सामुदायिक विद्यालयको अंग्रेजी माध्यम निल्नु न ओकल्नु !

विद्यार्थी जोगाइ राख्ने अस्त्रका रूपमा प्रयोग गरिएको अंगे्रजी माध्यम आज धेरै विद्यालयलाई घाँडो भएको छ। न त अंग्रेजी माध्यम सजिलै त्याग्न सक्ने स्थिति छ, न त्यसलाई राम्रोसँग पार लगाउने अवस्था छ। बडो बिजोग छ तिनको अवस्था !

अंग्रेजीमा फरर्र बोल्न सक्ने हुँदा हामी गर्वको अनुभूति गर्छौं । छोराछोरीले अंगे्रजी भाषा बोलेको र पढेको सुन्न पाए हामी आफैंमा सगरमाथा चढेको तथा समुद्र तरेको जस्तै खुशी, सफलता सहित प्रगतिको मीठो फल चाखेको महसूस गर्छौं । विद्यार्थीले जानून्–नजानून्, सिकून्–नसिकून्, जे जसरी भए पनि हामी उनीहरूलाई अंग्रेजीको बोझ् बोकाउँछौं । हामीमा अंग्रेजीको मोहले नराम्रोसँग जरा गाडेको स्थिति छ ।

अन्तर्राष्ट्रिय भाषाको रूपमा थाम्नै नसक्ने गहु्रँगो भारी भिराइदिएर हामी आफ्ना शिशु, बालबच्चा र साना नानीबाबुहरूको सिकाइलाई झ्न् हतोत्साहित बनाइदिंदैछांै । समाजमा घोकन्ते विद्याको रूपमा उपाधि पाएको अंग्रेजी भाषाको शिक्षण नेपाली विद्यार्थी भाइबहिनीहरूलाई असाध्यै गाह्रो लागेको छ । तैपनि सकी–नसकी पृष्ठभूमि अर्थात् अंग्रेजीको आधार विना एक्कासी अभियानस्वरुप अर्काको देखासिकी वा बहकाउमा परेर अंग्रेजी माध्यमका पुस्तकहरू प्रयोग गरी सिकाउन खोज्दा झ्न् विद्यार्थीलाई मझ्धारमा उभ्याइदियौं ।

आखिर शिक्षण भनेको माध्यम नभएर विषयवस्तु जान्ने, बुझने र सिक्ने व्यवस्थापनमा सफलता दिलाउनु हो । तह, स्तर, उमेर, आवश्यकता, रुचिमा आधारित रहेर विद्यार्थीले जसरी सिक्छ, जुन भाषामा सिक्छ, त्यही भाषा, माध्यम, आवश्यकता, विधि र योजना अनुरूप शिक्षण गराउनुपर्नेमा हामी त्यही कुराबाट चुकिरह्यौं । सिकाइको स्तर, रुचि र आवश्यकताको विचारै नगरिकन अंगे्रजी निजी विद्यालयले चलाए भन्दैमा सामुदायिक विद्यालयले पनि अन्धाधुन्द अंगे्रजी माध्यममा जकडेर विद्यार्थीलाई घरको न घाटको बनाउने काम हामीहरूले गरेका छौं । अंगे्रजी माध्यम एकैचोटि लागू गर्दा त्यसले पार्ने प्रभावको मूल्याङ्कन विना स्तर, परिवेश, संरचना आदिको ख्याल तथा विश्लेषण गरेनौं । आफ्नो भाषा, धर्म, परम्परा, परिवेश सबै बिर्सेर परिवर्तनका थोत्रा नारा जप्दै विद्यार्थी जोगाइ राख्ने अस्त्रका रूपमा विद्यालयमा प्रयोग गरिएको यो माध्यम आज आफैंलाई घाँडो भएको स्थिति छ । लागू गर्ने बेलामा जेनतेन लागू गरे पनि अहिले आएर न त त्यहाँबाट फर्कने स्थिति छ, न त्यसलाई राम्रोसँग पार लगाउने अवस्था छ । बडो बिजोगको अवस्थामा गुज्रिरहेका छन् अहिले अंग्रेजी माध्यम लागू गर्ने कतिपय सामुदायिक विद्यालय ।

फगत अर्काको देखासिकीमा हामीले लागू गर्न खोजेको अंगे्रजी माध्यमको पढाइ आज ‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा’ जस्तो भएको छ । समुदाय, अभिभावक, स्कूल व्यवस्थापन र विद्यार्थीको स्तर आदि कुनै पनि कुराको गहन विश्लेषण नगरी, स्कूलको भौतिक, शैक्षिक र सामाजिक पूर्वाधारको वास्तै नगरी, विद्यालयका शिक्षकले एकैचोटि भाषाको माध्यम आफूले स्वीकारेर विद्यार्थीलाई पूर्णतः स्वीकार्न सक्ने बनाउँछन् बनाउँदैनन् आदि कुनै कुराको विवेचना नगरी अनिवार्य अंग्रेजी माध्यम लागू ग¥यौं । आधा नेपाली र आधा अंगे्रजी गरेर अकमकाउँदै कनिकुथी सिकाएको अंग्रेजी माध्यमबाट कक्षा चढाउँदै जाँदा भोलि त्यो विद्यार्थी न त अंग्रेजी परिवेशको हुन्छ, न नेपाली परिवेश बमोजिम बन्छ । झ्न् हामीले त सिकाउने अभियानमा उसलाई थप अनिर्णयको बन्दी बनाइदिएका छौं ।

हामी आज नेपालमै नेपाली भाषालाई उपेक्षा गर्छौं । नेपाली भनेपछि ओठमुख खुम्च्याउँछौं । म नेपाली पढ्छु भनेर गर्वका साथ एउटा विद्यार्थीले भन्न सक्दैन । किन हामी लाज मान्छौं ? किन हीनताबोध गर्छौं ? तपाईं आफ्नो विषय तथा भाषामा दक्ष हुनुहुन्छ भने त्यहाँ लाज मान्नुपर्ने अवस्था रहन्छ र ? सिकाउने कुरा हामीले नेपालीमै सिकाए हुँदैन र ? भाषामा दक्ष बनाउन नेपाली भाषामा बुझए हुँदैन र ? देशको राष्ट्रभाषालाई उपेक्षा गर्दै अंग्रेजी भाषा सुमसुम्याएर बडो गर्व गर्ने हामी विद्यालयमा विद्यार्थी रहून् या नरहून् त्यसलाई पर सारेर माध्यम बदल्दैमा हाम्रो सिकाइको स्तरले आकाश छुदैन भन्ने कुरामा विश्वस्त हुन नसक्दा यो अन्योल देखिएको हो ।

हामीले आफूलाई जतिसुकै अंग्रेजी भाषामा पोखौं, फरक अंग्रेजी बोलौं तर त्यो अंग्रेजी अंग्रेजी बन्दैन किनकि हाम्रो रगत, भाषा, धर्म, पेशा, संस्कृित, समाज र जीवनपद्धतिभित्र नेपाली लुकेको छ । हामीले प्रयोग गर्ने अंग्रेजी बनावटी र केवल देखावटीमा मात्र सीमित रहन्छ । सिक्ने र सिकाउने बहानामा अवोध बाल मस्तिष्कभित्र उच्चारण गर्न नसक्ने र त्यही शब्द, वाक्यलाई परिवेश, समाजसँग गाँस्न नसक्ने सिकाइ सफल, सार्थक र उपलब्धिमूलक कदापि बन्दैन भन्ने कुरा नबुझ्ी सकी–नसकी अंग्रेजीका ठूला–ठूला ठेली लगेर लौरो देखाउँदै दबाबमूलक वातावरणमा सिकाएको सिकाइले के प्रतिफल देला ?

सरकारले नै भनिदिनुपर्छ— अंग्रेजी माध्यम अनिवार्य होइन, सक्नेले अंग्रेजीलाई माध्यम भाषा बनाऊ, नसक्नेले सजिलो माध्यम भाषा रोजेर विद्यार्थीलाई ज्ञान चाहिं देऊ !

हामीले आफ्नो विद्यार्थी जीवनको यात्रामा सानैदेखि दिमागभित्र गहिरोसँग अंगे्रजी गाह्रो छ भन्ने हाउगुजीका रूपमा अथ्र्यायौं र पछि आफू शिक्षक बनेर कक्षाकोठामा छिर्दा पनि दिमागभित्र बसेको अंग्रेजी अप्ठेरोको छाप तथा दाग मेटिन सकेन । एक त हाम्रो प्रारम्भिक माध्यम भाषा अंग्रेजी नभएर हो या त हामी बोलीचालीको माध्यम भाषाका रूपमा अंग्रेजी प्रयोग गर्ने नभएर हो, अंग्रेजी हाम्रा लागि र हाम्रा नानीबाबुहरूका लागि साह्रै असहज, अप्ठेरो र जटिल देखियो । तलैदेखि अंग्रेजीमा विद्यार्थीलाई अभ्यास गराउन अंग्रेजी अन्य भाषा जस्तै हो, बोल्न थालेपछि र अभ्यास गर्दै जाँदा सिकिन्छ भन्ने कुरामा स्वयं विश्वस्त भएनांै ।

अर्कोतर्फ हामी शिक्षक भएर पनि वास्तवमा भाषा नै सबै कुरा होइन भन्ने कुरामा विश्वास दिलाउन सकेनांै । अर्काको पछि पछि दगुरेर आफ्नो विद्यालयको भौतिक, शैक्षिक संरचना नबुझ्ी एकैचोटि विद्यार्थीले सक्छन् कि सक्दैनन्, सिकाइ उपलब्धि वृद्धि हुन्छ या घट्छ भन्ने कुरामा निश्चित नगरी विद्यार्थीको थाप्लोमा अंग्रेजीको भूत सवार गरिदियौं । अंग्रेजीलाई सानैबाट हाउगुजीका रूपमा अनुभूति गर्ने विद्यार्थीहरू शुद्धसँग एउटा वाक्य उच्चारण गर्न पनि सक्षम नहुँदै हामीले तिनलाई कक्षा चढाइरह्यांै । त्यही कारण आज हाम्रो अंग्रेजी न त अंग्रेजीका रूपमा रह्यो न त नेपालीका रूपमा देखा प¥यो । यसबाट येनकेन् हामी अंग्रेजी माध्यम चलाउने विद्यालयका रूपमा त गणना भयौं, तर विद्यार्थीमा उपलब्धि बढ्नुको सट्टा झ्न्झ्न् कृत्रिमता र जटिलता थपिंदै गयो ।

भाषाको माध्यम फेर्दैमा त्यसबाट शिक्षण सिकाइले गति लिन्छ भन्ने कुरा पनि यथार्थमा परिणत भएन । शिक्षक तालिमसँगै आधुनिक प्रविधिमैत्री सूचना–सञ्चारमा आधारित शिक्षण व्यवस्थापन नगरुञ्जेलसम्म र सम्पूर्ण भौतिक, आर्थिक, शैक्षिक व्यवस्थापन दरिलो नबनाएसम्म तथा अभिभावकमा अंग्रेजी नै सबै होइन, विद्यार्थीमा निहित प्रतिभा विकासका निम्ति नेपाली भाषाले पनि सक्षमता दिलाउन सक्ने कुरामा विश्वास नदिलाएसम्म हामीले अंग्रेजीमा उपलब्धि दिन सक्दैनांै । स्वतन्त्र वातावरणमा सिकाइ हुने भए पनि अंग्रेजी माध्यमले विद्यार्थीलाई सीमित बनाइदिएको छ । चौतर्फी ज्ञान छोडेर एकोहोरो किताबभित्रका कुरामा ध्यान केन्द्रित गर्दै यान्त्रिक हुन बाध्य पारेको स्थिति छ ।

तसर्थ, सरकारले नै भनिदिनुपर्छ— अंग्रेजी माध्यम अनिवार्य होइन । सक्नेले अथवा विद्यालय सक्षम छ भने यस्तो अंग्रेजीलाई माध्यम भाषा बनाऔं र यदि सकिंदैन भने जे जसरी ज्ञान दिन सकिन्छ त्यही माध्यम भाषा रोजेर अघि बढौं, विद्यार्थीलाई ज्ञान चाहिं दिऊँ !

सरस्वती माध्यमिक विद्यालय, सत्यवती–६, जोहाङ्ग, गुल्मी

commercial commercial commercial commercial