जोडौं ज्ञान दिने र सीप दिने शिक्षा

सिन्धुपाल्चोकमा २०७२ सालको भूकम्पबाट भत्किएका घर तथा विद्यालयका भवनहरू बनाउन कैलालीका थारू समुदायका कामदारहरू भित्रिएका छन् । सरकारले दिएको रु.३ लाखमा अर्को रु.३ लाख थपेपछि दुई कोठाको भूकम्प प्रतिरोधी घर बन्दोरहेछ । पढे–लेखेका स्थानीय युवाहरू मासिक रु.१०–१५ हजारको जागिर खाँदा रहेछन् । तिनका घर बनाउने कामदारलाई दैनिक रु.८०० का दरले मासिक रु.२४ हजार ज्याला भुक्तानी गर्नुपर्दोरहेछ । स्कूल–कलेज नपढेको थारूको छोरोले घरको सुर राख्न जान्यो । तर पढेको स्थानीयको छोरो आफूले दैनिक रु.४०० कमाएर रु.८०० मा काम लगाउँदा कति समयमा खर्चको व्यवस्थापन होला भनेर हिसाब पनि गर्न सक्दैन । अनि सहकारीबाट ऋण लिएर कामदारलाई विदा गरेको देखियो ।

अर्को दृश्य यस्तो पनि देखियो– केही नपढेका डकर्मी र सिकर्मी काम गरेर जीवन निर्वाह गर्ने र स्थानीय चाहिं पर्म प्रथामा आलोपालो घर बनाउनमा लागेका छन् । सरकारले दिएको रु.३ लाख पनि आफैंले राखेका छन् । नपढेकाले घर बनाए, पैसा पनि कमाए । पढेकाले घर बनाउन लगाए र ऋण थपे । नपढेकाले घर आफैं बनाए, घरको माया पनि भयोे । पैसा पनि बचाए, खुशी देखिए । पढेकालाई ऋण र ब्याजको तनाव छ । जागिर खोज्न घर छोडेर बाहिरिएका छन् ।

यो एउटा यथार्थ दृष्टान्त हो । यहाँ कुरो कमाउने र बचाउनेको छ । सहकारीले कमाउन र बचाउन दुवै सिकाएको छ । तर विद्यालय शिक्षाले त्यसो गर्न सकेन । सहकारी शिक्षाले सीप बढी, ज्ञान कम दिन्छ अनि विद्यालय शिक्षाले ज्ञान दिन्छ सीप दिंदैन । तसर्थ यो दुवैलाई मिलाएर लग्यो भने आवश्यकतामा आधारित, व्यावहारिक र व्यावसायिक शिक्षा दिन सकिने प्रष्ट देखिन्छ ।

बाह्रबिसे–९ का विष्णु नेपालीले कक्षा–९ मा गणित विषयमा क्षेत्रमिति पढे । अनि बाबुसँग घर बनाउने काममा पनि लागे । ईंटाको क्षेत्रफल र आयतन नापेर पत्ता लगाए । पूरा गारो लगाउँदा कति ईंटा लाग्यो, गारोको आयतन र ईंटाको आयतन तुलना गर्दा किन मिलेन र नमिल्नुको कारण जोर्नीमा हालेको सिमेन्ट र बालुवा रहेछ भन्ने पनि पत्ता लगाए । अब उनी कत्रो कोठा बनाउन कति ईंटा, कति बालुवा र कति सिमेन्ट लाग्छ, हिसाब गरेरै देखाउन सक्छन् । विष्णुले यस्ता कुरा सहकारीको बचत समूहमा गएर सुने अनि अभ्यास गरेर हेरे । “कक्षामा पढेको हरेक कुरा हामीलाई काम लाग्ने चिज पो रहेछ । हामीले नगरेर नबुझेका रहेछौं” उनले खुशी हुँदै भने, “ज्यामिति पनि खुब काम लाग्दोरहेछ । हाम्रो गाउँको पर्म प्रथा सहकारीको जग हो नि ! मलाई पढाइले भन्दा कामले गाउँमा सबैसामु चिनाएको छ । सबै विषय व्यावहारिक छन् तर प्रयोग गर्नुपर्दो रहेछ ।”


स्कूल–कलेज नपढेको थारूको छोरोले घरको सुर राख्न जान्यो। तर पढेको स्थानीयको छोरो आफूले दैनिक रु. ४०० कमाएर रु. ८०० मा काम लगाउँदा कति समयमा खर्चको व्यवस्थापन होला भनेर हिसाब पनि गर्न सक्दैन।

उनको भनाइबाट के बुझ्न्छि भने हाम्रो शिक्षा दिने शैलीमा मुख्य कमजोरी छ । सहकारीमा लाग्दा, समूहको बैठकमा हिंड्दा उनलाई फरक खालको महसूस भयो । उनी भन्छन्, “म दमाइको छोरो; कक्षा–९ मा पढ्छु र मसँग घर बनाउने, खेती गर्ने, सिलाइ गर्ने सीप छ । कसैले पनि मलाई छुवाछूतको व्यवहार गर्दैनन् । गरिहाले भने मेरो सीप र क्षमता नचिन्नेले गर्छन् । म यसलाई मनमनै लिन्छु र आफ्नो काम निरन्तर गरिरहन्छु ।”

उनलाई खुशी लागेको छ— गणितको सैद्धान्तिक कुरा विद्यालयमा शिक्षकले पढाउनुभयो, व्यावहारिक कुरा घरमा बुबाले सिकाउनुभयो । उनको यो भनाइले क्षेत्रमिति र ज्यामिति पढाउने बेलामा विष्णु नेपालीका बाबुलाई पनि विद्यालयमा ल्याउने हो कि ? वा घर बनाउने बेलामा गणित पढाउने शिक्षकलाई पो विद्यार्थी सहित फिल्डमा लैजाने हो ? वा दुवै मिलाउने हो ? यी प्रश्नको उत्तर अहिलेका विद्यालयले खोज्नुपर्ने समय आयो । शिक्षामा व्यावहारिक तन्त्र र आवश्यकता पूर्तिको सिद्धान्त मिसाउने हो कि ?

माथिको पृष्ठभूमि; सहकारी र विद्यालय बीचमा के सम्बन्ध हुन सक्छ भनेर गरिएको अध्ययनको प्रतिनिधि अनुच्छेद हो । विष्णु नेपाली प्रतिनिधि पात्र मात्र हुन् । यस्ता अनुकरणीय उदाहरण राम्चेमा मात्र होइन सहकारीले काम गरेको समुदायमा अन्यत्र पनि भेट्न सकिन्छ । बाह्रबिसे नगरपालिका वडा नं. ९ मा २०६५ सालमा स्थापना भएको राम्चे बचत तथा ऋण सहकारी संस्था र सोही वडाको सरस्वती माध्यमिक विद्यालयलाई लिएर गरिएको अध्ययनबाट सहकारी र विद्यालयलाई सँगसँगै लग्यो भने व्यावहारिक र व्यावसायिक शिक्षा दिन सकिन्छ भन्ने निष्कर्ष निक्लिएको छ ।

सहकारी आवश्यकताले विकास भयो । शिक्षा भइरहेका संरचनामा छिरेर लिइयो । शिक्षा आवश्यकतामा आधारित भएन । नियमानुसार चलेका र खुलेका शैक्षिक संस्थाको दर्शनमा आफूलाई समाहित गराउँदै शिक्षा दिने र लिने चलनको शुरूआत भयो र चलिरहेको छ । विविध नाम र काम भएका ३५ हजार सहकारी देशभरि रहेका छन् । उद्देश्य मिल्दो सहकारी र विद्यालयलाई मिलाउने वा सहकारी जस्तै विद्यालय बनाउने वा विद्यालय जस्तै सहकारी बनाउने र दुवैलाई सँगसँगै लैजाने हो भने शिक्षालाई आवश्यकतामुखी र व्यावसायिक बनाउन सकिन्छ । किनभने सहकारीले स्थानीय स्रोतसाधनको सम्भावनालाई मूल्याङ्कन गरेर त्यसको व्यावसायिक विकास र विस्तारको लागि काम गरेको हुन्छ । त्यस्तो व्यावसायिक विकास र विस्तारको लागि आवश्यक ज्ञान र सीप विद्यालयले दिने अनि आर्थिक व्यवस्थापनको पक्ष सहकारीले हेर्ने गरी विद्यालय तहबाटै व्यावहारिक र व्यावसायिक शिक्षा दिन सकिन्छ ।

सहकारी र विद्यालयले गरिरहेको काम हेर्ने हो भने सहकारीले विगत हेरेर वर्तमान आवश्यकता पूरा गर्ने र भविष्य निर्माण गर्ने फराकिलो दायर बनाएर प्रणाली र साधनको व्यवस्थापनमा काम गर्ने रहेछ । सहकारी शिक्षाले स्रोतसाधन सदुपयोग गर्न सकिन्छ भनेर सिकाउँछ र काम दिन्छ । विद्यालय शिक्षाले विना कामको नाम दिने रहेछ । सहकारी शिक्षाले माहुरी जस्तो कामकाजी बनाउने रहेछ । सहकारीमा लाग्नेहरू कर्मप्रति विश्वास गर्छन् । विद्यालय शिक्षाले चाहिं नामको लागि मरिमेट्ने बानी बसाल्दो रहेछ र किसानको छोरोले माध्यमिक तहको शिक्षा लिएपछि झेला बोकेर जागिर खोज्न हिंड्दो रहेछ ।

सहकारी संस्थासँग मिलेर काम गर्दा विद्यालयको लागि प्रयोगात्मक अभ्यासको लागि थप जग्गा र स्रोतको जरूरी पनि पर्दैन । विद्यार्थी स्वयंले परिवारसँग मिलेर, विद्यालय र सहकारीको सहभागितामा राम्रो योजना निर्माण गर्ने र कार्यान्वयन गर्न सिके भने कमाउँदै व्यावहारिक शिक्षा लिन्छन् । कृषि, पर्यटन, व्यापार, उत्पादन, बजारीकरण, पूँजी व्यवस्थापन, आर्थिक कारोबारको अभिलेखीकरण, समूह कार्य, नेतृत्व क्षमता अभिवृद्धि, समस्या समाधान लगायतका यावत् कुरा विद्यार्थीले सिक्न सक्दछन् । त्यसैले स्थानीय र विश्व बजारको परिवेशसँग जोडेर सिकाइको दायरा अलिक ठूलो बनाइदियो भने विद्यार्थीले आफ्नो इच्छा, क्षमता र आवश्यकतानुसारको क्षेत्रको छनोट विकास गर्न सिक्छन् । २१औं शताब्दीको लागि आवश्यक जीवनोपयोगी शिक्षा लिन सक्दछन् ।

उल्लिखित पृष्ठभूमिमा नगरपालिका र गाउँपालिकाको पनि महŒवपूर्ण भूमिका हुन सक्दछ । स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गर्दा सहकारीको सहभागितालाई पनि मनन गरी विद्यालय र सहकारीसँग लैजाने मोडल निर्माण गर्ने हो भने स्थानीय तहको विकासमा शिक्षाले टेवा पु¥याउँथ्यो कि !

अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, श्री सरस्वती माध्यमिक विद्यालय, राम्चे, सिन्धुपाल्चोक


 

commercial commercial commercial commercial