मात्र पाइएकाले त्यो तिक्तता मेट्न छोराछोरीलाई जनता माविमा ल्याएको उनको भनाइ छ । “म र श्रीमती दुवैले सरकारी वेतन खाइरहेका छौं । यसकारण पनि छोराछोरीलाई निजी स्कूलमा पढाउन नैतिकताले नदिने महसूस भयो” अभिभावक डा. रेग्मीले भने ।

एउटा सामुदायिक विद्यालयमा एकै वर्ष यति धेरै प्रतिस्पर्धा हुने गरी उत्कृष्ट विद्यार्थी किन ओइरिए होलान् ? जनता माविले शिक्षण सिकाइमा नमूना बन्ने उद्देश्य लिएर यसै शैक्षिक सत्रदेखि छुट्टै ब्लकमा अंग्रेजी माध्यमको पठनपाठन शुरू गरेपछि वरपरका निजी स्कूलका अब्बल विद्यार्थी यसतर्फ तानिएका हुन् । यो विद्यालयको अंग्रेजी माध्यमबाट संचालित कक्षा–४ देखि ९ सम्मका सबै कक्षाहरू विभिन्न ६१ वटा निजी विद्यालयबाट आएका जेहेनदार विद्यार्थीले भरिभराउ छन् । ती विद्यार्थी इटहरी उपमहानगरपालिका रहेको सुनसरी सहित पूर्वी नेपालका झपा, मोरङ, खोटाङ, ओखलढुङ्गा, उदयपुर, धनकुटा, भोजपुर र तेह्रथुम जिल्लाबाट यहाँ आइपुगेको विद्यालय प्रशासनले जनाएको छ ।

२०१३ सालमा स्थापना भएको जनता मावि सुनसरी जिल्लाका पुराना स्कूलहरूमध्येको एक हो । पहिलेदेखि चल्दै आएको पढाउने परम्परा परिवर्तन गरी पाठ्यपुस्तकका अतिरिक्त जीवनोपयोगी शिक्षा दिनेगरी चालु शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमको कक्षा संचालन गरेपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल बताउँछन् । उनी भन्छन्, “विद्यार्थीले शिक्षकका कुरा सुनेर भन्दा पनि आफैंले खोजेर सिक्ने बानीको विकास गरून् भन्ने हामी चाहन्छौं । त्यसरी सिक्ने वातावरण दिएपछि उनीहरू रमाउँदा रहेछन् ।” अंग्रेजी माध्यमले भन्दा बढी यहाँको सिकाउने शैलीले विद्यार्थीमा सिकाइप्रति अभिरुचि पैदा गरेको उनको अनुभव छ ।

अलग–अलग विद्यालयका कक्षा-८ मा ‘प्रथम’ भएर जनता माविको कक्षा-९ मा भर्ना हुन आएका मोनिका मग्राँती र उन्नति पौडेललाई यहाँको प्रयोगात्मक कक्षा र प्रश्न सोध्दा पुरस्कृत हुने शैलीले सन्तुष्टि दिएको छ ।

विद्यालयमा कक्षा–६ देखि ९ सम्मका सबै कक्षा कोठालाई ‘स्मार्ट’ बनाइएको छ । यी कक्षाहरूमा स्मार्ट बोर्ड र प्रोजेक्टर मार्फत पढाइ हुन्छ । सम्भव भएसम्म श्रव्यदृश्य शैक्षिक सामग्री (भिडियो) देखाएर पढाउने गरिएको छ । प्रत्येक कक्षा कोठामा ‘बूक कर्नर’ नाम दिएर सानोतिनो पुस्तकालय राखिएको छ । त्यहाँ कक्षागत पाठ्यपुस्तकसँगै सिकाइको दायरा बढाउने सन्दर्भ पुस्तकहरू समेत उपलब्ध छन् । विद्यालयलाई नै पूर्ण रूपमा सिकाइ केन्द्रका रूपमा विकास गरी विद्यार्थीलाई घरबाट आउजाउ गर्दा किताब बोक्नु नपर्ने वातावरण बनाउन आफूहरू लागिपरेको अध्यक्ष दंगालले बताए ।

विद्यालयको अंग्रेजी ब्लकतर्फ नौ जना शिक्षक छन् । उनीहरू सबैले स्नातकोत्तर उत्तीर्ण गरी आफ्नो विषयगत ज्ञानमा विशिष्टता आर्जन गरेका छन् । विद्यार्थीलाई सूचना तथा संचारप्रविधिमा दक्ष बनाउन व्यवस्थित कम्प्युटर ल्याब स्थापना गरिएको छ । कक्षा–४ देखि ९ सम्म चलेका अंग्रेजी माध्यमका छुट्टै कक्षामा ४० जना भन्दा बढी विद्यार्थी राखिएको छैन । त्यस हिसाबले विद्यालयलाई नयाँ भर्नाका लागि सबै कक्षामा गरी २४० विद्यार्थी आवश्यक पर्नेमा ९०६ जनाले प्रवेश परीक्षाको फारम भरेका थिए जसमध्ये ९५ प्रतिशत निजी विद्यालयका विद्यार्थी थिए । आवेदन दिएकामध्ये झण्डै चार गुणा विद्यार्थीलाई प्रवेश दिन नसकिएपछि चिनजानका अभिभावकले ‘भनसुन’ का लागि लगातार गरेका फोनलाई छल्न केही दिन आफूहरूले मोबाइल नै अफ गरेर बस्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दंगालले बताए । अभिभावकको तीव्र आकर्षणलाई सम्बोधन गर्न अर्को वर्ष भौतिक पूर्वाधार थप गरेर बढी संख्यामा विद्यार्थी भर्ना गर्ने तयारी अहिल्यैदेखि शुरू गरिएको उनले जानकारी दिए ।


मेरा छोराछोरी बरु ‘कक्षा’ मा फेल होऊन् त्यसले फरक पार्दैन तर ‘जीवन’ मा फेल नहोऊन् भनेर निजीबाट निकालेर यहाँ ल्याएको हुँ। - डा. दिवाकर रेग्मी, अभिभावक

विद्यालयका सहायक प्रधानाध्यापक तथा अंग्रेजी माध्यमका संयोजक राजन ढकालका अनुसार विद्यालयमा १४ वटा विभिन्न क्लब बनाएर विद्यार्थीलाई क्षमता प्रदर्शन गर्ने वातावरण सिर्जना गरिएको छ । वर्षमा चार वटा निर्णयात्मक परीक्षा बाहेक साप्ताहिक रूपमा निर्माणात्मक परीक्षा गर्ने गरिएको छ । परीक्षाका उत्तरपुस्तिका परीक्षण पहिले विद्यार्थी आफैंले गर्छन् । त्यसपछि मात्र शिक्षकले पुनः परीक्षण गर्ने पद्धति बसालिएको छ । लगातारको कार्यव्यस्तताको कारण यस विद्यालयको अंग्रेजी ब्लकका शिक्षकलाई आपसमा कुराकानी गर्ने फुर्सद पनि छैन । सबै शिक्षक बिहान नौ बजे विद्यालय आइपुग्छन् । आउनासाथ उनीहरू अडियो, भिडियो लगायतका विद्यार्थीलाई पढाउने पाठ्यसामग्री खोज्नमा व्यस्त हुन्छन् । ती सबै शिक्षक विद्यालयले आफ्नै स्रोतबाट तलब खुवाउने गरी नियुक्त गरेकाले ‘विद्यार्थी पढाए बापत अभिभावकले राजीखुशीले दिएको सहयोग (शुल्क)’ उठाएर खर्च चलाउने गरिएको विव्यस अध्यक्ष दंगालले बताए ।

यस विद्यालयको नेपाली माध्यमतर्फ १७६० विद्यार्थी र ३२ जना शिक्षक छन् । सामुदायिक विद्यालयहरूतर्फ इटहरीकै अब्बलमध्येमा गनिने यो विद्यालयका सबै कक्षामा डिजिटल माध्यमबाट पढाइ हुन्छ । विद्यालयका प्रत्येक कक्षाकोठामा सिसी क्यामेरा जडान गरिएको छ । कम्प्युटर तथा विज्ञान विषयका व्यवस्थित प्रयोगशालाहरू छन् । कक्षा १ देखि ५ सम्म एकै पिरियडमा दुई जना शिक्षकले पढाउँछन । एक जनाले पढाउने र अर्का शिक्षकले गृहकार्य दिने गर्छन् । होमवर्क दिने र चेक गर्ने गर्छन ।

१३ बिघा जग्गा भएको यस विद्यालयको खेलमैदान मात्र साढे दुई बिघाको छ । सरकारको नमूना विद्यालय विकास कार्यक्रममा छानिएको यस विद्यालयमा व्यवस्थापन, मानविकी र शिक्षा संकायमा १२ कक्षा सम्म पढाइ हुन्छ । पछिल्लो समयमा सिकाइ केन्द्रित र नवीनतम शिक्षण शैलीको प्रयोग गरी विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मार्दैछ ।

शिक्षक  मासिक, २०७६ असार अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial