त्यसबेलाको दरवार स्कूल–५

गतांकबाट क्रमशः
१९८५ सालतिर श्री रामप्रसाद मानन्धर दरवार स्कूलबाट जाँच दिंदा पटना विश्वविद्यालयको म्याट्रिकुलेशन जाँचमा पहिला भए । शैक्षिक क्षेत्रमा नेपालीले अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेको यो पहिलो पटक थियो— गोरखालीहरूले पहिलो महायुद्धमा अनेक भी.सी. पाए झ्ैं । रामप्रसादजीको त्यो असाधारण सफलताले दरवार स्कूलका लडकामा पैदा गरेको उमंग, सनसनी र उत्तेजनालाई २०१० सालमा तेन्जिङ शेर्पा सगरमाथाको टुप्पामा पुग्दा समस्त नेपालले गरेको हर्षको अनुभवसँग सहजै तुलना गर्न सकिन्छ (म्याट्रिकमा त्यसरी प्रथम स्थान प्राप्त गरेका श्री रामप्रसाद मानन्धर इन्टर मिडियट, बी.ए. र एम.ए. परीक्षामा पनि पटना विश्वविद्यालयमा पहिला नै भए) ।

त्यस बेला म्याट्रिक अथवा एन्ट्रेस पास भएका गुरुहरूले फिप्थ क्लाससम्म र आई.ए. अथवा एफ.ए. पास भएकाले फोर्थ क्लाससम्म पढाउँदथे । खास म्याट्रिकुलेशनको पढाइ थर्ड क्लासदेखि शुरू हुन्थ्यो । त्यहाँदेखि पढाउने गुरुहरू सबै स्नातक हुन्थे । १९८५÷८६ सालतिर ती उच्च कक्षामा पढाउने गुरुहरू थिए— सर्वश्री देवीप्रसाद रिमाल, चूडानन्द वैद्य, प्रो. बोधविक्रम अधिकारी, प्रो. हरिनाथ खनाल, प्रो.डा. गोकुलचन, प्रो. सुधीरराय चौधरी, प्रो. क्षितिशचन्द्र चक्रवर्ती, प्रो. आशु गङगुली, प्रो. नारायणबहादुर मानन्धर, प्रो. गौदत्तमान सिंह, अम्बर बाबु, पार्थमणि आचार्य दीक्षित, बोसबाबु, सेनबाबु, प्रो. तीर्थप्रसाद ढुङ्गाना, क.प. बालकृष्णशमशेर । यी गुरुहरूमध्ये धेरैले त्रिचन्द्र कलेजमा पनि पढाउँदथे । कलेजमा पढाउने प्रोफेसरहरूसँग पढ्न पाउँदा दरवार स्कूलका लडकाहरू लाभान्वित भएका थिए । तर प्रोफेसर साहेबहरू स्कूलमा पढाउन पर्दा आफ्नो मानहानि भएको जस्तो ठान्दथे ।

त्यसबखत स्कूलका लडकाले आफूखुशी लुगा लगाउने भए पनि जुत्ता, टोपी, कोट, लवेदा अथवा कमीज सुरुवाल नलगाई कोही क्लासभित्र घुस्न पाउँदैनथ्यो । पाइन्ट त खालि विदेशी गुरुले मात्र लगाउँदथे । त्यो पनि नामको मात्र । त्यसलाई नेपालीहरूले धोक्रे सुरुवाल भन्दथे । त्यो हुन्थ्यो हात्तीको सुँड जस्तो, माथिदेखि तलसम्म एकनास । नेपाली गुरुहरूले लवेदा सुरुवाल, कोट, जुत्ता, मोजा र कार्चोपी र ढाका अथवा जमोठको टोपी लगाउँदथे । लडकालाई कपालको तलास गर्न मनाही थियो ।

बाहुन गुरुहरूलाई सबले हातमा ढोग्दथे र अरूलाई सैनिक खालको सलाम गर्दथे । क्लासमा नेपाली र संस्कृत पढाउने पण्डितलाई सेकेण्ड पण्डित भन्दथे । निम्नस्तरमा पढाउने अरू गुरु थिए, वासुदेव भट्टराई, जानकीदत्त, जनकलाल सिंह, खड्गधोज, रुद्रदास, भैरवबहादुर श्रेष्ठ, नारायणप्रसाद र ईश्वरीदत्त रस्टौरी (जो अति रिसाहा र झेडी थिए, आफैंले पढाएका लडका श्री रुद्रराज एम.ए. भई दरवार स्कूलको हेडमाष्टर भएपछि दरवार स्कूल त के नेपालै छाडी उनी भारत फर्के ।) रुद्रराज हेडमाष्टर भएकोमा पुराना गुरुहरू नाराज भए पनि, दरवार स्कूलमा उनले राम्रो अनुशासन ल्याए । उनी हेडमाष्टर भएपछि स्कूलको शैक्षिक वातावरणमा ठूलो परिवर्तन आयो । उनी अति जाँगरिला थिए ।

श्री ३ चन्द्रशमशेरको पालासम्म नेपालमा एक कलेज, एक माध्यमिक २२ निम्नमाध्यमिक स्कूल, ४० गोटा भाषा पाठशाला, ८ गोटा संस्कृत, १ आयुर्वेद, १ स्रेस्ता र १६१ अन्य पाठशाला खुलेतापनि खालि नाम चलेको माध्यमिक पाठशाला त दरवार स्कूल मात्र थियो । यति १६१ शैक्षिक संस्थानको स्थापनालाई पनि त्यसबखत शिक्षामा प्रशंसनीय विकास भएजस्तो ठानिन्थ्यो— पढाइको महŒवको कसैलाई पनि पत्तो नहुँदा । राणाकालमा सबैजसो विकास सम्बन्धी नयाँ काममा हात हाल्न जनता हच्कन्थे । त्यसमा पनि शिक्षा प्रचारतिर त सब कुस्तुर थिए– छेर भालु समान । जुन कुरामा सरकारको चाहना छैन, त्यतातिर जनताले चासो नदेखाएकोमा ताजुब मान्ने कुरा पनि भएन ।

देशमा साक्षरता १ प्रतिशत भन्दा पनि घटी थियो । त्यतिकै शिथिल अवस्थामा थिए विकासका अरू सबै पूर्वाधारहरू पनि । जनताको आँखा खोल्ने मुख्य शिक्षा हो; त्यो अति कम थियो । त्यसैले जनता आँखा भए पनि अन्धा थिए । पढ्ने स्कूल, पढाउने गुरु र छोराहरूलाई पढ्न पठाउने जनताको इच्छा तीनै थोक थिएनन् ।

(६)

१९९१ सालअघि दरवार स्कूलबाट त्रिचन्द्र कलेज जानलाई पटना विश्वविद्यालयले संयोजन गरेको म्याट्रिक जाँच काठमाडौंमै दिन पाइन्थ्यो । पटनाबाट प्रश्नावली लिएर एक सुपरभाइजर नेपाल आउँदथे र उत्तर कपीको पोको बोकेर उनी जान्थे । त्रिचन्द्र कलेज, पटना विश्वविद्यालयसँग सम्मिलित हुनुअघि, दरवार स्कूलका विद्यार्थी इण्ट्रेन्स जाँच दिन पहिले इलाहावाद, अनि कलकत्ता गए । त्यसपछि म्याट्रिक जाँचलाई पटना जान्थे । १९९१ सालपछि एस.एल.सी.परीक्षा नेपालको शिक्षा विभागले सञ्चालन गर्न थाल्यो । सर्वप्रथम २४÷२५ जना विद्यार्थी एस.एल.सी.पास भएथे ।२०

त्यतिन्जेलसम्म पनि एस.एल.सी.पास गर्ने सत्रभाइ राणाजीले दोसल्ला र अरू परीक्षार्थीमध्ये पहिला दोस्रा हुने दुनियादारहरूले पुरस्कार पाउने चलन थियो । समयान्तरमा शिक्षाप्रतिको सरकारी प्रोत्साहन घट्दै गयो र जाँचमा पहिला दोस्रा हुने विद्यार्थीले पुरस्कार पाउन पनि छाडे । तर एस.एल.सी.पास भएका सबै लडकालाई श्री ३ महाराजका जुनाफमा दर्शन भेट गराउने र दाम राख्न लगाउने चलन भने पछिसम्म कायमै रहेको थियो— हेडमाष्टरले वर्षको एक बाजि भए पनि प्रधानमन्त्रीलाई आफ्नो काम देखाउने मौका छोप्नलाई ।

१९८९ सालमा श्री ३ महाराज जुद्धशमशेरले दरवार स्कूलमा पुरस्कार वितरण गर्दाको समारोहमा गाइएका ‘हो आजको दिन सरस्वतीको, श्रीले पूजा गरी बक्सेको’ र त्यस्तै अर्को समारोहमा ‘हिन्दूका प्राचीन र राम्रा शक्तिशाली राज्यमा, एकली स्वाधीनताकी राज्यलक्ष्मी छौ तिमी’ भन्ने यी दुई गीतले दरवार स्कूलका विद्यार्थीवर्गमा ठूलो हलचल मच्चायो । दुवै गीतका रचयिता कप्तान बालकृष्णशमशेर जङ्गबहादुर राणा२१ र गायक श्री कृष्णप्रसाद रिमाल थिए । ती गीत सुनेपछि छातीभित्र उकुसमुकुस भएर तालसमान जमिरहेको राष्ट्रिय भावनाले बाँध फोरेर आएको भेल जस्तो अनुभव विद्यार्थीहरूले गर्न थाले— त्यसअघि नेपाली गीत त्यसरी आम–समारोहमा गाउने चलन नहुँदा ।

१९८६ साल अघि खालि झरा टार्ने खालको नेपाली भाषा दरवार स्कूलमा पढाइन्थ्यो । त्यसबखत लडकाले नेपाली अक्षरको जथाभावी खुट्टा काट्दथे, डिका दिन्थे र खालि बाइमात्रा लेख्दथे । नेपाली लेख्दा शुद्ध लेख्नुपर्दछ भन्ने लडकालाई पत्तै थिएन न नलेखेकोमा कसैले खप्की गर्दथे । श्री हेमराज पाँडेद्वारा लिखित ‘चन्द्रिका’ भन्ने नेपाली व्याकरण र मे.ज. धनराज शमशेर ज.ब.रा. लिखित ‘रौद्रीय व्याकरण’ को लडकाले नामसम्म सुनेका थिए तर अनुहार देखेका थिएनन् ।

दरवार स्कूलका लडकालाई वास्तवमा नेपाली शुद्ध लेख्न सिकाउने प्रथम पुरुष कप्तान बालकृष्ण शमशेर हुन् । नेपाली भाषा प्रकाशिनी समितिको, ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ भन्ने दुई पैसे चारपन्ने व्याकरण र, ‘मुटुको व्यथा’ भन्ने पुस्तक १९८७ सालताका निःशुल्क बालकृष्ण शमशेर ज.ब.रा.ले दरवार स्कूलमा बाँडेथे । अनुष्टुप छन्दमा लेखिएको त्यो, ‘मुटुको व्यथा’ र नाटक कसरी भन्नुपर्दछ भनी कुर्लेर बालकृष्ण शमशेरले क्लासमा पढेको सुनेर लडका गज–खान्थे । नेपालीमा लेखिएको नयाँ पुस्तक देख्नु नै रमाइलो कुरा थियो त्यसबखत ।

बालकृष्णका पछिपछिका प्रकाशन— ध्रुव, मुकुन्द इन्दिरा र प्रह्लाद ले विद्यार्थीमा राष्ट्रिय भावना थप्दै गए । भरखर जस्तै नेपालको प्रधानमन्त्री भएका श्री ३ जुद्धशमशेरले जनतासँग सम्पर्क बढाउन अपनाएको नयाँ नीति अनुरूप, दरवार स्कूलका यी समारोहमा उनी आफैं सरिक भएका थिए । श्री ३ देवशमशेरको काण्डपछि विद्यार्थीसँग सम्बन्धित समारोहमा प्रधानमन्त्रीहरू शामेल हुन सकभर हच्कन्थे । (कारण, शिक्षा विकासप्रति आफ्नो विशेष झ्ुकावट देखाउन दरवार स्कूलको विशेष समारोहमा भाग लिएर फर्केका श्री ३ देवशमशेरलाई उनका भाइ मुख्तियार श्री चन्द्रशमशेर र जंगीलाठ फत्तेशमशेरहरू मिली, सेतो दरवारमा श्री ३ वीरका छोराहरूको अंशबण्डाको कुरा मिलाउन भनी जाँदा त्यहीं उनीलाई गिरफ्तार गरेथे) । देवशमशेर पछि यसरी स्कूलको समारोहमा प्रधानमन्त्री सरिक भएको यो पहिलो बाजि थियो । त्यसदिनको प्राइज डिष्ट्रीब्युसन समारोहमा जाँचमा पहिला हुने र त्यहाँ गीत गाउने विद्यार्थीलाई जनही १÷१ असर्फी प्रधानमन्त्रीले पुरस्कार स्वरूप दिएथे । त्यसबखत एक असर्फीको मोल थियो रु.३२ ।

त्यसताका, अरूको त के कुरा, प्रधानमन्त्रीले समेत शिक्षाप्रति चासो देखाए भने उनका रोलवाला भाइहरू सशंकित हुन्थे । त्यसबखत शिक्षातर्फ खायस देखाउनुको अर्थ लाग्दथ्यो देशमा प्रगति गर्न खोज्यो भन्ने । प्रगतिशील प्रधानमन्त्रीले दुनियाँको आँखा खोलिदिन्छन् र आफ्नो मुखमा आएको गाँस हरिदिन्छन् भन्ने रोलवाला राणाजीहरूको धारणा थियो । यस पृष्ठभूमिमा श्री ३ जुद्धशमशेरले त्यसबेला दरवार स्कूलका ती समारोहमा भाग लिएको कुरा विशेष उल्लेखनीय छ ।

१९८९ सालतिर श्री ३ जुद्धले शिक्षा विकासतिर खायस देखाएजस्तो गरेको कारण हाइस्कूल र कलेज स्तरीय निबन्ध प्रतियोगिता सर्वप्रथम शुरू भयो । थर्ड क्लासका विद्यार्थी श्री यदुनाथ खनालको निबन्ध सेकेण्ड र फष्ट क्लासका विद्यार्थीको भन्दा पनि उत्कृष्ट गनिई उनले तक्मा पाएथे १९८९ सालमा ।

दरवार स्कूलबाट नेपाली भाषामा सर्वप्रथम सञ्चालित मुकुन्द इन्दिरा को नाच नै नेपालका गाईजात्रे थेटरको पनि पछि पथप्रदर्शक भयो । त्यसपछि सबैले गाईजात्रामा नेपाली भाषाका नाटक बनाउन र नाच्न थाले । मुकुन्द इन्दिरा ले त नाटक क्षेत्रमा ख्याति मात्र प्राप्त गरेन एक प्रकारले क्रान्ति नै ल्यायो भने पनि हुन्छ ।

१९८९ सालतिर प्रकाशित अरू पुस्तकको तुलनामा बालकृष्णशमशेरका पुस्तकहरू लडकाहरूको निमित्त सचमुच क्रान्तिकारी नै थिए पनि । बालकृष्णशमशेर आफैं रााणा, त्यसमाथि नेपाली भाषा प्रकाशिनी (अघि गोर्खा भाषा प्रकाशिनी) समितिको स्वयं हाकीम भएकोले नेपाली पुस्तक लेख्दा अरू चानचुने रैतीलाई पर्न आउने सम्भावित अड्चन र आक्षेपबाट उनी मुक्त थिए ।

यो समिति (गोर्खा भाषा प्रकाशिनी समिति) मा धेरै वर्षसम्म राममणि आ.दी. हाकीम भएथे । १९९० सालतिर कप्तान बालकृष्ण शमशेर ज.ब.रा.त्यसमा हाकीम हुँदा, यसमा सुब्बा ऋद्धिबहादुर मल्ल, श्री शुक्रराज शास्त्री, श्री चक्रपाणि चालिसे र पछि खड्गमान मल्ल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, पूर्णप्रसाद ब्राह्मण र गोपालप्रसाद रिमालहरू सदस्य भए । श्री बालकृष्णको लेखमा धक फुकेको नवीनता देखिन्थ्यो— नवीनता चाहने विद्यार्थीको लागि । “सदैव घाम लाग्दैन हुँदैन बदली सधैं, गद्दी मिल्छ कुनै दिन, रद्दी हुन्छ कुनै दिन”२२ भन्ने पंक्ति अरू कसैले त्यसबखत नेपालमा लेखेको भए, लेखकलाई ना.सु. कृष्णलाललाई भन्दा पनि ठूलो दशा लाग्दथ्यो— त्यसको बांगोटिंगो अनेक अर्थ लागी ।

यस्तै नयाँ विचार र शैलीले गर्दा बालकृष्णशमशेरको नयाँ पुस्तकको चाहना त्यसबखत दरवार स्कूलका विद्यार्थीमा बढ्न थाल्यो । मकैको खेती, नैवेद्य, स्वर्गको दरवार भन्दा ‘ध्रुव’ र ‘प्रह्लाद’ त्यसबेलालाई कम क्रान्तिकारी थिएनन् । ‘मकैको खेती’ का लेखक ना.सु. कृष्णलाल नौ वर्ष जेल परे, मकैको खेती भन्ने पुस्तक लेखे बापत; पण्डित धरणीधरले नैवेद्य विदेशमा बसेर लेख्नु प¥यो । स्वर्गको दरवार लेख्ने शहीद शुक्रराजले पछि प्राणदण्ड पाए । सूक्तिसिन्धु मा आफ्ना रचनाहरू छपाएबापत कवि शिरोमणि लेखनाथ पौडेल, पण्डितराज सोमनाथ सिग्देल र चक्रपाणि चालिसेहरूले खप्की खाए । तर ध्रुव र प्रह्लाद लेखे बापत बालकृष्णशमशेरलाई केही भएन– राणाजीले राणाजीको घात किमार्थ गर्दैन भन्ने श्री ३ जुद्धको विश्वासले गर्दा । त्यसैले बालकृष्णशमशेर२३ लिखित पुस्तकहरू विद्यार्थीहरू अति नै रुचाउँदथे ।

१९१० सालदेखि १९९० सालसम्म नेपालमा जे जति मानिसले अंग्रेजी र संस्कृत पढे ती सब दरवार स्कूलका विद्यार्थी थिए— कुनै न कुनै दिन । देशमा एक मात्र माध्यमिक पाठशालाले असी वर्षसम्म शिक्षाको तारीख धान्नु पनि गनिमत हो । त्यति लामो समयसम्म एकाधिकार पाएको त्यो दरवार स्कूल एकदलीय सरकारजस्तै अरूले आफूलाई उछिन्ला र लोकप्रिय होलान् भन्ने संकुचित भावनाबाट मुक्त थियो । त्यसैले दरवार स्कूललाई ८० वर्षसम्म एकाधिकार गुम्ला भनेर डर मान्ने र आफ्नो स्तर उठाउने कुनै चासो र आवश्यकता परेन— कतैबाट कुनै प्रतिस्पर्धा आउने जगजगी नहुँदा ।

अनि ऊ, शुरूदेखि अन्तसम्म जस्ताको तस्तै रह्यो— बामपुड्केको बामपुड्के । दरवार स्कूलको आज नाम मेटिए पनि, त्यसमा धेरथोर दिन पढ्ने विद्यार्थीहरूले त्यसलाई अति ममतापूर्वक झ्लझ्ली सम्झ्न्छन्— आफ्ना शैशवकाल अति रमाइलोसँग त्यहाँ बिताएका; दुई अक्षर पढ्ने सौभाग्य पाएका र सबै मानिस बैगुनी नहुँदा । पुरानो टिकट, सिक्का र पुस्तकजस्तै एकसय तेत्तीस वर्ष पुरानो दरवार स्कूलको भाउ पनि इटन, हेरोको जस्तो पछिपछि झ्न्झ्न् बढ्दै जाँदो हो, त्यसको नाममा, बैगुनीहरूले, हरिताल नलगाई दिएका भए । कीर्ति कमाउन खोज्नेहरूले अरूले राखेको कीर्ति बचाउन पनि जान्नुपर्दछ; नत्र भने आफ्नो कीर्ति पनि पछि अरूले मेटिदिने सम्भव हुन्छ । यो साँचो कुरा हो । यस्तो परम्परा देशमा बसाल्नु हुन्न । अंग्रेजले भारतवर्ष छाडेको आज ४० वर्ष हुँदा पनि कलकत्तामा ‘भिक्टोरिया मिमोरियल’ को नाम काटिएको छैन । ७ (समाप्त)

(त्यसबखतको नेपाल भाग–१ बाट)

commercial commercial commercial commercial