आदिनाथ मावि उत्तरपुस्तिका फिर्ता गर्नुका फाइदा

नेपालका धेरैजसो सामुदायिक विद्यालयले विद्यार्थीलाई परीक्षाका उत्तरपुस्तिका फिर्ता दिने गर्दैनन् । ‘गोप्य’ भनेर विद्यालयमा नै राख्ने चलन छ । विद्यालय बाहेक परीक्षा लिने अन्य निकायमा पनि यही चलन छ । विद्यार्थीले उत्तरपुस्तिका नपाउँदा न अभिभावकलाई आफ्ना बालबालिकाको पढाइको वास्तविक अवस्थाको जानकारी हुन्छ न त विद्यार्थी आफैंले पनि समीक्षा गर्ने अवसर पाउँछन् ।

तर केही निजी विद्यालयले जस्तै केही सामुदायिक विद्यालयले पनि विद्यार्थीलाई उत्तरपुस्तिका दिएर समुदायसँगको सम्बन्धमा नयाँ फड्को मारेका छन् । त्यसको परिणामस्वरुप, विद्यालयमा विद्यार्थी कम भए, भर्ना हुनै आएनन् भनेर टाउकामा हात राख्नुपर्ने समस्याबाट प्रधानाध्यापकहरू मुक्त भएका छन् । काठमाडौंको चोभारस्थित आदिनाथ माविले यस्तो अभ्यास शुरू गरेपछि अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । २६ वर्ष अघिदेखि आदिनाथ माविले लिने हरेक परीक्षाका उत्तरपुस्तिका विद्यार्थीलाई फर्काउने गरेको छ । २०४८ सालमा प्रवेशिका परीक्षामा पहिलो पटक सहभागी भएपछि सो विद्यालयले निरन्तर विद्यार्थीमार्फत अभिभावकसमक्ष उत्तरपुस्तिका पु¥याउँदै आएको छ ।

अभिभावकको हातमा उत्तरपुस्तिका पुग्दा त्यसबाट विद्यार्थीको पढाइमा सकारात्मक असर परेको छ भने शिक्षकलाई पनि थप जिम्मेवार बनाएको छ । आदिनाथ माविका प्रअ जुजुभाइ महर्जन उत्तरपुस्तिका अभिभावकले हेर्ने भएपछि विद्यार्थी आफैं पढाइप्रति चनाखो हुने र शिक्षकले पनि मिहिनेत र सतर्कताका साथ उत्तरपुस्तिका परीक्षण गर्ने परम्परा बसेको बताउँछन् । महर्जन भन्छन्, “यही अभ्यासले हामीलाई सफलता मिलेको छ, विद्यार्थी अभिभावक सबै खुशी छन् ।”

आफूले दिएको परीक्षाको उत्तरपुस्तिका फिर्ता पाउँदा विद्यार्थी खुशी नहुने कुरै भएन । कक्षा ९ की विद्यार्थी अनिशा महर्जन पहिलो परीक्षाको उत्तरपुस्तिका हेरेपछि दोस्रो परीक्षामा उत्तर लेख्न सजिलो भएकोे अनुभव सुनाउँछिन् । उत्तरपुस्तिका फिर्ता पाउँदा कुन प्रश्नको जवाफमा कति नम्बर आएछ, कुन प्रश्नको जवाफ राम्रोसँग लेखेको र कुन चाहिं बिगारेको रहेछु भनेर विद्यार्थी आफैंले आफ्नो समीक्षा गर्न पाउँछन् । उता अभिभावकले पनि आफ्ना बालबालिका, भाइबहिनीले कुन विषयमा के कस्तो दक्षता हासिल गरेछन्, जाँचमा आफूलाई कसरी अभिव्यक्त गरेछन्, उनीहरू कुन विषयमा सबल र कुनमा कमजोर रहेछन् भनेर उत्तरपुस्तिकाबाट थाहा पाउँछन् । आदिनाथकी एकजना अभिभावक उमिता सिलवाल परीक्षाका उत्तरपुस्तिका घरमा नै आइपुग्ने भएपछि छोरीको पढाइ कस्तो छ भनेर हेर्न–बुझन आफूलाई सजिलो भएकोे अनुभव सुनाउँछिन् । उनकी छोरी कृपा कक्षा ७ मा छन् ।

आदिनाथ माविका शिक्षकले विद्यार्थीको उत्तरपुस्तिकामा नम्बर मात्र होइन, सल्लाह र सुझव पनि लेख्छन् । उत्तर लेख्न नजान्ने र बिगार्नेका कापीमा शिक्षकले सही जवाफ समेत लेखिदिने गरेका छन् । यस्तो दृष्टान्तबाट विद्यार्थीले परीक्षामा लेख्दा आफूले के कुरा छुटाइएछ र कसरी लेखेमा राम्रो हुनेरहेछ भनेर थाहा पाउन सक्छन् । यसबाट विद्यार्थीलाई त लाभ हुन्छ नै, अभिभावकले पनि आफ्ना नानीबाबुको पढाइको अवस्थाको वास्तविक ज्ञानसँगै शिक्षकले गरेको मिहिनेत र प्रयासको जानकारी पाउने गरेको शिक्षक अञ्जु रिसालको अनुभव छ ।

आदिनाथ मावि शहरी भीडभन्दा अलिक पर, सामुदायिक वन छेउको शान्त ठाउँमा अवस्थित छ । आदिनाथ सामुदायिक वनले विद्यालयलाई भोगचलनका लागि चार रोपनी जग्गा दिएको छ । यो विद्यालयमा विशेषतः गुठगाउँ, जलविनायक, ईंटागोल, चोभार गेट र ललितपुरको बागडोल क्षेत्रका विद्यार्थी आउँछन् । यहाँ २५० जना विद्यार्थी छन् । हरेक दिनजसो कोही न कोही अभिभावक विद्यालयमा पुगेकै हुन्छन् । यसले गर्दा विद्यालयलाई हरेक विषयमा निर्णय लिन सजिलो त भएकै छ, सँगै विद्यार्थीको पढाइमा सुधार ल्याउन पनि सहयोग पुगेको छ । अभिभावकको बलियो साथ नपाएसम्म पढाइमा सुधार ल्याउन नसकिने ठानेर परीक्षाका उत्तरपुस्तिका विद्यार्थीलाई फिर्ता दिने निर्णयमा पुगेको बताउँदै प्रअ महर्जन भन्छन्, “यसबाट स्थानीय समुदायसँगको सम्बन्धमा विद्यालयले ठूलो फड्को मारेको छ ।”

यो विद्यालयले यता आएर सूचनाप्रविधिमा आधारित शिक्षण विधिको प्रयोगमा जोड दिएको छ । शिक्षकहरूले सूचनाप्रविधिकै माध्यमबाट पढाउने गरेका छन् । विद्यालयले हाजिरीजवाफ कार्यक्रमको सफ्टवेयर नै बनाएको छ । शिक्षकलाई प्रविधिमैत्री बनाउन ल्यापटप किन्न प्रोत्साहित गर्दै विद्यालयले ऋण सहयोग पनि उपलब्ध गराएको छ । वर्षमा कम्तीमा दुई पटक शिक्षकलाई सूचनाप्रविधि सम्बन्धी तालिम दिइन्छ । अहिले सबै शिक्षकको आ–आफ्नै इमेल एकाउण्ट छ । प्रअ महर्जन भन्छन्, “यसबाट शैक्षिक कुराहरू आदानप्रदान गर्न सहज भएको छ ।” शिक्षकहरू इन्टरनेटमा अभ्यस्त हुन थालेपछि शिक्षण सामग्री कहाँबाट, कसरी खोज्ने भन्ने समस्या छैन । शिक्षक रिसाल भन्छिन्, “यसले गर्दा शिक्षण सामग्री जुटाउन सहज भएको छ ।”

यूट्यूबमा कक्षा
अघिल्लो महीनादेखि आदिनाथ माविले नमूना कक्षाहरूको भिडियो खिचेर यूट्यूब च्यानलमा पनि राख्न शुरू गरेको छ । कुनै कारणले विद्यालयमा अनुपस्थित भएमा विद्यार्थीले त्यस दिन छुटेको कक्षा यू्ट्यूबमा हेरेर सिक्न सकुन् भनेर यसो गरिएको विद्यालयको भनाइ छ । प्रअ महर्जन भन्छन्, “विद्यालय नआएको दिन के पढाइ भयो, गृहकार्य के छ भनी अब हाम्रा विद्यार्थीले घरमै बसेर थाहा पाउन सक्छन् ।”

परीक्षाका उत्तरपुस्तिका विद्यार्थीलाई फर्काउने, शिक्षण विधिमा सूचनाप्रविधिको अधिकतम प्रयोग गर्ने जस्ता मौलिक अभ्यास गरिरहेको आदिनाथ माविले हरेक दिन हुने प्रार्थना सभामा विद्यार्थीले मन्तव्य दिने परम्परा पनि बसालेको छ । यसले उनीहरूमा निर्धक्कसँग बोल्ने बानीको विकास भएको विद्यालयले जनाएको छ । विद्यालय आफैंले पनि छुट्टै आचारसंहिता बनाएको छ । प्रअ महर्जन भन्छन्, “यी अभ्यासले विद्यालय, विद्यार्थी, शिक्षक अनि अभिभावकलाई पढाइप्रति थप जिम्मेवार त बनाएकै छ, समुदायले पनि हाम्रो विद्यालय भनेर गर्व गर्न पाएको छ ।”

commercial commercial commercial commercial