बालबालिकाका निम्ति सही जुत्ताको छनोट

म चप्पल लगाएर हुर्कें । कतिपय अवस्थामा त खालीखुट्टै पनि धेरै हिंडेको छु । मेरो पुस्तासम्मका गाउँघरका धेरै बालबालिकाले जुत्ता लगाउन पाएका थिएनन् । तर आज हामी तिनै बालबालिकालाई ध्यानमा राखेर उपयुक्त किसिमका जुत्ता कस्ता हुन्छन् भनेर छलफल गर्ने अवस्थामा पुगेका छौं । यो खुशीको कुरा हो ।

जुत्ता उत्पादक भएकाले हो वा यस बारेमा अध्ययन गर्ने मौका पाएकाले हो, अहिले मेरा आँखा मान्छेका जुत्तामै पुग्छन् । म मान्छेका नाङ्गा खुट्टा हेरेर नै उसले कुन उमेरदेखि कस्ता जुत्ता चप्पल लगाउन थालेको हो भन्ने कुराको मोटामोटी अनुमान गर्न सक्छु । अझ्, कुनै विद्यालयतिर पुगेका बेला वा अरू बेला स–साना केटाकेटीका खुट्टामा मेरा आँखाले धेरै कुरा खोज्छन् ।

मलाई बालबालिकाका खुट्टामा अनुपयुक्त जुत्ता देख्दा कोही कोही बेला त ‘योभन्दा उहिले हाम्रो जुत्तै लगाउन नपाइने समय बेस’ समेत भन्न मन लाग्छ । कारण, हामीले त प्राकृतिक जमीनमा त टेक्न पाएका थियौं, अहिलेका अधिकांश बालबालिका अमिल्दो साइजका, अनुपयुक्त सामग्रीबाट बनेका र अनुचित आकारप्रकारका जुत्ताका भरमा हुर्किइरहेका छन् । यसबाट उनीहरूको शारीरिक क्षमता वृद्धि र विकासमा समेत असर परिरहेको हुन्छ ।

जुत्ताका बारेमा मलाई जानकारी भएको सन् १९९५ मा भारतको नयाँदिल्लीमा डिप्लोमा इन फुटवेयर डिजाइन पढ्न थालेपछि मात्र हो । त्यसअघि मलाई पनि ‘हिलवाला’ र ‘हिल विनाको’ वा कपडाको र छालाको वा त्यस्तै केही सामान्य भेदहरूका बारेमा मात्र थाहा थियो । पढ्न थालेपछि मैले जुत्ताको इतिहास, जुत्ता बनाइने सामग्री, जुत्ताका आकार, प्रकार र प्रभावका कुरा पनि बुझने मौका पाएँ । अरूका जुत्तामा मेरा आँखा जानुको कारण पनि त्यही हो । मलाई कसैले अनुपयुक्त जुत्ता लगाएको देख्दा त्यसबाट उसलाई पर्ने अनेक दुष्प्रभावहरू सम्झ्ेर दुःख लाग्छ । त्यसैले बालबालिकाका लागि सही किसिमका जुत्ता चिन्न र छान्नमा अभिभावक र शिक्षकहरूलाई मद्दत होस् भन्ने हिसाबले यो लेख लेख्न खोजिएको हो ।

हिजोआज हरेक प्रयोजनका लागि फरक फरक किसिमका जुत्ता पाइन्छन् । ती सबै किसिमका जुत्ताका फरक फरक मापदण्ड छन् । यहाँ म दैनिक प्रयोजनका अर्थात् बालबालिकाका स्कूल जुत्ता कसरी छान्ने भन्ने बारेमा केही बुँदा प्रस्तुत गर्दैछु ।

बालबालिकाका निम्ति कसरी छान्ने सही जुत्ता
–    बलियो र लचिलो तलुवा भएको र तलुवामा गहिरा बुट्टा भएको जुत्ता । पहिले पहिले रबरबाट बनाइने यस्ता तलुवाहरू हिजोआज विभिन्न प्रकारका सिन्थेटिक सामग्रीबाट बनाइन्छन् । तलुवामा भएका गहिरा बुट्टा ९न्चष्उ० ले चिप्लिन दिंदैन । तलुवा लचिलो छैन भने खुट्टा चाँडै थाक्छन् र दुख्छन् ।
–    तलुवाको भित्रपट्टि फलाम वा धातुको पाता ९क्जबलप० राखेको जुत्ता । यसले जुत्तालाई जहाँ पायो त्यहीं दोब्रिन दिंदैन । २६ वटा स–साना हाड मिलेर बनेको हाम्रो खुट्टाको रक्षाका लागि ‘श्याङ्क’ हुनु अति जरूरी हुन्छ ।
–    जुत्ता सकेसम्म तुना बाँध्ने खालकै हुनुपर्छ, जसले गर्दा जुत्तालाई आवश्यकता अनुसार कसिलो र खुकुलो बनाउन सकियोस् ।
–    अग्लो एडी (हील) भएको जुत्ताले खुट्टालाई अप्ठ्यारो मात्र पार्छ ।
–    जुत्ता सजिला र औंला नच्याप्ने हुनुपर्छ । औंलाका लागि फराकिलो ठाउँ भएका जुत्तालाई अंग्रेजीमा ‘फ्ल्याट शेप’ भनिन्छ । चुच्चा र बाटुला जुत्तालाई ‘राउण्ड शेप’ भनिन्छ । राउण्ड शेप जुत्ताले बालबालिकाको खुट्टाको संरचनालाई नै असर गर्न सक्छ ।
–    जुत्ता सकेसम्म छालाको वा कपडाको वा भित्रको बाफ बाहिर निस्किने खालको सामग्रीबाट बनेको हुनुपर्छ । धेरै पानी पर्ने ठाउँमा बालबालिकालाई विद्यालय जुत्ता जस्तै देखिने प्लाष्टिकका जुत्ता लगाइदिएको देखिन्छ । पानी परेका बेला त्यस्ता जुत्ताको प्रयोग गरे पनि सधैं तिनको प्रयोग गर्नुहुँदैन ।
–    जुत्ता साँघुरो हुनुहुँदैन । अगाडि बूढीऔंलाले जुत्ता छुन करीब बूढीऔंलाको मोटाइ बराबरको ठाउँ भएको र पछाडि पनि त्यति नै ठाउँ भएको, अलि खुकुलो हुनुपर्छ ।

‘फुटल्यान्ड’ र ‘सफटच’ ब्रान्डका जुत्तासँग सम्बन्धित दाहाल नेपाल जुत्ता उत्पादक संघका उप–महासचिव हुन् ।

commercial commercial commercial commercial