विज्ञापन अघि अवकाश 'यही नै हुन्छ अस्थायी शिक्षकको सम्मानजनक व्यवस्थापन'

शिक्षा ऐन (आठौं संशोधन) ले अस्थायी शिक्षकहरूको व्यवस्थापन सम्मानजनक रूपमा गर्ने प्रावधान ल्याएको छ । यसमा थप सहजीकरण शिक्षा नियमावलीको संशोधनपश्चात् हुनेछ । संशोधित शिक्षा ऐनअनुसार शिक्षा विभागले २०७३ साल भदौ ३१ गते सूचना जारी गरी अस्थायी शिक्षकहरूलाई आगामी विज्ञापनमा उम्मेदवार हुने वा सुविधा लिई अवकाश लिने भन्ने छनोट गर्न आग्रह गरेपछि शिक्षक जगतमा एक प्रकारको तरंग फैलिएको छ । शिक्षकहरूले आगामी विज्ञापनमा उम्मेदवार बन्ने कि सुविधा लिई अवकाश लिने भन्ने निर्णय गर्न नपाउँदै बजारमा चलेका विभिन्न हल्ला, आश्वासन, राजनीतिक दाउपेच, सीमित निहित स्वार्थ आदिद्वारा सिर्जित परिस्थितिहरूले अस्थायी शिक्षकहरूलाई झ्न् रनभुल्ल पारेको देखिन्छ ।

अस्थायी शिक्षकहरूलाई औषधिउपचार खर्च उपलब्ध गराउनुपर्ने (सुविधा लिई अवकाश लिनेको हकमा) तथा आगामी विज्ञापनमा सबैले उम्मेदवार बन्न पाउनुपर्ने र असफल भएमा मात्र सुविधा लिई अवकाश हुने व्यवस्था हुनुपर्छ भन्ने एकथरी आवाज उठिरहेको छ । औषधिउपचार खर्च पाउनुपर्छ भन्ने माग स्वाभाविक हुन सक्छ तर उम्मेदवार बनेर असफल भएमा सुविधा लिई अवकाश लिने व्यवस्था भने स्वयं अस्थायी शिक्षकहरूको लागि सम्मानजनक नहुन सक्छ । आगामी विज्ञापन खुल्नुभन्दा पहिले नै स्वेच्छिक रूपमा सुविधा लिई अवकाश लिनु भनेको स्वाभाविक र सम्मानजनक विदाइ हो । तर परीक्षामा जबर्जस्ती सहभागी गराई असफल भएपछि विदा गर्ने भनेको अस्थायी शिक्षकहरूलाई संस्थागत रूपमा नै अयोग्यताको बिल्ला भिराइ अपमानजनक रूपमा विदाइ गर्ने र गराउने षडयन्त्रको रूपमा लिन सकिन्छ । सम्मानित शिक्षण पेशा र दशकौं सेवा गर्नुभएका सम्मानित अस्थायी शिक्षकहरूको अवमूल्यन गरी सेवाबाट अवकाश लिएपछि पनि समाजमा प्रतिष्ठित रूपमा जीवनयापन गर्न बाधा पुग्ने गरी यसरी अयोग्य शिक्षकको रूपमा प्रमाणित गराउन खोज्नु दुर्भाग्यपूर्ण हुनेछ ।

स्मरणरहोस्, १० वर्षे युद्ध लडेका तत्कालीन माओवादीका लडाकूहरू, जो युद्ध मोर्चामा योग्य र सक्षम हुँदाहुँदै पनि ‘अनमिन’ तथा तत्कालीन सरकारद्वारा निर्धारित निश्चित मापदण्डको परीक्षणमा अयोग्य प्रमाणित हुँदा तोकिएको सुविधा लिएर विदा हुनुप¥यो । तर ती लडाकूहरूको सामाजिक समायोजन भने त्यति सकारात्मक हुन सकेन । तिनलाई समाजले अयोग्य पात्रको रूपमा हेर्ने गरेको तीतो अनुभव अद्यापि सुन्न पाइन्छ । यसबाट पनि के स्पष्ट हुन्छ भने जबर्जस्ती रूपमा अयोग्य प्रमाणित गराई उपलब्ध गराएको आर्थिक सुविधा भन्दा पछि समाजमा पर्न सक्ने नकारात्मक धारणा त्यस्ता अस्थायी शिक्षकहरूको लागि कैयौं गुणा पीडादायी एवं घातक हुनसक्नेतर्फ ध्यान जानु जरूरी छ ।

त्यसैले अस्थायी शिक्षकहरूलाई ऐन, नियमावली अनुसार समयमा नै सम्मानजनक व्यवस्थापन (स्थायी हुने वा सुविधा लिई अवकाश हुने) गर्ने बाटो चाँडो फुकाउनुपर्दछ । नत्र यो वा त्यो बहानामा समय व्यतीत गर्नाले अझ्ै कति अस्थायी शिक्षकहरू उमेर हदको कारण खालीहात जानुपर्ने दुःखद् परिस्थितिको निरन्तरता भइरहन सक्छ ।

(पाटन मावि, पाटनढोका, ललितपुर)

commercial commercial commercial commercial