पाठ्यपुस्तकको बनावट

एउटा सानो स्वीकारोक्तिबाट आफ्नो कुरा शुरू गर्न चाहन्छु । यो विषय लामो समयदेखि मेरो मथिंगलमा मडारिइरहेको थियो । पाठ्यपुस्तकबारे निकै दिनदेखि सोचिराखेको थिएँ र आफ्ना कुरा भन्न बडो उत्सुक थिएँ । मलाई लाग्थ्यो— सबै सोचिरहेकै छु, एकै बसाइमा एउटा लेख तयार भइहाल्छ । तर त्यस्तो भएन । जब लेख्न शुरू गर्थें, मलाई यो विषयभित्रबाट मेरो प्रवेशका विरुद्ध केही प्रतिरोध जस्तो महसूस हुन्थ्यो र म रोकिन्थें ।

म छक्क पर्थें— किन यस्तो भइरहेको छ ? मलाई यसमा किन प्रवेश प्राप्त भइरहेको छैन ? पाठ्यपुस्तकमा यस्तो के छ, जसले गर्दा यसबारे कुरा शुरू गर्न यति कठिन भइरहेको छ ? उपन्यास भए त्यसका पात्रहरूको वर्णनबाट शुरू गर्थें, अथवा कुनै संवादको विश्लेषण गर्न थाल्थें र बिस्तारै बिस्तारै समग्र उपन्यास त्यही एउटा सूत्रको सहाराबाट खुल्न थाल्थ्यो । तर यहाँ के भएको ?

निकै गम खाएपछि मैले थाहा पाएँ— मलाई भित्रबाट कताकता डर जस्तो लाग्दोरहेछ । पहिले त लाग्यो, म यस विषयको विशेषज्ञ नभएर हो कि ? तर यतिका दिनदेखि मैले यसबारे सोचिरहेको छु, भन्नुपर्ने कुरा दिमागमा तयारै छ, फेरि यो भय किन ? मलाई अलिक अनौठो लाग्यो, तर त्यही वेला मैले ठम्याएँ— यो भय त्यो भयसँग मिल्दोजुल्दो छ, जो मलाई त्यसवेला लाग्थ्यो जब म भान्साकोठामा चप्पल लगाएर पस्थें । त्यस्तो भय, जो कुनै अपवित्र काम गर्दा हुन्छ । तर के पाठ्यपुस्तकबारे केही सोच्नु अपवित्र काम गर्नु हो त ? अनि मैले सोचें, यसैलाई प्रवेशको सूत्र बनाउनुप¥यो; पवित्र र अपवित्रबारेको बुझइबाटै पाठ्यपुस्तकलाई बुझन शुरू गर्नुप¥यो ।

एक जना भारतीय विचारकका अनुसार पवित्र र अपवित्रबीचको विभाजन पश्चिमको यसै किसिमको विभाजनको अनुवाद हो ।

पवित्र र अपवित्रको यो धारणा ‘सेक्रेड’ ९क्अबचभम० र ‘प्रोफेन’ ९एचयाबलभ० को अनुवाद हो, जसको सम्बन्ध क्रमशः धार्मिकता÷ईशप्रार्थना र अधार्मिकता÷ईशनिन्दासँग छ । प्राचीनकालमा भारतवर्षमा  ईशनिन्दा जस्तो कुनै अवधारणा नै थिएन ।

ईश्वरको निन्दा गर्नु र उनको प्रार्थना गर्नु एक–अर्काका विपरीत कर्म मानिंदैनथे । वेद न पवित्र हुन् न अपवित्र । यसको सबैभन्दा स्पष्ट प्रमाण के हो भने, वेदलाई नमान्ने नास्तिक बौद्धहरूमाथि प्रश्न त थुप्रै उठाइए तर तिनलाई निमिट्यान्न पारिएन । तिनको ‘नास्तिकता’ लाई सहज रूपमा स्वीकार गरियो भन्ने होइन, परन्तु उनीहरूको यस्तो अविश्वासलाई कुनै परम सिद्धान्त अथवा ‘एब्सोल्युट’ ९बदकयगितभ० सन्दर्भहरूमा हेरिएन । अर्थात् तिनलाई सदाका निम्ति तिरस्कृत गरेर किनारा लगाइएन । तिनीहरू पथभ्रष्ट भए त भनियो (जैनहरूलाई पनि शुरू शुरूमा यसै भनियो) तर तिनलाई अपराधी ठह¥याइएन । विधर्मी वा काफिर भनिएन । अथवा, त्यस्तो भनिए पनि तिनको अस्तित्व निमिट्यान्नै पार्ने गरी ‘एब्सोल्युट टर्म’ मा त्यसो गरिएन । अन्यथा, आज बौद्ध र जैन मतावलम्बीहरूलाई विभिन्न मुलुकमा सम्मानजनक स्थान प्राप्त हुने थिएन ।

कुनै पुस्तकले आफ्नो सत्ता वा भनौं अस्तित्व पवित्र र अपवित्रका सन्दर्भमा परिभाषित गर्छ वा त्यस्तो हुन्छ भने हामीले त्यसको स्रोतमाथि अवश्य विचार गर्नुपर्छ । हामीसँग, यो देशमा पाठ्यपुस्तक (यसको अवधारणा) बाहिर कतैबाट आएको हो भनेर मान्न सकिने पर्याप्त करण छन् । यस्तो अवस्थामा यो कहाँबाट आएको हो भन्ने बारे अवश्यै सोच्नुपर्छ । हामीसँग त्यस्तो कुनै प्रमाण उपलब्ध छैन, जसका आधारमा पाठ्यपुस्तक हामीकहाँ पहिलेदेखि नै थियो भन्न सकियोस् । यसखालको कुनै शब्दको प्रयोग हाम्रा प्राचीन शास्त्रहरूमा भएको जानकारी, कम्तीमा मलाई चाहिं छैन । त्यसोभए हामीकहाँ पाठ्यपुस्तक कहाँबाट आयो त ?

पवित्र र अपवित्रका परम–सिद्धान्तका ‘एब्सोल्युट’ श्रेणीहरू ईसाई धार्मिक विश्वासबाट आएका हुन् । अंग्रेजीका ‘सेक्रेड’ र ‘प्रोफेन’ शब्दको ईसाई धार्मिक विश्वाससँग गहिरो सम्बन्ध छ । त्यसैले, यसलाई बुझ्ेर मात्र हामी त्यससँग पाठ्यपुस्तकको निकटतालाई बुझन सक्छौं । यिनै श्रेणीहरू रहेका कारण ईसाई धर्ममा बाइबललाई ‘पवित्र’ ग्रन्थ मानिन्छ, जसरी इस्लाममा कुरानलाई मानिन्छ । यी पवित्र ग्रन्थ पवित्र स्थानका शोभा बन्थे र बन्ने गर्छन् । गिर्जाघर र मस्जिदहरूमा यिनको पाठ हुन्थ्यो र हुनेगर्छ । पुनर्जागरण काल (सोह्रौं शताब्दी) पछि पश्चिमले ‘पवित्र’ को ठाउँमा ‘धर्मनिरपेक्ष’ र ‘सेक्रेड’ को स्थानमा ‘सेक्युलर’ शब्दहरू प्रयोग गर्न थाल्यो ।  

‘पवित्र’ को स्थान ‘धर्मनिरपेक्ष’ ले अवश्य लियो, तर यो विस्थापन अनिवार्यतः द्वन्द्वमा आधारित थियो अर्थात् ‘सेक्रेड’ का विरुद्ध ‘सेक्युलर’ लाई स्थापित गरिएको थियो । त्यसैले ‘सेक्युलर’ चिन्तन ‘सेक्रेड’ चिन्तनको प्रतिकृति जस्तै गरी अस्तित्वमा आयो । यो प्रतिकृति ठ्याक्कै आफ्नो मूल कृतिजस्तो थिएन, यसमा केही महŒवपूर्ण अन्तर पनि थिए तर यसका साथसाथै कैयौं समानता पनि थिए । समकालीन ग्रीक कवि तातोस डेनिग्रिसका यी पंक्ति यो स्थितिमाथि सटीक टिप्पणी हुन सक्छन्ः “तिमी कसैलाई घृणा गर्छौ र अन्ततः त्यसको नकल गर्न पुग्छौ” (यू हेट समथिङ एण्ड यू एण्ड अप इमिटेटिङ इट) । लगभग यस्तै स्थिति पुनर्जागरण पश्चात् पश्चिममा बन्न पुग्यो । पुनर्जागरणले केही हदसम्म पुनर्जागरण भन्दा पहिलेको चिन्तनको अनुकरण ग¥यो ।

धर्मनिरपेक्ष चिन्तनमा ईसाई धार्मिक चिन्तनको गाढा छाया विद्यमान थियो । पवित्र–पुस्तकको स्थान अब पहिलेजस्तो रहेन । तर, पवित्रताको केन्द्र यही पवित्र–पुस्तक रहँदै आएको थियो अनि यसै पुस्तकका आधारमा पवित्रता र अपवित्रताका श्रेणीहरू तयार गरिन्थे । त्यसैले यसलाई कुनै धर्मनिरपेक्ष पुस्तकद्वारा विस्थापित गरिनु आवश्यक वा भनौं अनिवार्य हुन पुग्यो । जुन पुस्तक यस विस्थापनको परिणामस्वरूप अस्तित्वमा आयो, त्यो थियो— पाठ्यपुस्तक । पवित्र–पुस्तकको भूमिका यसले ग्रहण ग¥यो ।

यी दुई पुस्तकबीच रहेका भेदहरूबारे एकछिनपछि कुरा गरौंला तर यीबीचको आधारभूत साम्य हामी स्पष्टतः देख्न सक्छौं । बाइबल प्रत्येक ईसाईका निम्ति जरूरी छ र पाठ्यपुस्तक पनि त्यो पुस्तक हो जसलाई सबै विद्यार्थीले पढ्नै पर्छ । यो कुरा पाठ्यपुस्तक बाहेकका कुनै पनि पुस्तकमा लागू हुँदैन; चाहे त्यो कथा, कविता, उपन्यास जेसुकै होस् । के सही हो र के गलत हो अथवा के गर्नुहुन्छ र के गर्नुहुँदैन— त्यसको अन्तिम व्याख्या, अन्तिम निर्णय पवित्र पुस्तकमा हुने गथ्र्यो; न्यू टेस्टामेन्ट का ‘टेन कमान्डमेन्ट्स’ यसका उदाहरण हुन् । यूरोपको पुनर्जागरणकालपछि योे भूमिका पाठ्यपुस्तकलाई दिइयो । अनि पाठ्यपुस्तकले निर्णायक रूपमा बताउन थाले— जीवन कसरी अस्तित्वमा आयो, कसरी विकास भयो, नागरिकहरूले के गर्नुपर्छ, उनीहरूको दायित्व के हो, आदि इत्यादि ।

यी कुरा पाठ्यपुस्तकमा एकैचोटि, बाइबलमा जस्तै अन्तिम रूपले आएका हुन्छन् भन्ने चाहिं होइन । यस अर्थमा पाठ्यपुस्तक पवित्र–पुस्तकभन्दा भिन्न छ । पवित्र–पुस्तकमा एकपल्ट जे आयो, त्यो सधैंका लागि आयो । पवित्र–पुस्तक ज्ञानको विस्तारको अवधारणामाथि या त विश्वासै गर्दैन, गरे पनि के मान्छ भने, समग्र ज्ञानको समग्र विस्तारले जहाँ पु¥याउँछ त्यो ज्ञान त्यो अन्तिम निष्कर्ष आफूमा पहिलेदेखि नै सुरक्षित छ । तर पाठ्यपुस्तकका संस्करणहरू हुन्छन् । यसमा हरेक वर्ष वा निश्चित अवधिमा परिवर्तन हुन्छ; केही नयाँ थपिन्छ, केही पुरानो हटाइन्छ । परन्तु आफ्नो प्रत्येक संस्करणमा पाठ्यपुस्तकले ठीक त्यस्तै व्यवहार गर्छ, मानौं ऊ पवित्र–पुस्तक हो । उसको हरेक संस्करणलाई यसरी पढिन्छ–पढाइन्छ मानौं त्यो अन्तिम सत्य हो । उदाहरणका लागि, कुनै शिक्षक कुनै पाठ्यपुस्तकको छैटौं संस्करण पढाइरहेको छ भने यसरी पढाउँछ, मानौं त्यो स्वयंमा पूर्ण छ । अन्तिम निष्कर्ष त्यही हो । पाठ्यपुस्तक पढाउने शर्त नै यही हुन्छ । यो कुरा बेग्लै हो, हामी सबैलाई थाहा हुन्छ कि आगामी वर्षहरूमा यसका अन्य कैयौं संस्करण आउनेछन्, त्यसैले यसमा जे लेखिएको छ त्यो स्वयंमा अस्थायी हो, परिवर्तनशील हो; अन्तिम होइन । तर पाठ्यपुस्तकको चरित्र वा भनौं संरचनाका कारण त्यसलाई पढ्ने–पढाउने क्रममा शिक्षक र विद्यार्थीमा यो नै अन्तिम सत्य हो भन्ने मानसिकता बन्न पुग्छ । किनभने, पाठ्यपुस्तकलाई प्रस्तुत नै यसरी गरिएको हुन्छ, कि त्यसलाई पवित्र–पुस्तक जस्तै गरी पढाउन सकियोस् । यस अर्थमा तपाईं पाठ्यपुस्तकलाई ‘छद्म पवित्र–पुस्तक’ पनि भन्न सक्नुहुन्छ ।

पवित्र–पुुस्तकको कुनै लेखक हुँदैन । त्यसलाई मनुष्यले लेखेको मानिंदैन । त्यस्तो ठानेर पढिंदैन । पवित्र–पुस्तक देवता झ्ैं प्रकट हुन्छ भन्ने मानिन्छ । स्वर्ग वा प्रभुको लोकमा रहेका प्रभुका वाणी पृथ्वीमा प्रभुकै दूत वा प्रतिनिधि मार्फत प्रकट हुन्छन् ।

यसको ‘द्रष्टा’ हुन्छ, ‘लेखक’ हुँदैन । लेखक त स्वयं ईश्वर नै हो । त्यसैले यसलाई ईश्वरको कृति मानेर पढिन्छ । त्यसका एक–एक शब्द त्यसका पाठकका मनमा ईश्वरका तर्फबाट आएका अमृतका थोपा जसरी तप्किन्छन् । पवित्र–पुस्तकको कुनै लेखक रहेछ नै भने पनि उसले आफ्नो रचनालाई यसरी प्रस्तुत गरेको हुन्छ, मानौं त्यो रचना उसको होइन; ऊ त ईश्वरबाट भक्तसम्म सन्देश पु¥याउने माध्यम मात्र बनेको हो । पवित्र–पुस्तकलाई यसरी लेखिन्छ र पढिन्छ, मानौं त्यो कुनै अलौकिक आकांक्षा किंवा ‘कस्मिक इन्टेन्शन’ को परिणाम हो ।

अब हामी आफ्नो यो ‘छद्म पवित्र–पुस्तक’ अर्थात् पाठ्यपुस्तकलाई हेरौं । यसलाई पवित्र–पुस्तक सरह व्यवहार गरिए पनि यसको लेखकले ईश्वरको आकांक्षालाई मनुष्यको हित निम्ति पृथ्वीमा अवतरित गर्न आफूले लेखेको हो भन्ने ठान्छ त ? हामी जान्दछौं, यस्तो होइन । उसले आफूलाई प्रभुको दूत वा माध्यम ठानेर लेख्तैन । पाठ्यपुस्तक लेख्ने–लेखाउने त बकाइदा योजना बन्छ, यसका लागि बजेट छुट्याइन्छ र लेख्ने मानिसको नाम पनि त्यसमा छापिन्छ । तैपनि यसमा लेखिएका पाठ हामी यसरी पढ्छौ–पढाउँछौं, मानौं त्यो कुनै लेखकको दिमागबाट निस्केको कुरा नभएर कुनै अलौकिक आकांक्षाको वाहक हो । त्यसको लेखक जो भए पनि उसको ज्ञानको, विवेकको सीमा छ भन्ने कुरा हामी बिर्सन्छौं ।

पवित्र–पुस्तक जस्तो कुनै केन्द्रीय ग्रन्थ प्राचीन समयमा हामीकहाँ कहिल्यै थिएन । उपनिषद्, भगवद्गीता, रामायण, महाभारत— कुनैलाई पनि तपाईं त्यस अर्थमा पवित्र–पुस्तक भन्न सक्नुहुन्न, जुन अर्थमा बाइबललाई पवित्र पुस्तक भनिन्छ ।

पवित्र पुस्तक त्यो ग्रन्थ हो, जोसँग ‘कौतुक’ सम्भव छैन, जोसँग तपाईं खेलको सम्बन्ध बनाउन सक्नुहुन्न । तर प्राचीन भारतवर्षका असंख्य पुराण र त्यसपछिका काव्यग्रन्थहरू यी ग्रन्थसँगको कौतुकका कारण नै लेखिएका छन् । कुनै पनि एउटा ग्रन्थलाई केन्द्रमा राखेर, त्यसलाई अन्तिम निष्कर्ष मानेर हामीकहाँ कहिल्यै शिक्षा दिइएन । शिक्षाको अर्थ हामीकहाँ कुनै निश्चित पुस्तकको पठनपाठन थिएन । जब अंग्रेज भारतमा आए, तिनले भारतीयहरूलाई ‘शिक्षित’ गर्न चाहे । तिनका लागि शिक्षाको अर्थ एउटा वा केही ग्रन्थहरूलाई केन्द्रमा राखेर शिक्षा दिनु थियो । ती जहाँबाट आएका थिए, त्यहाँ ‘पुस्तक’ एउटै थियो र त्यसलाई पढ्नु नै ज्ञान प्राप्त गर्नु थियो । एउटा पुस्तक र एउटा ईश्वरको देशबाट आएका थिए उनीहरू । यहाँ आएर जब तेत्तीस कोटि देवी–देवता देखे, त्यसवेला एउटा पुस्तकलाई केन्द्रमा राखेर शिक्षा दिनुपर्ने आवश्यकता झ्न् तीव्रताका साथ महसूस भयो होला । त्यसैले उनीहरूले हामीमाथि पाठ्यपुस्तक आरोपित गरे ।

यसो गर्नुका पछाडि उनीहरूसँग केही अरू कारण पनि थिए । भारतमा आफ्नो प्रशासनिक व्यवस्था र बन्दव्यापार चलाउन उनीहरूलाई जस्ता मान्छे चाहिन्थे, त्यस्ता मान्छे तयार पार्नका निम्ति एकखालको पाठ्यपुस्तक बनाउन तिनलाई आवश्यक लाग्यो । उनीहरूको योजना थियो— भारतवर्षको प्रज्ञालाई, यहाँको ज्ञानलाई यहींकै बासिन्दाका निम्ति बिरानो बनाइदिनु । त्यो हदसम्म बिरानो बनाइदिनु, जसबाट हाम्रो ज्ञान स्वयं हामीलाई नै अवास्तविक लाग्न थालोस् । जति–जति शिक्षा पाठ्यपुस्तकका वरिपरि केन्द्रित हुँदै गयो, उति–उति हाम्रो प्रज्ञा, हाम्रो ज्ञान हाम्रै निम्ति अवास्तविक बन्दै गयो । पाठ्यपुस्तक–युगमा यस ज्ञानलाई तिरस्कार गर्नु शिक्षित हुनुको एउटा अर्थ, एउटा मापदण्ड हुन पुग्यो ।

यसको एउटा सोझे उदाहरणको होः सारा पौराणिक ग्रन्थहरू, अथवा पौराणिक शैलीमा हाम्रा विद्वानले लेखेका ग्रन्थहरू हामी र हाम्रा विद्यार्थीलाई वास्तविक लाग्दैनन् । वास्तविक नलागेपछि यिनका बारेमा सोच्नु–बुझनु पनि हामीलाई जरूरी लाग्दैन ।

पाठ्यपुस्तक एउटा यस्तो चौकोर लक्ष्मणरेखा बनेको छ, जसभित्र पुग्ने जति वास्तविक हुन्छ र त्यसबाहिर रहेको जति अवास्तविक । साहित्यको शिक्षामा यो भेद अझ् धारिलो बन्छ । केही लेखकका कतिपय कृति पाठ्यपुस्तकमा परेका छन् । तिनलाई विद्यार्थीले सानैदेखि पढ्छन् र मान्न थाल्छन्— वास्तविक कृति यिनै हुन् । तिनले अन्य लेखकका अन्य कृति पढे पनि र तीबाट आनन्दित भए पनि, ती पाठ्यपुस्तक नभएकाले उनीहरूलाई ती कम वा पूरापूर अवास्तविक लाग्छन् । ती पुस्तकलाई तिनले पराई ठानेर पढ्छन् र बिस्तारै बिस्तारै यस्ता अद्भुत पुस्तकका लागि आफैं पराई बन्न पुग्छन् ।

कुनै पनि पुस्तकको बनावटमा उसको पठनका नियम पनि निर्भर हुन्छन् । पुस्तकलाई कसरी पढ्ने भन्ने कुरा उसको बनावटकै अंग हुन्छ । कुनै पनि पुस्तकलाई हामी आफ्नो शर्तमा होइन, उसको शर्तमा पढ्छौं । प्रश्न उठ्छ, हामी पाठ्यपुस्तकलाई त्यसरी पढ्न सक्छौं, जसरी— उदाहरणका लागि— दोस्तोएभ्स्कीको उपन्यास पढ्छौं ? यदि सक्तैनौं भने यिनको पढाइमा फरक के हुन्छ र त्यो फरकको आधार के हो ? जब हामी दोस्तोएभ्स्कीको उपन्यास ‘क्राइम एण्ड पनिशमेन्ट’ पढ्छौं, त्यसवेला उपन्याससँग निरन्तर संवाद वा बहस गरिरहेका हुन्छौं । कति ठाउँमा उपन्यासले हामीलाई सन्तुष्ट पार्छ, कति ठाउँमा पार्दैन ।

तर उपन्यास पढ्नुको शर्त नै के हो भने तपाईं त्यसमा शामेल हुनुहोस् । त्यसले यस्तो खेल रच्छ, जो पाठक शामेल नभएसम्म पूरा हुन सक्तैन । त्यसमा पाठकको स्थान सधैं सुरक्षित हुन्छ । यही कुरा अन्य उपन्यास, काव्य वा महाभारत जस्ता ग्रन्थका विषयमा पनि लागू हुन्छ । तर पाठ्यपुुस्तकको पठन यसको ठीक विपरीत हुन्छ । पाठ्यपुस्तक पढ्ने पहिलो शर्त नै के हो भने तपाईं त्यससँग संवाद नगर्नुहोस् । यो उपदेशात्मक पुस्तक हो, जसले पाठकलाई आफ्नो खेलमा शामेल गर्दैन । यसको पाठक पाठ्यपुस्तक बाहिर दीनहीन मुद्रामा उभिइरहेको हुन्छ, वेलाबखत केही पूर्वनिश्चित अवधारणाहरू उसको पोल्टामा खस्ने मात्र गर्छन् । उससँग संवाद सम्भव छैन । ऊ एकालापमै जीवित रहन्छ । उसलाई पढ्ने तरीका हो— उसलाई ‘याद’ गर्नु । त्यसैले, पाठ्यपुस्तकका बारेमा त्यस्तो कुनै पनि राय हुन सक्तैन, जस्तो उपन्यासका बारेमा हुन्छ । पाठ्यपुस्तकको यो धारणा गलत छ, तर्कहीन छ भनेर तपाईं भन्न पाउनुहुन्न, जसरी अन्य पुस्तकका बारेमा भन्न स्वतन्त्र हुनुहुन्छ । पाठ्यपुस्तकले आफ्नो पाठकलाई उपदेशात्मक एकालापमै बताउने गर्छ— सृष्टि, जीवन, प्रकृति आदिलाई कसरी हेर्ने, कसरी बुझने, निष्कर्ष के हो, के गर्नुपर्छ आदि । उसले पाठकको स्वतन्त्र विचार–दृष्टिको कल्पना नै गर्दैन । त्यसैले ऊसँग बहस वा असहमतिका लागि कुनै स्थान हुँदैन ।

धेरै हदसम्म यसको कारण हाम्रा शैक्षिक संस्थाहरू हुन्, जसलाई हामी आधुनिक गिर्जाघर भन्न सक्छौं— जहाँ पाठ्यपुस्तकलाई अन्तिम प्रमाण जसरी प्रस्तुत गरिन्छ । यस्ता गिर्जाघर बन्नु पनि पाठ्यपुस्तकको बनावटकै एउटा अंग हो, किन भने पाठ्यपुस्तक त्यतिन्जेलसम्म मात्र पाठ्यपुस्तक हो जबसम्म शैक्षिक संस्था विद्यमान छन् । शैक्षिक संस्था बनेकै यसका लागि हुन् कि तिनमा पाठ्यपुस्तकलाई पाठ्यपुस्तकको शर्तमा पढाउन सकियोस् । पाठ्यपुस्तक त्यतिन्जेलसम्म मात्र असामान्य पुस्तक हो, जबसम्म उसमाथि विद्यार्थीले स्वतन्त्र रूपमा विचार गर्दैन, जबसम्म ऊ यी गिर्जाघरको चौघेरामा आफ्नो एकालाप सहित सुरक्षित हुन्छ ।

आजको शिक्षाको आधार संस्थाहरूको आकांक्षा हो, शिष्यको जिज्ञासा होइन । त्यसैले जीवन–मृत्युसँग जोडिएका, अस्तित्वसँग जोडिएका, चेतनासँग जोडिएका प्रश्नहरूको पाठ्यपुस्तकमा कुनै प्रतिध्वनि छैन । कसैले भन्ला, यति ठूलो जनसंख्यालाई सम्हाल्न ज्ञान होइन, निश्चित कौशलको आवश्यकता छ, त्यसैले संस्थाहरू यस्ता हुनु जरूरी छ । त्यसो भए, यस कारणबाट र यसरी जुन शिक्षा विद्यार्थीलाई दिइन्छ त्यसलाई ज्ञान भनेर किन दिइएको त ? यहाँ संस्थाहरूको आकांक्षा शिक्षाको आधार हुनु अनैतिक होइन, अनैतिक त त्यसलाई निरन्तर लुकाएर–छिपाएर राख्नु हो । जुन दिन शिष्यको जिज्ञासा उसको ज्ञानको आधार बन्नेछ, त्यस दिन तमाम पाठ्यपुस्तकहरू स्वतः विलुप्त हुन पुग्नेछन् । किनभने, पाठ्यपुस्तकको बनावटको एउटा प्रमुख शर्त नै आफ्नो पाठकको जिज्ञासालाई नियन्त्रित, निष्क्रिय गर्नु हो । तर, जुन क्षणमा शिष्यका जिज्ञासाहरू अनियन्त्रित र सक्रिय हुन्छन्, कुनै घेरामा बाँधिएका हुँदैनन्, त्यसवेला एकालापी उपदेशको यो पोको निस्सार हुन पुग्छ । हामी यस कुराबाट दुःखी हुन सक्नुपर्छ कि विद्यार्थीलाई पाठ्यपुस्तक एकदमै सानो उमेरबाट पढाउन थालिने भएकाले उसले ‘आफ्ना’ जिज्ञासाहरूलाई अन्त्यसम्म पहिचान गर्नै सक्तैन । तिनका ठाउँमा उसले आफूभित्र मिथ्या प्रश्नहरूलाई ठाउँ दिन्छ, जसका पूर्वनिर्धारित उत्तरहरू पाठ्यपुस्तकमा पहिलेदेखि नै उपलब्ध हुन्छन् ।

यसका विपरीत, तपाईंले औपनिषदिक शिक्षाको मोडल हेर्नुभयो भने आधुनिक शिक्षा पद्धतिको आध्यात्मिक खोक्रोपन नराम्ररी उदांगो हुनेछ । औपनिषदिक शिक्षा–व्यवस्थामा सारा ज्ञान–व्यापार शिष्यको प्रश्नमाथि अडिएको हुन्छ । यहाँ गुरु कुनै पुस्तकको एजेन्ट होइन, न कुनै ग्रन्थले उसलाई आफ्नो एजेन्ट बन्ने अनुमति नै दिन्छ । शिष्यको प्रश्नले गुरुलाई जहाँ–जहाँ लैजान्छ, त्यहाँ–त्यहाँ गुरु जान्छ । दुवैको ‘जानु’ मा फरक कति मात्र छ भने त्यहाँ जेजस्तो अनुभव भएको वा भइरहेको छ, त्यसलाई गुरुले भन्न सकिरहेको छ ।

प्राचीनकालमा भारतवर्षमा ईशनिन्दा जस्तो कुनै अवधारणा नै थिएन । ईश्वरको निन्दा गर्नु र उनको प्रार्थना गर्नु एक–अर्काका विपरीत कर्म मानिंदैनथे । वेद न पवित्र हुन् न अपवित्र ।

दुवैले मिलेर ज्ञानको खोजी गरिरहेका छन् । फरक केमा मात्र छ भने शिष्यलाई त्यस्तो समय आउनेछ जब आफ्नो खोज समाप्त हुनेछ भन्ने निरन्तर लागिरहेको छ तर गुरुलाई थाहा छ— हिंड्नु र भौंतारिनु नै स्वयंमा ज्ञानको बनोटको अंग हो । जुन वेला शिष्यलाई ज्ञानको खोज नै ज्ञानको प्राप्ति हो भन्ने अनुभव हुन जान्छ, उसलाई ‘ज्ञान’ प्राप्त हुनेछ । यसरी त्यहाँ गुरु शिष्यलाई प्रश्न सुल्झउन होइन, प्रश्न सहन सिकाउँछ । किन भने, जस्तो कि हाइडेगर मान्दथे— मनुष्यको स्वत्वको स्वरूप प्रश्न नै हो (द एसेन्स अफ म्यान इज द फार्म अफ क्वेश्चन) । त्यसैले प्रश्न, यसलाई सुल्झउने वा समाधान गर्ने होइन, यसलाई सहने हो । यसलाई निरन्तर आविष्कृत गर्ने हो ।

हिन्दीका कवि एवं निबन्धकार उदयन वाजपेयी
फिजियोलोजीका प्राध्यापक हुन् । उनका कथा, कविता र निबन्ध संग्रहहरू
अनेकौं भाषामा अनूदित भएका छन् ।
यो आलेख उनको निबन्ध संग्रह ‘चरखे पर बढत और अन्य निबन्ध’ मा प्रकाशित छ ।

भाषान्तरः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial