म्याथ्स आर्ट नियाल्दा

गणित विज्ञान हो भने गणित सिकाउने काम कला हो । सम्भवतः त्यसैले कक्षा–४ देखि १० सम्मका विद्यार्थीलाई गणित सिकाउनका लागि तयार गरिएको पाठ्यसामग्रीलाई ‘म्याथ्स आर्ट’ (Maths Art) अर्थात् ‘गणित कला’ नाम दिइएको हो । गणितविज्ञ हरिनारायण उपाध्यायको म्याथ्स आर्ट को सदुपयोग भएमा गणित अब सबैभन्दा धेरै विद्यार्थी फेल हुने विषय होइन, विद्यार्थीले मनपराउने सजिलो र रमाइलो विषय सावित हुनेछ ।

गणित कला शृंखलाको विशेषता र उपयोगिता
गणित कला शृंखला कान्तिपुर शिक्षा विकास परिषद् महाराजगञ्ज, काठमाडांैबाट प्रकाशित भएको हो । पाठ्यक्रम विकास केन्द्रको कक्षा–४ देखि १० सम्मको पाठ्यक्रममा आधारित भएर गणित अध्ययन अध्यापनका लागि तयार पारिएको यो शृंखला गणितका शिक्षक, विद्यार्थी र अभिभावकका लागि उपहार र सानो पुस्तिकाका रूपमा गणितको एउटा प्रयोगशाला नै सावित हुन सक्छ । उदाहरणका लागि, कक्षा–४ को लागि तयार पारिएको गणित कलाको पुस्तकमा २० वटा प्रयोगात्मक कुराहरू टानग्राम, कागज र अन्य ठोस सामग्रीमा आधारित भएर विभिन्न ज्यामितीय आकारको ज्ञान, कोणको निर्माण, कोणको नाप वा मान, कोणको प्रकार, क्षेत्रफल र परिधिको सम्बन्ध, ग्राफबाट क्षेत्रफल र परिधिको ज्ञान, स्थान मान, ‘भन्दा साना’ र ‘भन्दा ठूला’ संख्या, समतुल्य अनुपात, पूरा भाग र अनुपात, अनुपातको जोड, अनुपातको घटाउ, दशमलवको परिचय, प्रतिशत, ऐकिक नियमको तरिका, स्तम्भ रेखामा तथ्याङ्कको प्रस्तुति र बीजगणितीय समीकरणमा आधारित प्रयोगात्मक गणितीय तथ्य उल्लेख गरी कार्यमूलक रूपमा राखिएको छ । यस पुस्तकमाला अन्तर्गतका सबै कक्षाका पाठ्यसामग्री यस्तै किसिमले, सिकाइलाई सजिलो पार्ने हिसाबले डिजाइन गरिएको छ । यो पुस्तकमालामा सीपमूलक गणितीय कार्यलाई आवश्यकता अनुसार शिक्षक विद्यार्थीको सहमतिमा समय निर्धारण गरी काम गर्न पनि सकिने व्यवस्था गरिएको छ । काम सम्पन्न गरेको अभिलेख पनि यी किताबमै राख्न सकिन्छ । सिकाइ सिद्धान्त; क्रियाकलाप, अवलोकन र सामान्यीकरणको अवधारणा आत्मसात् गर्दै गरिएको सरल र व्यावहारिक प्रस्तुति म्याथ्स आर्ट को विशेषता हो ।

यो पुस्तकले कक्षा–११ र १२; बी.एड. तथा एम.एड. तहका विद्यार्थीको प्रयोगात्मक सीपमा समेत सहयोग पु¥याउँछ । त्यसबाट ती सिकारु शिक्षकले कागज, काठ तथा विविध खेर गएका सामग्रीको प्रयोगबाट गणित शिक्षण तथा सिकाइमा बहुपयोगी सामग्रीहरू तयार गर्न सक्नेछन् । यसमा दैनिक व्यवहारमा र अन्य विविध प्रसंगमा आइरहने गणितका अवधारणाहरूलाई पनि सबैले बुझने हिसाबले देखाउने काम पनि भएको छ ।

कक्षा–४, ५, ६, ७, ९, १० का यी किताबमा २० वटाका दरले प्रयोगात्मक सामग्री दिइएका छन् भने कक्षा–८ को गणित कलामा २१ वटा प्रयोगात्मक पाठ दिइएका छन् । त्यहाँ मूल्याङ्कन पत्र र मौखिक प्रश्नोत्तरका लागि चाहिने प्रश्न पनि दिइएका छन् । विषय शिक्षक, विभागीय प्रमुख, हेडमास्टर, अभिभावक र बाह्य परीक्षकबाट मूल्याङ्कन गर्ने गरी सहज वातावरणमा विद्यार्थीको उपलब्धि परीक्षणको प्रयोगात्मक धारणा अघि सारिएको छ । त्यसका लागि २५ पूर्णाङ्क छुट्याइएको छ । अप्ठ्यारा शब्द र पदहरूका लागि अंग्रेजीको वर्णानुक्रम अनुसार गणित शब्दावली पनि किताबमा दिइएको छ ।

अन्त्यमा, गणित शिक्षाका सन्दर्भमा हरिनारायण उपाध्यायको नाम नौलो होइन । उहाँले ताकायुकी कितादाइको सहयोगमा तयार गरेको किताब ‘कागज पट्याऊ, काटौं र गणित सिकौं’ २०५२ मा पाठ्यक्रम विकास केन्द्रले नै प्रकाशन गरेको थियो ।

सकेसम्म एकरूपता कायम गर्ने गरी सस्तो मूल्यका रङ्गीन रूपमा छापिएका गणित मालाका कक्षा–४ देखि १० सम्मका पुस्तकले विद्यार्थीलाई सजिलै आकर्षण गरी गणितको धारणामा सकारात्मक परिवर्तन ल्याउन नसक्ने देखिन्छ । ती कृतिको अंकित मूल्य रु.१५१ (कक्षा–४, ५ र ७), रु.१६२ (कक्षा–६ र ८), रु.१३३ (कक्षा–९), रु.१३९ (कक्षा–१०) रहेको छ । यसै आधारमा टुलबक्स पनि एक डेढसय भित्र तयार पार्न सकेमा सालाखाला रु.३०० मा प्रत्येक कक्षाको पाठ्यक्रममा आधारित पाठ्यसामग्री प्राप्त गर्न सकिने देखिन्छ ।

(समीक्षक शिक्षाशास्त्र केन्द्रीय विभाग (गणित शिक्षा), त्रिवि कीर्तिपुरमा सहप्राध्यापक छन् ।)

commercial commercial commercial commercial