शैक्षिक सत्र जोगाउन पाठ्यांशको सङ्क्षिप्तीकरण

कोभिड–१९ ले विश्वलाई अक्रान्त बनाइरहेको परिवेशमा जन–जनमा त्रास त छँदैछ । यसले सबैभन्दा बढी प्रभाव शिक्षा क्षेत्रमा नै पारेको छ । नेपाल सरकारले ११ चैतदेखि लकडाउन गरेकोले बालबालिकाहरू घरभित्रै बन्धक भए । घरभित्र थुनिएर बस्नुपर्दा बालबालिकाको दिनचर्या मोबाइल, फोन र टेलिभिजनमा व्यस्त हुन थाल्यो भने कतिपयले परिवारको माया स्नेहका साथै घरको कार्यमा सघाउने, खाना बनाउने, सरसफाई गर्ने आदि जस्ता कार्यहरू गरेर दिनचर्या बिताउन थाले । भनौं; भान्छा नै पाठशाला बन्न पुग्यो । अभिभावकहरू छोराछोरीको भविष्यमा भन्दा वर्तमानमा बढी चिन्तित हुन थाले । कहिलेबाट विद्यालय खुल्ने हो कुनै निक्र्यौल रहेन । हामी शिक्षकहरू अझ बढी तनावमा रह्यौं । के गर्ने, कसरी गर्ने, कुनै उपाय देखिएको थिएन । बालबालिकाहरूको शैक्षिक सत्र खेर जाला भन्ने चिन्ता बढ्न थाल्यो ।

सरकारले वैकल्पिक सिकाइको कुरा अगाडि ल्यायो, तर हाम्रो जस्तो विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूको पहुँच बाहिर रह्यो । दुई छाक खान त धौ–धौ रहेको अवस्थामा स्मार्ट फोन, ल्यापटप, इन्टरनेटको परिकल्पना समेत गर्न सकेनौं । तर हामीले पनि हार मानेनौं, हरेक अभिभावकलाई फोन गरेर भए पनि सम्पर्क बढाउन थाल्यौं । फोनबाट नै गृहकार्य दिन थाल्यौं । जब असार १ गतेबाट विद्यालय जाने वातावरण बन्यो विद्यार्थीलाई हरेक शुक्रबार विद्यालयमा बोलाइ भौतिक दूरी कायम गरी गृहकार्य दिने कार्य शुरू गर्‍यौं । यसबाट निराश भएका अभिभावकको मुहारमा केही सन्तोष दिन सफल भयौं ।


कोरोनाले केही सकारात्मक पक्ष पनि छोडेको छ । जस्तो शिक्षक–विद्यार्थी दुवै प्रविधिमैत्री बन्न सफल भए, टीभी, रेडियो, अनलाइन कक्षा, भर्चुअल क्लास र जुम, विद्यार्थीले परिवारबाट सामाजिक संस्कार, समाजको मूल्य र मान्यता, व्यावहारिक ज्ञान आर्जन गर्ने सुअवसर, प्राप्त गरें ।

तर हामी शिक्षकहरूले सन्तोषको सास फेर्न भने सकेनौं । हामीलाई शैक्षिक सत्र खेर जान नदिन केही गर्न सकिन्छ कि भनेर आपसमा घनीभूत छलफल गर्‍यौं । एक वर्षमा पढाइने कुरालाई ६ महीनामा पढाउन सकिन्छ कि विचार गरौं र त्यसको योजना बनाऊँ न त भन्ने निष्कर्षमा पुग्यौं ।

चालु शैक्षिक सत्रको अवस्था

नेपालको विद्यालय शिक्षा वैशाखबाट शुरू भइ चैतमा अन्तिम परीक्षाका माध्यमबाट कक्षोन्नति गर्ने व्यवस्था रहेको छ । तर शैक्षिक वर्ष २०७६ को अन्तिम समयमा विश्वव्यापी रूपमा कोरोनाको समस्या शुरू भएपछि शैक्षिक वर्ष २०७७ प्रत्यक्ष रूपमा प्रभावित भएर आज करीब सात महीना लगभग खेर गइसकेको अवस्था छ । निकै लम्बिएको विद्यालय बन्दका कारण विद्यार्थीहरू सिकाइको यात्रामा निकै पछाडि परिरहेका छन् । लकडाउनका कारण पठनपाठनलाई सहजीकरण गर्न सकिरहेको अवस्था रहेन । सामाजिक दूरी कायम गरी विद्यालयहरूले पाठ्यपुस्तक वितरण गर्ने कार्य गरे तर सबैको पहुँच भने रहेन । कति विद्यार्थी काठमाडौं बाहिर गएका छन् त कति विद्यालयको पहुँच बाहिर रहेका छन् । नेपाल सरकारले वैकल्पिक माध्यमबाट शिक्षण कार्यलाई अगाडि बढाउने योजना अनुरूप रेडियो, टेलिभिजन र अनलाइन कक्षाको थालनी गरियो । जसको जेमा पहुँच पुग्छ जस्तो इन्टरनेटको सुविधा हुनेले अनलाइन कक्षा, नहुनेले टेलिभिजन, त्यो पनि नहुनेले रेडियो मार्फत र यी सबै अवसरबाट वञ्चितलाई टेलिफोनबाट भए पनि केही सिकाउने जमर्को गरेका छौं । हरेक हप्ता दिने गरिएको गृहकार्य निषेधाज्ञामा स्थगित भयो र पुनः सुचारू गरिएको छ ।

समस्याको उठान

यद्यपि कुनै पनि महामारी एवं कहरलाई सकारात्मक ढंगबाट लिन सकिन्नँ । तर समग्र सार्वजनिक विद्यालय शिक्षामा कोरोनाको नकारात्मक र सकारात्मक पक्ष छ भन्न पनि सकिन्छ । नकारात्मक असरका रूपमा विद्यालय खुल्ने निश्चितता नरहेको, बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा असर, सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गतिविधिमा समेत हुँदा खाने र हुनेखाने वर्गमा दरार, सिकाइ उपलब्धिहरू गुम्ने डर, विद्यार्थीहरूमा मनोवैज्ञानिक असर परेको छ ।

कोरोनाले केही सकारात्मक पक्ष पनि छोडेको छ । जस्तो शिक्षक–विद्यार्थी दुवै प्रविधिमैत्री बन्न सफल भए, टीभी, रेडियो, अनलाइन कक्षा, भर्चुअल क्लास र जुम, विद्यार्थीले परिवारबाट सामाजिक संस्कार, समाजको मूल्य र मान्यता, व्यावहारिक ज्ञान आर्जन गर्ने सुअवसर, प्राप्त गरे भने विद्युतीय उपकरणलाई सिकाइको अधिकतम प्रयोग गर्ने परिपाटीको विकास भयो ।

केही राम्रा प्रभावको बाबजूद पनि शैक्षिक क्षेत्र खेर जाने चिन्ता त रहि नै रह्यो । के गर्ने, कसरी गर्ने त भन्ने चिन्तन र हामी शिक्षकहरूको छलफलबाट एक वर्षमा सिकाउनुपर्ने पाठ्यांशलाई ६ महीनामा सिकाउन सकिन्छ कि भनेर पाठ्यक्रम, पाठ्यपुस्तकलाई आधार मानी अघिल्लो कक्षामा पढाएका पाठ्यांशलाई हल्का पुनरावृत्ति गरी माथिल्लो कक्षामा पढ्नुपर्ने पाठ्यांशलाई निकै कम समय उपलब्ध गराएर पाठ्यांशलाई समेटेर एकीकृत गरी ६ महीनामा अध्यापन गर्न सकिने गरी सङ्क्षेपीकृत योजना निर्माण गर्‍यौं । यसबाट विद्यार्थीहरूको शैक्षिक सत्र पनि खेर नजाने र सिकाइ पनि हुने अन्यथा नहुने गरी पूरा हुने आशा जाग्यो ।

समाधानका लागि सम्भावित उपायहरू

समस्यासँगै समाधानको उपाय पनि जोडिएको हुन्छ । जहाँ जे उपलब्ध छ, त्यसैको प्रयोग र उपयोग गर्नुपर्छ न कि सबैको पहुँच पुगेन र पुग्दैन भनेर हात बाँधेर बस्न सकिंदैन । यसो भएमा बालबालिकाहरू सबै किसिमको सेवाबाट वञ्चित हुन पुग्छन् र साँच्चै नै बालबालिकाहरूको पूरै एक वर्ष खेर जाने सम्भावन बढ्यो । कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव र शैक्षिक सत्र खेर जान नदिन सिकाइका अवसर गुमाएका सबै बालबालिकाहरूका लागि सहज हुने गरी निम्नानुसार कार्यहरू गर्न सकिन्छः

(क) रेडियो शिक्षण सबैभन्दा प्रभावकारी (झण्डै २० लाख बालबालिकाहरूलाई रेडियो शिक्षा दिन सकिने) यसको लागि देशभरिका सबै ठाउँमा एकैपल्ट सुन्न सकिने स्टेशनबाट प्रभावकारी ढङ्गबाट प्रशारण गर्नुपर्ने देखिन्छ ।

(ख) टेलिभिजनको पहुँच हुनेलाई टेलिभिजनको माध्यमबाट शिक्षण गर्न सके अझ बढी प्रभावकारी हुने देखिन्छ ।

(ग) इन्टरनेटको पहुँच भएकालाई अनलाइन कक्षाबाट शिक्षण गर्न सकिन्छ ।

(घ) सिकाइका अवसर गुमाएका सबै अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विशेष किसिमको व्यवस्था मिलाई पठनपाठनमा सहजीकरण गर्ने सानो समूहमा विद्यालयमा अनुकूल वातावरण सिर्जना गरी अध्यापन गराउने ।

यसका लागि हामीले हरेक हप्ता गृहकार्य दिने, लगातार टेलिफोन मार्फत सम्पर्क गरी हालखबर सोध्नुका साथै शैक्षिक क्षेत्र खेर जान नदिन आफ्नो तर्फबाट गहन छलफल गरी पाठ्यांशको सङ्क्षिप्तीकरण गरी पठनपठानलाई सहजीकरण गर्ने, कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव र शैक्षिक सत्र खेर जान नदिन पाठ्यक्रमले निर्दिष्ट पारेको उद्देश्यलाई हेरी पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका हेरी आवश्यक पाठ्यांशको ६ महीना शिक्षण सिकाइ क्रियाकलाप गर्ने सङ्क्षिप्तीकरण गरियो ।

यहाँ हामीले तयार गरेका विषयहरूमध्ये कक्षा–७ को नेपाली विषयको पाठ्यांशको सङ्क्षिप्तीकरण नमूनाका रूपमा निम्नानुसार गरिएको छ ।

हामीले यहाँ कक्षा–७ को नेपाली विषयको सङ्क्षिप्तीकरण गर्दा सर्वप्रथम त कक्षा–६ र कक्षा–८ को पाठ्यपुस्तकलाई गहन अध्ययन गरी कक्षा–७ को कतिपय पाठहरू अघिल्लो कक्षामा पढेका र कतिपय पाठहरू कक्षा–८ मा पढ्नुपर्ने पायौं । त्यसैले अघिल्लो कक्षामा पढाइएका पाठ्यांश र माथिल्लो कक्षामा पढ्नुपर्ने पाठ्यांशलाई यथावत् राखी कक्षा–७ मा के–कति सिकाइ हुनुपर्ने हो तत्–तत् कुरालाई मात्र मध्यनजर गरी योजना बनायौं । यसबाट हामीले ६ महीनामा नेपाली विषयको सिकाइ पूरा गर्न सकिने सम्भावना पायौं । यसका लागि कक्षा–७ मा अध्यापन गर्नुपर्ने पाठ्यांशलाई निम्नानुसार पाठ्यभारका आधारमा तय गरिएको छ:

कक्षा ६, ७ र ८ को विधागत विवरण

क्र.सं. विधा कक्षा–८ कक्षा–७ कक्षा–६
कविता   
कथा
जीवनी
प्रबन्ध
वादविवाद
एकांकी ... ...
संवाद ...
चिठी
निवेदन
  जम्मा    २२ २१ २०

उपर्युक्त अनुसार कक्षा ६, ७ र ८ का विधागत रूपमा रहेका पाठहरूलाई कक्षा–६ बाट कक्षा–७ मा दोहोरिने र कक्षा–८ मा अध्यापन हुने पाठहरूको सरसर्ती अध्ययन गरी निम्नानुसार पाठहरूको छनोट गरी निर्धारित पाठ्यभारलाई नै आधार मानी केही पाठलाई कटौती गरी यसरी सङ्क्षेपीकरण गरियो ।

क्र.सं. पाठ संख्या पाठ शीर्षक विद्या पाठ्यभार
पाठः १ परिचय कविता
पाठः २   मामालाई सुधार्ने भान्जो कथा
पाठः ३   सांस्कृतिक एकताको पर्व छठ प्रबन्ध
पाठः ४ आन्तरिक पर्यटन संवाद
पाठः ५ साहित्यकार झमक घिमिरे जीवनी
पाठः ९ साथीलाई चिठी चिठी
पाठः ११ उद्योगलाई भन्दा कृषिलाई जोड वादविवाद
पाठः १२ म सौर्य ऊर्जा प्रबन्ध
पाठः १३  अलेक्जेन्डर फ्लेमिङ जीवनी
१० पाठः १६ रिस र राक्षस कथा
११ पाठः १७ प्रधानाध्यापकलाई निवेदन निवेदन
१२ पाठः १९   सभ्यता कविता
१३ पाठः २० नेपालको धार्मिक वास्तुकला   प्रबन्ध
१४   कार्यमूलक व्याकरणका लागि व्याकरण १०

 

थप खुलासा

कविता शिक्षण गर्दा तीनवटै कक्षामा लयबोध, भावबोध शिक्षण गर्नुपर्ने भएकोले र एकै किसिमको शिक्षण सिकाइ हुने भएकोले कक्षा–७ बाट ‘परिचय’ शीर्षक र ‘सभ्यता’ शीर्षकको दुईवटा कविता लिइएको छ । कथा शिक्षण गर्ने विधि पनि तीनवटै कक्षालाई एउटै हुने भएकोले तीनवटै कक्षालाई मिल्ने गरी कक्षा–७ बाट एउटा लोक कथा र एउटा पौराणिक कथा लिइएको छ ।

जीवनी सिकाइ क्रियाकलाप पनि तीनवटै कक्षाका लागि एकै किसिमको हुने भएकोले र तीनवटै कक्षामा एउटा एउटा अन्तर्राष्ट्रिय स्रष्टाको जीवनी पढ्नुपर्ने भएकोले कक्षा–७ बाट एउटा राष्ट्रिय स्रष्टा र एउटा अन्तर्राष्ट्रिय स्रष्टाको जीवनी लिइएको छ ।

तीनवटै कक्षामा ४–४ वटा प्रबन्ध भएकोले  तिनै कक्षालाई मिल्नेगरी कक्षा–७ बाट दुईवटा प्रबन्ध लिइएको छ ।

तीनवटै कक्षामा एक–एकवटा वादविवाद समावेश गरिएको र वादविवाद शिक्षण क्रियाकलाप एउटै किसिमको हुने भएकोले कक्षा–७ बाट एउटा वादविवाद लिइएको छ ।

 कक्षा ६ र ७ मा एउटा एउटा संवाद र कक्षा ८ मा एउटा एकाङ्की रहेकोमा संवाद शिक्षण र एकाङ्की शिक्षण प्रक्रिया एउटै हुने भएकोले कक्षा–७ बाट एउटा संवाद लिइएको ।

चिठी लेख्ने ढाँचा एउटै हुने भएकोले तीनवटै कक्षामा मिल्ने गरी कक्षा–७ बाट साथीलाई चिठी भन्ने घरायसी चिट्ठी लिइएको । यसैगरी तीनवटै कक्षामा एउटा एउटा निवेदन शिक्षण गर्नुपर्ने भएको हुँदा तीनवटै कक्षालाई मिल्ने गरी कक्षा–७ बाट प्रधानाध्यापकलाई निवेदन भन्ने पाठ लिइएको छ ।

कात्तिक १ गतेबाट कक्षा सञ्चालन हुने हो भने चैत्रसम्म जम्मा १३९ दिन हुन आउँछ । अब यहाँ प्रस्तुत गरिएको पाठ्यांशलाई उपयुक्तानुसारको पाठ्यभारका आधारमा शिक्षण गर्न सकिने देखिन्छ ।

वर्तमान शिक्षा नीति र पाठ्यांशको सङ्क्षिप्तीकरणबाट उब्जिन सक्ने सम्भावित जायज प्रश्नहरू–

के पाठ्यक्रमलाई सङ्क्षिप्तीकरण गर्न सम्भव हुन्छ त ?

एक वर्षमा अध्यापन गराउन विज्ञ टोलीले तयार गरेको राष्ट्रिय, तहगत तथा कक्षागत पाठ्यक्रमका आधारमा निर्माण गरिएको पाठ्यांशलाई सिकाउँदा सिकाइ प्रभावकारी हुन्छ त ?

उद्देश्य अनुरूप सिकाइले पूर्णता पाउँछ त ?

के यसो गर्नु विद्यार्थीका नजरबाट न्यायोचित हो ?

विद्यार्थीको मनस्थितिका बारेमा यसले सम्बोधन गर्छ त ?

शिक्षाविद् मनोविद् तथा  शिक्षाका सरोकारवालाहरूको सहमति यसमा होला त ?

यी र यस्तै खालका प्रश्नहरू स्वभाविक नै हुन् ।


केही राम्रा प्रभावको बाबजूद पनि शैक्षिक क्षेत्र खेर जाने चिन्ता त रहि नै रह्यो । के गर्ने, कसरी गर्ने त भन्ने चिन्तन र हामी शिक्षकहरूको छलफलबाट एक वर्षमा सिकाउनुपर्ने पाठ्यांशलाई ६ महीनामा सिकाउन सकिन्छ कि भनेर पाठ्यक्रम, पाठ्यपुस्तकलाई आधार मानी अघिल्लो कक्षामा पढाएका पाठ्यांशलाई हल्का पुनरावृत्ति गरी माथिल्लो कक्षामा पढ्नुपर्ने पाठ्यांशलाई निकै कम समय उपलब्ध गराएर पाठ्यांशलाई समेटेर एकीकृत गरी ६ महीनामा अध्यापन गर्न सकिने गरी सङ्क्षेपीकृत योजना निर्माण गर्‍यौं ।

निष्कर्ष

चुप लागेर बस्न नसक्नु पनि एउटा समस्या हुँदो रहेछ । संक्रमण, लकडाउन जस्ता कारणले विद्यालयमा सहज पठनपाठन नहुँदाको छटपटीस्वरूप आफ्ना सहकर्मीहरूसँगको सरसल्लाह र परिस्थितिको उपज स्वरूप अबको शिक्षणको बाटो तय गर्न गरिएको सामान्य मेहनतलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ । यसैलाई सर्वमान्य विकल्प मान्न त हामी स्वयं पनि तयार छैनौं तथापि परिस्थितिसिर्जित समस्याको समाधानका लागि उपाय हुन सक्छ कि भन्ने आशय मात्र हो यो लेखको । हामीले पाठ्यांशको संक्षिप्तीकरणको कुरा उठाएपछि माननीय मन्त्रीज्यूबाट पनि त्यस्तै प्रकृतिको आशयगत कुरा छापामा सुन्न पाउँदा भने हामीले सही नै गरेका रहेछौं भन्ने कुराले उत्साह भने बढेको छ ।

निकै लम्बिएको शैक्षिक संस्थाहरू बन्दका कारण कयौं विद्यार्थीहरू पठनपठनबाट वञ्चित भइरहेको अवस्थामा स्वास्थ्य क्षेत्रबाट परिस्थिति सुरक्षित रहेको अनुभूति हुनासाथ शिक्षा क्षेत्र सुचारू गर्ने तयारीको आवश्यकता रहेको छ । जसरी भए पनि विद्यार्थीको शैक्षिक वर्ष खेर नजाने विकल्पहरू ल्याउनु जरूरी छ । सिकाइ पद्धतिलाई लचिलो बनाउनु पर्दछ । वैकल्पिक शिक्षालाई प्राथमिकतामा राखी नेपाल सरकारले कमसेकम निःशुल्क इन्टरनेट सेवा प्रदान गर्नुपर्छ । फोन, अनलाइन, गुगल कक्षा, जुम, मेसेन्जर, भाइवर आदि जे सम्भव हुन्छ वैकल्पिक शिक्षाको वातावरण बनाउनु पर्छ । विद्यार्थीहरूलाई पढाइमा होइन सिकाइमा जोड दिनु पर्छ । शैक्षिक सत्र कति दिन पढाउने भनेर दिन गन्नु भन्दा के र कति अनि कसरी सिकाउने भनेर सिकाइ उपलब्धि हेर्दा सान्दर्भिक हुनेछ । प्रयोगात्मक सिकाइलाई प्राथमिकतामा राखी शिक्षण गर्नुपर्दछ ।

समय र परिस्थितिले धेरै कुरा सिकाउँछ । यही कुरा यस कोरोनाको परिस्थितिमा पनि देखापरेको छ । समय कसैको बशमा बस्दैन यसको निरन्तर प्रवाहमा जो सक्षम र सहज रूपमा अघि बढ्न सक्छ उसैले नै यस संसारमा आफूलाई सक्षम प्राणीका रूपमा उभ्याउन सक्छ । त्यसैले हामी समयका दास हौं र यसका हरेक आरोह–अवरोहलाई आत्मसात गर्नुमा नै हाम्रो र हाम्रो दैनन्दिनको एक मात्र उपाय हो ।

आशा गरौं; अवस्था चाँडै सहज बनोस्, हिजो जस्तै निर्धक्क रूपमा आफ्नै काखमा हाम्रा लालाबालालाई सिकाइका प्रक्रियामा लान सकौं ।

प्रधानाध्यापक, पञ्चकन्या आधारभूत विद्यालय, बालुवाटार, काठमाडौं

commercial commercial commercial commercial