जिज्ञासा र जवाफ

टीपीडीको प्रमाणपत्रमा श्रेणी खुल्नेवाला छैन

एसएसआरपी (SSRP) अन्तर्गत सञ्चालित टीपीडी (TPD) तालिम तीन पटक दश–दश दिन गरी एक महीना पूरा गरे पश्चात् सबै सहभागीले एउटै प्रकारको श्रेणी नखुलेको प्रमाणपत्र प्रदान गरिन्थ्यो । हाल एसएसडीपी (SSDP) अन्तर्गत यो तालीम १५/१५ गरी एक महीना बराबर सञ्चालन गरिन्छ । कार्यशालाको अन्तिममा परीक्षा तथा परियोजना कार्यको मूल्याङ्कन गरी अङ्क प्रदान गर्ने व्यवस्था छ ।

  • एसएसडीपी अन्तर्गतको प्रमाणपत्रमा श्रेणी खुलाउनुपर्ने हो कि हैन ?
  • यदि हो भने शैक्षिक तालिम केन्द्रले किन श्रेणी नखुलेको प्रमाणपत्र वितरण गर्दछ ?
  • बढुवाका लागि टीपीडी तालिम बापत शिक्षक सेवा आयोग नियमावलीमा स्पष्ट श्रेणी अनुसार अङ्कको व्यवस्था हुँदा प्रमाणपत्रमा चाहिं किन श्रेणी उल्लेख नगर्ने  ?
  • एसएसआरपी अन्तर्गतको तालिम लिएका शिक्षकहरूलाई पुनः तालिम दिइन्छ कि दिइँदैन ? (यदि नदिएमा श्रेणी नखुलेको प्रमाणपत्रलाई द्वितीय श्रेणी मान्दा उनीहरूलाई बढुवामा मर्का पर्ने देखिन्छ ।)
  • एसएसआरपी अन्तर्गतको तालिमको १ वा २ मोडुल मात्रै पूरा गरेका शिक्षकहरूका लागि कस्तो व्यवस्था हुन्छ ?

दीपक एम. सी., गौमुखी मावि, ठूलाबेसी, प्युठान

(तपाईंका पाँचमध्ये शुरूका तीन वटा प्रश्नको जवाफ २०७५ फागुन महीनाको ‘शिक्षक’ मा प्रकाशित भएकाले उक्त अंक हेर्नुहोला । बाँकी दुई जिज्ञासाको जवाफ तल प्रस्तुत छ । –सं)

पहिले एसएसआरपी अन्तर्गतको तालिम लिएका शिक्षकहरूलाई पुनः एसएसडीपी अन्तर्गत सञ्चालित टीपीडी लिनु आवश्यक छ या छैन भन्ने तपाईंको जिज्ञासा रहेको बुझ्न्छि । एसएसआरपी अन्तर्गतका तीन वटै मोडुल पूरा गरेका शिक्षकले एसएसडीपी अन्तर्गतको तालिम लिनु जरूरी छैन । यदि कुनै शिक्षकले एसएसआरपी अन्तर्गतका तीनमध्ये कुनै एउटा मात्र मोडुल पूरा गरेका छन् भने एसएसडीपी अन्तर्गतका दुवै चरण पूरा गर्नुपर्छ । पहिले दुई वटा मोडुल  लिएर बसेका शिक्षकले अहिलेको अन्तिम एउटा चरणको मात्र तालिम लिए पुग्छ ।

तालिमको प्रमाणपत्रमा पुरानो र नयाँ बीच एकरूपता कायम गर्ने उद्देश्यले साविकको शैक्षिक जनशक्ति विकास केन्द्र परिषदले नयाँ तालिम लिएका शिक्षकलाई पनि पुरानोमा जस्तै श्रेणी उल्लेख नगरी प्रमाणपत्र दिने निर्णय गरेकाले उक्त निर्णय कायम रहँदासम्म यही व्यवस्था लागू हुने जानकारी गराइन्छ । तसर्थ एसएसआरपी वा एसएसडीपी मध्ये जुनसुकै चरण अन्तर्गतको भए पनि टीपीडीको प्रमाणपत्रमा श्रेणी खुलाइँदैन ।

बौधराज निरौला
निर्देशक, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग)


फेरि ग्रेडबारे अन्योल
म प्रावि द्वितीय श्रेणीमा कार्यरत शिक्षक हुँ । मेरो सिटरोल नम्बर ३९१२२ हो । २०५० साल वैशाख २१ गते तृतीय श्रेणीमा स्थायी भई २०६५ साल असोज १२ गते द्वितीय श्रेणीमा मेरो पदोन्नति भएको हो । २०७५ वैशाखदेखि मेरो ग्रेड ४ कायम भयो । तर मसँगै समान तह र श्रेणीमा स्थायी भई २०६८ सालमा पदोन्नति भएका नेपालका सम्पूर्ण शिक्षकहरूको ग्रेड ५ कायम भएको छ । नेपाल सरकारको नियमानुसार शिक्षाशास्त्र संकायबाट शैक्षिक प्रमाणपत्र लिएकाले रु.११० को दुई प्राविधिक ग्रेड पनि मैले पाइरहेको छु । तर मभन्दा तीन वर्षपछि बढुवा भएका शिक्षकको तलब भन्दा मेरो ग्रेड सहितको तलब कम छ । अहिले मैले पाउनुपर्ने सुविधामा वार्षिक रु.११,११५ कम भइरहेको छ । म जस्तै मर्कामा पर्ने शिक्षक अरू पनि होलान् । यस्तो किन भएको होला ?

चन्द्रिका जोशी
महुन्याल मावि बासकोटी, बर्दगोरिया गाउँपालिका–६, कैलाली

सेवा अवधिभरमा तपाईंले असाधारण र वेतलबी विदा नलिएको, कुनै विभागीय सजाय पनि नपाएको र मिति २०५७ साउन १ गते भन्दा अगाडि सेवाकालीन तालिम पूरा गरेको हो भने २०७५ वैशाखबाट तपाईंको ग्रेड संख्या ५ हुन्छ । अन्यथा ४ नै हुने हो । तपाईंले उल्लेख गरेको प्राविधिक ग्रेड बढुवा भएकै बखत समायोजन भइसकेको हुन्छ ।

रवीन्द्रकुमार बुढाप्रिथी
निर्देशक, विद्यालय शिक्षक किताबखाना

commercial commercial commercial commercial