अन्डाको नापजोख हेर्दा उस्तै, तर अलिकति यस्तै उस्तै !

बजारका पसलहरूमा कलात्मक रूपमा राखिएका कुखुराका अन्डा देखेर मेरो मनमा फेरि त्यही प्रश्न उब्जियोः उस्तै उस्तै देखिने यी अन्डा साँच्चिकै एकनासका छन् त ? सबै अन्डाको आकार र वजन एउटै छ त ? अनि, कक्षामा पुगेर मैले केटाकेटीलाई सोधिहालें, ‘तिमीहरूको विचारमा, एउटा अन्डाको तौल कति हुँदो होला ?’

यो यस्तो प्रश्न हो, जसको उत्तर नखोज्दा पनि अन्डा र कुखुराले हामीलाई कुनै प्रश्न गर्दैनन् । तर, यो र यस्ता अनेकौं प्रश्नलाई, जो हाम्रा वरिपरिका थुप्रै वस्तु र विषयसँग गाँसिएर बसेका हुन्छन्, बेवास्ता गरिबस्ने हो भने हाम्रो तार्किक चिन्तन मन्द हुन थाल्छ र बिस्तारै–बिस्तारै यस्ता प्रश्न पनि मर्दै जान्छन् । बाल्यावस्थामा जो प्रश्न हाम्रा सामुन्ने थिए, ती सबैलाई हामीले बिर्सिसकेका छौं; त्यस्ताखाले प्रश्न अब हाम्रो मनमा शायदै आउँछन् । तैपनि, कुनै वेला मनमा यस्तो प्रश्न उठिहाल्यो भने, अथवा केटाकेटीले सोधिहाले भने के गर्ने ? जस्तैः कुखुराको अन्डाको वजन कति हुन्छ ? के सबै अन्डाको वजन बराबर हुन्छ ?

यस्ता प्रश्नलाई ठेउल्याउन हाम्रो मनमा तुरुन्तै यस्ता जवाफ सलबलाउन सक्छन्ः क. अन्डाको वजन जतिसुकै भए पनि के फरक पर्छ ? ख. अन्डा पसलेलाई सोधौंला, गूगल गरौंला अथवा कुनै विद्वानलाई सोधौंला, भइहाल्छ नि !

जवाफ ‘क’ का बारेमा गम खाँदा मलाई लाग्छ, फरक त पर्छ नै । प्रश्न गर्नु र त्यसको उत्तर खोज्नु शिक्षाको प्रमुख लक्ष्य हुनैपर्छ । अन्यथा, भर्खरै भनेझैं, हाम्रो मनले प्रश्न गर्न र तिनको उत्तर खोज्ने प्रयास गर्न बिस्तारै बन्द गरिदिन्छ । अनि स्कूलको वातावरण केटाकेटीको जिज्ञासा र खोजी प्रवृत्तिलाई बढाउनुको सट्टा पहिले नै तयार पारिएका उत्तर दिने, तिनलाई स्वीकार्न र कण्ठ गर्न लगाउने बन्न पुग्छ । आजभोलि भइरहेको यस्तै होइन र ?

अब जवाफ ‘ख’ को कुरा गरौं । अन्डा पसलेलाई सोध्नु, गूगल गर्नु वा कुनै विद्वानको शरण पर्नु प्रश्नको उत्तर पाउने सरल तरीका पक्कै हो । तर यस्तो उत्तर कत्तिको कामलाग्दो होला ? एउटा अन्डा पसलेले मलाई भन्यो– अन्डाको वजन १५० ग्राम जति हुन्छ । के उसको कुरा मैले सहजै पत्याउन मिल्छ ? आफूले जाँच्नुपर्दैन ? कुनै विद्वानले केही भन्लान्, आँखा चिम्लेर भरोसा गर्नु कत्तिको उचित हुन्छ ? अनि गूगलमा थरीथरीका उत्तर भेटिन्छन्, कुन सही हो भनेर कसरी छुट्याउने ? पसले, विद्वान र गूगल–गुरुका उत्तरमा त झन् आनको तान अन्तर हुन सक्छ । यस्तो अवस्थामा, बनिबनाउ उत्तरलाई सन्देहको घेरामा राखेर हेर्नुपर्दैन ? यसै सन्दर्भमा, म तपाईंहरूलाई एउटा प्रशिक्षण शिविरको अनुभव सुनाउन चाहन्छु, जहाँ यस्ता प्रश्नको उत्तर वैज्ञानिक विधिले खोज्ने प्रयास गरिन्थ्यो । कुरो तीन वर्ष अघिको हो, तर सधैं काम लाग्ने खालको छ र शुरूमा उठाइएको प्रश्नसँग सम्बन्धित पनि ।

हरेक वर्ष झैं, सन् २०१६ मा म होशंगावाद (भारत) मा आयोजित ‘एकलव्य’ (शैक्षिक संस्था) को विज्ञान प्रशिक्षण शिविरमा सहभागी भएको थिएँ । यसमा सहभागीहरूलाई आफूसँग भएका प्रश्न र जिज्ञासा भन्न लगाइन्छ र तिनको उत्तर खोज्ने काम गरिन्छ । प्राप्त प्रश्नहरूलाई तीन समूहमा विभाजित गरिन्छ । १. त्यस्ता प्रश्न, जसको उत्तर प्राप्त गर्न प्रशिक्षण शिविरमा अथवा कक्षाकोठामै प्रयोग (Experiment) गर्न सकिन्छ । जस्तैः के शुद्ध अक्सिजनमा प्राणी जीवित रहन सक्छ ? के अक्सिजन मात्रैले जीवन बचाउन सक्छ ? (यसको उत्तर पाउन साथीहरूले एउटा कमिलोलाई टेस्टट्यूबमा राखेर परीक्षण गरेका थिए ।) २. त्यस्ता प्रश्न, जसको उत्तर पाउन पुस्तकालय अथवा इन्टरनेटको सहायता लिनुपर्छ । जस्तैः के जन्मान्ध व्यक्तिले सपना देख्छ ? देख्छ भने त्यहाँ के देख्छ ? (यसको उत्तर खोज्न साथीहरूले चार दिन मिहिनेत गरेका थिए, जसमा त्यस्ता व्यक्तिहरूसँगको कुराकानी पनि शामेल थियो) । ३. त्यस्ता प्रश्न, जसको उत्तरका बारेमा सबैसँग केही न केही अनुभव हुन्छ । जस्तैः के बिरालोले बाटो काट्दा अशुभ हुन्छ ? यस्ता प्रश्नमा पनि केही काम गर्न सकिन्छ, तर यीसँग विश्वास पनि जोडिएकाले तिनलाई बदल्न मुश्किल हुन्छ । वस्तुनिष्ठ उत्तर खोज्न र त्यसमा सबैलाई सहमत गराउन सकिंदैन ।

त्यहाँ मैले प्रश्न उठाएको थिएँः कुखुराको एउटा अन्डाको वजन कति हुन्छ ? के सबै अन्डाको वजन एक समान हुन्छ ? सबै अन्डाको आकार एउटै हुन्छ ? मेरो प्रश्न प्रति अरू दुई जना सहभागी आकर्षित भए र हामी तीन जनाले मिलेर यसमा तीन दिन काम गर्‍यौं । प्रश्नको उत्तर खोज्न सर्वप्रथम हामीले प्रयोग, अवलोकन र निष्कर्षको रूपरेखा तयार गर्‍यौं ।


आफ्ना प्रश्नहरूको उत्तार प्राप्त गर्न यसरी प्रयोग र छानबीन गर्दा विज्ञान सिक्ने–सिकाउने बारेमा सानै भए पनि एउटा गोरेटो पहिल्याइन्छ ।

प्रयोगका लागि चार वटा वस्तु जोरजाम गर्नुपर्ने ठहर गरियोः क. ६ वटा अन्डा, ख. अन्डाको वजन मापन गर्न सामान्य होइन डिजिटल मापनयन्त्र, तराजु ग. अन्डाको लम्बाइ र गोलाइ नाप्न ‘वर्निर क्यालिपर्स’, घ. अन्डाको आयतन नाप्न आयतनमापी भाँडो । अन्डा बाहेक तीनवटै उपकरण ‘एकलव्य’ को प्रयोगशालामा उपलब्ध थिए । हामीले बजारबाट ६ वटा अन्डा किनेर ल्यायौं । हेर्दा सबै उस्तै देखिन्थे । अब हामीले नापजोख शुरू गर्‍यौं ।

सबैभन्दा पहिले हामीले अन्डाको वजन लिन थाल्यौं । यस क्रममा दुइटा कुराको ज्ञान भयो । १. कोठामाथि घुमिरहेको पंखा बन्द गर्नुपर्छ, नत्र वजनमा फरक पर्छ । किन भने, हाम्रो डिजिटल मापनयन्त्र अत्यन्त संवेदनशील थियो । २. अन्डाहरूलाई पृथक् पहिचान गर्न नम्बर लगाइदिनुपर्छ । गर्मीको मौसम भए पनि हामीले पंखाको स्विच अफ गर्‍यौं । अन्डामा क्रमशः १,२,३,४,५,६ नम्बर लेख्यौं । त्यसै अनुसार पालैपालो तिनको वजन लियौं र नोटबुकमा नोट गर्‍यौं ।

अब सबै अन्डाको लम्बाइ र गोलाइ नाप्नु थियो । लम्बाइ नाप्न गोलाइ भन्दा अलिक सजिलो हुँदोरहेछ । वर्नियर क्यार्लिपर्स को सहायताले हरेक अन्डाको लम्बाइ र गोलाइको माप निकाल्यौं । आयतन नाप्न आयतनमापी भाँडोमा निश्चित नापसम्म पानी भरेर एक–एक अन्डा डुबाउँदै गयौं र पानी जति माथि उठ्यो, तदनुसार आयतनको पनि हिसाब निकाल्यौं । (हेर्नोस् तालिका–१) यो प्रयोग ८ मई २०१६, दिउसो २ देखि ३ बजेसम्ममा गरिएको थियो ।

यति गरिसक्दा हामीसँग अन्डा सम्बन्धी नयाँ जानकारी थिए । यी जानकारीबाट साक्ष्य–आधारित निर्णयमा पुग्नु अघि एक जना साथीले प्रश्न उठाए– यी सबै अन्डा एकै दिन पैदा भएका हुन् त ?

हामीलाई थाहा थिएन । पसलबाट ल्याइएका अन्डाबारे यस्तो दाबी गर्न सकिंदैन । प्रश्नका पछाडि रहेको तर्क थियो– अन्डाको उमेर बढ्दै जाँदा तिनको वजन घट्ने वा बढ्ने पो हुन्छ कि ? यसलाई जाँच्न हामीले अरू तीन दिनसम्म निश्चित समयमा तिनको वजन लियौं । (हेर्नोस् तालिका–२) यसबाट के थाहा पाइयो भने दिन बित्दै जाँदा अन्डाको वजन घट्दो रहेछ । लम्बाइ र चौडाइमा कुनै फरक पर्दो रहेनछ, तर औसतमा एउटा अन्डाको वजन प्रतिदिन २१६ मिलिग्रामसम्म कम हुँदोरहेछ ।

हामीले ल्याएका ६ वटा अन्डामध्ये कुनै दुइटाको पनि लम्बाइ–चौडाइ ठ्याक्क उस्तै थिएन । हामीलाई लाग्यो, हाम्रो ‘स्याम्पल साइज’ धेरै सानो भयो । त्यसैले हामीले ६ वटा अन्डा थप्ने निधो गर्‍यौं । तिनलाई ७ देखि १२ सम्म नम्बर दियौं र तिनको पनि पहिले जस्तै गरी नापजोख गर्‍यौं । पुराना अन्डाको ८ तारिखको र नयाँ अन्डाको १० तारिखको मापलाई एक ठाउँमा राखेर तालिका बनायौं । सबै अन्डाहरूको आयतन लगभग ५० मिलिमिटर भएकाले तालिकामा त्यसलाई समावेश गरिएन । (हेर्नोस्, तालिका–३)

तर, यो तालिकालाई हेरेर सोझै कुनै क्रमिक सहसम्बन्ध निकाल्न सजिलो देखिएन । अनि एउटा विचार आयो– अन्डालाई तिनको वजनको बढ्दो क्रममा तालिका बनाऊ । हामीले त्यसै गर्‍यौं । (हेर्नोस्, तालिका–४)

यस तालिकाबाट केकस्ता निष्कर्ष निकाल्न सकिएला ? एउटा कुरा चाहिं स्पष्टै देखिन्छ– अन्डाको वजनमा तिनको मोटाइ र लम्बाइले असर पार्दोरहेछ । यसलाई अझ् राम्ररी बुझन हामीले अर्को तालिका बनायौं, अन्डालाई तिनको मोटाइको बढ्दो क्रममा राखेर । (हेर्नोस्, तालिका–५)

यसबाट के देख्न सकिन्छ भने, अन्डाको मोटाइ (अधिकतम व्यास) मा खासै फरक छैन । ६ वटा अन्डा लगभग ४.२ सेन्टिमिटरका छन्, पाँच वटा ४.३ सेन्टिमिटरका छन् र एउटा ४.४ सेन्टिमिटरको छ । यसप्रकार सबै अन्डाको औसत मोटाइ ४.२५ सेन्टिमिटर देखिन्छ । यस तालिकाबाट निस्कने अर्को निष्कर्ष के हो भने, समान मोटाइ भएका अन्डाको लम्बाइमा एक मिलिमिटरको फरक हुँदा तिनको वजनमा लगभग एक ग्राम फरक पर्छ ।

हामीले सबै अन्डाको लम्बाइको बढ्दो क्रममा तालिका बनाएर हेर्‍यौं । (हेर्नोस्, तालिका–६) यस तालिकाबाट थाहा हुन्छ, अन्डाको लम्बाइ ५.५ देखि ५.८ सेन्टिमिटरसम्म छ । औसतमा लगभग ५.७ सेन्टिमिटर । यसबाट निस्कने अर्को निष्कर्ष चाहिं के हो भने, अन्डाको मोटाइमा एक मिलिमिटरको अन्तर हुँदा तिनको वजनमा लगभग तीन ग्रामको अन्तर आउँछ ।

समग्र १२ वटा अन्डाको औसत वजन ६५.८७ ग्राम छ । यसमा चारवटा अन्डा लगभग ६६.३ ग्रामका छन् । अतः हामी के भन्न सक्छौं भने, कुखुराका अन्डाको वजन लगभग ६६ ग्राम हुन्छ । आफ्नो प्रयोगको निष्कर्ष प्रस्तुत गर्न लाग्दा हामीले प्रशिक्षणका सहभागीहरूलाई एउटा अन्डाको वजन कति हुन्छ भनेर अनुमान गर्न लगायौं । उनीहरूको अनुमान १०० ग्रामदेखि २०० ग्रामसम्मको थियो । जब हामीले हाम्रो प्रयोग र नापजोखको निष्कर्ष प्रस्तुत गर्‍यौं, यो कुरा सबैका लागि नयाँ जानकारीभन्दा बढी नै रोचक र रोमाञ्चक थियो । आफ्नो अनुमान गलत भएको सन्ताप कसैलाई थिएन, बरु एउटा उपलब्धि हासिल गरेको सन्तोष थियो । सबैजना यी निष्कर्ष हासिल गर्न आफू पनि सहभागी भएको ठानिरहेका थिए ।

यसप्रकार, जुम्ल्याहा जस्ता देखिने अन्डाहरूका बारेमा हामीले पहिलेभन्दा बढी जान्यौं । तिनको वजनका बारेमा मात्र होइन, तिनको उँचाइ र मोटाइका बारेमा पनि । प्रयोगशालाको काम सकेपछि हामीले अन्डाको वजनका बारेमा इन्टरनेटमा पनि खोजतलाश गर्‍यौं । त्यहाँको स्रोतबाट के जानकारी पाइयो भने, सामान्य अन्डाको वजन ६३ देखि ६७ ग्रामसम्म हुन्छ ।

आफ्ना प्रश्नहरूको उत्तर प्राप्त गर्न यसरी प्रयोग र छानबीन गर्दा विज्ञान सिक्ने–सिकाउने बारेमा सानै भए पनि एउटा गोरेटो पहिल्याइन्छ । विज्ञानका कक्षाहरूमा, आफ्नो वा विद्यार्थीको मनमा उठ्ने प्रश्नका लागि सानो ठाउँ निकाल्न सक्यौं भने उत्तर खोजतलाश गर्न ठूलो ठाउँ आफैं निस्कन थाल्छ । भनिरहनु नपर्ला, म आफ्नो कक्षाका केटाकेटीलाई पहिल्यै जानेको बनिबनाउ उत्तर बताउने होइन, प्रश्नको उत्तर खोजतलाश गर्न प्रयोगको गोरेटो देखाउने सुरमा थिएँ ।

लेखक दुई दशकभन्दा बढी समयदेखि स्रोत शिक्षकका रूपमा क्रियाशील छन् ।

साभारः पाठशाला, फेब्रुअरी २०१९

भाषान्तर/सम्पादनः शरच्चन्द्र वस्ती

शिक्षक  मासिक, २०७६ वैशाख अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial