५० वर्षको भयो सानो खरायो !

मआफैं खरायो होइन । तर कतिपय अवस्थामा म आफैं सानो खरायोको प्रतीक बनिदिएँ, बनेको छु । धेरै पाठकका लागि म त्यही सानो खरायो हुँ, जुन मेरी आमा (कल्पना प्रधान) को कविता ‘मेरो सानो खरायो’ मा एउटा पुस्ताले पायो, रमायो र कराएर गायो । मेरा समवयी र मभन्दा २०–३० वर्ष कम उमेरसम्मका सबैले यो बाल कवितामा खरायोलाई आआफ्नै तरिकाले हराए, आफैंले खोजे, नपाउँदा पनि रमाए र जिन्दगीको गीत बनाए ।

५० वर्षको अधबैंसे यो उमेरमा पनि मलाई धेरैले खरायो हराउने बालकका रूपमा चिन्दा आफैंलाई एक प्रकारको गर्व लाग्छ । अझ् आनन्द त त्यसबेला लाग्छ जब त्यो खरायो हराउने बालक अहिलेको पत्रकार, सम्पादक फलानो हो भन्ने थाहा पाउँदा पाठकहरू आफूले बाल्यकालदेखि खोजेको खरायो बल्ल पाएझ्ैं अनुभव गर्छन् र सन्तोष व्यक्त गर्छन् !

यो लेखको उद्देश्य ‘मेरो सानो खरायो’ कविताका प्रारम्भिक दिन र त्यसबेलाको नेपालको पठनपाठनको वातावरण एवं बालावस्थाको भावचित्र कोर्नु मात्र हो । हामी सानो छँदा अहिलेको बानेश्वर एउटा गाउँ थियो; अनि न्यूरोड, असन र इन्द्रचोक शहर । ‘शहर जाँदा’ दशैंमा बुवाले किनिदिएको राम्रो लुगा लगाएर गइन्थ्यो । राम्रो लुगा एक जोर हुन्थ्यो । त्यस पछिको राम्रो भन्नु त्यसअघिको दशैंको लुगा मात्र हुन्थ्यो । पोहोरको दशंैको लुगालाई बढ्दो शरीरले छोटो बनाइसकेको हुन्थ्यो, केही गरी अट्ने भए पनि फाटेको वा च्यातिएको हुन्थ्यो । कहिलेकाहीं मेरा लुगा लगाएर भाइ बाहिर निस्किदिएको अवस्थामा मचाहिं स्कूल ड्रेसको आकाशे नीलो रंगको सर्ट लगाएर हिंड्नुपथ्र्यो । आमाले त्यो सर्ट पनि धोएर सुकाएको दिन प¥यो भने बाहिर जाने सपना त्यसै च्यातचुत पारेर डस्नामुनि लुकाएर राखेका कित्ता (चुरोटको बट्टा च्यातेर र मोडेर चारकुने आकार दिएको टुक्रो) बोकेर खेल्ने साथी खोज्न हिंड्नुपथ्र्यो । कहिले बुबाले देख्नुहुन्छ कि भनेर कुनै बट्टामा लुकाएको गुच्चा खोजेर खल्तीमा भरेर छल्र्याङ छल्र्याङ पार्दै बाटोमा ह्वाक्र्याङ वा खोपी खेल्दै गरेका समूह खोजेर हिंड्नुपथ्र्यो । कतै कसैले फूटबल निकालेर खेल्न बोलायो भने त्योभन्दा खुशी अर्को हुन्नथ्यो ।

कम्प्युटरको कल्पना समेत नभएको त्यस बेलाको समयमा बुवा सामान्य ज्ञान डाइजेष्ट र शाखा अधिकृत, सुब्बा र खरिदारका गाइड बनाउनुहुन्थ्यो । उहाँ गोरखापत्र मा प्रकाशित समाचारमा चिनो लगाउनुहुन्थ्यो, मेरो काम ती समाचारलाई कैंचीले काट्नु हुन्थ्यो । बुवाले तिनलाई स्टिच लगाएर मोटो रजिस्टरमा शीर्षक अनुरूप राख्नुहुन्थ्यो । अनि अर्को वर्षको सामान्य ज्ञान डाइजेष्टको नयाँ संस्करणमा नयाँ सूचनाको स्रोत तिनै पत्रिकाका कटिङ बन्थे । रेडियो नेपाल र बीबीसी पनि सामान्य ज्ञान डाइजेष्टका स्रोत थिए । भारतबाट निस्कने केही पत्रिकाले पनि सहयोग गर्थे । बुवा घुँडा धसेर फुलिस्केप कागजमा किताब लेख्नुहुन्थ्यो । हामी कहिलेकाहीं लेख्दै गर्नुभएका बुवामाथि घोडा चढ्न पुग्थ्यौं र गाली पनि खान्थ्यौं ।

कथाकार परशु प्रधानको छोरो भएका कारण घरमा आएका त्यसबेलाका भारतीय म्यागाजिन सारिका, कादम्बिनी, धर्मयुग, दिनमान आदि थाहै नपाई पढ्न शुरू गरेको थिएँ । आर के लक्ष्मणको कार्टुनको फ्यान बन्नुभन्दा पहिले मेरा आँखा धर्मयुग को ढब्बुजीको कार्टुन कोना मा परेका थिए । यस्ता पत्रिकाका लेख नपढे पनि कार्टुन, फोटो र विज्ञापन सरसर्ती हेर्ने बानी परेको थियो । बच्चा बेलामा त्यसरी ध्यानै नदिई हेरेको सूचना र विज्ञापनले पछि त्यस्ता विषय बुझन र तिनको स्तर जान्न निकै सहयोग गर्दो रहेछ ।

म त्यस्तै ६ कक्षामा पढ्दा बुवाले एकपल्ट अहिलेको तथ्याङ्क विभागको भुईं तलामा राखिएको कम्प्युटर देखाउन लैजानुहुँदा साह्रै रोमाञ्चित भएको थिएँ । त्यो कम्प्युटर भन्ने वस्तुले त्यहाँको भुईंतला पूरैजस्तो ओगटेको थियो । त्यो मेशीनले उसलाई दिएको कामको आउटपुट कागजमा प्वाल पारेर निकाल्थ्यो । त्यो प्वाल पारेको कागजको अर्थ कम्प्युटर जानेका मान्छेले मात्र निकाल्थे । त्यो देखेपछि म कम्प्युटर भन्ने चीजबाट खासै प्रभावित भइनँ । एकैपल्ट एसएलसी दिएपछि २०४० सालमा राष्ट्रिय कम्प्युटर केन्द्रमा राखिएको टिभीमा अक्षर देखिने (स्क्रिन भन्ने शब्द त्यतिन्जेल त्यस्तो सीसाको वस्तुका लागि प्रयोग हुँदैनथ्यो) कम्प्युटर देखें । त्यसपछि कम्प्युटर सिक्ने अभिलाषा पलायो । अन्ततः आई.एस्सी. सकिएपछि कम्प्युटर पनि सिकें र पछि २०४५ सालमा तथ्याङ्क विभागमा एक वर्ष जागिर पनि खाएँ । एकवर्षसम्म कम्प्युटरको निकट बस्दा यो मेशीन के हो भन्ने थाहा पाएँ र कम्प्युटरसँगको सामीप्यता बढ्यो ।

२०२४ सालमा जन्मेको, बानेश्वर भन्ने अर्धकाँठमा हुर्केका त्यसबेलाका मजस्ता बच्चालाई ज्ञान र खेलका विकल्प खासै थिएनन् । २०४४ सालपछि जन्मेको बच्चालाई जस्तो कम्प्युटर गेम र २०५४ सालपछि जन्मेका बच्चालाई जस्तो गेमब्वाई, प्लेस्टेशन हाम्रा लागि बनेका थिएनन् । २०६४ सालपछिका कतिपय बच्चालाई त डेस्क टप भन्ने कम्प्युटर हुन्थ्यो भन्ने पनि थाहा नहोला । अझ् त्यत्रो कम्प्युटर स्क्रिनमा गेम खेल्ने कुरा त कल्पना समेत गर्न नसक्दा हुन् ।

हामी शुद्ध सेतो कागजमा कालो मसीले अक्षर छापेको किताब पढेर हुक्र्यांै । मेरा लागि ज्ञानको मुख्य स्रोत बुवाले घरमा स्थापना गर्नुभएको पुस्तकालय नै थियो । नेपाली र हिन्दी साहित्यका करीब तीन हजार पुस्तक त्यहीबेला बुवाको पुस्तकालयमा जम्मा भइसकेका थिए । रूपरेखा, मधुपर्क र अलि पछि गरिमा आदि हेर्ने सुविधा शायद मेरो उमेरका धेरैलाई त्यति सहज थिएन । तर म भने कक्षा ५–६ देखि नै तीन भागमा छापिएको मोटो मोटो महाभारतका पुस्तकमा आफूलाई डुलाउन थालिसकेको थिएँ । त्यसबेला महाभारतबाट के जानें मलाई थाहा छैन तर शल्य पर्व, द्रोण पर्व, भीष्म पर्व जस्ता लडाईंका कथा पढ्न खूबै उत्सुकता जाग्थ्यो । विस्तारै किशोरावस्थामा पुग्दै गर्दा विषय फरक पर्दै गयो । डा. मणिन्द्ररंजन बराल र डा. हेमाङ्ग दीक्षितले ‘यति’ भन्ने स्वास्थ्य डाइजेस्ट (पत्रिका) निकाल्थे । मेरो ध्यान ती पत्रिकामा तानिंदै गयो । स्वास्थ्य र यौन समस्या र तिनका समाधानको प्रश्नोत्तर कोलम सबै पढ्न थालें । मेरो प्रारम्भिक यौन जिज्ञासा त्यही यति डाइजेस्ट र हिन्दीको नर–नारी पत्रिकाले पूरा गरेका हुन् ।

त्यसैबीच, भारतबाट निस्कने धेरै प्रकारका बालपत्रिका लोटपोट, मधु–मुस्कान आदि पढ्ने बानी बस्यो । भारतका ऐतिहासिक पात्र र हिन्दू धर्मका पौराणिक पात्रको विषयमा निस्कने अमर चित्र कथा पाएसम्म पढ्ने बानी लाग्यो । अलि अलि विदेशी पब्लिकेशन्स फेण्टम, मेण्ड्रेक, टार्जन, आर्ची र अन्य कमिक्स पनि पढ्न थालियो । रत्न पुस्तक भण्डार र हरेक पुस्तक भण्डारमा वेस्टर्न काउब्वाईको कमिक्स पनि सकेसम्म किनेर पढियो । त्यही भोटाहिटीमा रत्न पुस्तक भण्डार बाहिर राखेको चिनियाँ र रसियन क्रान्तिका किताब भने खासै किनिएन । राजनीति नजान्दै पनि त्यस्ता रंगीन र निकै सस्ता किताबले ध्यान तान्न नसकेका कारणले होला युवा अवस्थामा पनि कम्युनिष्ट विचारले मन जित्न सकेन ।

कक्षा सातसम्म रत्नराज्य स्कूलमा पढ्दा दैनिक २५ पैसा खाजा खर्च पाइन्थ्यो, त्यसले केही किन्न सकिन्नथ्यो । कक्षा ८ देखि सिद्धार्थ वनस्थली जाँदा दैनिक रु.१ खर्च पाउन थालियो । त्यसलाई जोगाएर आठ–दश रुपैयाँ बनाएपछि फूर्तिसँग कमिक्स किन्न गइन्थ्यो । त्यति पैसाले तीन–चार वटासम्म कमिक्स किन्न सकिन्थ्यो । त्यति कमिक्स अरूसँग बाँडेर पढ्दा धेरै नै पढ्न पाइन्थ्यो । पछि त वेदप्रकाश शर्माको उपन्यास पढ्ने बानी बस्यो । उनका हरेक उपन्यास बजारमा आएको केही दिनमा पढ्न नपाए छटपट हुन्थ्यो ।

यसरी एउटा सानो खरायो वयस्क भयो । उसको हराएको खरायोको कविता त्यही बीचमा झ्ण्डै आफैं हरायो । कक्षा तीनको नेपाली किताबमा एक वर्ष त्यो कविता त मेरी आमाको नाममा नभएर अर्कै कसैको नाममा छापिएर आएछ । बुवा र ममी त्यो नाम सच्याउन केही दिन जनक शिक्षा सामग्री केन्द्र धाएको राम्ररी याद छ । जेहोस्, त्यस वर्षपछि मेरो सानो खरायोको लेखिकाको नाम भने हराएको छैन ।

मेरी आमाले मेरो सानो खरायो बाहेक पनि करीब तीन दर्जन बाल साहित्य लेख्नुभयो, तर त्यो कविता जस्तो मानक अर्को कुनै बन्न सकेन । आफ्नो जीवनको सातौं दशकमा हिंड्दै गर्दा मेरी आमालाई उहाँको बाल साहित्यप्रतिको योगदानका लागि पुरस्कार र सम्मान बेला बेलामा दिइन्छ । कतिलाई उहाँले लेख्नुभएका कतिपय पुस्तकका विषयमा केही थाहा छैन, तर मेरो सानो खरायो भने कसैको स्मृति पटलबाट हराएको छैन । त्यही सानो खरायो हराउने यो लेखक भने बालक, युवा र अब क्रमशः आफंै वृद्ध हुने क्रममा अघि बढ्दा देश, समाज र राजनीतिलाई बाह्रखरी पढाउने पत्रकार बनेको छ ।

कसरी लेखियो यो कविता ?
त्यतिबेला म सानै थिएँ । मलाई प्रायः अपच भैरहन्थ्यो र मेरी आमा (बोलाउँदा म ममी भन्छु) ले सधैं डाक्टरकोमा लगिरहनुपर्दथ्यो । एकपल्ट त्यस्तै पेट दुखेर बिरामी भएको बेला ममीले मलाई डाक्टरकोमा लग्दा दम दिएपछि खुर्र हिंड्ने खरायो किनिदिनुभएछ । ममीको शर्त चाहिं त्यो खरायो किनिदिएबापत मैले मासु खान कर गर्न नपाउने भन्ने रहेछ । त्यो खेलौना पाएपछि म निकै खुशी भएर खेल्न थालेछु, तर त्यो खेलौना अचानक हराएछ । खेलौना हराएको पीरमा म धेरै बेर रोएछु । म रुँदा रुँदा थाकेर निदाएपछि मेरी ममीलाई मनमा साह्रै पीर र माया लागेछ । अनि उहाँलाई यो भावना फुरेछ र सो कविताको जन्म भएको रहेछ ।

त्यो कविता सबैभन्दा पहिले नेपाल बाल संगठनको प्रकाशन बालक पत्रिकामा २०२८ सालमा प्रकाशित भएको थियो । २०३२ सालदेखि त्यो कविताले कक्षा ३ को नेपाली पुस्तकमा स्थान पाएको हो । मैले बालक भन्ने पत्रिकामा प्रकाशित हुँदा नै सो कविता पढेको हुँ र मेरी आमाले मेरै लागि लेखेको कविता हो भनेर आनन्द अनुभूत गरेको थिएँ ।

commercial commercial commercial commercial