कक्षाकोठामा सिकलसेल एनिमिया

बारबर्दिया नगरपालिकाले ‘स्थानीय पाठ्यक्रम’ अन्तर्गत छुट्टै पाठ्यसामग्री तयार गरी नगरभित्रका १७ वटा विद्यालयमा सिकलसेल एनिमिया र थालेसेमिया  विषय पढाउने व्यवस्था गरेको छ।

१६ वैशाख २०७६ को दिन बर्दियाको पाञ्चजन्य माध्यमिक विद्यालय, बारबर्दियाको कक्षा-९ को सेक्सन ‘ए’ मा एउटा नौलो विषयको कक्षा चलिरहेको थियो । सामाजिक विषयका शिक्षक तोयानाथ सापकोटा विद्यार्थीलाई सिकलसेल एनिमिया  पढाउँदै थिए । कक्षामा उनले सिकलसेल एनिमिया उच्चारण गर्दा थारू समुदायका छात्रछात्राले अरू दिन भन्दा ध्यान दिएर सुने ।  

सिकलसेल एनिमिया  ले थारू समुदायलाई प्रभावित बनाएकोले त्यसबारे शिक्षकले कक्षामा पढाउन थालेपछि छात्रछात्राको ध्यान तानिएको हो । छात्र सरोज थारू भन्छन्, “पहिलो पटक कक्षामै सिकलसेल का बारेमा जान्न पाउँदा खुुशी लाग्यो ।” स्कूलमै सिकलसेल का बारेमा बुझने अवसर पाएपछि छात्रछात्राले त्यसबारेमा आफ्नो परिवार तथा समुदायमा पनि छलफल गर्न थालेका छन् । सरोज थप्छन्, “अचेल सिकलसेल बारे गाउँघरका मान्छेहरूले पनि धेरै थाहा पाइसकेका छन् । स्कूलमा हामीले जानेको कुरो गाउँघरमा पनि फैलिन थालेको छ ।”

सिकलसेल  को पठनपाठन शुरू भएपछि विद्यार्थीलाई यसबाट बच्ने उपाय सिकाउन, सिकलसेल  बारेका भ्रम हटाउन र समाजमा चेतना फैलाउन सहयोग पुगेको पाञ्चजन्य माविका प्रधानाध्यापक गोविन्द ढकाल बताउँछन् । उनको कथन छ, “प्रयोगात्मक विधि अन्तर्गत छात्रछात्रालाई अस्पतालमा लगेर बिरामी देखाउने तथा छलफल गर्ने, रोगको असरबारे बुझाउने गरिएको छ ।” त्यसैगरी सिकलसेल ले असर पारेको रक्तकोषको चित्र बनाई छात्रछात्रालाई कक्षाकोठामा प्रस्तुत गर्न लगाउने गरिएको छ । यसबारे प्रश्नोत्तर, समस्या समाधान, प्रदर्शन, अवलोकन, छलफल, परियोजना, खोज तथा स्थलगत भ्रमण विधिबाट सिक्ने/सिकाउने गरिएको प्रधानाध्यापक ढकालको भनाइ छ ।

समुदायमा पनि सिकलसेल बारेमा चेतना बढेको परिणाम हुनुुपर्छः थारू समुदायमा अचेल विवाह गर्नुुअघि केटाकेटीलाई सिकलसेल भए/नभएको यकिन गर्न थालिएको छ । कक्षा ९ की छात्रा आशा थारू भन्छिन्, “बिहेबारीको कुरा चल्दा सिकलसेल का बारेमा सोधखोज हुन थालेको छ ।”

यस क्षेत्रका विद्यालयमा सिकलसेल  को पठनपाठनको तारतम्य भने बारबर्दिया नगरपालिकाले मिलाएको हो । नगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयमा सिकलसेल का बारेमा स्थानीय पाठ्यक्रम लागूू गरेको छ । कक्षा-९ को सामाजिक विषयमा सिकलसेल सम्बन्धी विषयवस्तु समावेश गरिएको छ । २३ भदौ २०७५ देखि यो पाठ्यक्रम लागू भएको हो । यो शैक्षिक सत्रमा त्यसलाई कक्षा-१० मा पनि विस्तार गरिंदैछ ।

सम्भवतः देशमै पहिलो पटक सरकारी विद्यालयमा सिकलसेल  को पठनपाठन शुुरू गर्ने पहिलो नगरपालिका बारबर्दिया भएको छ । यो प्रयासबाट नगरपालिकाका अरू जाति र समुदायमा पनि सिकलसेल  बारे जागरण आउने विश्वास गरिएको छ । बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारू भन्छन्, “थारू समुदायमा सिकलसेल  बढी देखियो, हाम्रो नगरपालिका थारू बहुल भएकोले सिकलसेल  बाट यो समुदायलाई जोगाउन र जनचेतना बढाउन स्थानीय पाठ्यक्रम नै तयार पारेर पठनपाठन शुरू गरेका हौं ।”

सिकलसेल  सम्बन्धी कक्षा-९ को स्थानीय पाठ्यक्रम तयार पार्ने काम भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले गरेका हुन् । पाठ्यक्रम तयार भएपछि पाण्डेले नै बारबर्दिया नगरपालिकाभित्रका माध्यमिक तहका सामाजिक शिक्षकहरूलाई तालिम दिएका थिए । शैक्षिक सत्रदेखि कक्षा-१० मा लागू भएको सिकलसेल एनिमिया  को स्थानीय पाठ्यक्रम चाहिं डा. पाण्डे, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरकी एशोसिएट प्रोफेसर डा. प्रज्ञा गौतम र बाल रोग विशेषज्ञ डा. रोमा बोहराले मिलेर तयार पारेका हुन् ।

बारबर्दिया नगरपालिकाभित्रका १४ वटा सरकारी र ३ वटा निजी गरी १७ माध्यमिक विद्यालयमा कक्षा-९ र १० मा २५ पूूर्णांकको सिकलसेल सम्बन्धी पाठ्यक्रम लागू गरिएको हो । यो विषयमा प्रति महीना दुई घन्टीका दरले एक शैक्षिक सत्रमा कम्तीमा १८ घण्टी पठनपाठन हुने व्यवस्था मिलाइएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टीकाराम गोसाईं बताउँछन् । गोसाईं भन्छन्, “यसले विद्यार्थीलाई मात्र होइन, समुदायलाई नै ठूलो लाभ पुुग्नेछ ।” नगरभित्रका कक्षा-९ र १० का ३ हजार ६०० भन्दा बढी छात्रछात्रा यो पाठ्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुन्छन् । पाठ्यक्रममा सिकलसेल एनिमिया  को बारेमा जानकारीका साथै रोग पहिचान गर्ने तरिका, बिरामीमा देखिने लक्षण र संक्रमणबाट बच्न अपनाउनुपर्ने उपाय समेटिएको छ ।


थारू समुदायमा सिकलसेल बढी देखियो, हाम्रो नगरपालिका थारू बहुल भएकोले सिकलसेल बाट यो समुदायलाई जोगाउन र जनचेतना बढाउन स्थानीय पाठ्यक्रम नै तयार पारेर पठनपाठन शुरू गरेका हौं।
- दुर्गाबहादुर थारू, मेयर, बारबर्दिया नगरपालिका

२०६८ सालको जनगणना अनुसार बारबर्दिया नगरपालिकाको जनसंख्या ६८ हजार १४४ छ । त्यसमा करीब ७२ प्रतिशत थारू जातिका छन् । उनीहरूमध्ये १० प्रतिशत भन्दा बढीमा सिकलसेल एनिमिया देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ । परिषद्ले चालुु आर्थिक वर्षमा नगरपालिकाको थारू जनसंख्याको रगत संकलन गरी सिकलसेल एनिमिया र थालेसेमिया परीक्षण गरेको थियो । परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार बारबर्दिया नगरपालिकाका करीब २० हजार थारूको रगत संकलन गरेर वीर अस्पतालमा सिकलसेल एनिमिया  परीक्षण गर्ने क्रम जारी छ । त्यसको अन्तिम नतिजा असार पहिलो सातासम्ममा आउनेछ ।

के हो सिकलसेल ?
शरीरका रक्तकोषहरू हँसिया जस्तो बाङ्गो हुने र रगतको हेमोग्लोविन तत्वलाई असर पार्ने रोग नै सिकलसेल एनिमिया  हो । पुस्तौंदेखि निरन्तर औलो रोगसँग लड्ने क्रममा तराईका आदिवासी थारू जातिको आनुवंशिकतामै परिवर्तन आउँदा रक्तकोषिका बाङ्गिन पुगेको मानिन्छ, जसले अहिले सिकलसेल एनिमिया रोगको रूप लियो । सिकलसेल भए/नभएको थाहा पाउन रगतको हेमोग्लोबिन इलेक्ट्रोफोसिस परीक्षण गर्नुुपर्छ । विवाह गर्दा किशोरकिशोरीहरूले सजगता अपनाउने हो भने नवजात शिशुुमा सिकलसेल को संक्रमण शून्यमा झर्न सकिने कन्सल्टेन्ट फिजिसियन डा. पाण्डे बताउँछन् । उनी भन्छन्, “विवाह गर्दा ध्यान पुु¥याउने हो भने यो रोगबाट नयाँ पुस्तालाई मुक्त राख्न सकिन्छ ।”

विवाह गरेका दम्पतीमै सिकलसेल  छ भने तिनका सन्तानमा पनि जन्मँदै यो देखा पर्न सक्छ । त्यस्ता दम्पतीलाई सामान्यतया चिकित्सकहरूले सन्तान नजन्माउने सल्लाह दिने गरेका छन् । गर्भमा रहेको बच्चामा सिकलसेल भए/नभएको पनि परीक्षण गर्ने सुविधा उपलब्ध छ । परीक्षणबाट सिकलसेल भएको पाइएमा गर्भपतन गराउनु उपयुक्त हुने डा. पाण्डे बताउँछन् । विद्यालयमा लागू गरिएको सिकलसेल को पाठ्यक्रममा यी लगायतका महत्वपूूर्ण जानकारी समावेश छ ।

सिकलसेल एनिमिया  पश्चिमका थारू समुदायमा एउटै परिवारका सात जनासम्ममा यसको संक्रमण देखिएको छ । अहिलेसम्म दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायमा यो रोग देखिएको छ । सिकलसेल भएकाहरूमा रगत कम हुने, जन्डिस देखा पर्ने, शरीरका जोर्नी दुख्ने, सुन्निने, शरीर दुख्ने, दुब्लाउने, हल्का ज्वरो आउने लगायतका लक्षण देखिन्छ ।

बारबर्दिया नगरपालिकामा लागूू गरिएको यस सम्बन्धी पाठ्यक्रम थारू बहुल अरू स्थानीय तहमा पनि लागू गर्दा त्यसले समुदायमा ठूलो लाभ पुग्ने बताउँछन् सो नगरपालिकाका मेयर दुर्गाबहादुर थारू । उनी भन्छन्, “थारू बहुल सबै विद्यालयमा सिकलसेल बारे पढाउन जरूरी छ ।”

सिकलसेल एनिमिया  का बिरामीहरूलाई सरकारले २०७२ भदौदेखि नेपालगञ्जको भेरी अस्पतालबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउँदै आएको छ । भेरी अस्पतालमा मात्रै करीब दुई हजार सिकलसेल एनिमिया का बिरामीहरू पहिचान गरिएका छन् ।

विद्यालयमा सिकलसेल  पठनपाठन, समुदायमा सचेतनामूलक कार्यक्रम र थारू समुदायको रगतको नमूना संकलन शुरू भएपछि सिकलसेल बारे समुदायमा व्यापक जागरुकता बढेको छ । अचेल भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा उपचार तथा परामर्शका लागि आउने बिरामी बढेका छन् । अस्पतालमा हरेक साता सिकलसेल का दुई जना नयाँ बिरामी भेटिने गरेका छन् । परीक्षणका लागि आउनेमध्ये करीब ४० प्रतिशत अविवाहित किशोरकिशोरी छन् । उनीहरूले रोगका साथै विवाह गर्दा अपनाउनुपर्ने सजगताका बारेमा समेत चिकित्सकसँग परामर्श लिन थालेका छन् । अस्पताल आउने अविवाहितहरूमा सिकलसेल  बारे जिज्ञासा बढ्नु सकारात्मक परिवर्तनको संकेत भएको विशेषज्ञ डा. राजन पाण्डे बताउँछन् ।

शिक्षक मासिक, २०७६ जेठ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial