बालबालिकामा अमिल्दो जुत्तााको असर पैतालादेखि मस्तिष्कसम्म

जुत्ताको सन्दर्भमा एउटा चर्चित भनाइ छ— ‘यदि तपाईंलाई कुनै कुराको चिन्ताले पछ्याइरहेको छ भने दिनभर आफ्नो खुट्टाभन्दा सानो साइजको जुत्ता लगाएर हिंड्नुस्, त्यो चिन्ताबाट मुक्ति पाउनुहुन्छ !’

हुन पनि, त्यसरी खुट्टामा नमिलेको वा अप्ठ्यारो जुत्ता लगाएर दिनभरि हिंड्दा, मानिसको पुरानो चिन्ता वा दुःखको ठाउँ जुत्ताको नयाँ दुःखाइ र घोचाइले लिइसकेको हुन्छ । अनि साँझ्मा अप्ठ्यारा जुत्ता फुकालेर घर पस्ता अपूर्व आनन्द अनुभव भैहाल्छ ।

हलुका पारामै भनिएको भए पनि जुत्ताको विषयमा यो भनाइ निकै सान्दर्भिक पनि देखिन्छ । दैनिक जीवनमा हामीले प्रयोग गर्दै आएका जुत्ताको गलत साइजले हामीमा मानसिक मात्र होइन शारीरिक रूपमै पनि गम्भीर समस्याहरू उत्पन्न गराइरहेको हुन्छ । तथापि खुट्टामा नमिलेका वा अप्ठ्यारा जुत्ताले निम्त्याउने समस्याका विषयमा हामी नेपालीहरू खासै सचेत देखिंदैनौं । जुत्ताको गलत साइजले निम्त्याउने शारीरिक र मानसिक समस्याका विषयमा जानकार नहुनु पनि यसको एउटा कारण हुन सक्छ ।

जुत्ता पसलमा हामी
सामान्यतः हामी जुत्ता पसलमा गएपछि सबैभन्दा पहिले जुत्ताको डिजाइन हेर्छौं, जुत्ताको मूल्य सोध्छौं । अनि पसलेसँग जुत्ताको मोलतोल गर्छौं । त्यसपछि मात्र हामी आफ्नो खुट्टा र जुत्ताको साइजको प्रसंग निकाल्छौं । रङ, डिजाइन र मोलतोलमा चित्त बुझ्ेको छ भने आफ्नो खुट्टाभन्दा केही सानो वा ठूलो भए पनि हामी त्यही जुत्ता किनेर फर्कन्छौं । ‘अलिकता सानो वा ठूलो त हो नि ! अलि बाक्लो वा पातलो मोजा लगायो भने ठीक भइहाल्छ !’ प्रायः हाम्रो प्रतिक्रिया यस्तै रहने गर्छ ।

अझ् बढ्दो उमेरका बालबालिकाको जुत्ता किन्न जाँदा त अभिभावकसँग अर्को तर्क पनि थपिन पुग्छ— ‘जुत्ता भनेको सधैं किन्ने कुरा हुँदैन । बढ्दो उमेरका केटाकेटीलाई अलिकता ठूलो भएर केही फरक पर्दैन । केही समयपछि खुट्टा बढिहाल्छ नि ! त्यसपछि साइज आफैं मिल्छ ।’ अधिकांश मध्यम र निम्नवर्गीय परिवारका लागि यो आर्थिक पक्षसँग जोडिएको विषय पनि हुन सक्छ ।

अर्कोतिर बालबालिकाको निम्ति जुत्ता वा कपडा किन्दा बालमनोविज्ञान र उपभोक्तावादी सोचले पनि उत्तिकै प्रभाव पारिरहेको हुन्छ । सामग्री छनोट गर्दा बालबालिकाले स्वभावतः ती वस्तुका वास्तविक फाइदा वा बेफाइदाभन्दा पनि तिनको रङ, डिजाइन, आकारप्रकार जस्ता कुरामा बढी ध्यान दिने गर्छन् । व्यापारिक प्रतिष्ठानहरूले पनि प्रायः त्यही बालमनोविज्ञानलाई ध्यानमा राखी आफ्ना उत्पादन बजारमा ल्याउने गर्छन् । जुत्ताको सन्दर्भमा त यो नियम अझ्ै बढी लागू हुन्छ ।

यताका दिनमा अधिकांश जुत्ता–उत्पादकहरूले जुत्ताको टिकाउपन, स्वास्थ्यको निम्ति अनुकूलता र सुविधा भन्दा पनि बालमनोविज्ञानलाई ध्यानमा राखी राम्रा डिजाइन र बाहिरी तडकभडकलाई बढी प्राथमिकता दिने गरेको पाइन्छ ।

प्रतिस्पर्धात्मक भावना बोकेका बालबालिका पनि त्यस्तै जुत्ता किनिदिन अभिभावकसँग जोडबल गर्छन् । अनि, बालबालिकाको जिद्दीका अगाडि निरीह बनेका अभिभावक पनि गुणस्तरलाई बेवास्ता गर्दै बालरुचिका कमसल र अस्वस्थ सामग्री किन्न समेत विवश हुन्छन् ।

बालबालिकाको पोशाक र त्यसले पार्ने प्रभावको विषयमा गहिरो अध्ययन गरेका खेलकुद विज्ञ दिवाकरलाल अमात्य भन्छन्, “खेलकुदमा सक्रिय बालबालिकाको शारीरिक तथा मानसिक विकास र खेल मैदानमा हुने प्रतिस्पर्धामा समेत तिनले प्रयोग गर्ने जुत्ताले ठूलो असर पार्ने गर्छ । नमिलेको र अप्ठ्यारो जुत्ता लगाएका बालबालिकाले पढाइ र खेल मैदानमा स्वाभाविक प्रदर्शन गर्न सक्दैनन् । तर तिनलाई आफ्नो जुत्ताका कारण आफूले राम्रो खेल्न नसकेको भन्ने थाहा हुँदैन । लगातार निराशाजनक प्रदर्शन गरेपछि बालबालिकामा हीनभाव (Inferiority complex) पैदा हुन सक्छ ।”

गलत जुत्ताको प्रयोगले बालबालिकालाई मानसिकसँगै शारीरिक समस्याले समेत पिरोल्ने अमात्यको ठम्याइ छ । “खासगरी १८ वर्षको उमेरसम्म बालबालिकामा हड्डीको विकास हुने गर्छ । तर, खुट्टाभन्दा सानो साइजको जुत्ता प्रयोग गर्ने बालबालिकाको हड्डीको विकास रोकिन पुग्छ । खुट्टाका औंला आपसमा जोडिएर पानी फोका उठ्न सक्छन् । खुट्टाको मांसपेशीमा समस्या देखिन्छ” उनी भन्छन् । अमात्यका अनुसार, चाहिने भन्दा ठूलो साइजको जुत्ता प्रयोग गर्दा पनि बालबालिकाको खुट्टाको अगाडिको भाग अस्वाभाविक रूपमा फैलन पुग्छ । यसका अतिरिक्त खुट्टामा अरू समस्या पनि देखिन्छन् । त्यसैले, गलत साइजको जुत्ताले बालबालिकामा पार्ने असरको बारेमा खेल मैदानमा खेल प्रशिक्षक, विद्यालयमा शिक्षक र घरमा अभिभावकले विशेष ध्यान दिनु आवश्यक रहेको अमात्यको कथन छ ।

बालबालिकाको पोशाकका सम्बन्धमा विभिन्न अध्ययन अनुसन्धान गर्दै आएको अनलाइन ‘ब्लिजरिजल्ट्स’ ले हालै (सन् २०१८) बालबालिकाले प्रयोग गर्ने जुत्ताको विषयमा पनि एउटा अनुसन्धान गराएको छ । सबै महादेशलाई समेट्ने गरी गरिएको उक्त अनुसन्धानको नतिजाले विश्वका ६५ प्रतिशत बालबालिकाले आफ्नो खुट्टाभन्दा सानो साइजको जुत्ता प्रयोग गर्ने गरेको देखाएको छ । आफ्नो खुट्टाभन्दा सानो साइजको जुत्ता प्रयोग गर्ने बालबालिकामध्ये पनि ४७ प्रतिशतले आफ्नो खुट्टाभन्दा एक साइज सानो र १८ प्रतिशतले खुट्टाभन्दा दुई साइज सानो जुत्ता लगाउने गरेको पाइएको छ । ३५ प्रतिशत बालबालिकाले मात्र आफ्नो खुट्टा अनुसारकै जुत्ता लगाउने गरेको उक्त अध्ययनले देखाएको छ ।

 

खुट्टाभन्दा सानो साइजको जुत्ता प्रयोग गर्ने अधिकांश बालबालिकामा ‘हालुक्स भाल्गस’ समस्या देखिएको निष्कर्ष पनि उक्त अध्ययनले निकालेको छ । यो समस्या देखिएका बालबालिकाको खुट्टाको बूढीऔंला सामान्यभन्दा ठूला हुने र बूढीऔंलाको हड्डी अस्वाभाविक रूपमा बाङ्गिने गर्छ ।

गलत साइजको जुत्ताको प्रयोगबाट खासगरी खुट्टामा पाँच प्रकारका जटिल समस्या देखिने अध्ययनबाट खुलेको छ । खुट्टामा देखिने यी समस्या निकै पीडादायी हुन्छन् ।

गलत साइजको जुत्ता प्रयोग गर्दा उब्जने समस्या
एथलिट फुट (Athlete’s foot) : यो समस्या खासगरी गलत जुत्ता प्रयोग गर्ने खेलाडीहरूमा देखिन्छ । खेलकुद क्षेत्रमा सक्रिय बालबालिका पनि यो समस्याबाट प्रभावित हुन्छन् । खासमा गलत जुत्ता प्रयोग गर्ने जो–कोहीलाई पनि यो समस्याले गाँज्ने सम्भावना रहन्छ । खासगरी अगाडिको भाग साँघुरो भएको जुत्ता नियमित रूपमा लगाउँदा यो समस्या बढी देखिन्छ । सामान्यतः ‘एथलिट फुट’ रोग औंलाको बीच भागमा हुन्छ । साँघुरो जुत्ता लगाउँदा औंलाको बीचबाट पसिना निस्कने र त्यसबाट संक्रमण भएर यो रोग फैलिने गर्छ । यो रोग लागेपछि खुट्टाको अघिल्लो भाग निकै चिलाउने र पोल्ने हुन्छ ।

‘फुट कोर्न’ (Foot corn) : लामो समयसम्म आफ्नो खुट्टाभन्दा सानो साइजको जुत्ता लगाउनाले यो रोग निम्तिने गर्छ । यो रोगमा खुट्टाको बूढीऔंला, अन्य औंला र पैतालामा गाँठो पर्छ । यसले गर्दा, खुट्टाका औंलाको आकार अस्वाभाविक देखिन सक्छ ।

ह्यामर टो (Hammer toe) : यो समस्या पनि लगातार सानो साइजको जुत्ता प्रयोग गर्दा देखिने गर्छ । यो रोग लागेका खुट्टाका औंला क्रमशः बाङ्गिन थाल्छन् । विशेषतः बूढीऔंला र बीचको औंलामा दबाब परेर चर्को पीडा दिन्छ ।

गोलीगाँठो नजिक अर्को गाँठो : खासगरी बढ्दो उमेरका बालबालिकामा खुट्टाभन्दा सानो साइजको जुत्ताका कारण यो समस्या सृजना हुन्छ । यो समस्यामा गोलीगाँठो मुनिको भागमा अर्को हाडको विकास हुन्छ । खुट्टाको गोलीगाँठोको हाडसँग अर्को गाँठो जोडिन पुग्छ । यो समस्या निकै पीडादायी हुन्छ । यो समस्याले खुट्टाको लम्बाइ र मांसपेशीमा पनि नकारात्मक प्रभाव पार्ने गर्छ ।

मेटाटर्साल्जिया (Metatarsalgia)  : यो समस्या खुट्टाको आकारभन्दा सानो साइजको र पातलो जुत्ता लगाएर खेल्दा वा दौडिदा पैदा हुन्छ । यो समस्याबाट खुट्टाको रौंमा सबैभन्दा बढी प्रभाव पर्छ । यसबाट खुट्टा सुन्निने र निकै दुख्ने हुन्छ ।

डायबिटिक फुट (Diabetic foot) : मधुमेह रोग लागेका व्यक्तिले नियमित रूपमा खुट्टाभन्दा सानो साइजको जुत्ता लगाउँदा यो समस्या देखिन्छ । यो समस्या हुँदा खुट्टा चिलाउने र पोल्ने हुन्छ । साँघुरो जुत्ता लगाउँदा खुट्टामा फोका आउने र त्यो फोका घाउमा परिणत हुने गर्छ ।

यस बाहेक, गलत साइजको जुत्ता प्रयोग गर्दा खुट्टाको लिगामेन्ट लगायतका मांसपेशीमा समस्या आउने, खुट्टाको अगाडिको भाग अस्वाभाविक रूपमा फैलिएर ठूलो हुने र घुँडाको समस्या देखिने पनि हुन्छ । गलत साइजको जुत्ताले बालबालिकाको खुट्टाको हड्डीको विकासमा समेत नकारात्मक असर पार्छ । “खासगरी ३५÷४० वर्षको उमेर पछि देखिनुपर्ने खुट्टाको हड्डी र मांसपेशी सम्बन्धी समस्याहरू पछिल्लो समय गलत साइजको जुत्ताको प्रयोगका कारण कम उमेरमै देखिन थालेको छ । हामी जुत्ताको सही छनोटप्रति सजग नहुनु यसको प्रमुख कारण हो”, स्पोर्टस साइन्स सम्बन्धी पुस्तकका लेखकसमेत रहेका खेलकुद विज्ञ अमात्य भन्छन् ।

गलत साइज मात्र होइन कम गुणस्तर भएका जुत्ताले समेत प्रयोगकर्ताको स्वास्थ्यमा असर पु¥याउने गरेको विज्ञ अमात्य बताउँछन् । उनी भन्छन्, “खासगरी खेलकुद र शारीरिक अभ्यासमा सक्रिय व्यक्तिका लागि जुत्ताको गुणस्तरले बढी महŒव राख्छ ।”

सही–गलत साइज छुट्याउने आधार
अनुसन्धान भन्छ, बालबालिका मात्र होइन वयस्क व्यक्तिले समेत जानी नजानी आफ्नो खुट्टाभन्दा फरक साइजको जुत्ता प्रयोग गरिरहेका हुन्छन् । कतिपय व्यक्तिलाई आफूले लगाइरहेको जुत्ता आफ्नो खुट्टाभन्दा फरक साइजको छ भन्ने पनि पत्तो हुँदैन । त्यसो भए, आफूले खुट्टाभन्दा फरक साइजको जुत्ता प्रयोग गरिरहेको कुरा कसरी पत्ता लगाउने त ? यसका केही आधार यस प्रकार छन् ः
१)    तपाईंले प्रयोग गर्ने जुत्ताको तुना पूर्णरूपमा नखोलिकन नै जुत्ता खुट्टाबाट निकाल्न सक्ने हुनुपर्छ । यदि जुत्ता खुट्टाबाट निकाल्न पूरै तुना खोल्नुपर्ने भएमा त्यो जुत्ता पक्कै पनि तपाईंको खुट्टाभन्दा सानो साइजको छ ।
२)    यदि जुत्ता लगाएर हिंड्दा वा दौड्दा कुर्कुच्चाको तल्लो भाग एकै स्थानमा नबसी यताउता चिप्लिन्छ भने त्यो जुत्ता तपाईंको खुट्टाको साइज अनुसारको छैन । यसैगरी हिंड्दा वा दौड्दा कुर्कुच्चाको तल्लो भाग पोल्छ भने पनि जुत्ताको साइज मिलेको छैन भन्ने बुझ्े हुन्छ ।
३)    यदि हिंड्दा वा दौड्दा खुट्टाको बूढीऔंला जुत्ताको अघिल्लो भागसँग ठोक्किन्छ भने तपाईंले प्रयोग गरिरहेको जुत्ता खुट्टाको साइज अनुसारको छैन ।
४)    यदि हिंड्दा वा दौड्दा खुट्टाको बूढीऔंलासँग त्यसको छेउको अर्को औंला असहज तरिकाले जोडिन पुग्छ भने पनि तपाइँको खुट्टाका लागि त्यो जुत्ता उपयुक्त छैन ।
५)    यदि हिंड्दा वा दौड्दा खुट्टाको पैतालाको बीचको भाग र जुत्ताले छोपेको कुर्कुच्चामा पोल्छ भने पनि जुत्ताको साइज नमिलेको हुन सक्छ ।
६)    यदि हिंड्दा वा दौड्दा खुट्टाको माथिल्लो भागमा पोल्छ वा दुख्छ भने पनि तपाईंको खुट्टाका लागि त्यस्तो जुत्ता उपयुक्त छैन ।
७)    यदि जुत्ताको साइज मिलेको छैन भने केही समय दौडिएपछि बूढीऔंला पोल्न थाल्छ ।
८)    खुट्टा अनुसार जुत्ताको साइज नमिलेमा केही समय दौड्दा घुँडामा पनि दुःखाइको अनुभव हुन्छ ।

 

वयस्क व्यक्तिले समेत आफ्नो खुट्टा अनुसारको जुत्ता लगाए नलगाएको पत्तो पाउन घोत्लिनुपर्ने अवस्थामा बालबालिकाका लागि यो कार्य पक्कै पनि अझ् जटिल हुन आउँछ । त्यसैले, बालबालिकाका निम्ति जुत्ता किन्दा र अघिपछि पनि समय–समयमा बालबालिकाका खुट्टा नाप्नुपर्ने हुन्छ । यसमा मुख्य जिम्मेवारी अभिभावककै हुन्छ । तर, विद्यालय र विशेषतः स्वास्थ्य तथा शारीरिक विषयका शिक्षकले पनि यस विषयमा पहलकदमी लिन सक्छन् ।

समय समयमा खुट्टा नाप्ने गर्दा अभिभावकलाई गलत साइजको जुत्ताका कारण आफ्ना केटाकेटीको खुट्टामा आएको अस्वाभाविक परिवर्तनको बारेमा मात्रै जानकारी प्राप्त हुँदैन, गम्भीर शारीरिक र मानसिक समस्याको सम्भावनालाई पनि टार्न मद्दत पुग्छ ।

कसरी लिने खुट्टाको नाप ?
१)    बालबालिकाका खुट्टाको नाप दिउँसो लिनु उपयुक्त हुन्छ । किनभने बिहान र साँझ्को समयमा भन्दा दिउँसो बालबालिकाको खुट्टा फैलिएर केही चाक्लो र लामो भएका हुन्छन् ।
२)    खुट्टाको नाप लिंदा केटाकेटीलाई बसाएर भन्दा उभ्याएर लिनु उपयुक्त हुन्छ । जुत्ता लगाएर बस्नेभन्दा पनि हिंड्नुपर्ने भएकाले वास्तविक नाप आउँछ ।
३)    नाप लिंदा कुर्कुच्चादेखि बूढीऔंलाको अघिल्लो भागसम्मको लिनुपर्छ । त्यसलाई नै बालबालिकाको खुट्टाको वास्तविक साइज मानिन्छ ।
४)    एउटा खुट्टाको मात्र नभई दुवै खुट्टाको नाप लिनु उपयुक्त हुन्छ । यसबाट दुई खुट्टाबीच कुनै भिन्नता भए त्यो पनि थाहा पाउन सकिन्छ । दुई खुट्टाको लम्बाइमा ६ मिलिमिटरसम्मको फरकलाई सामान्य मानिन्छ । त्योभन्दा बढी फरक देखिए जुत्ता किन्दा ध्यान पु¥याउनुपर्ने हुन्छ ।
५)    उत्पादक कम्पनी र महादेश अनुसार जुत्ताको साइज फरक पर्ने भएकाले जुत्ता किन्दा नम्बरमा मात्र भर नपरी बालबालिकाको खुट्टाको नाप अनुसार भए नभएको यकिन गरेर मात्र किन्ने गर्नुपर्छ ।
६)    बालबालिकाका खुट्टा छिटो छिटो बढ्ने हुनाले प्रत्येक दुई÷तीन महीनामा तिनका खुट्टाको नाप लिनु उपयुक्त हुन्छ ।

जुत्तामा हिलः कतिसम्म जाति ?
जुत्ताको आकार प्रकारको विषयलाई लिएर पनि विभिन्न अध्ययन–अनुसन्धान भएका छन् । यस्ता अध्ययन–अनुसन्धानको केन्द्रमा पनि जुत्ता प्रयोगकर्ताको स्वास्थ्य नै रहने गरेको छ । खासगरी महिलाले प्रयोग गर्ने हिल भएको जुत्ता स्वास्थ्यको दृष्टिले कति उपयुक्त छ भन्ने निकै लामो समयदेखि बहसको विषय बन्दै आएको छ ।

यस सम्बन्धमा खेलकुद विज्ञ अमात्य भन्छन्, “स्वास्थ्यको दृष्टिकोणले हिल भएका र नभएका जुत्तामा कुन उपयुक्त भनेर निकै अध्ययन–अनुसन्धान भए पनि यस विषयमा सर्वमान्य निष्कर्ष भने छैन । अध्ययनकर्ताका फरक–फरक मत रहँदै आएका छन् । कस्तो जुत्ता प्रयोग गर्ने भन्ने कुरा खासगरी समय, परिस्थिति र कामको प्रकृतिमा पनि भर पर्ने कुरा होे । छोटो समयका लागि पार्टी र औपचारिक कार्यक्रममा जाँदा वा सौन्दर्यका हिसाबले हिल भएका जुत्ता महिलाका लागि उपयुक्त हुन सक्छन् भने लामो समय हिंड्न वा शारीरिक अभ्यासका कामका लागि हिल भएको जुत्ता कसैलाई पनि उपयुक्त मानिंदैन ।”

बढी अग्लो हिल भएका जुत्ता स्वाभाविक रूपमै जोखिमपूर्ण मानिन्छन् । यस्ता जुत्ता लगाएर हिंड्दा प्रयोगकर्ताको सन्तुलन बिग्रिएर लड्ने, खुट्टा मर्किने, घुँडाको समस्या देखिने हुन सक्छ । लामो समयसम्म यस्तो जुत्ताको प्रयोगले शरीरको आकारमा समेत परिवर्तन ल्याउन सक्छ । अग्लो हिल भएको जुत्ता लगाउँदा खुट्टा अगाडितिर ढल्कन्छ । त्यसैले शरीरलाई सीधा राख्न घुँडा केही खुम्च्याउनुपर्ने हुन्छ । अग्लो हिल भएको जुत्ताले पिंडुलाको मांसपेशीमा विशेष दबाब सिर्जना गर्छ ।

प्रोफेसनल शु फिटिङको एक अध्ययन अनुुसार खासगरी दुई कारणले महिलाले अग्ला हिल भएका जुत्ता प्रयोग गर्ने गर्छन् । पहिलो कारण अग्लो देखिन र दोस्रो कारण शृंगार वा स्टाइलका लागि । महिलाले जुत्ताको प्रयोग गर्दा हिलको आकारलाई विशेष ध्यान दिनुपर्ने विशेषज्ञको सुझव छ । किनभने हिलको उँचाइले नै शरीरको भार कहाँ पर्छ भनेर निर्धारण गर्ने गर्छ । हिलको उँचाइ र त्यसमा पर्ने भारको सन्तुलन मिलेन भने लडेर चोट लाग्ने प्रबल सम्भावना रहन्छ ।

यसैगरी अग्लो हिल भएको जुत्ताले ढाडको हड्डीमा पनि समस्या निम्त्याउन सक्ने अध्ययनले देखाएको छ । बढी अग्लो हिल भएको जुत्ता प्रयोग गर्दा त्यसले शरीरको गुरुत्वाकर्षण केन्द्रमा समेत परिवर्तन ल्याउँछ । यसले शरीरको भारको वितरणलाई समेत प्रभावित पार्छ । बढी समयसम्म अल्लो हिल भएको जुत्ता लगाउनेको हड्डीको ढाँचामा कतिसम्म परिवर्तन आउँछ भने, पछि उनीहरूले सामान्य जुत्ता वा चप्पल लगाएर हिंड्दा पनि ढाड दुख्न थाल्छ । चिकित्सकको सुझवलाई मान्ने हो भने सामान्यतः एक वा डेढ इन्चसम्मको हिल भएको जुत्ता प्रयोग गर्दा खासै समस्या हुँदैन तर, तीन इन्चभन्दा बढी उँचाइ भएको हिलले भने समस्या निम्त्याउन थाल्छ ।

कुन रोज्ने— छाला कि कपडा ?
बनावट, ढाँचा र आकारप्रकारका आधारमा मात्र होइन, कच्चा पदार्थका आधारमा पनि जुत्ता चप्पलहरू फरक–फरक हुन्छन् । कच्चा पदार्थले जुत्ता चप्पलको गुणस्तरसँगै त्यसको मूल्यमा समेत प्रभाव पारेको हुन्छ । जुत्ता बनाउन मूलतः छाला, कपडा, सेन्थेटिक्स, रबर र फोम गरी पाँच किसिमका कच्चा पदार्थको प्रयोग गरिएको हुन्छ । यी पाँचवटै कच्चा पदार्थ प्रयोग गरी तयार पारिएका जुत्ताको छुट्टाछुट्टै गुणस्तर हुन्छ । यीमध्ये छालाबाट बनेका जुत्ता चप्पल सबैभन्दा उपयुक्त मानिन्छन् । छालाबाट बनाइएका जुत्ता चप्पल तुलनात्मक रूपमा बढी लचकदार र लामो समयसम्म टिक्छन् पनि ।

छालाको जुत्ताका केही बेफाइदा पनि छन् । अन्य पदार्थबाट बनेको भन्दा छालाबाट बनेका जुत्ता चप्पल बढी महँगा हुन्छन् । छालाका जुत्ता तुलनात्मक रूपमा केही गह्रौं हुन्छन् । छालाको जुत्ता धुन मिल्दैन यसलाई पानीले बिगार्छ । यद्यपि, पछिल्लो समय विभिन्न सामग्रीको प्रयोग गरी छालाको जुत्ता समेत पानीले नबिगार्ने बनाउन थालिएको छ ।

यसैगरी, कपडाबाट बनेका जुत्ता पनि पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका छन् । कपडाका जुत्ता बनाउन विशेष सूती, पोलिस्टर, ऊन र नाइलनको प्रयोग गरिन्छ । यस्ता जुत्ता विभिन्न रंग र डिजाइनमा पाइन्छन् । छालाको तुलनामा कपडाबाट बनेका जुत्ता सस्ता हुन्छन्; सँगै ती छिटो च्यातिने, कम टिक्ने पनि हुन्छन् । सेन्थेटिकबाट बनेका जुत्ता छाला र कपडापछि तेस्रो रोजाइमा पर्छन् । मूल्यका आधारमा पनि यस्ता जुत्ता केही सस्तो पर्छन् । जुत्ता बनाउन केही मात्रामा रबर र फोमको पनि प्रयोग हुँदै आएको छ ।

जुत्ता र चप्पल
जुत्ता र चप्पलमध्ये कुन उपयुक्त भन्ने चर्चा बेलाबखत चल्ने गरे पनि यी दुवैका आ–आफ्नै विशेषता हुन्छन् । समय र परिस्थिति अनुसार यी दुवैको आ–आफ्नै तरिकाले प्रयोग गरिन्छ । यद्यपि, चप्पलको तुलनामा जुत्ता बढी सुरक्षित मानिन्छन् ।

जुत्ता वा चप्पलका कारण लडेर चोटपटक लागेर अस्पताल भर्ना भएका व्यक्तिहरूमाझ् गरिएको एक अनुसन्धान अनुसार, धेरैजसो मानिस जुत्ताभन्दा चप्पल लगाएको बेला घरको बाथरुम वा भ¥याङमा लड्ने गर्छन् । यसरी लड्नेमा अधिकांश ४५ वर्षभन्दा बढी उमेरका पाइएका छन् ।

चप्पलको कच्चा पदार्थले पनि यसको गुणस्तरमा फरक पार्ने गर्छ । खासगरी रबरबाट बनाइएका चप्पल बढी जोखिमपूर्ण मानिन्छन् । यस्ता चप्पल बढी चिप्लिछन् । यसैगरी मौसमका आधारमा पनि जुत्ता र चप्पलको प्रयोगमा फरक आउँछ । बढी गर्मी हुने स्थानमा चप्पल वा स्यान्डल रोजिन्छन् भने जाडो हुने स्थानमा स्वाभाविक रूपमै जुत्ताको प्रयोग बढी हुन्छ ।

प्रेस सल्लाहकार, राष्ट्रिय खेलकुद परिषद्

commercial commercial commercial commercial