अंग्रेजी माध्यमको रहर पढाउनेले के पढाए, बुझ्नेले के बुझे !

केही वर्षयता सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउने एउटा लहरै शुरू भएको छ । निजी विद्यालयको सिको गरेर केही सामुदायिक विद्यालयले शुरू गरेको यो अभ्यास अहिले वर्षेनि फैलिने क्रममा छ । तर हाम्रो जस्तो बहुभाषिक मुलुकमा आफ्नै भाषाहरू राम्रोसँग सिकाउन नसकिरहेको अवस्थामा अंग्रेजीलाई विद्यालय शिक्षाको माध्यम भाषाको रूपमा विकास गर्न कति आवश्यक र कति सम्भव छ भन्ने बारेमा बहस हुनु जरूरी छ ।

हुन त शिक्षा ऐन र नेपालको राष्ट्रिय पाठ्यक्रम प्रारूपले विद्यालय शिक्षाको माध्यम भाषाका रूपमा नेपाली, अंग्रेजी वा दुवै प्रयोग गर्न सकिने भनेर लेखिसकेको छ । तर यो नीतिले बोलेको एक वाक्यांशले मात्रै प्रयोगमा स्पष्टता र अभ्यासमा एकरूपता आउँदैन । सरकारसँग शिक्षणको माध्यम भाषालाई व्यवस्थित गर्न कुनै निर्देशिका छैन । २०७० मा ‘विद्यालय शिक्षाको माध्यम भाषाको मार्गचित्र’ भन्ने एउटा मस्यौदा बनेको पाइन्छ । तर त्यो मस्यौदा न अहिले छलफलमा छ न अगाडि बढ्न सकेको छ ।

यस्तो अवस्थामा धेरै महŒवपूर्ण प्रश्नहरू अनुत्तरित छन् । जस्तैः साँच्चै नेपालमा अंग्रेजी माध्यम आवश्यक छ त ? किन चाहिन्छ ? शुरू गर्ने सही उमेर कुन हो ? कुन–कुन विषय पढाउनुपर्ने हो ? कक्षा कोठाको अन्तरक्रिया, छलफलको माध्यम के हुने ? मूल्याङ्कनमा कुन–कुन भाषा प्रयोग गर्ने ? मातृभाषाको स्थान के हुने ? आदि इत्यादि ।

अर्कोतर्फ नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा, ‘सबैका लागि शिक्षा कार्यक्रम’ जस्ता अभियानमा, भर्खर प्रकाशित ७ वर्षीय विद्यालय क्षेत्र विकास कार्यक्रममा र माथि उल्लिखित शिक्षा ऐन र पाठ्यक्रम प्रारूपमा पनि स्पष्टसँग कक्षा १–३ मा विद्यार्थीको मातृभाषामा पठनपाठन गराउने प्रतिबद्घता जनाइसकेको छ । र, यो पनि अंग्रेजी माध्यममा पढाइसित विरोधाभासी छ ।

किन बढ्दै छ अंग्रेजी माध्यमको मोह ?

१. अंग्रेजी सबैथोक हो भन्ने धारणा
हाम्रो समाजमा अंग्रेजी भाषालाई यति धेरै महŒव दिइएको छ कि, बच्चादेखि वृद्घसम्ममा अंग्रेजी सबथोक हो भन्ने सोच छ । त्यसो त मान्छेले जति धेरै भाषा जान्यो उति राम्रो । विश्वको सबभन्दा प्रभावशाली भाषा भएकाले अंग्रेजी जान्नु राम्रो कुरा हो । तर अंग्रेजी नै सबथोक हो, अंग्रेजी सिक्दैमा सबथोक सिकिन्छ, र शिक्षाको उत्कृष्टता अंग्रेजी जान्नु नै छ भन्ने धारणा त्रुटिपूर्ण छ । अंग्रेजी जान्दैमा सबैथोक हुने भए, विश्वमा अंग्रेजी भाषीहरू मात्रै सफल र अन्य भाषीहरू सबै असफल हुनुपर्ने हो । अझ् नेपालमै पनि अंग्रेजी माध्यममा पढेका सबै विद्यार्थी पेशागत, व्यावसायिक, व्यक्तिगत वा सामाजिक हिसाबले सफल भएको पनि देखिंदैन । ‘अंग्रेजी मिथक’ शीर्षक आफ्नो लेखमा स्टोनी ब्रूक विश्वविद्यालयका एक अमेरिकी सह–प्राध्यापक डा. श्याम शर्मा, नेपाली समाजमा व्याप्त अंग्रेजी सबैथोक हो भन्ने सोचका पछाडि पाँच मिथक रहेको बताउँछन् । तीमध्ये दुई प्रमुख मिथक हुन्, अंग्रेजी जताततै छ, अर्थात् अंग्रेजी विश्वभरि फैलिएको छ । अंग्रेजी नबोल्ने देशै छैन । अर्को मिथक हो अंग्रेजी भन्नु नै गुणस्तर हो । अर्थात् अंग्रेजी पढ्नु, जान्नु भनेकै गुणस्तरीय शिक्षा हो ।

२. अंग्रेजीमुखी अभिभावक
समाजमा अंग्रेजीले पाएको मान र महŒवका कारण अभिभावकको अंग्रेजी मोह बढ्दो छ र उनीहरूको सपना पनि बदलिएको छ । अहिले उनीहरूको सपना भनेको छोराछोरीको अंग्रेजी राम्रो बनाउने भएको छ । अनि उनीहरूमा के विश्वास छ भने, अंग्रेजी माध्यममा सञ्चालन भएको विद्यालयले उनीहरूको सपना पूरा गरिदिन्छ । सामान्यदेखि एकदमै शिक्षित अभिभावक पनि यस्तै ठान्छन् । त्यसका लागि उनीहरू आफ्नो गाँस कटाउन तयार हुन्छन्, घर छोडेर बजार, शहरमा बस्न तयार हुन्छन् । उनीहरू सामुदायिक विद्यालयबाट जस्तोसुकैै अवस्थाको भए पनि निजीमा छोराछोरी सार्न तयार हुन्छन् र छोराछोरीले दुईचार कुरा अंग्रेजीमा भन्न सके दंग पर्छन् । समाजमा अंग्रेजी जान्नुलाई प्रतिष्ठाको विषय बनाइएको छ । उनीहरू ठान्दछन् कि आफ्ना भाषामै सीमित भएकै कारण उनीहरू पछाडि परे, अतः आफ्ना सन्तानलाई उनीहरू अंग्रेजी जान्ने बनाउन चाहन्छन् । डा. शर्माले भने झ्ैं यो ‘अंग्रेजी जताततै छ र अंग्रेजी भन्नु नै गुणस्तरीय शिक्षा हो’ भन्ने मिथकको प्रभाव हो ।

३. विद्यार्थी स्थानान्तरण रोक्न र संख्या बढाउन
अहिले सामुदायिक विद्यालयले अंग्रेजी माध्यमलाई विद्यार्थी स्थानान्तरण रोक्ने र संख्या बढाउने नयाँ उपायको रूपमा प्रयोग गरिरहेका छन् । गाउँ–गाउँमा निजी विद्यालय खुल्न थालेपछि अभिभावकले पैसा खर्च गरेर पनि आफ्ना छोराछोरी निजी विद्यालयमा सार्न थालेका छन् । घट्दो जन्मदर र बढ्दो विद्यालय संख्याका कारण विद्यार्थी संख्या घटिरहेको अवस्थामा, भएका विद्यार्थी पनि अन्तै गएपछि सामुदायिक विद्यालयहरू ‘मर्ज’ या बन्द हुनुपर्ने अवस्थामा पुगेका छन् । त्यसैले विद्यालयहरू अंग्रेजी माध्यम घोषणा गरेर, अंग्रेजी किताब पढायो भने विश्वास जित्न सकिन्छ भन्ने सोचाइमा छन् । त्यसो त, त्यसरी विद्यार्थी सार्नेमा तिनै सामुदायिक विद्यालयका शिक्षक नै अगाडि छन् !

एउटा भाषामा पढाइरहेका शिक्षकलाई अर्को भाषामा पढाउनका लागि तयार पार्न के–के चाहिन्छ, स्रोत साधन र शिक्षक तयार छन् छैनन् भने जस्ता कुरा सबैले गम्भीर रूपमा सोचेको देखिंदैन । अंग्रेजी माध्यमले विद्यार्थी रोक्नलाई कतै केही काम गरेको होला तर ती विद्यार्थीले कस्तो शिक्षा पाइरहेका छन् भन्ने बारेमा अध्ययन अनुसन्धान भएको छैन । अर्काेतर्फ निजी विद्यालय जानबाट रोक्नलाई यो उपाय भरपर्दो पनि त छैन । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम शुरू भएकै कारण निजी विद्यालय बन्द भएका छन् र ? त्यसैले यो दीर्घकालीन उपाय  हैन । विद्यालयको व्यवस्थापन र नेतृत्व सबल नभएसम्म विद्यार्थी घट्ने समस्या सुल्झ्ंिदैन ।

४. अंग्रेजी भाषा सुधार्न
विद्यालय शिक्षाको भाषा अंग्रेजीमा रूपान्तरण हुनुको एउटा प्रमुख कारण अंग्रेजी सुधार गर्नु पनि हो । अनिवार्य विषयका रूपमा कक्षा–१ देखि नै अंग्रेजी भाषा पढाइ हुन्छ । त्यसको अलावा केही टाठा विद्यालयले अर्को अंग्रेजी पनि थपेका छन् ।

त्यतिले नपुगेर स्थानीय विषयवस्तु या स्थानीय भाषा पढाउनुपर्ने ठाउँमा पनि अंग्रेजी विषय नै पढाइन्छ । त्यसले पनि नपुगेपछि सबै विषय अंग्रेजीमा पढाउन थालिएको छ । यो अभ्यासले केही प्रश्नहरू उब्जाउँछ, हाम्रा विद्यालय अंग्रेजी भाषा पढाउने केन्द्र मात्रै हुन् ? पाठ्यक्रमले हरेक विषयमा तोकेको सिकाइ उपलब्धि पूरा गर्न ध्यान दिनुपर्दैन ? शिक्षकले सामाजिक, विज्ञान जस्ता विषयमा भाषा पढाउने कि विषयवस्तु ? शिक्षक–विद्यार्थी जब भाषामै अल्झ्न्छिन् विषयवस्तुको के हालत हुन्छ ? हाम्रो नेपाली भाषा र स्थानीय भाषालाई संरक्षण र संवद्र्धन गर्न विद्यालयको भूमिका खोइ ?

यहाँनेर बुझनुपर्ने कुरा के हो भने अंग्रेजी किताब मात्रै थुपार्दैमा अंग्रेजी भाषा सुधार हुने होइन । यो कुरा २०७३ सालको देशभरिको कक्षा–१ देखि कक्षा–५ सम्मको अंग्रेजीको औसत अङ्कले पनि देखाउँछ । शिक्षा विभागका अनुसार कक्षा–१ देखि कक्षा–५ सम्मका विद्यार्थीले अंग्रेजीमा औसत ४८.२ अङ्क प्राप्त गरेका छन् । जुन नेपाली विषयको तुलनामा कम हो । नेपालीमा विद्यार्थीले औसत ४९.३ अङ्क प्राप्त गरेका छन् । देशैभरि चलेको अंग्रेजी माध्यमको लहर हेर्दा अंग्रेजी विषयको सिकाइ उपलब्धि ह्वात्तै माथि जानुपर्ने हो, तर त्यस्तो देखिंदैन । त्यसैले अंग्रेजी माध्यम अपनाएर अंग्रेजी भाषा सुधार गर्नतिर लाग्नु भन्दा भएकै अंग्रेजी विषयलाई राम्रोसँग पढाउनुपर्ने देखिन्छ । अंग्रेजी विषय नै प्रभावकारी तरिकाले पढाउन नसकेको अवस्थामा अन्य विषय पनि अंग्रेजीमा पढाउन सकिन्छ भनेर कसरी विश्वास गर्ने ?

५. अंग्रेजी माध्यममा जाँदाका चुनौती
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमका प्रेरणाका स्रोत भनेका निजी विद्यालय हुन् । निजी विद्यालयमा अंग्रेजी माध्यमका कारणले नै पढाइ राम्रो भई विद्यार्थी बढेको हो भन्ने सोच उनीहरूको छ । यहाँ दुइटा प्रश्न उठ्छन्— पहिलो, निजी विद्यालयले अवलम्बन गरेको अंग्रेजी माध्यम आफंैमा कति आवश्यक, सान्दर्भिक र सफल भएको छ; र अर्को, राज्यद्वारा सञ्चालित विद्यालयले लुरुलुरु निजी विद्यालयको नक्कल गर्ने कि, आफ्नै मौलिकता र पृथकतालाई कायम राख्दै पाठ्यक्रमले तोकेको सर्वाङ्गीण विकास गराउने शिक्षामा जोड दिने ?

अंग्रेजी माध्यममा गएका र जान चाहने विद्यालयको प्रमुख चुनौती भनेको शिक्षकको दक्षता हो । २७ वर्ष सेवा गरिसकेका एक स्थायी शिक्षक भन्छन्, “विद्यालयले अंग्रेजी माध्यम शुरू त ग¥यो तर हामी कक्षा–४ मा अंग्रेजी अक्षर चिनेकालाई अंग्रेजी माध्यममा पढाउन निकै समस्या छ ।” जब शिक्षक नै विश्वस्त छैनन्, कसरी लागू हुन्छ यो अभ्यास ? यसरी हचुवाको भरमा गरिएको परिवर्तनले कस्तो नतिजा ल्याउला ? र हाम्रा सामुदायिक विद्यालयको अवस्था कस्तो होला ? अर्को चुनौती भाषाका कारण विद्यार्थीले आफ्नो कुरा अभिव्यक्त गर्न नसक्नु हो । अंग्रेजी माध्यमका कारण कक्षाकोठाको अन्तरक्रिया र छलफल खुम्चिएको छ । शिक्षक आफैं सकी–नसकी अंग्रेजी बोल्छन्, विद्यार्थी अलमल्ल पर्छन् । कहाँको अन्तरक्रिया, कताको छलफल ! परिणामतः कक्षाकोठा सुनसान । कक्षाकोठा सम्पूर्ण रूपमा शिक्षककेन्द्रित भएका छन् । विद्यार्थी विचरा बुझ्े जस्तो ग¥यो, चूपचाप बस्यो । सजाय भएको छ अभिभावक र विद्यालयको अंग्रेजी मोह । सिकाइ कता हो कता । यसले उनीहरूलाई परीक्षामा पनि त्यतिकै समस्या पारेको छ । कक्षा–८ मा पढ्ने एकजना विद्यार्थीले भने, “मनमा कुरा आउँछ तर भनेजस्तो लेख्नै सकिंदैन । अंग्रेजीमा लेख्दा अड्कँदै अड्कँदै लेख्नुपर्छ । सामाजिक विषयहरूमा त सबै प्रश्नै भ्याइँदैन ।”
विद्यार्थीलाई मात्रै कहाँ हो र, अंग्रेजी भाषाका कारण आफूले छोराछोरीलाई घरमा सघाउन नसक्ने अभिभावक पनि थुप्रै छन् ।

केहीले त पैसा तिरेर बिहान बेलुका छोराछोरीलाई पढाइदिने मान्छे पनि राखेको पाइन्छ । त्यस्तै, अर्को चुनौती र कमजोरी भनेको विना तयारी नयाँ अभ्यास शुरू गर्नु हो । प्रायः विद्यालय व्यवस्थापन समिति र प्रअको निर्णयमा अंग्रेजी माध्यम शुरू भएको देखिन्छ । उता शिक्षकको तयारी देखिंदैन । शिक्षक र विद्यार्थीलाई चाहिने उपयुक्त स्रोतसाधन छैन । अभ्यासमा एकरूपता र स्पष्टता छैन । कतिपय विद्यालयमा एकै पटक एउटादेखि पाँचवटासम्म अंग्रेजी भाषाका किताब प्रयोग गरिएको छ । अघिल्लो वर्ष चार कक्षासम्म नेपाली माध्यममा पढेका विद्यार्थीले कसरी सबै विषय अंग्रेजीमा पढ्ने ? अर्काेतिर कतै एक देखि तीन कक्षासम्म अंग्रेजी माध्यम अनि चारबाट फेरि नेपाली माध्यमै छ । कहीं सामाजिक नेपालीमा पढाइन्छ, कहीं अंग्रेजीमा । किताब अंग्रेजीमा, पढाइ नेपाली अनि परीक्षामा अंग्रेजी छ । यस्तो गोलमाल अभ्यासका बीच उता सरकार बजेट भाषणमै विद्यालय शिक्षा अंग्रेजी माध्यममा प्रदान गर्ने कुरा घोषणा गर्छ ।

के छ त अंग्रेजी माध्यम शिक्षणको असर ?
भाषाका कारणले विषयवस्तु शिक्षण प्रभावकारी नहुनु अंग्रेजी माध्यमको एउटा प्रमुख असर हो । विज्ञान, सामाजिक, स्वास्थ्य पढाउँदा कक्षामा शिक्षक र विद्यार्थी भाषामै संघर्ष गरिरहेका छन् । विषयवस्तु बुझने÷बुझउने त कहिले हो कहिले । यसले सृजना गर्ने समस्यालाई युनेस्को, २००७ ले भन्छ, फरक–फरक भाषिक समुदायका बालबालिकालाई उनीहरूको मातृभाषालाई बेवास्ता गरी अर्को नौलो भाषामा शिक्षण गर्दा उनीहरूलाई दुई चुनौती हुन्छन्, पहिलो नौलो भाषा सिक्नु । दोस्रो त्यो भाषामा विषयवस्तु सिक्नु । विज्ञान, सामाजिक जस्ता विषयमा अंग्रेजी माध्यमले असर पारेको हुनसक्ने स्पष्ट संकेत २०७३ सालको देशभरिको कक्षा–१ देखि कक्षा–५ सम्मको सिकाइ उपलब्धिले पनि देखाउँछ । सामाजिकमा विद्यार्थीले औसत ४८.२ अङ्क ल्याएका छन् भने विज्ञानमा सबैभन्दा कम जम्मा ४७.१ अङ्क हासिल गरेका छन् । क्षेत्रगत हिसाबले हेर्ने हो भने पनि सुदूरपश्चिम बाहेक सबै ठाउँमा विज्ञानमा उनीहरू कमजोर देखिन्छन्, त्यसपछि सामाजिकमा ।

अंग्रेजी माध्यमका कारण हाम्रा विद्यार्थीका मातृभाषा र स्थानीय भाषा थप बहिष्कृत हुँदै गइरहेका छन् । मातृभाषाको प्रयोगले विद्यार्थीको सिकाइ राम्रो र प्रभावकारी भएका अनुसन्धानहरू विश्वमा असंख्य छन् । भाषाविद् जीम क्यूमिन, ओफेलिया गार्सिया र कोलिन बेकरका अनुसन्धानले पनि त्यस्तै देखाउँछन् । कागजमा सरकारले कम्तीमा तीन कक्षासम्म मातृभाषामा शिक्षण गरिनेछ भनेको छ । उता व्यवहारमा मातृभाषामा शिक्षण त कता हो कता, पाठ्यक्रमले स्थानीय भाषालाई तोकेको एक घण्टी पनि अंग्रेजीलाई चढाइएको छ । यता अहिलेका विद्यार्थी आफ्नै नेपाली भाषाको थप ‘ट्यूसन’ पढ्न बाध्य छन् । धेरै विद्यार्थी नेपालीमा फोन नं. टिप्न सक्दैनन् । यस्तो अभ्यासले हाम्रो आफ्नै भाषाको अवस्था के हुने, गम्भीर प्रश्न छ ।

अब के गर्ने त ? अंग्रेजी माध्यमका नाममा निजी र सामुदायिक विद्यालयमा भइरहेका अव्यवस्थित र असान्दर्भिक अभ्यास रोक्नलाई तत्कालीन रूपमा दुई र दीर्घकालीन रूपमा एउटा काम गर्नुपर्ने देखिन्छ । तत्कालीन रूपमा गर्नुपर्ने पहिलो काम हो, हालको अनिवार्य अंग्रेजी भाषा विषयको पठनपाठन सुधार्ने । अंग्रेजी भाषा आवश्यक छ, त्यसैले भएकै अंग्रेजी विषयलाई शिक्षकले उपयुक्त विधि र सीप प्रयोग गरी प्रभावकारी तरिकाले पढाउनुपर्छ । अभिभावकको चाहना छोराछोरीले अंग्रेजी बुझन सकुन्, लेख्न सकुन् र बोल्न सकुन् भन्ने हो, जुन कुरा अहिलेकै अंग्रेजी विषयबाट प्राप्त हुन सक्छ । त्यसैले त्यही विषयलाई कसरी प्रभावकारी तरिकाले शिक्षण गर्ने भन्नेमा ध्यान दिनुपर्छ । भाषा विषय पढाउनलाई विशेष क्षमताको आवश्यक हुन्छ ।

अतः उपलब्ध शिक्षकमध्ये अंगे्रजीमा दक्ष र योग्यलाई अंग्रेजी विषय जिम्मा दिऊँ । स्रोत सामग्री जुटाऊँ । तालीम, अन्तरक्रिया संचालन गरौं । अहिले कक्षा एकदेखि नै अनिवार्य अंग्रेजी भाषा पढाउने व्यवस्था छ । पहिलेको जस्तो चार कक्षा कुर्नु पर्दैन ।

त्यसैले तत्कालीन रूपमा प्रारम्भिक कक्षामा भएकै अंग्रेजी विषयलाई प्रभावकारी तरिकाले पढाउन ध्यान केन्द्रित गरिनुपर्छ ।

दोस्रो काम भनेको अंग्रेजी माध्यमका आवश्यकता, चुनौती र असरहरू माथि छलफल र अन्तरक्रिया गर्नु हो । अंग्रेजी कति आवश्यक छ ? कति मात्रामा प्रयोग गर्ने, अनि अंग्रेजी माध्यमका चुनौती र असर के छन् भन्ने मुद्दामा छलफल केन्द्रित हुनुपर्छ ।

त्यस्तै निजी विद्यालयको अंग्रेजी माध्यम पनि कति आवश्यक, सफल र प्रभावकारी छ, छलफल र अनुसन्धान हुन जरूरी छ । त्यसपछि यो बहस, अन्तरक्रिया अभिभावक, समुदायसम्म पनि लैजानुपर्छ । उनीहरूलाई पनि बुझउन सक्नुपर्छ– अंग्रेजी आवश्यक छ तर अंग्रेजी भाषाका लागि सबै कुरा त्याग्नु जरूरी छैन । यसका लागि भाषाविद् र अंग्रेजी बुझ्ेकाहरूले मुख खोल्नु जरूरी छ । लेख्नु जरूरी छ, बहस गर्नु जरूरी छ । वास्तविकता आम मानिसलाई बुझउनु जरूरी छ । शिक्षकहरूले पनि आफ्नो विद्यालयमा यस्ता बहस, छलफलको अग्रसरता लिनुपर्छ ।

त्यस्तै दीर्घकालीन रूपमा गर्नुपर्ने काम भनेको नीति–निर्देशिका तयार पार्ने हो । विद्यालयमा अंग्रेजी माध्यमको यस्तो अव्यवस्थित अभ्यास हुँदा पनि सरकारले निर्देशिका ल्याउन सकेको छैन । २०७० सालमा एउटा मस्यौदा बन्यो तर त्यो छलफल र बहसमै छैन । त्यसैले सरोकारवालाले सरकारलाई घच्घच्याउनुपर्ने देखिन्छ । विद्यालयहरूबीच भइरहेको अंग्रेजी भाषाप्रतिको अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि स्पष्ट निर्देशिका आउन जरूरी छ । अनि त्यो निर्देशिकाले सामुदायिक विद्यालयलाई मात्रै होइन निजी विद्यालयको अंग्रेजी माध्यमलाई पनि सम्बोधन गर्नुपर्छ ।

(कार्की स्वतन्त्र शिक्षक–प्रशिक्षक र अनुसन्धानकर्ता हुन् ।)

commercial commercial commercial commercial