प्रगतिको मार्गमा फड्को

आदर्श उमावि, स्रोतकेन्द्र, इलामका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साथै स्रोतव्यक्ति र विद्यालय निरीक्षकसहित ३२ जनाको समूहले हालै झपाका केही सामुदायिक विद्यालयको शैक्षिक अवलोकन भ्रमण ग¥यो । उक्त टोलीमा सहभागी हुने अवसर यो पंक्तिकारलाई पनि प्राप्त भएको थियो । भ्रमण गरिएका विद्यालयहरू मिहिनेत र लगनशीलताका ज्वलन्त उदाहरण थिए । प्रधानाध्यापकको सकारात्मक सोच, शिक्षकहरूको सहकार्य र सरोकारवालाहरूको सद्भाव तथा सहयोगका कारण छोटो अवधिमा नै ती विद्यालयले सुधारको फड्को मारेको महसूस भयो । विद्यार्थीको खडेरी लागेका सामुदायिक विद्यालयहरू हेरेर ती विद्यालयमा खचाखच भरिएका कक्षाकोठाहरू देख्दा आनन्दको अनुभूति भएको थियो ।

गुणस्तर र सिकाइ उपलब्धिमा सुधार भएपछि विद्यार्थी संख्या वृद्धि हुनु स्वाभाविक छ । भौतिक तथा आर्थिक स्रोतका लागि दाताहरू र सरकारी निकायबाट विद्यालयलाई भरपुर सहयोग गरेको पाउँदा थप खुशी लाग्यो ।

भ्रमणकालमा मैले जे देखेः
१.    ती सामुदायिक विद्यालयले भर्ना समयमा ‘अंग्रेजी माध्यममा निःशुल्क भर्ना खुल्यो’ भनी विज्ञापन गरेको,
२.    विद्यार्थीको उपस्थिति विवरण प्रत्येक कक्षाकोठाको बाहिर सबैले देख्ने ठाउँमा दैनिक रूपमा अद्यावधिक गरेर राखिएको,
३.    कक्षा ९ र १० का विद्यार्थीलाई समूहमा विभाजन गरेर कक्षा शिक्षणमा अन्तरक्रियात्मक विधि प्रयोग गर्ने गरेको,
४.    विद्यालयमा अभिभावकको नियमित उपस्थिति रहने र सोको अभिलेख पनि कायम गर्ने गरेको,
५.    प्रत्येक कक्षाकोठामा खानेपानीको व्यवस्थापन गरेको,
६.    आइतबार बाहेक अन्य दिन प्रार्थना समयमा कुनै एउटा शीर्षकमा अंग्रेजी माध्यमबाट छोटो भाषण हुने,
७.    प्रत्येक आइतबार प्रार्थना समयमा विद्यार्थीले नै हाजिरीजवाफ प्रतियोगिता चलाउने गरेको,
८.    परीक्षाका प्रश्नपत्र सँगसँगै उत्तरकुञ्जिका पनि तयार गर्ने गरेको,
९.    विद्यार्थीलाई विभिन्न सदनमा विभाजन गरिएको र विद्यार्थीबाट नै आ–आफ्नो सदनको नाममा फूलबारी व्यवस्थापन गरिएको,
१०.    विद्यालयको हाता सरसफाइमा बालक्लब र जुरेसको संलग्नता रहेको,
११.    कक्षाकोठा सरसफाइ विद्यार्थीले नै रुटिन बनाएर गर्ने गरेको,
१२.    छात्रा शौचालयमा स्यानिटरी प्याडको व्यवस्था गरिएको,
१३.    शिक्षकहरूको विषयगत समिति गठन गरिएको,
१४.    मनोविमर्श केन्द्रको स्थापना गरिएको,
१५.    तल्लो कक्षाबाट पंखाको व्यवस्था गर्न शुरू गरिएको,
१६.    अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन,
१७.    आवश्यकतानुसार नेपाली माध्यमबाट छुट्टै वर्ग बनाई कक्षा सञ्चालन हुने गरेको,
१८.    बालक्लब र जुरेसबाट फूलबारी व्यवस्थापन,
१९.    दिनको दुई पटक प्रार्थना सभा,
२०.    प्रत्येक बालबालिकाको जन्मदिनमा चकलेटसहित शुभकामना दिने,
२१.    कक्षाकोठामा मितेरी बसाइको व्यवस्था,
२२.    दैनिक बदलिनेमा बसाइ व्यवस्था,
२३.    विद्यार्थीको दैनिक हाजिरीमा जम्मा हाजिरी भएको दिन भन्ने,
२४.    बालमैत्री फर्निचरको व्यवस्था,
२५.    विद्यार्थीको उँचाइ र तौल लिने व्यवस्था,
२६.    नागरिक वडापत्रको व्यवस्था,
२७.    विद्यार्थीद्वारा निर्मित मौसम घडीको प्रदर्शन,
२८.    बालमैत्री धाराको व्यवस्था,
२९.    बाल–उद्यानको निर्माण,
३०.    प्रत्येक कक्षाकोठामा ‘बुक कर्नर’ को व्यवस्था गरिएको,
३१.    विद्यालयका राम्रा अभ्यासहरू फ्लेक्समा छापेर प्रदर्शन गरिएको,
३२.    प्रत्येक विद्यार्थीको मासिक हाजिरी विवरण अद्यावधिक गरिएको,
३३.    बिहान १० वजेअघि नै सो दिन बिदामा बस्ने शिक्षकले लिने घण्टीको आकस्मिक तालिका निर्माण गर्ने गरिएको,
३४.    विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरीहरू सोही विद्यालयमा अध्ययन गर्ने गरेका,
३५.    प्रत्येक दिन ‘आजको विचार’ शीर्षक राखी महान् व्यक्तिहरूको भनाइ कार्यालय कक्षा बाहिर लेखेर प्रदर्शन गर्ने गरिएको,
३६.    “हराएको र भेट्टाएको” बाकसको व्यवस्थापन बालक्लबले गरेको,
३७.    दैनिक पत्रपत्रिका पठनपाठनको व्यवस्था गरिएको,
३८.    शिक्षकहरूको वार्षिक बिदाको विवरण अद्यावधिक गरी कार्यालय कक्षमा नै प्रदर्शन गरिएको,
३९.    विद्यार्थीको मासिक हाजिरी अभिलेखका आधारमा ‘महीनाको विद्यार्थी’ घोषणा गरी निज विद्यार्थीको फोटो विद्यालयको सूचनापाटीमा महीनाभर प्रदर्शन गरिदिने गरेको ।

यी विद्यालयहरूले गरेका राम्रा कार्यहरू केवल त्यहाँका प्रधानाध्यापकको एक्लो प्रयासले मात्रै सम्भव भएका होइनन् । यसमा प्रधानाध्यापकको सक्षम नेतृत्व र समन्वय गर्ने सीप, शिक्षक–स्टाफको पेशाप्रतिको उत्तरदायी भावना, समूहगत सहकार्य, सक्रिय बालक्लब र जुनियर रेडक्रस सर्कल, सक्षम विद्यालय व्यवस्थापन समिति, सक्रिय र सचेत अभिभावकको विद्यालयप्रति अपनत्वको भावना, सरोकारवाला सबैको सकारात्मक सोच र राम्रा अभ्यासहरूको अनुसरण गर्ने बानी, दाताहरूको विद्यालयप्रतिको माया, विद्यालयको चलअचल सम्पत्तिको विद्यालयकै हितमा भरपुर उपयोग, सरकारी निकायबाट पनि सिकाइ उपलब्धिका आधारमा दिइने सुविधामा वृद्धि जस्ता विभिन्न पक्षहरूको सकारात्मक भूमिका रहेको पाइन्छ ।

(विद्यालय निरीक्षक, जिशिका, इलाम)

commercial commercial commercial commercial