सूक्ष्म–शिक्षण प्रशिक्षण अभियान–२०२०ः अवधारणा र उपलब्धि

हरेक कठिनाइ, असफलता र पीडाको साथमा उही अथवा अझ बढी फलदायी अवस्थाको अंकुरण भइरहेको हुन्छ ।” न्यापोलियन हिल

सन्दर्भ कोभिड–१९ महामारीका कारण सबै प्रकारका शिक्षण संस्था बन्द भएपछिको शैक्षिक अवस्था हो । बन्दाबन्दीको यही घडीमा कतिपय शिक्षकहरू शिक्षणविधि र प्रविधि सीप सबलीकरणमा लागेका छन् । प्रविधिका साधन तथा इन्टरनेटमा धेरै शिक्षकको सहज पहुँच छैन । तर त्यसका बाबजूद पनि नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा), नेपाल राष्ट्रिय शिक्षक संगठन र प्रविधिमैत्री शिक्षक समाज (एसटीएफटी) का प्रदेश तथा जिल्ला समितिहरूले २०७६ चैत महीनादेखि नै शिक्षकहरूलाई विभिन्न सिकाइ गोष्ठीमा संलग्न गराइरहेका छन् । सिकाइका यस्ता कार्यक्रम जुम, गुगल मीट, माइक्रोसफ्ट टिम्स जस्ता अनलाइन प्लेटफर्ममार्फत सञ्चालन भइरहेका छन् । यसैबेला नेपाल खुला विश्वविद्यालयले पनि अनलाइन गतिविधि बढाउँदै नियमित कक्षा सञ्चालन गरिरहेको छ । प्रदेश–५ बाहेकका सबै शिक्षा तालिम केन्द्रले शिक्षकको पेशागत विकास तालिम पनि अनलाइनमार्फत सञ्चालन गरे । नेपाल राष्ट्रिय शिक्षक संगठनले पहिलो चरणमा पाठ्यक्रम, शिक्षणविधि र प्रविधि (टिप्याक) मा आधारित शिक्षक तालिम कार्यक्रम कास्कीबाट शुरू गरेर विभिन्न जिल्लाहरूमा पुर्‍यायो । एनएनटीए माइक्रो–टिचिङ्ग म्याराथुन २०२० नामकरण गरिएको सो कार्यक्रमका सन्दर्भमा सर्भेक्षण, अन्तर्वार्ता र अनुसन्धानमा स्वयं निरन्तर सहभागी भई सूक्ष्म अवलोकन गरी यो आलेख तयार पारिएको छ ।

सूक्ष्म–शिक्षणको अवधारणा

शिक्षकको पेशागत विकास अनुभवबाट सिर्जित ज्ञानका आधारमा हुने गर्दछ । सूक्ष्म–शिक्षण नियन्त्रित तर सुधारोन्मुख तरिकाले पेशागत–कार्यगत सीप विकास गर्ने विधिको रूपमा प्रयोग हुँदै आएको छ । पश्चिमी देशहरूमा सूक्ष्म–शिक्षणलाई निश्चित शिक्षण सीप वा तरिका वा रणनीतिसँग गाँसेर प्रस्तुतिहरू हुने गर्छन् । यसबाट शिक्षकलाई नयाँ सीप परीक्षण गर्ने, विकास गर्ने र पेशागत ज्ञानको स्रोत मजबूत पार्ने अवसर प्राप्त हुन्छ । “सूक्ष्म–शिक्षण एउटा निश्चित शिक्षण सीप वा धारणा मात्र विकास गर्ने लक्ष्यका साथ प्रस्तुत गरिने शिक्षण अभ्यास हो, जसमा प्रयुक्त कार्यशैलीका बारेमा सुपरीवेक्षक र विद्यार्थीबाट तुरुन्तै पृष्ठपोषण प्रदान गरिन्छ” (बार्टली, २०१८) । यसमा शिक्षकलाई सीपको परीक्षण अभ्यास गर्नका लागि प्रायः पाँच मिनेटको समय दिइन्छ । त्यस्तो शिक्षण कार्यको अडियो/भिडियो रेकर्ड गरिन्छ । त्यसपश्चात् विद्यार्थी (जो सहपाठी हुन् र विद्यार्थीको भूमिका निर्वाह गरिरहेका हुन्छन्) र सुपरीवेक्षकबाट पृष्ठपोषण प्रदान गरिन्छ । यसक्रममा रेकर्ड हेर्ने र समीक्षाका क्रममा आफ्नो धारणा राख्ने अवसर शिक्षकलाई पनि प्राप्त हुन्छ । यस लगत्तै पुनः पाँच मिनेटको शिक्षण प्रदर्शन गर्ने अवसर प्रदान गरिन्छ । यसरी शिक्षण–पृष्ठपोषण–शिक्षणको चक्र निरन्तर चलिरहन्छ । तर नेपाल, भारतलगायत देशहरूमा भने शिक्षकलाई १०–१२ मिनेट शिक्षण प्रस्तुतिको समय दिइन्छ । शिक्षण पश्चात् सुपरीवेक्षकबाट समीक्षा र पृष्ठपोषण सत्र सञ्चालन गरिन्छ । यी देशहरूमा विषयवस्तु समेतमा जोड दिइन्छ ।


शिक्षकलाई सीपको परीक्षण अभ्यास गर्नका लागि प्रायः पाँच मिनेटको समय दिइन्छ । त्यस्तो शिक्षण कार्यको अडियो/भिडियो रेकर्ड गरिन्छ । त्यसपश्चात् विद्यार्थी र सुपरीवेक्षकबाट पृष्ठपोषण प्रदान गरिन्छ । यस लगत्तै पुनः पाँच मिनेटको शिक्षण प्रदर्शन गर्ने अवसर प्रदान गरिन्छ । यसरी शिक्षण–पृष्ठपोषण–शिक्षणको चक्र निरन्तर चलिरहन्छ ।

सूक्ष्म–शिक्षणमा सहपाठी र सुपरीवेक्षकबाट तत्काल दिइने पृष्ठपोषणको प्रभाव केही शिक्षकका लागि चुनौतीपूर्ण हुनसक्छ भने धेरै शिक्षकले यसलाई पेशागत विकासका लागि आवश्यक सीप अभ्यास गर्ने सजिलो मञ्चका रूपमा बुझेका हुन्छन् । सूक्ष्म–शिक्षण मुख्य शिक्षण कार्यभन्दा पहिले गरिने तयारी अभ्यास हो । जर्ज ब्राउन (१९७५) ले सूक्ष्म–शिक्षणलाई शिक्षक प्रशिक्षणको अपरिहार्य अङ्गको रूपमा व्याख्या गरेका छन् । शिक्षण कार्यका लागि विभिन्न शिक्षण सीपहरू आवश्यक पर्दछन् । ती सीपहरू सूचीकृत गरी क्रमशः प्रस्तुत गरिन्छ । एउटा सूक्ष्म–शिक्षणमा एउटा मात्र सीप विकास गर्ने लक्ष्यसहित प्रदर्शित सीप बारेमा सुपरीवेक्षक र विद्यार्थीसँग अन्तरक्रिया गर्ने र पृष्ठपोषण ग्रहण गर्ने कार्य हुन्छ ।

सूक्ष्म–शिक्षणको इतिहास सम्झने हो भने अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयमा सर्वप्रथम १९६३ मा सूक्ष्म–अभ्यास भएको पाइन्छ । पूर्वसेवाकालीन शिक्षक तालिमका लागि सूक्ष्म–शिक्षण अभ्यास शुरू गरिएको थियो । अहिले पनि पूर्वसेवाकालीन वा सेवाप्रवेश वा सेवाकालीन तालिममा सूक्ष्म–शिक्षण अभ्यास गर्ने गरिन्छ ।

सूक्ष्म–शिक्षणका सिद्धान्त

बार्टली (२०१८) ले सूक्ष्म–शिक्षणका आधारभूत सिद्धान्तलाई निम्न अनुसार सूचीकृत गरेका छन्ः

क. एकपटकमा एउटा मात्र शिक्षण सीप विकास गर्ने लक्ष्यका साथ क्रियाकलाप केन्द्रित हुन्छन् ।

. विषयवस्तु पनि थोरै समेटिएको हुन्छ ।

ग. शिक्षण सीपको अभ्यासमार्फत विज्ञता हासिल गरिन्छ ।

घ. सीप परीक्षणका लागि प्रयोग गरिन्छ ।

ङ. विद्यार्थी र सुपरीवेक्षकबाट तत्काल पृष्ठपोषण प्रदान गरिन्छ ।

. स्व–मूल्याङ्कनको अवसर प्राप्त हुन्छ ।

. सुधारका लागि निरन्तर प्रयास गरिन्छ ।

सूक्ष्म–शिक्षणका क्रममा निश्चित प्रक्रियाहरू अवलम्बन गरिन्छ । सर्वप्रथम विकास गर्न चाहेको सीप निश्चित गरिन्छ । त्यसपछि विज्ञद्वारा नमूना शिक्षण प्रदर्शन गरिन्छ । त्यसपछि शिक्षकले विज्ञसहितको सहयोगमा सूक्ष्म–शिक्षण पाठयोजना निर्माण गर्दछ र सीमित विद्यार्थीलाई शिक्षण गर्दछ । त्यो शिक्षण कार्यको अडियो/भिडियो रेकर्ड गरिन्छ । शिक्षण कार्य समाप्तिपश्चात् सुपरीवेक्षक, विद्यार्थी र शिक्षकका बीच समीक्षा एवं पृष्ठपोषण सत्र सञ्चालन हुन्छ । यस क्रममा शिक्षकलाई आत्म–प्रतिबिम्बन गर्ने अवसर प्राप्त हुन्छ । तत्पश्चात् पुनः योजना, पुनः शिक्षण र पुनः पृष्ठपोषण चक्र चलिरहन्छ ।

सामान्यतया सूक्ष्म–शिक्षणका तीन चरण हुन्छन्ः

क. ज्ञान आर्जनः शिक्षकले आवश्यक शिक्षण सीप निर्धारण गर्दछ । त्यो सीपको बारेमा सम्बन्धित विभिन्न अनलाइन र अफलाइन स्रोत सामग्रीको अध्ययन गरी ज्ञान हासिल गर्दछ र सूक्ष्म–शिक्षण पाठयोजनामा समावेश गर्दछ ।

ख. सीप विकासः यस चरणमा सर्वप्रथम शिक्षकले विज्ञको नमूना शिक्षण कार्यको अवलोकन गर्दछ । त्यसपछि विभिन्न पटक अभ्यास र रिहर्सल गर्दै निर्धारित शिक्षण सीप दक्षता हासिल गर्दछ । शिक्षण अभ्यासका क्रममा शिक्षण समय, अवधि, सीप, सुपरीवेक्षक र विद्यार्थी जस्ता पक्ष निर्धारण गरिन्छ ।

ग. अभिवृद्धि चरणः यस चरणमा वास्तविक शिक्षण प्रदर्शन कार्य गरिन्छ । शिक्षक र विद्यार्थीहरू सिकाइ प्रक्रियामा सहभागी हुन्छन् ।

माइक्रो–टिचिङ्ग म्याराथन, २०२०

नेपाल राष्ट्रिय शिक्षक संगठनले सञ्चालन गरेको सूक्ष्म–शिक्षण कार्यक्रम (माइक्रो–टिचिङ म्याराथन, २०२०) मा सूक्ष्म शिक्षणका केही परिमार्जित अभ्यास गरेको सो संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले बताउनुभयो । यो सूक्ष्म–शिक्षण प्रस्तुतिमा पाठ्यक्रम र शिक्षणविधिका अतिरिक्त डिजिटल प्रविधिको प्रयोग समेतमा जोड दिइएको छ । शिक्षकहरूले आफूले शिक्षण गर्न चाहेको विषयवस्तु, सीप र प्रविधिसहितको पाठयोजना, सामग्री र स्लाइडसहित आफ्नो जिल्ला समितिमा सम्पर्क गर्दछन् । जिल्ला समितिले व्यवस्था गरेअनुसारको समूहमा अभ्यास प्रदर्शन गर्दछन् । यसक्रममा पाठयोजना, विषयवस्तु, सीप, सामग्री, स्लाइड्स, कक्षा व्यवस्थापन आदि पक्षमा सुझाव दिइन्छ र पटक–पटक अभ्यास गरिन्छ । त्यसपछि केन्द्रीय पेडागोजिकल ब्यूरोको समूहमा अभ्यास प्रस्तुति र विस्तृत पृष्ठपोषण प्रदान गरिन्छ । यस चरणमा पनि एक पटक अनिवार्य र आवश्यकताअनुसार थप अभ्यास गरिन्छ । त्यसपछि मात्र म्याराथन कार्यक्रममा प्रस्तुति गरिन्छ । हरेक प्रस्तुतिको समय १५ मिनेट र समीक्षाका लागि १० मिनेट समय निर्धारण गर्ने गरिएको छ ।

उपलब्धि र समीक्षा

सूक्ष्म–शिक्षणको प्रभावकारिता अध्ययन गर्ने क्रममा सहभागी, प्रस्तोता र समीक्षकहरूका लागि अलग–अलग प्रश्नावली निर्माण गरी विचार संकलन गरिएको थियो । अनुसन्धाताको रूपमा यो पंक्तिकार स्वयं पनि यस सूक्ष्म–शिक्षण कार्यक्रमको नियमित सहभागी, प्रस्तोता  र समीक्षकका रूपमा सहभागी भइरहेको हुनाले प्राप्त जानकारी रुजु गर्न सजिलो भएको छ । यसरी प्राप्त जानकारी र विचारहरूलाई संक्षेपमा प्रस्तुत गरिएको छः

१. प्रस्तोताको पेशागत सीप

प्रस्तुतिका लागि दिइएको १५ मिनेट समयलाई ८८.६ प्रतिशतले उपयुक्त र ५.७ प्रतिशतले समय बढी र त्यही संख्याका सहभागीले कम भएको प्रतिक्रिया दिएका छन् । प्रस्तोताको पेशागत सीपको वस्तुगत मूल्याङ्कन निम्न अनुसार रहेको छ ।

क्र.सं. सीप अति राम्रो राम्रो कमजोर
प्रवेश तथा बहिर्गमन व्यवहार २२.९ ७४.२ २.९
सञ्चार सीप ३१.४ ६८.६
प्रश्न गर्ने सीप २८.६ ७१.४
जिज्ञासा समाधान २० ७४.७ ५.३
विद्यार्थी उत्प्रेरणा र सहभागिता ३४.३ ६५.७
प्रविधि सीप ३४.३ ६५.७

माथिको तालिका अनुसार प्रस्तोताको पेशागत व्यवहार/सीप सामान्यतया राम्रो देखिन्छ । प्रायः सबै प्रस्तोताले शिक्षणको पाठयोजना अनुसारका उद्देश्य र क्रियाकलाप सहितको छोटो आकर्षक परिचयपछि चित्र वा छलफल विधिबाट पूर्व पाठको पुनरावलोकन, चित्र वा भिडियो, गीत, ठोस सामग्री या अभिनयमार्फत विषयवस्तुको परिचय दिएको देखिन्छ । यी उपायबाट विद्यार्थीलाई उत्प्रेरणा दिन र शिक्षण–सिकाइ क्रियाकलापमा केन्द्रित गर्न सजिलो भएको पाइन्छ । यसैगरी प्रस्तोताहरूको सञ्चार सीप प्रभावकारी छ । यद्यपि प्रविधि र विशेषगरी प्रस्तोता र विद्यार्थीको कमजोर इन्टरनेट क्षमताका कारण कतिपय समयमा सञ्चारको गति नमिलेको र तत्काल जवाफ प्राप्त नभएको पाइन्थ्यो । अर्को सहपाठीको सहायताले भने निरन्तर सञ्चार भइरहेको पाइन्छ । तथापि केही सहभागिताले च्याट गरेका जिज्ञासा वा हात उठाउने, ताली पिट्ने जस्ता संकेततर्फ कमै ध्यान गएको पाइन्छ । प्रस्तुतिसँग सहज चलखेल गर्न सिकेको देखिन्छ । सबै शिक्षकहरूले पावरपोइन्टको प्रयोग मात्र नभई रुलर, प्रोटेक्टर, पेन्सिलको समेत प्रयोग गरेर विभिन्न गणितीय ज्यामितीय रेखाङ्कन, चित्र तथा भिडियो सम्पादन, ग्राफिक शैलीको उपयुक्त प्रयोग गर्न सकेको पाइएको छ । समग्रमा प्रस्तोताबाट प्रदर्शित पेशागत सीप यस पाइचार्टमा देखाइएको छ ।

२. विषयवस्तुको ज्ञान

यो सूक्ष्म–शिक्षण कार्यक्रममा पाठ्यक्रमले तोकेको र पाठ्यपुस्तकमै समेटिएको विषयवस्तु शिक्षण गर्नुपर्ने गरिएको छ । तर कुन विषयवस्तु शिक्षण गर्ने भन्ने रोजाइ प्रस्तोतामा छोडिएको छ । सर्भेक्षणमा सहभागीमध्ये ३७.५ प्रतिशतले प्रायः सजिलो विषयवस्तु रोजिएको र सबै विषयवस्तु समेट्ने प्रयास गर्नुपर्ने सुझाव पनि दिएका छन् । बाँकी (६२.५%) सहभागीहरूले विषयवस्तु क्षेत्र रोजाइ उपयुक्त नै भएको पाएका छन् ।

३. शिक्षण विधि सम्बन्धी सीप

यस सूक्ष्म–शिक्षण कार्यक्रममा शिक्षणविधि र डिजिटल सीपलाई निकै महत्व दिइएको छ । अभ्यास समीक्षाका क्रममा सूक्ष्म–शिक्षणका चरणहरूलाई विशेष महत्वका साथ पछ्याउन लगाइन्छ । प्रवेश र बहिर्गमन व्यवहार, विषयवस्तु परिचय, अभ्यास र मूल्याङ्कन जस्ता पक्षलाई अनिवार्य गराइएको छ । हरेक प्रस्तुतिमा प्रस्तोताको आत्मबल उच्च देखिन्छ । वास्तविक कक्षाकोठामा भन्दा राम्रो बोली–व्यवहार देखिन्छ । प्रस्तुतिका क्रममा देखिएका पाठको चरणबद्ध विकास, विद्यार्थी सहभागिता सुनिश्चितता गर्ने बानी र उद्देश्यकेन्द्रित शिक्षण व्यवहार प्रदर्शन वास्तविक कक्षा–शिक्षणमा पनि प्रयोग हुनसक्यो भने सिकाइमा धेरै सकारात्मक सुधार हुनेछ । शिक्षण–विधि सम्बन्धी सीपको अवलोकनमा सहभागीहरूबाट प्राप्त प्रतिक्रियाका केही उदाहरण यसप्रकार छन्ः

  • अधिकांश प्रस्तुतिमा सूचना सञ्चारप्रविधिको उपयुक्त प्रयोग गरिएको छ । शिक्षणमा विद्यार्थीकेन्द्रित विधि अपनाइएको छ । शिक्षण क्रियाकलापमा विविधता थपिएको छ । अन्य विषयका क्रियाकलाप समेत आफ्नो विषयवस्तु शिक्षणमा प्रयोग गर्न सकिने अनुभूति भएको छ । (हरि, पाल्पा)
  • शिक्षकहरूका प्रवेश तथा बहिर्गमन व्यवहार, विद्यार्थीलाई सक्रिय सहभागिताका लागि उत्प्रेरित गर्ने क्रियाकलाप निर्माण, विद्यार्थीका विचार प्रस्फुटन गर्ने खालका प्रश्न सीप जस्ता गुणका कारण सूक्ष्म–शिक्षणमा सहभागी सबै शिक्षकहरूका लागि उपयोगी बनेको छ । (खगेन्द्र, सुर्खेत)
  • सूक्ष्म–शिक्षणका क्रममा प्रदर्शन र प्रश्नोत्तर विधिको प्रभावकारी प्रयोग भएको छ । (निर्मला, रुपन्देही)

सूक्ष्म–शिक्षण प्रस्तुतिको अवलोकनकर्ता बनिरहँदा शिक्षण कार्य राम्रो चरणबद्ध तरिकाले भइरहेको, प्रवेश तथा विषयवस्तु परिचय गर्ने क्रियाकलापबाट सहभागीहरू उत्साहित हुने देखिन्छ । तर अभ्यास चरणमा पुगेपछि केही प्रस्तुति (२३.२%) मा बढी व्याख्या र शिक्षक केन्द्रित बन्न पुगेको सर्भेक्षणमा औंल्याइएको छ । कास्कीकी लालकुमारी पनि तथ्यगत विश्लेषणको आवश्यकता भएको देख्नुहुन्छ । त्यस्तै रसुवाका मोचनाथले केही प्रस्तोताले समय व्यवस्थापन गर्न नसकेको औंल्याउँदै तोकिएको समयमा शिक्षण कार्य सिध्याउनै पर्ने धारणा राख्नुभएको छ । अर्का निरन्तर सहभागी रौतहटका धर्मेन्द्रले सहभागी विद्यार्थीका जिज्ञासा समाधानमा अझ बढी केन्द्रित हुनुपर्ने औंल्याउनुभएको छ । शिक्षण क्रियाकलापमा सिकाइ सुनिश्चित गर्ने विद्यार्थी अभ्यास क्रियाकलापका लागि बढी समय दिनुपर्ने र सहभागिता बढाउने खालका क्रियाकलाप बढाउनु आवश्यक छ ।

४. प्रविधि सीप

यस कार्यक्रममा सहभागी शिक्षकहरूले विद्यालय बन्दको समयलाई आफूमा प्राविधिक सीप विकास गर्ने अवसरका रूपमा प्रयोग गरेका छन् । शिक्षक संगठनका अध्यक्ष शर्माको अनुभवमा पनि, लकडाउनको समयलाई धेरै शिक्षकहरूले नयाँ प्रविधिको प्रयोग गरी शिक्षण गर्न सक्ने क्षमता विकास गर्नमा उपयोग गरिरहेका छन् । शर्मा भन्छन्, “धेरै शिक्षकहरू डिजिटल सक्षमता बढाउनका लागि अत्यन्तै उत्प्रेरित र रुचिपूर्ण तरिकाले लाग्नुभएको छ । उहाँहरूले नसोचेको प्रगति गर्नुभएको छ ।”

सहभागीहरूले पनि सूक्ष्म–शिक्षण कार्यक्रममा धेरै असल अभ्यास सिकेको बताउनुभएको छ । पहिलो चरणमा सिकेका प्राविधिक सीप पाठ्यसामग्रीसहित प्रयोग गर्दा थप ज्ञान आवश्यक परेको र सूक्ष्म–शिक्षण अभ्यासबाट ती थप सीप समेत विकास भएको छ । उदाहरणको लागि स्लाइड निर्माण र कलर गर्ने तरिका जानेर मात्र पुगेन । शिक्षण क्रियाकलाप गर्दा फरक–फरक विषयवस्तुलाई कुन प्रकारको कलर प्रयोग गर्ने ? रंगीचंगी स्लाइड बनाएर आकर्षण बढाउनेभन्दा बुझिने खालको डिजाइन र कलर गर्नुपर्ने थाहा भयो । त्यसैगरी कक्षा शिक्षणका क्रममा ह्वाइटबोर्ड, च्याट, एनोटेशन, रियाक्शन जस्ता साधनको उपयोग सीप शिक्षण अभ्यासपछि मात्र विकास हुनसक्छ । त्यसैगरी सूक्ष्म–शिक्षणको अभ्यासबाट रुलर, प्रोटेक्टर, पेन्सिलजस्ता औजारको प्रयोग गरेर गणितीय, ज्यामितीय आकार खिच्ने, विभिन्न ग्राफ, चार्ट लगायतका फिगरहरू खिच्ने सीप विकास भएको छ । एक तिहाइ (३४.३%) शिक्षकहरूले भने कमजोर प्राविधिक अवस्था भएको स्थानमा यस्ता सीपहरूको उपयोग गर्न कठिनाइ भएको बताउनुभएको छ ।

सूक्ष्म–शिक्षण अभियानका फाइदा

भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले भन्नुभएको छ, “शिक्षण एउटा असाध्यै राम्रो पेशा हो, जसले व्यक्तिको चरित्र, प्रतिष्ठा र भविष्यलाई निश्चित आकार दिन्छ ।” सूक्ष्म–शिक्षणबाट शिक्षणलाई नै निश्चित स्वरूप प्रदान गर्न सकिन्छ । अर्थात् सूक्ष्म–शिक्षण अभ्यासबाट शिक्षण पेशालाई झन् बढी राम्रो पार्न सकिन्छ । सर्भेक्षण र अन्तर्वार्तामा सहभागी सबै जनाले सूक्ष्म–शिक्षण कार्यक्रमका कारण शिक्षणविधि, प्रविधि र पेशागत सीपहरू विकास भएको र प्रविधिको उपयोग गरी कक्षा शिक्षण गर्ने आत्मविश्वास बढेको बताएका छन् । सूक्ष्म–शिक्षण म्याराथनबाट प्राप्त फाइदाहरूको सूचीमा डिजिटल प्रविधिसहितको कक्षा शिक्षण, कक्षा शिक्षणका लागि आवश्यक स्लाइड, फिगर आदि निर्माण सीप, ठोस तथा डिजिटल सामग्रीको संकलन, निर्माण र प्रयोग, पाठयोजना निर्माण र चरणबद्ध अभ्यास, विभिन्न प्रकारका सिकाइ क्रियाकलाप छनोट र उपयोग, विधि र प्रविधिको सन्तुलन, प्रभावकारी प्रश्न, विद्यार्थीकेन्द्रित शिक्षण, अनलाइन कक्षाकोठा व्यवस्थापन आदि समावेश गरिएको छ ।

रीता (मोरङ) सूक्ष्म–शिक्षण कार्यक्रमको नियमित सहभागी, प्रस्तोता र समीक्षक भई कार्य गर्ने क्रममा प्रस्तुतिहरू निकै उपयोगी, शिक्षणविधि र प्रविधिको प्रयोगबाट सीप अभिवृद्धि भई कठिन परिस्थिति र विद्यालय पुनः सञ्चालनमा आएपछि पनि प्रभावकारी शिक्षणका लागि आत्मबल बढेको बताउनुहुन्छ ।

राम (स्थानीय संयोजक, प्रस्तोता र समीक्षक, पाल्पा) भन्छन्, “जुन शिक्षकहरू केही सिक्न र आफ्नो पेशागत विकास गर्न चाहन्छन् उनीहरू सहभागी भइरहेका छन् । यसको विपरीत अझ पनि कतिपय शिक्षकहरू निष्क्रिय नै छन् ।” सूक्ष्म–शिक्षण कार्यक्रम अति नै उपयोगी भएकोले स्थानीय तह वा कुनै विद्यालयस्तरमा पनि सञ्चालन गर्न फलदायी हुने उनको बुझाइ छ । रूपन्देहीका मोतिले कार्यक्रमले शिक्षकहरूमा अत्यन्त सकारात्मक चिन्तनको विकास गरेको र सिकेका सीपहरू परिवर्तित सन्दर्भमा आवश्यकताअनुसार उपयोग गर्न सकिने बताए । पेडागोजिकल ब्यूरो प्रमुख केशवप्रसाद घिमिरे (प्रस्तोता, समीक्षक, मेन्टर तनहुँ) भन्छन्, “मेरो विचारमा सूक्ष्म–शिक्षण कार्यक्रम आत्मबल बढाउने शक्ति प्रदायक बुटी (Confidence booster) बनेको छ । जुन शिक्षकले पहिला पावरपोइन्ट राम्रो बनाउन जान्नुहुन्नथ्यो, यस कार्यक्रममा प्राप्त सहयोगबाट अहिले मोबाइल वा ल्यापटप दुवै ग्याजेटमा उपयुक्त स्लाइड बनाउने र फोटो तथा भिडियो सम्पादन गरेर प्रयोग गर्ने क्षमता बढेको छ । अझ यस कार्यक्रममा सहभागी बन्नाले अनलाइन कक्षाकोठा व्यवस्थापन सीप पनि विकास भएको छ ।”


हरेक प्रस्तुतिमा प्रस्तोताको आत्मबल उच्च देखिन्छ । वास्तविक कक्षाकोठामा भन्दा राम्रो बोली व्यवहार देखिन्छ । प्रस्तुतिका क्रममा देखिएका पाठको चरणबद्ध विकास, विद्यार्थी सहभागिता सुनिश्चितता गर्ने बानी र उद्देश्यकेन्द्रित शिक्षण व्यवहार प्रदर्शन वास्तविक कक्षा–शिक्षणमा पनि प्रयोग हुनसक्यो भने सिकाइमा धेरै सकारात्मक सुधार हुनेछ । 

प्रकाश (पहिलो स्थानीय संयोजक जिल्ला, प्रस्तोता र समीक्षक इलाम) ले यस कार्यक्रमको क्रममा शिक्षणविधि र प्रविधिलाई आत्मसात् गर्दै पाठ्यक्रमलाई प्रविधिमैत्री तरिकाले शिक्षण गर्ने सीप शिक्षकहरूमा बढेको पाएका छन् । बाँकेका भूपेन्द्रले कार्यक्रममा सूक्ष्म–शिक्षण प्रस्तुतिपूर्वका तयारी अभ्यास र प्रस्तुतिपश्चात् समीक्षकबाट तत्काल प्राप्त पृष्ठपोषणबाट आफूले धेरै सिक्न पाएको अनुभव बताए । रूपन्देहीका अर्का प्रस्तोता कृष्णले समीक्षकको तत्कालको सुझावबाट गल्ती सुधार गर्ने मौका मिलेको अनुभव सुनाउनुभएको छ । त्यसैगरी काठमाडौंकी अम्बिकाले सूक्ष्म–शिक्षणका क्रममा प्रस्तोता, समीक्षक र सहभागीहरूमा प्रस्तुतिमा भएका सकारात्मक र सिकाइलाई प्रभावकारी बनाउने गुणको खोजी गर्ने सकारात्मक चिन्तनको विकास भएको पाउनुभएको छ । यसले वास्तवमा अरूबाट सिक्ने र असल गुणको पहिचान गर्ने सकारात्मक चिन्तनको विकास भई वैयक्तिक र पेशागत सुधारमा सहयोग गर्दछ । सूक्ष्म–शिक्षण कार्यक्रमलाई नियमित अवलोकन गरिरहेका गुरु मैनाली (निवृत्त उपसचिव, शिक्षा) को विचारमा यो कार्यक्रममा प्रविधिको प्रयोग भएको, पाठ्यक्रमका उद्देश्यमा केन्द्रित भएको, सूक्ष्म–शिक्षण अत्यन्त सूत्रबद्ध तरिकाले बढाइएको, तर उहाँको हेराइमा अधिकांश विषयवस्तु सरल खालका रोजिएको छ ।

सर्भेक्षणका सबै उत्तर, अन्तर्वार्ता र अनुभवहरूको विश्लेषण गर्दा यस सूक्ष्म–शिक्षण कार्यक्रमबाट शिक्षकका शिक्षण विधि र प्रविधि सीप विकासमा निम्न अनुसार मद्दत पुगेको देखिन्छः

  • सूक्ष्म–शिक्षणमा प्राप्त सीप वास्तविक शिक्षणमा उपयोग हुने किसिमका छन् ।
  • संलग्न शिक्षकहरूमा पाठयोजना निर्माण, प्रस्तुति वा शिक्षण, अनलाइन स्रोत र साधनहरूको खोजी, सम्पादन र उपयोग, अनलाइन कक्षा व्यवस्थापन सीप विकास भएको छ । यी सीपहरू नियमित शिक्षण सिकाइ कार्यका लागि महत्वपूर्ण छन् ।
  • जिल्लास्तर र ब्यूरोस्तरमा हुने मेन्टरिङ्गबाट शिक्षकको क्षमता वृद्धि हुन्छ ।
  • विज्ञहरूबाट नमूना सूक्ष्म–शिक्षण समेत गरिने गरेकोले प्रस्तोताका लागि सहज भएको छ ।
  • शिक्षकमा पाठ्यक्रमकेन्द्रित शिक्षण विधि र क्रियाकलाप निर्माण गर्ने सिर्जनशीलता बढेको छ ।
  • शिक्षण विधि र डिजिटल सीपका अतिरिक्त सञ्चार सीप, प्रश्न गर्ने सीप, सुन्ने र सम्बोधन गर्ने सीप, कक्षा व्यवस्थापन सीप, समय तथा क्रियाकलाप व्यवस्थापन सीप जस्ता वैयक्तिक र पेशागत सीपहरूको विकास भएको छ ।
  • शिक्षणका क्रममा प्रविधिको उपयुक्त प्रयोग गर्ने र त्यसो गर्दा विषयवस्तु स्पष्टता आउने, सजिलो हुने र सिकाइ दिगो हुने महसूस भएको छ ।
  • डिजिटल सीपको विकास र पाठ्यक्रम र कक्षा शिक्षणमा जोडेर उपयोग गर्ने सीप विकास भएको छ ।
  • विभिन्न क्षमता, पदीय हैसियत वा तहका शिक्षक, प्राध्यापकका बीचमा प्रस्तुति दिने, अन्तरक्रियामा सहभागी हुने, समीक्षा सुन्ने र आफ्नो क्षमताको स्व–मूल्याङ्कन गरी आत्मबल र आत्मविश्वास बढाउने अवसर प्राप्त भएको छ ।
  • प्रायः सूक्ष्म–शिक्षण कार्य समकक्षी सीमित विद्यार्थी र एकजना सुपरिवेक्षकका बीच सञ्चालन हुने गरेकोमा यस मञ्चमा करीब २०० बढी विविध क्षमता र तहका व्यक्तिहरूले च्याट, बोर्ड आदि साधनको प्रयोग गरी सहभागिता र प्रतिक्रिया जनाउने भएकोले सुधार वा आत्मसन्तुष्टि प्राप्त गर्ने सुनौलो अवसर हो । सयौं मानिसहरूले बधाइ ज्ञापन गरेको अवस्था विरलै मिल्छ ।
  • सांगठनिक नेतृत्व, संयोजन, व्यवस्थापन, सम्पर्क लगायतका सीप समेत विकास भएका छन् ।

सीमा

सूक्ष्म–शिक्षणका विभिन्न सीमाहरू हुन्छन् । जस्तै कुनै निश्चित विषयवस्तु वा सीप विकास गर्ने, समय सीमा (यस कार्यक्रममा १५ मिनेट), विद्यार्थी संख्या (प्रायः १० जना, यस कार्यक्रममा भने २०० बढी), विद्युतीय शिक्षणका क्रममा कम मात्र मौखिक अन्तरक्रिया हुनसक्ने तर च्याट आदिको प्रयोग भइरहने र बोर्ड, एनोटेशन लगायतको व्यवस्थापनका लागि पनि ध्यान जानुपर्ने देखिन्छ । सूक्ष्म–शिक्षण कार्यक्रम चुनौती र अवसर दुवै प्रकारको छ । कतिपय कक्षाहरू विद्युत् तथा इन्टरनेटको अवरोधका कारण रोकिएका थिए । अर्को सीमा सहभागीहरूको विषयगत भिन्नता, चाहना र आवश्यकतालाई निरन्तर सम्बोधन गर्न र संलग्न गराइराख्न चुनौतीपूर्ण छ । यी धेरै अप्ठेरोका बाबजूद सूक्ष्म–शिक्षणका फाइदाहरूका कारण सहभागीहरू उत्साहित देखिन्छन् ।

निष्कर्ष

नेपाल राष्ट्रिय शिक्षक संगठनले यो सूक्ष्म–शिक्षण कार्यक्रम उपयुक्त समय र शैलीमा सञ्चालन गरेको छ । यसबाट शिक्षकहरूमा पाठ्यक्रम, शिक्षण विधि र डिजिटल प्रविधिको संयोजन गरी शिक्षण प्रभावकारिता बढाउने क्षमता विकास भएको छ । यसप्रकारको क्षमता प्रत्यक्ष वा अनलाइन सबै प्रकारका शिक्षणमा उपयोगी हुने देखिन्छ ।

विभिन्न प्रकारको प्रविधिगत समस्या रहँदारहँदै पनि पाठयोजना निर्माण, सामग्री निर्माण, प्रस्तुति र सुधारका कार्य भएका छन् । कतिपय शिक्षकहरूले यिनै कार्यक्रमबाट आफ्नो क्षमता वृद्धि गर्दै अहिले अनलाइन कक्षा शिक्षण गर्ने गरिरहेका छन् ।

(लेखक बश्याल शिक्षा तालिम केन्द्र, पाल्पामा कार्यरत हुनुहुन्छ ।)

सन्दर्भ सूची

Bartley, D. E. (2018). Micro-teaching: rationale, procedures and application to foreign language. Retrieved from https://eric.ed.gov/?id=EJ017053

Brown, G. (1975). Microteaching: a program of teaching skills. Amazon Books.

Richards, J. C. and Farrell, T.S.C. (2005). Professional development for language teachers. CUP

commercial commercial commercial commercial