शेयर गर्ने बानी सुधारौं !
ह्वाट्सएप बाट फैलिएको मिथ्या सूचनाका कारण सन् २०१८ का प्रथम ८ महीनामा भारतमा कुटपिटका ५६ वटा घटना भए, जसमा ४९ जनाको ज्यानै गयो ।
अंग्रेजीमा एउटा भनाइ छ— शेयरिङ इज केयरिङ अर्थात् बाँड्नु भनेको हेरचाह÷स्नेह गर्नु पनि हो । सामान्यतया घरमा वा विद्यालयमा बालबालिकालाई पनि हामी खेलौना वा खानेकुरा साथीहरूसँग बाँड्नुपर्छ भनेर राम्रो बानीका रूपमा सिकाउने गर्छौं । तर स्वस्थ खानेकुरा, राम्रा सूचना र राम्रो वस्तु मात्रै बाँड्नु लाभदायी हुन्छ; अन्यथा त्यसको असर नकारात्मक हुन पनि सक्छ ।
इन्टरनेटले सूचनामा क्रान्ति गरेको छ र क्षणभरमै कुनै पनि सूचना संसारभर फैलन सक्छ । तर त्यो सूचनाबाट कहाँ, कसलाई र कहिले के कस्तो प्रभाव पर्छ भन्ने कुरा अनुमान गर्न सकिन्न । सन्देश आदान–प्रदान खुबै प्रयोग हुने ह्वाट्सएप बाट फैलिएको मिथ्या सूचनाका कारण सन् २०१८ का प्रथम ८ महीनामा भारतमा कुटपिटका ५६ वटा घटना भए, जसमा ४९ जनाको ज्यानै गयो । ती सबै घटनाको शुरूआत ह्वाट्सएप मा आएका सूचना मानिसहरूले एकआपसमा बाँडेका (शेयर गरेका) र विश्वास गरेका कारण भएको थियो । नागरिकहरूलाई मिथ्या सूचना नबाँड्न गरिएको व्यापक आग्रह पछि पनि यो क्रम रोकिएको छैन । भारतमा मात्रै होइन संसारभर नै यस्तो भइरहेको छ ।
भारतको मद्रास उच्च अदालतले फेसबुक वा ट्विटर जस्ता कुनै पनि सोसल मिडिया वा ह्वाट्सएप वा भाइवर जस्ता सन्देश आदान–प्रदान गर्ने प्रविधिमार्फत फैलिएका (शेयर गरिएका) कुनै पनि गलत सूचनाका लागि बाँड्ने वा शेयर गर्ने व्यक्ति पनि सूचना पैदा गर्ने व्यक्ति जत्तिकै जिम्मेवार हुनुपर्ने आशयको फैसला गरेको छ । अर्थात्, अब त्यहाँ सोसल मिडियामा ‘अरूले पठाएको सन्देश मैले बाँडेको (शेयर गरेको) मात्रै हुँ’ भनेर जिम्मेवारीबाट पन्छिन मिल्दैन । अदालतको त्यो फैसलाले सोसल मिडियामा केही कुरा लेख्नु वा अरूले लेखेका–पठाएका कुराहरू लाइक वा शेयर गर्नुलाई उस्तै र उत्तिकै जिम्मेवारीको कामका रूपमा व्याख्या गरेको छ ।
नेपालमा पनि सोसल मिडिया व्यापक भइसकेको छ । लगभग एक करोड नेपालीको फेसबुकमा खाता छ । हामी फेसबुकमा कुनै न कुनै कुरा लेखिरहेका वा साथीभाइहरूले लेखेका कुरालाई ‘लाइक’ वा ‘शेयर’ गरिरहेका हुन्छौं । कुनै अप्ठ्यारो नपर्दासम्म प्रायः सबैलाई लाग्छ— “साथीभाइमा शेयर गर्दा के नै हुन्छ होला र !” तर फेसबुकमार्फत आफूबाट फुत्किएको कुरा कहाँसम्म पुग्छ भन्ने कसैलाई पनि थाहा हुँदैन । त्यसैले मिथ्या सूचनाका बारेमा सजग हुनु र अरूलाई पनि सजक बनाउनु जरूरी छ । समाजमा वैचारिक नेतृत्व गर्ने वर्ग— शिक्षक, पत्रकार र नेताहरू यसमा विशेष रूपमा सजग हुनु जरूरी हुन्छ किनभने उनीहरूले लेखेका वा शेयर गरेका कुरालाई आम मानिसले बढी विश्वास गर्छन् । शिक्षकहरूले सोसल मिडिया चलाउँदा आफू मात्रै सजग हुने होइन, विद्यार्थीलाई समेत सजग हुन सिकाउनु आवश्यक हुन्छ ।
सूचना र सम्बन्धका लागि सोसल मिडिया अत्यन्त उपयोगी छ; तर यो दुवैतर्फ धार भएको तरबार जस्तो पनि हो । यसमार्फत प्राप्त हुने सूचना सधैं सही हुन्छन् भन्न सकिन्न । अझ् आजकाल त यसमा सही भन्दा मिथ्या सूचनाको बाढी छ । यसर्थ सूचना र सन्देश आदान–प्रदानका लागि यसको प्रयोग सचेत भएर मात्र गर्नु जरूरी छ । विशेषतः अरूबाट प्राप्त सूचना शेयर गर्दा बढी सतर्क हुनु जरूरी छ ।
ख्याल गरौं—
१. जे कुरा सामान्यतया अफलाइन (वा इन्टरनेटबाहिर) गरिन्छ, ती कुरा इन्टरनेटमा नगर्नु भन्ने भनाइ छ । तर समाजमा भनिने कुराहरू पनि इन्टरनेट वा सोसल मिडियामा भन्दा सजग हुनुपर्छ । इन्टरनेटमा लेखिएका कुराहरू स्थायी हुने र त्यसको पहुँच वा असर अनुमान गर्न नसकिने हुँदा यसमा लेख्दा विचार पु¥याउनुपर्छ । आज लेखिएका कुरा महीनौं वा वर्षौं रहन्छन् र त्यसबेला आफ्नै लेखनीले सताउन सक्छ ।
२. थाहा नभएका र पक्का नभएका विषयवस्तु वा घटनाका बारेमा विवरण वा आफ्नो विचार लेख्नु उचित होइन । कुनै पनि विषयवस्तुमाथि लेख्दा हामीले ती कुरा सत्य र तथ्यमा आधारित हुन् कि होइनन् भन्ने पहिले नै पक्का गर्नुपर्छ ।
३. शेयर गर्नु अगाडि विचार गर्नै पर्छ । जत्तिकै नजिकका साथीबाट आएको भए पनि कुनै पनि सूचनामा तुरुन्तै विश्वास गर्नु वा त्यसलाई शेयर गर्नुको परिणाम राम्रो हुँदैन । कुनै पनि सूचना वा घटना शेयर गर्नु भनेको त्यसलाई हामीले पत्याएर अरू साथीभाइहरूलाई पनि जानकारी दिनु हो । यसर्थ सूचना फैलाउन हतार गर्नुहुँदैन । अत्यावश्यक बाहेकका कुराहरू शेयर गर्ने बानी छ भने पनि छाड्नु राम्रो हुन्छ ।
इन्टरनेटमा राम्रा कुरा शेयर गर्नु साथीभाइलाई माया गर्नु हो, नराम्रा कुरा शेयर गर्नु दुश्मनी सरह हो ! हेक्का राखौं !