प्रशंसाले दिन्छ ऊर्जा

म २०७१ साल भदौदेखि निमावि (सामाजिक) तहमा नियुक्त स्थायी शिक्षक हुँ । २०७२ सालको भदौ महीनादेखि मैले कुनै पनि बच्चालाई कुनै शारीरिक वा मानसिक दण्ड–सजाय दिएको छैन । मिति नै तोकिसकेपछि त्योभन्दा पहिला के ? भन्ने कुरा उठ्नु स्वाभाविकै हो । त्यसअघि भने मैले सामान्य खालका दण्ड दिने गरेको थिएँ । तर पनि वर्तमान शिक्षाको नीति र विश्वव्यापी अभ्यास अनुसार त्यसो गर्नु गलत रहेछ भन्ने बोध गरेको छु ।

विद्यार्थीको गल्ती के हुन्थ्यो त ?
हल्ला गरेर पढाइमा ध्यान नदिनु र अरूलाई अल्मल्याउनु, कक्षाकार्य र गृहकार्य नगर्नु; पाठ्यपुस्तक, अभ्यास पुस्तिका, कलम र अन्य आवश्यक कुराहरू नहुुुनु वा झेलाबाट ननिकाल्नु जस्ता कारणबाट नै सबैभन्दा धेरै विद्यार्थी सजायको भागी बन्छन् । यस्ता क्रियाकलापका कारण उनीहरूको ध्यान बाँडिन्छ र सिक्ने क्षमतामा कमी आउँछ । फलतः जुन कक्षामा जे सिक्नुपर्ने हो त्यो कुरा उनीहरूले त्यहाँ सिक्न सक्दैनन् । थाहा नभएको कुरामा कुनै पनि मानिसलाई रुचि नहुनु स्वाभाविकै हो । सेवा प्रवेशको पहिलो एक वर्षमा मैले विद्यार्थीबाट सिकेको कुरा यही हो ।

मैले दण्ड–सजायले सिकाइमा कुनै सुधार नहुने, समय मात्र बर्बाद हुने तथा शिक्षक, विद्यार्थी र समुदायबीचको सम्बन्धमा खलल आउने देखेर कुनै पनि दण्ड–सजायका क्रियाकलाप गरेको छैन । बरु मैले अनुशासनका सकारात्मक उपायको थप खोजी र व्यावहारिक प्रयोगमा बढावा दिन थालें । अरूले भन्ने गरेको ‘चुलबुले’ शब्दलाई ‘उत्सुकता’ मा बदलें । शिक्षाको विश्वव्यापी नीति र अभ्यास अनुसार शारीरिक र मानसिक दण्ड–सजाय विना नै प्रभावकारी सिकाइ हुन्छ भन्ने विश्वासका साथ अघिबढ्ने निर्णय गरें ।

घरमा दण्ड–सजायको अवस्था
मैले हालसम्म तीनवटै छोराछोरीलाई गाली गरेको वा कुटपिट तथा अन्य शारीरिक सजाय गरेको छैन । म छोराछोरीसँग सधैं खुलेर र हाँसोठट्टामा कुरा गर्ने गर्छु । पहिला पहिला श्रीमतीलगायत अन्य आफन्तहरू पनि ‘छोराछोरीलाई धेरै पुल्पुल्याउनुहुँदैन बिग्रिन्छन्, अलि दबाबमा राख्नुपर्छ’ भन्ने गर्नुहुन्थ्यो । तर मैले त्यसो कहिल्यै गरिनँ । अहिले पनि फाट्टफुट्ट यस्तो कुरा आइरहन्छ । त्यस्तो कुरा उठ्दा म भन्ने गर्छु— ‘दबाबमा राखिएका र मेरा बच्चाका मार्कशीट तुलना गरौं न त !’ तर उहाँहरूलाई लाग्छ, ‘अलि दबाब भए अझ्ै राम्रा हुन्थे ।’ म सोच्छु— यति पनि पो हुने थिएनन् कि !
मैले छोराछोरीलाई दण्डरहित ढंगबाट डो¥याउन अपनाएका केही उपाय हुन्—

१. गृहकार्य गर्ने र पढ्ने समय उनीहरूलाई नै निर्धारण गर्न लगाउने
आफैंले निर्धारण गरेको कार्यतालिकाको पालना उनीहरूले स्वतः गर्छन् । पालना गरेमा उनीहरूले स्याबासी पाउनुपर्छ र नगरेमा त्यसप्रति उनीहरूलाई जिम्मेवार बनाउनुपर्छ ।

२. थाहा हुनासाथ राम्रो कामको प्रशंसा गरिहाल्ने
प्रशंसाले सबैभन्दा धेरै उत्प्रेरणा दिन्छ । कदाचित् उनीहरू नतीजामा सन्तुष्ट छैनन् भने ‘तिमीभन्दा तल कति जना छन् ? तिनीहरूलाई जितिरहन त सक्छौ कि ?’ भन्ने जस्ता सकारात्मक प्रतिक्रियाले प्रतिकूल अवस्थामा पनि उनीहरूको आत्मबल कायम रहन्छ । उनीहरूको अनुहार उज्यालो हुन्छ र काममा सुधार पनि हुन्छ ।

आफन्तहरू कतै जागीरमा सफल भएमा, कोही प्रथम भएमा; कसैको खेती वा व्यापार राम्रो भएमा त्यसको फाइदा के के हुुन्छ भनेर बच्चाका अगाडि प्रशंसासहित कुरा गर्दा पनि उनीहरूमा सकारात्मक ऊर्जा प्रवाहित हुन्छ । कोही असफल भएको खबर प्राप्त भएमा ‘के भो त, फेरि प्रयास गर्छ । भइहाल्छ नि !’ जस्ता कुरा गरेर थप हौसला दिन सकिन्छ ।

३. बच्चाको नतीजा अनपेक्षित वा कमजोर आए पनि प्रशंसाको दर नघटाउने
एक पटक मेरो छोरी पहिलो त्रैमासिकभन्दा अर्धवार्षिक परीक्षामा तीन प्रतिशत अङ्क कम भएर दोस्रोबाट तेस्रोमा झ्रिछिन् । घर आउने बित्तिकै मैले हाँसेर ‘कस्तो भयो त रिजल्ट ?’ भन्दा उनले ‘पर्सेन्ट’ मात्र बताइन् । मैले ‘स्याबास ! धेरै राम्रो’ भनेर प्रशंसा गरें । तर उनले निन्याउरो मुुख लगाएर प्रतिशत कम भएको र कक्षामा अरूभन्दा पछि पनि परेको बताइन् ।

तर; म त्यस्ता कुरामा कहिल्यै पनि असन्तुष्ट हुन्न । मेरो बानी नै यस्तै भइसक्यो । छोराछोरी सधैं राम्रो गर्दै गएका छन् । जति धेरै वा थोरै प्रतिशत अंक आए पनि मेरो वाक्य उही हुन्छ– ‘स्याबास ! धेरै राम्रो ।’ उनीहरू हाँस्छन् । म फेरि दोहो¥याउँछु ‘स्याबास ! धेरै राम्रो । अर्को चोटि अझ् राम्रो गर्नुपर्छ ।’ हाँसेर स्वीकृति जनाउँछन् । अपवाद बाहेक राम्रो नै गर्दै आएका छन् ।

४. उनीहरूबाट कुनै नोक्सानी हुन गएमा त्यसको कारण र परिणाम पहिला सोध्ने, नोक्सानीको मात्रा (त्यो पनि आवश्यक भए मात्र) अन्तिममा सोध्ने स्वाभाविकै हो, बालबालिका धेरै काम वा सामान बिगार्छन् । भाँडा फाल्छन, फुटाउँछन् । टिभी, कम्प्युटर, मोबाइल चलाउँछन, बिगार्छन् । कापी–कलम हराउँछन्, च्यात्छन् । खेल्दा वा काम गर्दा घाउचोट लगाउँछन् । यस्तो अवस्थामा जे भएको छ त्यो ‘कसरी वा के गर्दा भयो’ बाट शुरू गरेर ‘अब के हुन्छ ? कसरी सुुुधार्ने ? यसका लागि के के चाहिन्छ ?’ भन्ने कुरा नरिसाइकन, मायालु वातावरणमा हाँसीहाँसी गर्दा सबै विकल्प आफैं दिन्छन्, भन्छन् । ‘यसो गर्न नहुने रहेछ, अब गर्दिनँ’ भनेर आफैं भन्छन् । आफूले किन यस्तो गरेको त ? भनेर सोध्नै पर्दैन । मेरा छोराछोरीले एक–दुई चोटि अपवाद बाहेक कुनै गल्ती दोहो¥याएर गरेका छैनन् ।

५. घरपरिवारको आम्दानी खर्च र बानी व्यवहारमा पारदर्शी र सहभागितात्मक निर्णय गर्ने
वैशाख महीनामा नै छोराछोरीलाई आगामी वर्षको अनुमानित आयव्यय विवरण बनाउन लगाउँछु । मेरो तलब र श्रीमतीको तरकारी बिक्री र बाख्रापाठाबाट भएको अनुुमानित आम्दानी उनीहरूलाई जानकारी गराउँछौं । उनीहरू आफैं बनाउँछन्– फी कति ? कापीकलम ? खाना ? औषधि ? कपडामा ? हामीसँग आवश्यक परे सोध्छन् । यही अभ्यासको परिणाम हुनुपर्छ; उनीहरूले नसकिने कुराको माग, जस्तै महँगा कपडा वा सामान, अनावश्यक घुमफिर आदिको फर्माइस कहिल्यै गरेका छैनन् । कहिले मासु, कहिले दही दूध, कहिले मिठाइ, दिउँसोको खाजा सबै कुरामा एउटाले कुरा उठाउँछ । स्वीकृत हुन्छ ।

ल्याइन्छ, खाइन्छ । जो–कोही पनि घर बाहिर जाँदा यहाँ जाने र यो बेला आउने भनेर जाने र निर्धारित समयभन्दा ढिलो भएमा जानकारी गराउने चलन बसालिएको छ । छोराछोरी स्कूल वा कतैबाट आउने समय ढिलो भएमा नरिसाइकन ‘किन ?’ बाट शुरू गरेर कारण सोध्ने र त्यसपछि मात्र फाइदा बेफाइदा के भयो भनेर सोध्ने मेरो तरीका हो ।

६. पढाइ–लेखाइमा बेवास्ता गरेजस्तो लागेमा उनीहरूले सक्ने अन्य काम गर्न उत्प्रेरित गर्ने
कारण जेसुुकै होस्, केटाकेटीले कहिलेकाहीं पढाइ लेखाइमा बेवास्ता गरे जस्तो पनि लाग्छ । यस्तो बेलामा यदि छोराछोरी सबै वा कसैले त्यस्तो गरेको कुरा मलाई लागेमा ‘कि पढ्ने कि सक्ने काम गर्ने, खाली चाहिं बस्नुहुँदैन’ भनेर अनिवार्य गरिदिन्छु ।

उनीहरू सकेसम्म पढ्न लेख्नै लाग्छन् । कहिलेकाहीं काममा पनि लाग्छन् । पढाइ–लेखाइमा लागे यति ‘पढेपछि यो काम पनि गरिदिनुु है’ पनि भन्छु । यदि पहिला काम गर्न लागे भने ‘यति काम सकेर एकछिन पढाइलेखाइ गर्ने है !’ भन्न पनि म छुटाउँदिन । उनीहरू पनि स्वीकार गर्छन् । यसो गर्दा गर्दै मेरा छोराछोरीले आफूूले सक्नेसम्मका काम सबै सिकेका छन् । खाना, चिया पकाउने । भाँडा माझने । सामान्य बिजुलीका तार जोड्ने । धारा बिग्रेमा बनाउने । करेसाबारीमा खन्ने, गोड्ने, सिंचाइ गर्ने ।

रूखमा चढेर डालेघाँस काट्ने । घरमा खपत नहुने बारीको तरकारी साइकलमा राखेर बजारमा लगेर बेच्ने काम पनि गर्छन् । म पनि ‘मेरा छोराछोरी सबै काम गर्ने भइसके, अब त मेरा सुखका दिन आए’ भनेर सधैं उनीहरूको प्रशंंसा गरिरहन्छु ।

आवश्यक पर्दा केही खानेकुरा वा पाँच–दश रुपैयाँ पनि दिन्छु । झ्न् उत्साहित हुन्छन् । नसक्ने काम पनि गर्न खोज्छन् । आफ्नै निगरानीमा त्यस्ता काम पनि गर्न दिन्छु । बिग्रे मेरो तरीका छँदैछ । ‘घरमा काम लगाएर मेरो पढाइ बिग्रियो । नम्बर कम आयो भन्न पाइन्न नि’ भनेर फेरि पनि भनिरहन्छु । उनीहरू आफ्नो समय आफैं मिलाउँछन् । दुवै कुरामा हामी सबै सन्तुष्ट छौं ।

७. उनीहरूले किताबमा पढेका कुरालाई सकेसम्म गरेर देखाउन उत्प्रेरित गर्छु
कुराकानीकै क्रममा केही सिकेका कुराहरूलाई गरेर देखाउन भन्छु । यस कामका लागि के के चाहिन्छ उनीहरूले सकेसम्म घरमै खोज्ने र किन्नै पर्ने भए आवश्यकता अनुसार मूल्य हेरी किन्न पनि सकिने कुराको सुनिश्चितता गरिदिन्छुु ।

(क) विद्यालयमा प्रयोग गरिएका तरीकाहरू
१. विद्यार्थीको बोलीको सधैं प्रशंसा र खुलेर बोल्न उत्प्रेरित गर्ने
सबै विद्यार्थीले सधैं ठीक कुरा नबोल्न सक्छन् । तर म राम्रो बोलीको मात्र होइन नराम्रो बोलीको पनि प्रशंसा गर्छु । नराम्रो बोली भन्नाले किताब पढ्न नजान्नु; ठाडो जवाफ दिनु, सामाजिक मूल्यमान्यता बाहिरका वा अश्लील शब्दहरू घुमाउरो पाराले भन्नु आदि हुन् । यस्तो बोलेमा पनि म शुरूमा ‘तिमीले भनेको ठीक हो’ नै भन्छु । त्यसपछि एकछिन सबै हाँस्न सक्छन् । आफू पनि हाँसे जस्तो गरेर चूप लाग्छु । त्यसपछि त्यस्तो बोल्नेलाई नै त्यो भनेको के हो ? वा के भन्न खोजेको ? मैले बुझन सकिनँ । यदि राम्रो कुरा भन्न खोजेको रहेछ भने ऊ सबैलाई स्पष्ट हुने गरी फेरि अथ्र्याउन तयार हुन्छ । अर्थात् राम्रो कुरा भए ऊ पुनः बोल्न खोज्छ । उसले नसके, आफैंले ‘तिमीले भन्न खोजेको यस्तो हो ?’ भनेर स्पष्ट पारिदिन्छु । यदि नराम्रो बोलेको भए उसले फेरि बोल्ने साहस नै गर्दैन । यस्तो भन्नु ठीक हो ? भनेर सामूहिक प्रश्न गर्छु । ‘होइन..’ भन्ने आवाज आउँछ । त्यसपछि प्रायः यस्तो कुरा उठ्ने गर्दैन । राम्रो कुरा भए समय दिने । पुनः भन्न लगाउने । नसके किताब हेरेर भन्न लगाउने । नजीकको साथीसँग सोधेर भन्न लगाउने । आफ्नो मन परेको साथीलाई भनिदिन अनुरोध गर्न लगाउने । यतिमा पनि नभए जान्ने विद्यार्थीलाई आफैंले भनिदिन लगाउने । उसले पनि नसके आफैं सुधार गर्ने वा स्पष्ट पारिदिने ।

२. सहभागितात्मक र खुला कक्षाकार्यमा जोड दिने
म अधिकांश पिरियडमा केही न केही सानो ठूलो सामूहिक वा व्यक्तिगत कक्षा कार्य गराउन लगाउँछु । यसमा उनीहरूलाई किताब हेर्न, साथीसँग सोध्न, मसँग सोध्न र काम गर्दै विषयवस्तुसँग सम्बन्धित अन्य गफ गर्न पनि छूट हुन्छ । यदि कसैले गरेको कुनै गफ विषयवस्तुसँग सम्बन्धित छैन भन्ने मलाई लागेमा उसले त्यसको औचित्य र सान्दर्भिकता पुष्टि गर्नुपर्छ । आवश्यकता अनुसार, निर्धारित समयमा काम नसक्नेलाई काम सिध्याउने साथीसँग सोधेर पूरा गर्न वा उसको कापी लिएर सार्ने समय दिन्छु ।

३. गृहकार्य नगर्नाको कारण पत्ता लगाई उसले सक्ने गृहकार्य कक्षाकार्यको रूपमा पुुनः दिने
प्रायः म हप्तामा दुई तीन दिन गृहकार्य दिन्छु । आधा जतिले गरेर आउँदैनन् । सबैलाई उठाएर एक एक गरी कारण सोध्छु । धेरैजसोको कारण हुन्छ– ‘आएन ।’ केही केहीको कारण हुन्छ– ‘बिर्सेको; कापी–कलम नभएको वा घरमा काम भएको’ आदि । जवाफ आएन भन्नेलाई उनीहरूलाई आउने खालको अर्को काम दिन्छु । गरिसकेकालाई अर्को दिन्छु । सबै खुशीले शुरू गर्छन् । त्यो दिनको कक्षाकार्य पूरा हुन्छ ।

४. शुरू शुरूमा जस्तो लेखाइमा पनि प्रशंसा गर्ने
कुनै पनि प्रश्नको उत्तर एकदमै गलत वा नराम्रो भए पनि म शुरूका दिनमा धेरै राम्रो भनेर ठीक चिह्न लगाइदिन्छु । तर मुखले भन्छु ‘परीक्षामा यस्तो लेख्यो भने एक नम्बर पनि आउँदैन नि ! वा; एक दुई आउँछ ।’ अनि उसले सोध्छ । कस्तो लेख्ने त ? त्यसपछि मात्र भन्छु यहाँ यस्तो यस्तो भए राम्रो । धेरै जसो आफैं फेरि लेख्न तयार हुुन्छन् । ‘नम्बर राम्रो ल्याउने भए फेरि लेख्नै पर्छ ।’ हाँसेर भन्छु । लेखेर देखाउँछन् वा अर्को दिन ल्याउँछन् । केही अपवाद बाँकी रहेमा विषयवस्तुको गाम्भीर्य र उसको सिकाइ स्तर हेरी आवश्यक भए उत्प्रेरित गर्छु ।

एक वर्षको व्यावहारिक अध्ययन र त्यसपछिको प्रयोगमा म सन्तुष्ट छु, अझ्ै पूर्ण सन्तुष्ट हुन बाँकी छ । आत्मविश्वासका साथ गरे सफल नहुने कुनै काम छैन । विद्यार्थीले केही अनावश्यक वा धेरै खुलेर बोल्दा आफूलाई हेपेको र कक्षामा भएको कुराकानी वा छलफललाई हल्ला मात्र भएको भनी नबोल्न वा चूप लगाउन दबाबमूलक क्रियाकलापको सट्टा तत्काल सकारात्मक तरीका अपनाउन निरन्तर चिन्तन गरिरहन्छु ।

(स्वतन्त्र माध्यमिक विद्यालय देखतभुली–२, पर्सिया, कन्चनपुर)

commercial commercial commercial commercial