त्यस्तो शिक्षक किन भएँ होला ?

दुई दशकअघि म एक आफन्तको काठमाडौंस्थित निजी विद्यालयमा शिक्षकको रूपमा जागिर खान गएकी थिएँ । त्यसबेला मेरो उद्देश्य शिक्षक बन्ने थिएन । मलाई त्यहाँ केही समय बिताउनु मात्र थियो । कुन कक्षाको क्लास टीचर बन्ने भनेर मलाई रोज्ने अवसर दिंदा मैले कक्षा–१ रोजें । किनकि सानो कक्षामा पढाउन धेरै सजिलो हुन्छ भन्ने मेरो बुझइ थियो । न कुनै तालिम, न शिक्षण सम्बन्धी कुनै अनुभव; यसरी शुरू भयो मेरो शिक्षण यात्रा ।

विद्यार्थीलाई किताब खरर्र पढेर सुनाइदिन्थें । किताबमा भएका प्रश्नका उत्तर भनिदिन्थें । कक्षाकार्य र गृहकार्य दिन्थें । सकियो । कक्षाकोठामा जानुअघि कुनै तयारी गर्दिनथें । सबै केटाकेटीले बुझे कि बुझेनन्, मलाई वास्ता पनि हुँदैनथ्यो । कसैले बुझेन भने सोध है भनेर मैले कहिल्यै भनिनँ । मलाई यसो गर्नुपर्छ भनेर कसैले सिकाइदिएको पनि थिएन । मैले पनि शिक्षक बनिसकेपछि स्कूलमा कसैसँग सुझव मागिनँ । तर प्रायः विद्यार्थीले गृहकार्य राम्रैसँग गर्थे । शायद घरमा कसैले सिकाइदिएर वा सहयोग गरिदिएर हो कि ! पूर्व प्राथमिक तहका शिक्षकहरूले अक्षर, शब्द, वाक्य लेख्न राम्ररी सिकाइदिएर कक्षा–१ मा पठाइदिएकाले पनि हुन सक्छ । साथै, कमजोर विद्यार्थीका लागि ट्युसनको व्यवस्था त छँदैथियो स्कूलमा ।

मलाई त्यस्ता विद्यार्थी मन पर्थे जो पढाइ–लेखाइमा राम्रा थिए । गृहकार्य गर्थे । भनेको मान्थे, जसका अक्षर राम्रा हुन्थे अनि जो सफासुग्घर भई चिटिक्क परेर आउँथे । यस्ता विद्यार्थीलाई नै म धेरै माया गर्थें । मन पराउँथे । उनीहरू पनि मलाई मन पराउँथे होलान् जस्तो लाग्थ्यो । किनकि उनीहरू मलाई कहिले घरबाट फूल ल्याएर दिन्थे । कहिले चकलेट दिन्थे । म पनि सारीमा आइरन गरेर, सफा भएर, चिटिक्क परेर राम्री भएर स्कूल जान्थें ।

मलाई दुई थरी विद्यार्थी मन पर्दैनथे । फोहोरी भएर आउने र गृहकार्य नगर्ने । गृहकार्य नगरी आउने एक जना विद्यार्थीलाई मैले एक दिन लट्ठीले हातमा पिट्दा उनको नाकमा लाग्यो र रगत आयो । म साह्रै अत्तालिएँ । आफ्नो रूमालले रगत रोक्ने प्रयास गरें । रुमालमा रगत लाग्यो र त्यो आफैंसँग राखें ।

आज मेरो कक्षामा यस्तो भयो भनेर स्कूलकी एक सिनियर शिक्षकलाई सुनाएँ । ती विद्यार्थीकी आमा निकै डेन्जर अर्थात् कडा स्वभावकी भएको उनले सुनाइन् । मेरो सातो गयो । अब भोलि स्कूल कसरी जाने ? ती विद्यार्थीकी आमासँग के भन्ने ? सबैको अगाडि झ्गडा गरिन् भने के होला ? जाँदाजाँदै गेटमा भेट भयो र अरू अभिभावक पनि उनीपट्टि लागेर म विरुद्ध कराए भने के गर्ने होला ? यस्ता कुरा सोचेर रातभरि छट्पटी भयो । राम्ररी निदाउन सकिनँ । भोलिपल्ट डराउँदै डराउँदै स्कूल गएँ ।

तर बिहान उनी स्कूल आइनन् । छुट्टी हुने बेलामा आउने हुन् कि ? डर बाँकी नै थियो । तर उनी आइनन् । कस्तो खुशी लाग्यो । ‘अब चाहिं कसैले गृहकार्य गरेन भने म पिट्दिनँ ।’ मनमनै यस्तो सोचें । कसैलाई पिट्यो र अभिभावकले थाहा पाए भने मलाई पनि केही गर्लान् भन्ने मलाई लागेको थियो ।

आफ्नी आमालाई मैले पिटेको कुरा सुनायो भने फेरि मेरो पिटाइ खानुपर्छ भन्ने डरले ती विद्यार्थीले घरमा नभनेका पनि हुन सक्छन् । अहिले सोच्दा मलाई यस्तो लाग्छ । तर त्यो घटनापछि ती विद्यार्थीसँग म अलि घुलमिल हुन थालें । शायद उनले आफ्नी आमालाई पोल नलगाएकाले हो कि ! उनी पनि मसँग नजिकिन थाले । मेरो कक्षामा उनको अनुहार हँसिलो हुन थालेको थियो ।

यस्तै अर्की एक छात्रा थिइन् गृहकार्य पनि नगर्ने अनि फोहोरी भएर आउने । सधैं नाकभरी सिंगान हुन्थ्यो । गृहकार्य किन नगरेको, अल्छी फोहोरी भनेर म उनलाई गाली गर्थें । उनी जवाफै दिन्नथिन् । टाउको निहुराएर मतिर हेर्दै हेर्दिनथिन् । मलाई झ्न् रिस उठ्थ्यो । शिक्षक पो हुँ त भन्ने लाग्थ्यो । चिउँडोमा समातेर टाउको माथि गराउँथें । त्यति गर्दा पनि उनी बोल्दिनथिन् । कति रिस उठ्थ्यो । पिट्न मन लाग्थ्यो । तर काबु भइसकेकी थिएँ । त्यसपछि उनले गृहकार्य नगरे पनि मैले वास्ता गर्न छाडें । म कक्षामा हुन्जेल उनको मुख अँध्यारो हुन्थ्यो । म पनि उनलाई रिस भरिएको नजरले हेर्थें । मेरो कक्षामा मैले उनलाई कहिल्यै हाँसेको पनि देखिनँ ।


अहिले लाग्छ, केटाकेटीसँग रमाउन र भिज्न नसक्ने वा नचाहने व्यक्ति शिक्षण पेशामा प्रवेश गर्नु नै हुँदैन। विषयवस्तुमा पोख्त हुँदैमा राम्रो शिक्षक बन्न सकिंदैन।

अचेल मेरो छोराले केही शिक्षकबाट कहिलेकाहीं भोग्नुपरेको यस्तै खाले भोगाइ सुनाउँदा उसको अनुहार पनि अँध्यारो र साह्रै मायालाग्दो हुन्छ । शायद यसैकारण पनि होला ती छात्राको अँध्यारो अनुहार सम्झदा आजभोलि मेरा आँखा रसाउँछन् । त्यतिखेर ६/७ वर्षकी ती अबोध बालिकालाई मैले गरेको व्यवहारले म आफैंलाई दुःखी बनाउँछ । मेरो खराब व्यवहारले त होला नि म कक्षामा हुँदा उनले अँध्यारो मुख लगाएर बस्ने गरेको । शायद उनलाई मसँग डर थियो वा मप्रति घृणा । कतिखेर मेरो कक्षाको समय सकियोस् र म त्यहाँबाट जाओस् जस्तो हुन्थ्यो होला उनलाई । म कति खराब शिक्षक रहेछु भनेर मलाई आज महसूस हुन्छ ।
मैले कसरी त्यस्तो नराम्रो व्यवहार गर्न सकेको होला ? मैले पढाएको नबुझेर त उनले गृहकार्य नगरेकी होलिन् नि ! घरमा कुनै समस्या पो थियो कि ! मैले त उनलाई माया गरेर सोध्नुपथ्र्यो । सिंगान पुछ्न त सिकाउन सक्थें नि ! रूमाल किनेर दिन सक्थें । अभिभावकलाई बोलाएर सरसफाइ र पढाइ–लेखाइका कुरा गर्नुपथ्र्यो । अचेल बेलाबेला यस्ता कुरा मनमा आइरहन्छन् ।

मनलाई यसरी पनि सम्झाउँछु; त्यतिखेर आज जस्तो बालमनोविज्ञान वा शिक्षणकला सम्बन्धी जानकारी सहजै उपलब्ध हुँदैनथ्यो । गुगलमा सामग्री भेटिंदैनथे । संचारमाध्यममा पनि शिक्षाका कुरा खासै आउँदैनथे । मलाई प्रअ, सिनियर शिक्षक वा व्यवस्थापनबाट कुनै ‘ओरिएन्टेशन’ दिइएको थिएन । न तालिम, न अनुभव, न कुनै बलियो प्रक्रिया/परीक्षाबाट छानिएर वा प्रतिस्पर्धा गरेर म शिक्षक बनेकी थिएँ । म आफ्नो रुचि वा रोजाइले पनि शिक्षक भएकी थिइनँ ।

अहिले मलाई लाग्छ केटाकेटीसँग रमाउन र भिज्न नसक्ने वा नचाहने व्यक्ति शिक्षण पेशामा प्रवेश गर्नु नै हुँदैन । विषयवस्तुमा पोख्त हुँदैमा राम्रो शिक्षक बन्न सकिन्छ जस्तो लाग्दैन । सामाजिक, आर्थिक वा पारिवारिक कारणले विभिन्न अवस्था र क्षमताका विद्यार्थीलाई पढाउन सिकाउन उनीहरूसँग भावनात्मक रूपमा आत्मीय सम्बन्ध नबनाइकन सम्भव हुँदैन । त्यसैले शिक्षक नम्र र मायालु हुनुपर्छ । कठोर र दम्भी शिक्षकसँग विद्यार्थी खुलेर कुराकानी र छलफल गर्न गाह्रो मान्छन् । यसो भयो भने कक्षाकोठा प्रवचन कक्ष जस्तो मात्र हुन पुग्छ ।

राम्रो पढाउने, सबल पक्षको प्रशंसा गर्ने र कमजोरी पक्ष सबैका अघिल्तिर नखोल्ने, कमजोरी सुधार्न सहयोग गर्ने, विभिन्न क्रियाकलापमा सबैलाई सहभागी गराउने, रमाइलो गर्ने गराउने शिक्षकलाई प्रायः विद्यार्थीले मन पराउँछन् । रिपोर्टिङका क्रममा विभिन्न विद्यालयका विद्यार्थीसँग कस्तो शिक्षक मन पर्छ भनेर सोध्दा मैले उनीहरूबाट पाउने जवाफ यस्तै हुन्छ ।

तर सूचनाप्रविधिको अधिकतम उपयोग गर्न सकिने आजको समयमा पनि विना तयारी कक्षाकोठामा जाने शिक्षकको कमी छैन । के कसो गर्दा विद्यार्थीलाई सिकाउन–बुझाउन सकिन्छ भनेर कुनै प्रयास नगर्ने व्यक्ति पनि शिक्षण पेशामा गएका छन् । शिक्षणमै रमाउँछु भनेर यो पेशा रोज्नेको संख्या पनि प्रशस्तै छ । अन्त नपाएर आउने पनि छन् र अन्त राम्रो अवसर पाएपछि छोड्ने पनि छन् ।

शिक्षाशास्त्र अध्ययन र शिक्षक सेवा आयोगको परीक्षा जस्ता प्रक्रिया मात्र होइन, जस्तोसुकै अवस्था वा पृष्ठभूमिका केटाकेटीलाई माया गर्ने, समान व्यवहार गर्ने, उनीहरूको मनोविज्ञान बुझने–बुझन चाहने र शिक्षण पेशामा साँच्चै रुचि भएकाहरूलाई मात्र यो पेशामा भित्रयाउने व्यवस्था भए विद्यालयमा बालबालिका कति खुशी हुन्थे होला ! यस्ता गुणले सुसज्जित बनाउन कक्षाकोठामा वा विद्यालयमा पठाउनुअघि नै उनीहरूमाथि प्रशस्त लगानी हुनुपर्छ जस्तो लाग्छ ।

शिक्षण पेशा सजिलो ठानेर म शिक्षक भएकी थिएँ । त्यहीमाथि नातेदारको स्कूल । पहुँचको भरमा कति सजिलै शिक्षक भएकी थिएँ । विद्यार्थीका निम्ति मैले के गरें र ! अक्षर, अंक, शब्द सबै पूर्व प्राथमिक तहमा सिकिसकेका थिए । कसरी पढाउँदा विद्यार्थीले राम्ररी सिक्छन् ? कस्तो व्यवहारले उनीहरूलाई खुशी वा दुःखी बनाउँछ भन्ने पनि नसोच्ने म कति खराब शिक्षक रहिछु भनेर आज महसूस हुन्छ । अहिले लाग्छ, धन्न म लामो समयसम्म शिक्षक रहिनँ र धेरै केटाकेटीलाई बर्बाद पारिनँ !

शिक्षक  मासिक, २०७६ असार अंकमा प्रकाशित । 


commercial commercial commercial commercial