यसरी बन्न सक्छौं आदर्श !

“भविष्यमा तिमी के बन्न चाहन्छौं ?” मेरा प्रश्नको जवाफमा “म एक असल शिक्षक बन्न चाहन्छु” भनेर विरलै सुनेकी छु । किन होला त ? किन आजका भाइबहिनीलाई शिक्षण पेशा राम्रो लाग्दैन ? किन हामी उनीहरूको लागि आदर्श व्यक्ति बन्न सकिरहेका छैनौं ?

शिक्षण कार्य आफैंमा एउटा सम्मानजनक पेशा हो । तर हामीकहाँ धेरैले यसलाई केही काम नपाएपछि मात्र अपनाइने पेशाको रूपमा लिने गर्छन् । पढाइ–लेखाइमा अब्बल हुने व्यक्तिहरूले शिक्षण पेशालाई आफ्नो जीवनको लक्ष्यको रूपमा लिने गर्दैनन् । आम धारणा देख्दा मानौं, शिक्षक हुनु त्यति ठूलो सफलता नै होइन । यसको मतलब शिक्षण पेशामा आकर्षण छैन ।
मैले शिक्षण पेशा अँगालेको १२ वर्षभन्दा बढी हुन लागिसकेछ । यस बीचमा दुईवटा निजी अंग्रेजी माध्यमको विद्यालयमा अनुभव बटुलें । अहिले, ८ वर्षदेखि सामुदायिक विद्यालयमा अंग्रेजी विषय पढाउँदै आइरहेकी छु । मैले विद्यार्थी भाइबहिनीलाई धेरैपटक सोधेकी छु, “भविष्यमा तिमी के बन्न चाहन्छौं ? जीवनमा तिम्रो लक्ष्य के हो ?” मेरा प्रश्नको जवाफमा “म एक असल शिक्षक बन्न चाहन्छु” भनेर विरलै सुनेकी छु । किन होला त ? के हामीले पढाइरहेका भाइबहिनीलाई शिक्षण पेशा राम्रो लाग्दैन कि ? किन हामी उनीहरूको लागि प्रेरणादायी आदर्श व्यक्ति बन्न सकिरहेका छैनौं ?

आफैं घोत्लिएर सोच्दा शिक्षण पेशा निम्न कारणले गर्दा आकर्षक बन्न नसकिरहेको जस्तो लाग्छः

शिक्षकप्रति समाजको धारणा
गाउँघरमा शिक्षकलाई मास्टर÷मास्टर्नी पनि भन्ने गरिन्छ । हुन त अंग्रेजी शब्दकोश अनुसार ‘मास्टर’ भन्नाले विषय विज्ञ, ज्ञानले सम्पन्न वा मालिक भन्ने अर्थ लाग्दछ । तर हामीलाई सामुन्ने भेट्दा सर, म्याडम भने पनि पछाडि कुरा गर्ने बेलामा मास्टर÷मास्टर्नी नै भन्छन् । मास्टर्नी यही मास्टर शब्दकै जबरजस्त स्त्रीलिङ्गीकरण गरिएको हुनुपर्दछ । सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्दा हुने राजनीतिक चलखेल, नातावाद, कृपावाद र अन्य यस्तै केही कारणले गर्दा शिक्षकहरूको योग्यता र दक्षताप्रति प्रश्न उठ्ने गर्छ । त्यसले पनि समाजमा शिक्षकप्रतिको सम्मान र आदर घटाउने मद्दत गरेको छ । पहिले पहिले जस्तो शिक्षकले सबैकुरा जानेका हुन्छन् भन्ने धारणा अब हटिसकेको छ । शिक्षकले पढाउनु भन्दा धेरै राजनीति गर्छन् भन्ने आरोप त प्रायः सुनिन्छ नै ।

तलब र सुविधा
निजी विद्यालयमा शिक्षकलाई निकै थोरै तलब, त्यो पनि नियमित नदिने र अत्यधिक श्रमशोषण हुने गरेको गुनासो चर्को रूपमा सुनिन्छ । सामुदायिक विद्यालयमा पनि दरबन्दी, स्थायी र अस्थायी बीचको विभेद र फरक–फरक सेवा÷सुविधाको कारण शिक्षकमा एकरूपता भेटिन्न । त्यसैले शिक्षकहरूबीच नै एकता र मेलमिलाप छैन । फलस्वरूप शिक्षण पेशामा मानिसहरू खुशी र स्फूर्तियुक्त देखिंदैनन् । यसको प्रभाव विद्यार्थी र कक्षा कोठामा परिरहेको छ । यसबाट विद्यार्थीलाई पनि लाग्न सक्छ, शिक्षण दुःखी पेशा हो । व्यापार, व्यवसाय, वैदेशिक रोजगारमा जस्तो शिक्षणमा छिटो प्रगति गर्न नसकिने हुनाले पनि शिक्षण पेशा उनीहरूको रोजाइमा नपरेको हुन सक्छ ।

शिक्षकको प्रस्तुति र व्यवहार
साना बालबालिका आफ्ना शिक्षकबाट बढी प्रभावित हुन्छन् । शिक्षकले भनेका सबै कुरा साँचो ठान्दछन् । कोही कोही त आफूलाई मन पर्ने शिक्षकले जस्तै सोच्ने, बोल्ने, हिंड्ने जस्ता व्यवहारहरू लागू गर्छन् । तर हुर्कंदै, कक्षा चढ्दै गएपछि भने हरेक कुराहरू आफूले सोचे बमोजिमको चाहन्छन् । त्यतिबेला शिक्षकको प्रस्तुति र व्यवहार विद्यार्थीलाई मन पर्ने अथवा प्रभावकारी भएन भने पनि शिक्षकप्रति कदर बढ्नुको साटो घट्दै जाने गर्छ ।

अवसर र सहभागिता
कक्षा कोठामा शिक्षकले गर्ने शिक्षण क्रियाकलाप अहिले पनि उही ‘चक एण्ड टक’ तरिकाले चलिरहेको छ । प्रायःजसो विद्यालयमा शिक्षक बोल्ने र विद्यार्थीले सुन्ने मात्र भइरहेको छ । त्यसैले विद्यार्थीहरू कक्षा कोठालाई निरस र शिक्षकलाई पट्यारलाग्दो व्यक्ति ठान्दछन् । उमेरगत स्वभावैले विद्यार्थीहरू जे कुरा पनि गरेर सिक्न रुचाउने हुन्छन् । उनीहरू धेरै भन्दा धेरै क्रियाकलाप गराउने शिक्षकलाई अवश्य पनि मन पराउँछन् । तर धेरैजसो शिक्षकले पट्यारलाग्दो लेक्चर र उपदेश मात्र छाँट्ने हुँदा, त्यस्ता शिक्षकलाई रुचाउँदैनन् ।

विभेद र अपमान
कक्षा कोठाभित्र सबै विद्यार्थी एकै किसिमका हुँदैनन् । अलिक तीक्ष्ण बुद्धि भएका, चलाख, सफा, सुग्घर भएर आउने विद्यार्थीहरू स्वभावैले शिक्षकको नजरमा पर्दछन् । कहिलेकाहीं जानेर वा नजानेर विद्यार्थी–विद्यार्थीबीच शिक्षकबाट पनि भेदभाव जस्तो व्यवहार देखिन सक्छ । तर व्यक्ति जतिसुकै सानो नै किन नहोस्, अपमान र विभेदलाई उसले आफ्नो तरिकाले बुझ्ेकै हुन्छ । यदि शिक्षकले विद्यार्थी–विद्यार्थीबीच विभेद गर्ने, अपमान गर्ने गरेमा यसको नकारात्मक प्रभाव विद्यार्थीमा नराम्ररी गडेर बस्दछ । विभेदकै कारण विद्यार्थीले हीनताबोध गर्छ भने शिक्षकलाई डरलाग्दो जन्तु जस्तो देख्न थाल्छ ।

यसरी केलाउँदै जाने हो भने शिक्षण पेशाको मर्यादा र आकर्षणको सवाल विद्यार्थी–शिक्षक–विद्यालय वरिपरि नै घुमिरहन्छ । तर यस्ता समस्याका समाधानका उपाय पनि छन् । खाँचो छ त केवल कार्यान्वयन पक्षको । विद्यार्थीलाई कक्षा कोठाभित्र अझ् सक्रिय र शिक्षण कार्यलाई सहभागितापूर्ण बनाउनका लागि निम्न प्रयास गर्न सकिन्छः

पेशाप्रतिको आत्मगौरव र इमानदारी
कुनै पेशा कसैले नराम्रो भनेर नराम्रो हुने होइन । झ्न् धेरैलाई ज्ञान बाँड्नु, उज्ज्वल भविष्यतर्फ डो¥याउनु कसरी असल काम हुन सक्दैन ? तसर्थ सबैभन्दा पहिले त हामी शिक्षकहरूले नै आफ्नो पेशाप्रति गर्व गर्न सक्नुपर्दछ । शिक्षणलाई नै आफ्नो धर्म ठानेर समर्पित भयौं भने पक्कै पनि हामीले आफूभित्रको सबै क्षमता देखाउन सक्दछौं । विद्यार्थी र अभिभावकलाई सन्तुष्ट गराउन सक्दछौं । शिक्षण एउटा आदर्श पेशा हो भने आफ्नो ज्ञान र सीपले अरूहरूलाई लाभान्वित तुल्याउनु शिक्षकको कर्तव्य हो । त्यसैले शिक्षकले आफूलाई शिक्षककै रूपमा स्थापित गर्न र आफूलाई शिक्षणमा अझ् व्यावसायिक बनाउँदै लैजानु जरूरी छ ।

बालमैत्री कक्षाकोठा
हामीहरूमा विद्यालयमा यो सुविधा छैन, त्यो छैन भनेर आफू पन्छिने प्रवृत्ति छ । विद्यालयमा न्यूनतम सुविधाहरू त चाहिन्छ नै । तर महँगा शैक्षिक सामग्रीको सट्टा स्थानीयस्तरमा पाइने कम मूल्य पर्ने अथवा मूल्य नै नपर्ने सामग्रीलाई पनि कक्षामा प्रयोग गर्न सकिन्छ । यस्ता किसिमका शैक्षिक सामग्रीहरू सान्दर्भिक पनि हुन्छन् । यसैगरी हाम्रा कक्षा कोठाभित्र हुने क्रियाकलाप र सिकाइ वातावरण ज्यादै नै महŒवपूर्ण पक्ष हो । सिकारुको रुचि, क्षमता र तह अनुसार पठनपाठन भए÷नभएको कुरामा हामी सुनिश्चित हुनुपर्दछ । विद्यार्थीले रमाई–रमाई र सहज तरिकाले सिक्ने वातावरण सृजना गर्नमा शिक्षकको ध्यान हरदम केन्द्रित हुनु आवश्यक हुन्छ ।

विद्यार्थीकेन्द्रित शिक्षण क्रियाकलाप
एउटै कक्षामा फरक–फरक क्षमता र रुचि भएका सिकारुहरू हुने हुनाले हामीले एकै किसिमको शिक्षण विधि अपनाउनु प्रभावकारी हुँदैन । सकेसम्म धेरैभन्दा धेरै शैक्षिक सामग्री प्रयोग गरेर विद्यार्थीकेन्द्रित शिक्षण क्रियाकलाप बढाउनुपर्दछ । एउटै सामग्रीबाट फरक–फरक क्रियाकलाप गराउँदा पनि रोचकता बढ्दछ । हाम्रो प्रयास सकेसम्म सबै विद्यार्थीलाई सिकाइ क्रियाकलापमा सहभागी गराउने किसिमको हुनुपर्दछ । सिकारु जति धेरै व्यस्त त्यति नै धेरै सिकाइ हुन्छ भन्न सकिन्छ । यस सम्बन्धमा यसो भनिएको छ :
म सुन्छु, बिर्सन्छु ।
म देख्छु, सम्झ्न्छिु ।
म गर्छु, सिक्छु ।

स्वीकार र आत्मसम्मान
नेपाल तुलनात्मक हिसाबले भौगोलिक रूपमा सानो तर विविधता भएको मुलुक हो । विभिन्न जाति, भाषा, धर्म र संस्कृतियुक्त समाजको प्रतिनिधित्व कक्षा कोठामा गरिरहेका हुन्छन् हाम्रा विद्यार्थी भाइबहिनीले । फरक–फरक मूल्यमान्यतामा हुर्केका बालबालिकाले कक्षा कोठामा आफ्नो फरक पहिचानकै कारण एक्लिएको र अस्वीकार गरिएको महसूस गर्नु प¥यो भने तिनको मनमा कति नराम्रो छाप पर्ला ? घरमा आफ्नै मातृभाषामा भाषिक विकास भइसकेका सिकारुहरूलाई कक्षाकोठामा फरक पृष्ठभूमिबाट आएका साथीहरूसँग बसेर अर्कै भाषामा पढ्नुपर्ने बाध्यता हुन्छ । त्यसमाथि उनीहरूको फरक लवज र सामान्य भाषिक त्रुटिमाथि व्यंग्य गरिदियौं भने के सिकारु सिक्नलाई उत्साहित होला ? शिक्षकहरूले यस्ता कुरा महसूस गरी कक्षा कोठामा सबैले सबैको अस्तित्व र पहिचान स्वीकार्ने वातावरण सिर्जना गर्नु आवश्यक हुन्छ । विविधतामा एकता भन्ने कुरा कक्षाकोठाबाटै सिक्ने–सिकाउने गर्नुपर्दछ ।

छलफल, गोष्ठी र कार्यशाला
शिक्षण सिकाइ क्रियाकलापमा देखा परेका कठिनाई र चुनौतीलाई एकआपसमा बाँड्न, छलफल गरेर निष्कर्षमा पुग्नका निम्ति बेला–बेलामा पुनर्ताजगी तालीम, गोष्ठी र कार्यशालाहरू आयोजना गर्नु उपयोगी र आवश्यक हुन्छ । यस्ता किसिमका कार्यक्रमले शिक्षकलाई फाइदा गर्छ । यसरी सिकेका कुराहरू आफ्नो कक्षा कोठामा कार्यान्वयन गर्ने कोशिश गर्नुपर्दछ । यसका साथै आफ्नो विषयसँग सम्बन्धित शिक्षकहरूसँग सम्पर्क सञ्जाल बढाउने, सन्दर्भ सामग्रीहरू खोजी खोजी अध्ययन गर्ने र आफूलाई समयसापेक्ष ‘अपडेट’ गराइराख्ने गर्नुपर्दछ ।

कक्षा कोठाको वातावरणलाई प्रभावकारी बनाउन यहाँ जे जति उपाय प्रस्तुत गरिए पनि ती पर्याप्त हुँदैनन् । सबै शिक्षकका केही न केही फरक–फरक अनुभवहरू हुन्छन् । तर एउटै कुरा के साँचो हो भने, हामी शिक्षकले प्रयास ग¥यौं भने सिकारुमा फरक ल्याउन सक्छौं । तर बोले जस्तो सजिलो छैन व्यवहारमा लागू गर्न । पढाउनु भनेको अन्यले भने जस्तै ‘कुर्सीमा बसेर लठ्ठी घुमाउनु’ हुँदै होइन । शिक्षकहरूले राम्ररी बुझ्ेका छौं । हामीले यति त गर्न सक्छौं कि, कम्तीमा हामी सिकारुको अगाडि पूर्व पाठयोजना विना कक्षाकोठामा प्रवेश नगरौं । प्रत्येकको समस्यालाई सम्बोधन गर्ने प्रयास गरौं । हामीले प्रयास ग¥यौं भने यो पेशा पक्कै पनि फेरि उत्तिकै मर्यादित र सम्मानजनक बन्न सक्दछ । विद्यार्थी भाइबहिनीको लागि आदर्श व्यक्ति बन्न नसके पनि प्रेरक व्यक्ति बन्न सकौं यही नै पर्याप्त हुनेछ ।

अन्त्यमा, हाम्रो पेशालाई सम्मान दिने हामी आफैंले हो । आफ्नो पेशालाई माया गरौं र रमाऔं ।

श्री चण्डेश्वरी मावि, कावासोती–१५, नवलपरासी

commercial commercial commercial commercial