साधारण स्कूलमा प्राविधिक शिक्षा 'आशा र उत्साहको लहर'

  • इलाम, जीतपुर–४ का कृषक देवी कट्टेलको गाई ब्याएको भोलिपल्ट आङ निस्कियो । देवीले गाईको उपचारका लागि स्थानीय जीतपुर माविको प्राविधिक शिक्षा (टीईसीएस) कार्यक्रमका शिक्षक एवं पशु स्वास्थ्य विज्ञ डा. निशान्त शाहलाई गुहारे । खबर पाउनेबित्तिकै डा. निशान्त आफ्ना विद्यार्थीलाई साथमा लिएर देवीको घरमा पुगे । डा. निशान्तको निगरानीमा उनका विद्यार्थीले आङ निस्किएको गाईको उपचार गरे; देवीको चिन्ता ट¥यो ।
  • जीतपुर–३ का अर्का किसान महेश लिम्बूको गाई ब्याउन नसकेर लम्पसार प¥यो । ब्याउने बेथा लागेको २४ घण्टासम्म बाछो अड्किरहेपछि महेश पनि कुदेर जीतपुर मावि नै पुगे । शिक्षक डा. निशान्तले तीन जना विद्यार्थीलाई महेशको घर पठाए । उनीहरूले नै महेशको गाईको बाछो निकालेर उपचार समेत गरे ।
  • जीतपुर–५ का मातृका अधिकारीको गाई एक महीनाअघि सिताङ्ग ज्वरो (मिल्क फिभर) ले थला प¥यो । मातृकाले आग्रह गरेपछि जीतपुर माविकै विद्यार्थीले उनको गाईको उपचार गरे । जीतपुर–४ की मुना गिरीको गाई पनि ब्याउन नसकेपछि तिनै विद्यार्थी गएर निको पारे ।

यी इलाममा अनुभव गरिएका केही नयाँ खालका घटना हुन् । जीतपुर माविमा सञ्चालित प्राविधिक शिक्षा (टीईसीएस) कार्यक्रमका शिक्षक र विद्यार्थीले विगत पाँच वर्ष अघिदेखि जीतपुर, सिद्धिथुम्का, साङ्रुम्बा, देउमाई नपा र आसपासका गाविसमा पुगेर किसानलाई यस्तै सेवा दिइरहेका छन् । यस्तो सेवाले स्थानीय किसानलाई व्यावसायिक पशुपालनतर्पm थप उत्साहित गरिरहेको छ ।

सीटीईभीटीको सहयोगमा जीतपुर माविमा सञ्चालित प्राविधिक शिक्षा कार्यक्रमको पहिलो र दोस्रो ब्याचबाट ४६ जना विद्यार्थी भेटेरिनरी जेटीएका रूपमा उत्पादन भइसकेका छन् । २०६८ सालमा शुरू भएको यो कार्यक्रममा अहिले चौथो र पाँचौं ब्याचका ५७ जना विद्यार्थी अध्ययनरत छन् भने तेस्रो ब्याचका १३ जना विद्यार्थी पाँच महीने ओजेटी (अन दी जब ट्रेनिङ) मा जिल्ला पशु सेवा कार्यालयअन्तर्गतका पशु सेवा केन्द्र र उपकेन्द्रमा कार्यरत छन् ।

यहाँबाट उत्पादित जनशक्तिले गाई, भैंसी, भेडा, बाख्रा, कुखुरा, बंगुर, घोडा, खच्चर, माछा जस्ता पशुपक्षीको परीक्षण, उपचार, पोषण तथा परामर्श सम्बन्धी ज्ञान लिएर त्यही क्षेत्रमा स्थानीय किसानलाई सेवा दिइरहेका छन् । पढाइ पूरा गरिसकेका कतिपय पूर्व विद्यार्थी सरकारी जागीरमा लागेका छन् भने कतिपयले व्यक्तिगत भेटेरिनरी पसल खोलेर व्यवसाय गरिरहेका छन् ।

जीतपुर माविको पढाइपछि इभाङ पशु सेवा उपकेन्द्रमा काम गरिरहेका सुवास न्यौपानेले आफूले पशुपक्षीको सामान्य उपचार, परामर्श, खोप, अनुगमन, कुपोषण, गोबर परीक्षण, बन्ध्याकरणसहित अन्य रोगको उपचार गर्ने गरेको बताए ।

विद्यालयको पहिलो ब्याचमा अध्ययन गरी आफैं भेटेरिनरी पसल सञ्चालन गरिरहेका जीतपुरकै ताराप्रसाद दवाडीले आफूले अन्य सेवा बाहेक मासिक ३० देखि ३५ वटा गाईमा कृत्रिम गर्भाधारण गराउँदै आएको बताए ।

स्थानीय कृषकहरू गोबर तथा दूध परीक्षण, बोकाको बन्ध्याकरण आदि कार्य गर्नुपर्दा आजभोलि यही विद्यालय धाउने गरेका छन् । खोरेत, रेबिज, टीटीआर आदि विभिन्न रोग विरुद्धको खोप अभियानका बेला विद्यालयले अध्ययनरत विद्यार्थीलाई समेत स्वयंसेवकको रूपमा परिचालन गर्ने गरेको छ ।

जिल्लामा अन्यत्र उपलब्ध नभएका परीक्षण सामग्री पनि विद्यालयमा भएकाले किसानले सेवा लिन थप सजिलो भएको छ । विद्यालयमा अण्डाबाट कुखुराका चल्ला उत्पादन गर्ने ‘ह्याचर’ देखि दूध परीक्षण गर्ने मेशीनसम्म उपलब्ध छन् ।

जीतपुरमै गाईपालन व्यवसाय गरिरहेका प्रेमसागर बरालले विद्यालयका विद्यार्थी र शिक्षकबाट पाएको सेवाले आफूलाई थप उत्साहित बनाएको बताए । गजुरमुखी गाईपालन फार्म दर्ता गरेर नौवटा गाई पालिरहेका बरालले आफ्नो गाई थप्ने योजना सुनाउँदै भने, “पशुको डाक्टर खोज्न टाढा गइरहनुपर्दैन । विद्यार्थीले आएर उपचार गरिदिन्छन्, डाक्टर नै पनि छँदैछन् ।” उनले माछापालनका लागि पोखरीसमेत बनाउँदैछन् ।

जीतपुर–५ को देवीयानी बाख्रापालन फार्मका सञ्चालक सूर्यप्रसाद बरालले पनि जीतपुर माविका विद्यार्थी र शिक्षकले दिएको सेवाले व्यवसाय सञ्चालन गर्न सजिलो भएको बताए । विद्यालयका प्रधानाध्यापक खडानन्द अधिकारीका अनुसार उक्त बाख्रा फार्मसँग विद्यार्थीको प्रयोगात्मक सिकाइ र आवश्यक पर्दा बाख्राको उपचार गर्न विद्यालयले सम्झैता नै गरेको छ ।

प्रयोगात्मक सिकाइको लागि अध्ययनरत विद्यार्थीले एउटा कुखुरा फार्म पनि सञ्चालन गरेका छन् । प्राविधिक विषय पढ्न भनेर नै खोटाङको दिक्तेल नगरपालिका–१३ बाट आएका जीतपुर माविका विद्यार्थी कुमार आचार्यका अनुसार कुखुरा फार्मबाट विद्यार्थीलाई पकेट खर्च पनि बच्ने गरेको छ । खोटाङमा प्राविधिक शिक्षा दिने संस्था नभएको, यहाँको सामुदायिक विद्यालयमा सस्तोमा पढाइ हुने गरेको, निजीमा भन्दा राम्रो सिकाइ भएको र भविष्यमा गाउँमा पशुस्वास्थ्य सम्बन्धी सेवा दिने मन भएकोले पढ्नका लागि आफू इलामसम्म आएको उनले बताए ।

पशुसम्बन्धी प्राविधिक शिक्षा सञ्चालन भएको जिल्लाकै एकमात्र विद्यालय हो जीतपुर मावि । शुरूमा १५ महीने, त्यसपछि २९ महीने र अहिले १८ महीने पढाइ भइरहेको टीईसीएस कार्यक्रममा पहिले एसएलसी उत्तीर्ण नगरेका विद्यार्थी पनि सहभागी हुन पाउँथे । यस पटकदेखि एसईईको नतीजा ग्रेडिङमा गरिन थालेपछि जुन ग्रेड ल्याए पनि एसईई दिएका विद्यार्थीले यो शिक्षा पढ्न पाउने प्रअ अधिकारीले जानकारी दिए ।

शैक्षिक सत्रको शुरूसँगै थालिने यो कक्षाको अन्तिम परीक्षा दशैंअघि हुने गरेको छ । चारवटा प्रयोगात्मक कोठा र अन्य दुईवटा पढाइ कक्ष आवश्यक पर्ने भए पनि विद्यालयले दुईवटा प्रयोगात्मक कोठा र दुईवटा पढाइ कक्षाबाटै काम चलाउँदै आएको छ । प्रअ अधिकारीका अनुसार यसनिम्ति नयाँ भवन बन्ने क्रममा रहेको छ ।

यहाँको हालको पढाइलाई प्रवीणता प्रमाणपत्र तह सरहको मान्यता दिइएको छ । तर यसबाट उत्पादित जनशक्तिले खरिदारस्तरको भेटेरिनरी जेटीएमा मात्र प्रतिस्पर्धा गर्न सक्छन् । आगामी शैक्षिक सत्रदेखि प्राविधिक शिक्षालाई स्नातक तहसम्मको बनाउने योजना रहेको बताइएको छ । त्यसका लागि सीटीईभीटीसँग समन्वय गरिरहेको र प्रयोगात्मक प्रणालीलाई प्रभावकारी बनाउन जमीन भाडामा लिएर भए पनि विद्यालयले नै व्यावसायिक उत्पादन थाल्ने योजना रहेको जानकारी प्रअ अधिकारीले दिएका छन् ।

प्रअ अधिकारीका अनुसार ‘आगामी वर्षदेखि गाई, बाख्रा, बङ्गुर, कुखुरा र माछा फार्म शुरू गर्न उपयुक्त जग्गाको खोजी हुँदैछ ।

प्राविधिक कक्षा सञ्चालनका लागि सीटीईभीटीले नै सबै प्रयोगात्मक सामग्री उपलब्ध गराएकोले त्यसमा विद्यालयले खर्च गर्नु परेको छैन । दुई जना प्रशिक्षक र दुईजना सहायक प्रशिक्षक गरी चारजना स्रोतव्यक्तिको पारिश्रमिक पनि सीटीईभीटीले नै उपलब्ध गराउँदै आएको छ । प्राविधिक शिक्षा सञ्चालन गर्ने क्रममा अभिभावकलाई थप आर्थिक भार नपरेको प्रअ अधिकारीको भनाइ छ ।

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले भर्ना शुल्क र पुस्तकालय धरौटी समेत गरी शुरूमा रु.१३ हजार र मासिक शुल्क रु.५०० तिर्नुपर्छ । बाहिरबाट आएका विद्यार्थीले खाने र बस्ने व्यवस्था आफैं गर्नुपर्छ ।

जीतपुर माविमा सञ्चालित प्राविधिक शिक्षा (टीईसीएस) का प्रमुख प्रशिक्षक डा. निशान्त मोरङका हुन् । उनले चितवनको रामपुरस्थित कृषि क्याम्पसबाट ब्याचलर इन भेटेरिनरी साइन्स एण्ड एनिमल हस्बेण्ड्री (बीबीएससी) र भेटेरिनरी मेडिसिनमा स्नातकोत्तर (एनएच पीजी) गरेका छन् ।

डा. निशान्त स्थानीयस्तरमा आइपर्ने पशुस्वास्थ्य सम्बन्धी ठूला समस्या आफूले नै हेर्ने गरेको बताउँछन् । उनी जिल्ला पशुसेवा कार्यालयका प्रमुख अर्थात् पशु चिकित्सकभन्दा बढी अध्ययन गरेका चिकित्सक भएकाले पशु स्वास्थ्यसम्बन्धी धेरै ठूलो समस्या पनि जिल्ला कार्यालयमा पठाइरहनु पर्दैन । “पदीय हिसाबले नभए पनि पढाइको हिसाबले म नै सिनियर भएको हुनाले यहाँको कुनै केस पठाउने कुरै भएन, बरू उहाँ नसकेको केस आए म हेर्न सक्छु”, डा. निशान्तले भने । आफूलाई चिन्नेजान्ने कृषकले समस्या पर्दा फोन गरेर सेवा र सल्लाह माग्ने गरेको र आफूले हेरेका सबै केस सफल भएको उनको भनाइ छ ।

डा. निशान्तको बुझइमा अन्यत्र भन्दा यहाँ सस्तो भएका कारणले विद्यार्थीको चाप बढेको छ । बाहिर निजी संस्थाले उही कोर्सको रु.१ लाख २५ हजार लिन्छन् भने यहाँ रु.२५ हजारमै पढ्न पाइन्छ । डा. निशान्तका अनुसार स्थानीयस्तरमै स्वरोजगार बन्न सकिने सबैभन्दा भरपर्दो क्षेत्र भेटेरिनरी प्राविधिक शिक्षा भएकोले यसमा आकर्षण बढ्दै गएको हो । उनले भने, “यहाँ पनि पहिले पहिले विद्यार्थीलाई बुझएर ल्याउन मुश्किल परेको थियो । तर पछि पछि यो रोजगारीको राम्रो माध्यम हो, गाउँमै काम पाइन्छ भनेर सम्झउनेदेखि यहाँ पढेका विद्यार्थी सरकारी निजामती कर्मचारी बन्ने र करारमा काम पाउने हुन थालेपछि आकर्षण थपिएको हो ।”

अन्य सङ्कायमा माथिल्लो तहको अध्ययन सिध्याएका विद्यार्थी पनि यो प्राविधिक शिक्षा अध्ययनमा आएको पाइएको छ ।

उनीहरूले अरू पढाइले रोजगारीको ग्यारेण्टी हुन नसकेपछि प्राविधिक शिक्षा पढ्न आएको बताएका छन् । सीएमए पढेर स्थानीय नवमी बजारमा औषधि पसल सञ्चालन गरेर बसेकी देउमाई नगरपालिका–९ की विद्यार्थी सीता कट्टेलले पशु चिकित्सा पढ्दा लोकसेवा आयोग उत्तीर्ण गर्न सजिलो हुने देखेर यहाँ पढ्न थालेको बताइन् । मेडिकल क्षेत्रमा धेरै र पशु प्राविधिक क्षेत्रमा कम प्रतिस्पर्धा हुने भएकोले पनि सहज महसूस गरेको उनको भनाइ थियो ।

त्यस्तै मानविकी सङ्कायमा स्नातक उत्तीर्ण गरेर दुबईमा चार वर्ष बिताएका जीतपुर–१ का ताराप्रसाद दवाडीले स्थानीयस्तरमै स्वरोजगार बन्न सकिने भएकाले यहाँ पढेको बताए । पहिले रोजगारीका लागि निकै दौडधूप गर्दा पनि नभएको तर अहिले पशु प्राविधिक पढाइ सकेर आफू स्वरोजगार बन्न पाएकोमा गर्व महसूस गरिरहेको उनको भनाइ थियो । नवमीमै भेटेरिनरी पसल खोलेकी जीतपुर माविकी पूर्व विद्यार्थी कल्पना न्यौपानेले पनि आफूले पशु चिकित्सा विषय पढेर स्वरोजगार बन्न सकेकोमा खुशी व्यक्त गरिन् ।

यहाँ पढिरहेका विद्यार्थीमा पढाइ सकेपछि सहजै रोजगारी मिल्ने विश्वास पाइन्छ । यसअघिको ब्याचका कैयौं विद्यार्थीले लोकसेवा उत्तीर्ण गरेको र हाल सरकारले ‘एक गाउँ, एक भेटेरिनरी जेटीए’ भन्ने अवधारणा बनाएर करारमा प्राविधिक खटाउँदा यस विद्यालयका सबैजसो पूर्व विद्यार्थीले रोजगार पाएको देखेपछि अध्ययनरत विद्यार्थीको विश्वास अरू बढेको हो ।

माई नगरपालिका–८ का विद्यार्थी बिर्जुहाङ योङहाङले त सके पशुचिकित्सक बन्ने, नभए सरकारी कर्मचारी बनेर जागीर खाने, त्यो पनि नभए आफ्नै गाउँघरमा पसल खोलेर स्वरोजगार बन्ने सोचले अध्ययन गरिरहेको बताए । यो विषय पढेपछि रोजगारीका लागि घोत्लिनु नपर्ने विश्वास उनको थियो । त्यस्तै सन्दकपुर गाउँपालिका–५ का विद्यार्थी शिशिर थेवेले पनि आफ्नो गाउँमा पशु प्राविधिक नभएको, सरकारी पशु सेवा केन्द्रमा पनि एकजना मात्र प्राविधिक रहने गरेको, पशु बिरामी पर्दा किसानलाई समस्या हुने गरेकोले गाउँमै रोजगारी हुनसक्ने देखेर आफूले अध्ययन गरिरहेको बताए ।

जीतपुर मावि इलाममा सबैभन्दा पहिले (२०६२ साल) विशिष्ट श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गराउने विद्यालय हो । त्यतिबेला दुई जनाले विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए र आधाभन्दा बढीले प्रथम श्रेणीमा । “त्यही हौसलाले हामीलाई नयाँ कामको थालनी गर्ने सोचमा पु¥याएको हो”, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्द गिरीले बताए ।

जीतपुर माविमा सञ्चालित प्राविधिक शिक्षाको प्रशंसा स्थानीय सेवाग्राहीले मात्र नभई सेवा प्रदायक सरकारी निकायले पनि गर्न थालेका छन् । जीतपुर पशु सेवा उपकेन्द्रमा अहिले एकजना मात्र प्राविधिक छन् । उनी कार्यालयमा आएका किसानलाई सेवा दिएर फिल्डमा पुग्न कम मात्रै भ्याउँछन् । “विद्यालयमा यो विषय पढाइ हुन थालेपछि हामीलाई धेरै सहज भएको छ” सो सेवा केन्द्रका इञ्चार्ज भेटेरिनरी प्राविधिक कौशल शाह भन्छन्, “धेरैजसो परीक्षण त्यहीं भइहाल्छ, डाक्टर पनि विद्यालयमै भएकाले हामीले नसकेको उपचार पनि हुन्छ । फेरि हामी त एक्लै हुँदा भ्याईनभ्याई हुन्थ्यो । कृषकलाई पनि सुविधा भएको छ ।”

रोहितचन्द्र भट्टराई, इलाम

commercial commercial commercial commercial