अंग्रेजीमा प्रयोगात्मक अंक यसरी पो दिने हो कि ?

‘तपाईं अंग्रेजी विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्क कसरी दिनुहुन्छ ?’ भन्ने प्रश्न गर्दा प्रायःजसो शिक्षकबाट आउने उत्तर होे— ‘विद्यार्थीले सैद्धान्तिकमा ल्याएको अङ्कलाई हेरेर नम्बर दिन्छौं ।’ कतिपय शिक्षकहरू त ‘सबैलाई २५ नै दिन्छौं’ भन्ने गर्छन् ।

कक्षा-६ देखि नै अंग्रेजी विषयको १०० पूर्णाङ्कमध्ये २५ अंक प्रयोगात्मक अभ्यासका लागि छुट्याइएको छ । २५ पूर्णाङ्कलाई पनि सुनाइ सीप र बोलाइ सीपमा विभाजन गरिएको छ । त्यसमध्ये ‘१५ अङ्क बोलाइ र १० अङ्क सुनाइ सीप’ का निम्ति भनेर पाठ्यक्रममा स्पष्ट पारिएको छ । तर, व्यवहारमा चाहिं शिक्षक र विद्यार्थी दुवैले २५ अङ्क भनेको पढाउनु र पढ्नु नपर्ने, सीधै दिन–लिन मिल्ने अङ्क हो भनेर बुझेका छन् । यसो हुनुको एउटा कारण, पाठ्यपुस्तक अन्तर्गतका सुनाइ र बोलाइ सीपलाई साह्र्रै कम र पढाइ–लेखाइ सीपलाई बढी जोड दिने गर्नु हो । जबकि, भाषाका पढाइ, लेखाइ, सुनाइ र बोलाइ उत्तिकै महत्वपूर्ण सीप हुन् । धेरैजसो स्कूलमा सुनाइ र बोलाइ सीपका अभ्यास पछि गरौंला भनेर टार्ने गरिन्छ भने परीक्षामा यो सोधिंदैन वा आउँदैन भनेर २५ अङ्कको लागि मिहिनेत गर्नु नपर्ने बुझाइ विद्यार्थीमा विकसित गरिएको छ । परिणामतः विद्यार्थीले भाषाको अर्ध ज्ञान मात्र पाइरहेका हुन्छन् । अनि हामी भन्छौं, “विद्यार्थी अंग्रेजी फिटिक्कै बोल्दैनन्” अथवा “अभ्यासका लागि वातावरण नै छैन ।”

कतिपय विद्यालयमा सुनाइ सीपका लागि आवश्यक शैक्षिक सामग्री (अडियो) नै छैन भन्ने गुनासो पाइन्छ । कतिपयमा अडियो छ, तर स्पीकर छैन । शिक्षकहरू विद्यालय प्रशासनले यस्ता सामग्री उपलब्ध गराइदिंदैनन् भन्ने गुनासो गर्छन् । अनि यस्तै समस्या देखाएर हामी शिक्षक सुनाइ र बोलाइका अभ्यास न्यून मात्रामा वा नगन्य रूपमा गर्छौं । या त गर्दै गर्दैनौं । म आफैं पनि पहिले यस्तै ढंगबाट २५ अङ्क दिने गर्थें । तर अहिले आएर, सानो प्रयास गर्दा पनि विद्यार्थीमा ठूलो परिवर्तन आएको देखेर ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ भन्ने भनाइमा विश्वस्त भएकी छु ।  

मैले अपनाएको विधि
अहिले परिमार्जित अंग्रेजी पाठ्यपुस्तकका प्रत्येक एकाइमा उपयोगी परियोजना कार्यहरू पनि दिइएको छ । ती परियोजना कार्यलाई मैले भाषाको सुनाइ र बोलाइ सीपसँग जोडेकी छु । परियोजना कार्यमार्फत विद्यार्थी सिकाइ प्रक्रियामा सक्रिय भएर सहभागी हुन्छन् । मैले २५ अङ्कको प्रयोगात्मक अङ्कलाई तल तालिकामा दिइए जसरी विभाजन गरें । विद्यार्थीको ‘परफरमेन्स’ लाई तालिकामा दिइएको प्राथमिकताको आधारमा मूल्यांकन गरी अङ्क दिने गरेकी छु । यसले गर्दा कम अङ्क आउने विद्यार्थीले अर्को पटकको जाँचमा राम्रो गर्न थप अभ्यास गर्छन् । त्यसै २५ अङ्क दिंदा उनीहरूको कुनै पनि सीप विकास हुँदैन । त्यसै नम्बर पाइन्छ भनेर उनीहरू मिहिनेत गर्दैनन् नै ।

सुनाइ सीप         ८ अंक
बोलाइ सीप         ८ अंक
परियोजना कार्य    ९ अंक
    कुल              २५ अङ्क

सुनाइ परीक्षण
अंग्रेजी पाठ्यपुस्तकको प्रत्येक एकाइमा सुनाइ सीपका क्रियाकलापहरू दिइएका हुन्छन् । सुनाइ सीपका लागि चाहिने ‘अडियो’ इन्टरनेटबाट सजिलै डाउनलोड गर्न सकिन्छ । त्यसको लागि www.moecdc.gov.np मा लग अन गरेर आफूलाई चाहिने कक्षाको अडियो प्राप्त गर्न सकिन्छ । त्यस्तो अडियो आफ्नो मोबाइलमा राखेर कक्षाकोठामा आवश्यक परेको बेला ब्लुटुथ (Bluetooth) स्पीकरको सहायताले सुनाएर सजिलैसित सुनाइ सीपको क्रियाकलाप गराउन सकिन्छ । स्पीकर छैन भने पनि चिन्ता गर्नुपर्दैन । सम्भव भएसम्म विद्यालयबाटै स्पीकर उपलब्ध गराउन पहल गर्नुपर्छ; नभए जुन दिन सुनाइ सीपको अभ्यास गराउने हो, त्यो दिन आफैंले घरबाट स्पीकर लैजान सकिन्छ । अथवा एकदिन अगावै कक्षाकोठामा सूचना गर्ने– ‘भोलि सुनाइ सीपको क्रियाकलाप हुन्छ, जसको घरमा ब्लुटुथ स्पीकर छ ल्याउनू’ भनेर । हुनेमध्ये कसै न कसैले ल्याई नै हाल्छन् । त्यस्ता अडियो एक पटक, दुई पटक, तीन पटक या जति पटक आवश्यक पर्छ त्यति पटक सुनाउने र विद्यार्थीलाई अभ्यास गर्न लगाउने गर्नुपर्छ । अभ्यासको परीक्षण पछि उनीहरूको सिकाइस्तरका आधारमा ग्रेडिङ गर्न सकिन्छ ।

बोलाइ परीक्षण
प्रत्येक शुक्रबार या आफूलाई उपयुक्त पर्ने बारमा यस्तो परीक्षण गराउन सकिन्छ । त्यसको लागि विद्यार्थीलाई अग्रिम जानकारी दिएको हुनुपर्दछ– ‘बोलाइ परीक्षण अनिवार्य हुन्छ र त्यसमा प्रयोगात्मक अङ्क राखिन्छ’ भनेर । बोल्नका लागि विद्यार्थीलाई शीर्षक छनोट गर्न छूट दिइनुपर्छ ताकि उनीहरूलाई मन लागेको विषयमा धक नमानी बोल्न सकून् । शिक्षकले नै विषयवस्तु दिंदा उनीहरू त्यसप्रति जानकार नहुन पनि सक्छन् । आफ्नो विचार व्यक्त गर्ने क्रममा विद्यार्थीको सिर्जनशीलता, तार्किकतालाई बढी महत्व दिइनुपर्दछ । बोल्ने क्रममा कुनै रोकटोक नगरिकन बोल्न दिनुपर्दछ । उनीहरूको भाषिक शुद्धता, व्याकरण र बोल्ने शैलीलाई ध्यानमा राखेर ग्रेडिङ गरिनुपर्दछ ।

कतिपय शिक्षक साथीहरू सोचिरहनुभएको होला— ‘मेरा विद्यार्थी बोल्दै बोल्दैनन्; कसरी बोलाइ सीप गराउने ?’ हो, कक्षाकोठामा यस्ता स्वभाव या प्रकृतिका विद्यार्थी पनि हुन्छन् । यस्तोमा पनि शिक्षकले विद्यार्थीलाई बोल्न प्रोत्साहन गर्नुपर्दछ । केही नभए दुई वाक्य भए पनि बोल्न लगाउनुपर्दछ । र, उनीहरूले गरेको प्रयासलाई प्रशंसा गर्नुपर्दछ । प्रशंसाले उनीहरूलाई उत्साहित बनाउँछ । यसो गर्दा यस्ता विद्यार्थीमा पनि बोल्ने बानीको विकास हुुँदै जान्छ । यो मेरो प्रयास र अनुभवले सिकाएको कुरा हो ।


हुन त हामी भन्न सक्छौं, यत्रो धेरै बोझ् र झन्झट केका लागि लिइराख्नु ? तर आफूले सानो प्रयास गर्दा पनि विद्यार्थीको सिकाइमा परिवर्तन आउँछ । त्यस्तो देख्दा मन खुशी हुन्छ । सबैभन्दा ठूलो पुरस्कार त्यही आनन्द र खुशी हो ।

परियोजना कार्य
परियोजना कार्यको मुख्य आशय– विद्यार्थीलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका ज्ञान मात्र नदिई उनीहरूको दैनिक जीवनसँग सम्बन्धित ज्ञान पनि सिकाउनु हो । त्यसैले किताबका प्रत्येक एकाइमा भएका परियोजना कार्यहरू गर्न लगाउनुपर्छ । यसबाट उनीहरू सोधखोज गर्न सक्ने हुन्छन् । सिर्जनशील बन्छन् । उनीहरूले तयार पारेका परियोजना कार्य ठूला–ठूला चार्ट पेपरमा टाँसेर वा लेखेर कक्षामा ल्याउन र प्रस्तुत गर्न लगाउँदा उनीहरूमा सुनाइ–बोलाइ सीप विकास हुन्छ । ‘राम्रो गरेका छौ’ भनेर सबैका अगाडि प्रशंसा गर्दा उनीहरू अझ बढी सक्रिय भएर परियोजना कार्यमा संलग्न हुन्छन् । र, प्रत्येक त्रैमासिक परीक्षामा उनीहरूले प्राप्त गरेका अङ्क सुनाइ दिने गर्दा विद्यार्थी अझ बढी उत्साहित भएर परियोजनामा सहभागी हुन्छन् ।

हुन त हामी अहिले सोचिरहेका छौं होला कि यत्रो धेरै बोझ् र झन्झट केका लागि लिइराख्नु ? पाँच–पाँच पिरियड पढाएर अनि फेरि यो झन्झट ? २५ अंक त्यसै मिलाएर दिए भइहाल्यो नि ! तर ‘हामीले चाहेमा गर्न सक्छौं’ । र शिक्षक भएपछि हामीले गर्नै पर्छ । कक्षा पिरियडमा नै यी क्रियाकलापहरू गर्न/गराउन सकिन्छ । मैले यस्ता सबै क्रियाकलापको रेकर्ड बनाएर, विद्यार्थी र अभिभावकलाई समेत अवगत गराउने गरेकी छु । आफूले सानो प्रयास गर्दा पनि विद्यार्थीको सिकाइमा परिवर्तन आउँछ । त्यस्तो देख्दा मन खुशी हुन्छ र आनन्द आउँछ । सबैभन्दा ठूलो पुरस्कार त्यही आनन्द र खुशी हो ।

ज्ञानोदय मावि, बाफल, काठमाडौं

शिक्षक  मासिक, २०७४ चैत अंकमा प्रकाशित । 


commercial commercial commercial commercial