किन दिंदैनन् पेन्सन पाकेर पनि शिक्षकले राजीनामा ?

—    “पेन्सन पाकेको यतिका वर्ष हुँदा पनि कति जागीर खानु परेको होला ? घरै बसे पनि आधा तलब त पेन्सनबाटै आउँछ, केको ¥याल काढ्नु परेको होला ?”
—    “पेन्सन भएपछि पनि जागीरमै झ्ुण्डिनु त हुतिहारापन नै हो ।”
—    “यी बूढाहरू, पढाउने होइनन्, ठाउँ ओगटेका छन्, बसेका छन्, ठाउँ खाली गरिदिए त बरु नयाँ जोस–जाँगर भएका केटाहरू त आउँथे ।”
—    “अलिकति त सरकारको पनि दोष हो, एउटा राम्रो नीति ल्याएर यिनीहरूलाई बिदा गरी नयाँ युवाहरूलाई मौका दिनुपर्छ नि !”
—    “हेर हेर यी बूढाहरू; ऊ जमानामा मलाई पढाएका, अहिले मेरा नातिनातिनालाई पनि उनैले पढाइरहेका छन्, कति हत्ते हालेका !”

माथिका टिप्पणी उमेरले ५० काटेका शिक्षक वा शुरूदेखि वर्तमानसम्म निरन्तर एउटै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकरू प्रति लक्षित हुन्छन् । यस्ता टिप्पणी नआउन पनि कसरी ? समयले फड्को मारेर कहाँबाट कहाँ पुगिसकेको हुन्छ, विचरा बूढासरहरू भने जहाँको तहीं रफ्फुचक्कर मारेको मा¥यै हुन्छन्, घोकन्ते विद्याको रटानमा ।

यस्ता टिप्पणी मात्र कहाँ हो र ! सहकर्मी साथीहरू, जो भरखर भरखर स्थायी भएका हुन्छन्; उनीहरू भन्ने गर्छन्– “म त पेन्सन भएको भोलिपल्टै राजीनामा दिन्छु र नयाँ व्यवसाय शुरू गर्छु, को झ्ुण्डिइरहोस् यो दुःखी पेशामा । तपाईंले त कति सकेको ?” “तपार्इं त के भा’को सर, आधी पैसामा के दुःख बेसाउनुभएको ?” अनि अर्का सरले भन्न भ्याउँछन्, “सरले ? लिसोले छाड्ला बरु, सरले छाड्नुहुँदैन ।” यस्तै यस्तै टिप्पणी गर्ने साथीहरू जब स्थायी भएको २० वर्ष पुग्छ, “अब दुई वर्ष बस्नु प¥यो, अनि छाड्नु पर्ला अहिले व्यवहार पनि त्यस्तै त्यस्तै छ ।” यसो भन्दाभन्दै ६० को हाराहारीमा नपुग्ने शिक्षकहरू विरलै भेटिन्छन् । आखिर किन यस्तो हुन्छ त ? यस्तो हुनाका मूल कारण यस्ता छन्—

१.    ऊर्जा क्षीण हुँदै जानु– जीवविज्ञानको सिद्धान्त अनुसार कुनै पनि जीवको उमेर जति जति उकालो लाग्दै जान्छ, त्यति त्यति उसमा भएको सामथ्र्य र ऊर्जा कम हुँदै जान्छ । २५÷३० वर्षको उमेरमा भएको जोस र जाँगर ५० नाघ्दासम्म ७५ प्रतिशतले ओरालो लागिसकेको हुन्छ । त्यसैले हुँदाखाँदाको जागीर छाडेर नयाँ पेशा अँगाल्ने उसको पहिलाको विचार पनि बदलिंदै जान्छ र पाउँदासम्म बसुँ न यसैमा भन्ने सोचमा पुग्दछ ।

२.    आर्थिक बोझ् थपिंदै जानु– भनिन्छ ‘शिक्षकले धन पनि कमाउँदैन, भएको पनि गुमाउँदैन ।’ धन कमाओस् पनि कसरी ? शुद्ध तलब बाहेक उसको जागीरबाट कुनै अतिरिक्त आय आउने होइन । आएको वेतनबाट घरव्यवहार चलाउनै प¥यो, केटाकेटीलाई शिक्षा दिलाउनै प¥यो । समाजमा आफ्नो इज्जत पनि धान्नै प¥यो । यी सबै कार्य गर्दागर्दै ऊ ५०÷५५ को उमेरमा व्यवहारले थिचेर भुत्ल्याएको कुखुरो जस्तो भइसकेको हुन्छ । मौका परे छोराबुहारीले पनि आफ्नो सुर गर्न थालिसकेका हुन्छन् । उनीहरूलाई बाबुलाई लागेको ऋण सम्झ्ने फुर्सद पनि हुँदैन । यसरी ‘समाउने हाँगो न टेक्ने डालो’ को अवस्थामा कसरी छाड्नु खाइराखेको जागीर ?

३.    समय काट्न सजिलो– कतिपय शिक्षकहरू समय काट्नकै लागि भनेर पनि पेन्सनमा बसिहाल्न हतारिंदैनन् । भोलि कसरी समय बिताउने भन्ने पनि लाग्छ उनीहरूलाई । साँझ् बिहान त यसो उसो ग¥यो बित्ला, दिनभरि के गर्ने, बरु यहीं ठीकै छ, दिन पनि काटिएको छ, घरको गर्जो पनि टरेको छ भन्ने सोचाइले झ्ुण्डिइरहन्छन् ६० वर्षसम्म ।

४.    दबाबको अभाव– झ्ट्ट जागीर नछाड्नुको एउटा कारण, केश फुलिसकेकाहरूलाई विद्यालय प्रशासनबाट त्यतिसारो दबाब नपर्नु पनि हो । व्यवस्थापन समितिका पदाधिकारीहरू लगभग आफैंले क ख सिकाएका चेलाचपेटा हुन्छन् । सके त प्रधानाध्यापक नै पनि आफ्नै चेला होलान्, अनि आफैंलाई पढाएको गुरुलाई के को अर्ती–बुद्धि; के को दबाब ? उनीहरूको सातै खत माफ नभए पनि सानातिना कमजोरीलाई छाडिदिन्छन् भगवान भरोसेमा । अनि किन छाड्नु प¥यो आजै जागीर ?

५.    निवृत्तिभरणको बढोत्तरी– वर्तमान शिक्षा नियमावली अनुसार स्थायी भएको २० वर्षमा निक्लनु र २४ वर्षमा निक्लनुमा निवृत्तिभरण बराबरै हुन्छ । तर २५ वर्ष नाघेपछि भने दिन गनेर वृद्धि हुँदै जान्छ । त्यसपछि त एक वर्षको बीचमै करीब रु.११ सय पेन्सन फरक पर्छ भने, एक वर्ष कुरुँ न त भन्दाभन्दै पूरा अवधि हुन जान्छ । यसभन्दा अघि अधिकांश शिक्षकहरूले दशैंपछि छाड्ने गरेको पाइन्थ्यो भने अब ग्रेड एकदिन बराबरको, त्यो पनि वैशाखबाट शुरू हुने भएकोले दशैंमा छाडुँ वैशाखमा ग्रेड बढेर पेन्सनमा पनि वृद्धि हुने, वैशाखमा छाडुँ वर्षे विदा र दशैंको तलब (काम नगरी पाइने) नआउने । यो सुविधाले पनि द्विविधा निम्त्याउँछ र हत्तपत्त जागीर छाडिहाल्न चाहँदैनन् ।

६.    घरपायकको जागीर हुनु– सबैभन्दा पेचिलो कारण चाहिं ८० प्रतिशत शिक्षकको घरपायक हुनु हो । ती ८० प्रतिशत मध्येका पनि २५ प्रतिशत शिक्षकहरूको त उनीहरू जुन विद्यालयमा कक्षा १ मा भर्ना भएका थिए त्यही विद्यालयबाट पेन्सन पाक्छ । तब यसरी ६ वर्षको उमेरदेखि ६० वर्षको उमेरसम्म एउटै विद्यालयमा ‘घरसाँढे’ हुन पाएपछि किन छाड्नु जागीर ? घरको काम पनि भ्याइएको छ, विद्यालय पनि धाइएको छ । आखिर कसैको बाउको जागीर होइन क्यारे । सरकारकै नूनपानी त हो नि ! कि कसो ?

थाकेका, पेन्सन पाकेका शिक्षकहरूबाट विद्यालय जोगाउने उपाय हुँदै नभएको चाहिं होइन । यो समस्याको समाधान यसरी हुन सक्छ—
१.    उमेरको हद ५० वर्ष र सेवाको हद २५ वर्ष बनाउने– सेवाका अन्य क्षेत्र जस्तो होइन शिक्षण सेवा । शिक्षण पेशामा त दिन प्रतिदिन नयाँ नयाँ प्रविधिहरू प्रवेश भइरहेका हुन्छन् । समयानुकूल पाठ्यक्रममा परिवर्तन भइराखेको हुन्छ । ती सबै कुरामा शिक्षक जानकार हुँदै जान सक्नुपर्दछ, जुन कुरा केश पाकेका गुरुहरूमा असम्भवप्रायः हुन्छ । त्यसैले शिक्षण सिकाइलाई समयानुकूल र प्रविधियुक्त बनाउन पनि उमेरको हद पचास र सेवा अवधि २५ वर्ष बनाउनु उपयुक्त हुन्छ ।
२.    एक पटकको लागि ‘गोल्डेन ह्याण्डसेक’को व्यवस्था गर्ने– जसरी निजामती सेवामा दरबन्दी कटौती गर्नको लागि ‘गोल्डेन ह्याण्डसेक’ दिएर सम्मानजनक बिदाइ गरियो त्यसैगरी ऐन बन्नुभन्दा अगाडिका शिक्षकहरूलाई यो सुविधा उपलब्ध गराएर बिदाइ गर्ने हो भने ऐन बनेपछि उक्त समस्या आफैं हल हुँदै जान्छ ।
३.    समयानुकूल अनुगमन, कामको आधारमा पुरस्कार दण्डको व्यवस्था– जिल्ला शिक्षा कार्यालयबाट प्रत्येक वर्ष सबै विद्यालयका सबै शिक्षकहरूको शिक्षण सिकाइ क्रियाकलापको सही किसिमले अनुगमन तथा निरीक्षण गरी कार्य सम्पादनको आधारमा समयानुकूल र प्रभावकारी शिक्षण गर्न नसक्ने शिक्षकलाई बिना भेदभाव सेवाबाट सम्मानजनक बिदाइ र राम्रो काम गर्नेलाई उचित पुरस्कारको व्यवस्था गर्नको लागि सम्बन्धित निकायलाई सिफारिश गर्ने र सोही बमोजिम माथिल्लो निकायले पनि गर्दै जाने हो भने पनि यो समस्या हल हुन जान्छ ।
४.    नियमित शिक्षक छनोट र बढुवा प्रक्रियाको व्यवस्था– निजामती तथा अन्य सेवामा ६÷६ महीनामा हुने सेवा आयोगका परीक्षाहरू शिक्षा सेवामा चाहिं वर्षौंपछि हुन्छन् । जसको कारण  शिक्षकहरू २०÷२५ वर्षसम्म पनि अस्थायी झ्ुण्डिइरहनुपर्छ । यसरी लामो समयसम्म अस्थायी रहनुपर्ने र जीवनको उत्तराद्र्धमा आएर स्थायी हुँदा बढुवा तथा पेन्सनकै लागि कुर्दाकुर्दै उमेरले डाँडो काटिसक्छ ।
५.    सरुवाको व्यवस्था– जीवनको उत्तराद्र्धसम्म जागीर खाइरहनुको मूल कारण भनेकै कहिल्यै सरुवा हुनुनपर्ने सुविधाको कारण हो । हुन पनि कहिल्यै आफ्नो गाउँको विद्यालय बाहेक अर्को विद्यालयमा पाइलो टेक्नु परेको छैन । ‘पढ ! पढ !’ अथवा ‘ल सर, आज मेरा त घरमा दाइँ छ, गएँ है !’ भनेरै जागीर पड्काउन पाइन्छ भने किन छाड्नु खाइराखेको जागीर ? त्यसैले यदि निजामती सरह शिक्षकहरूलाई पनि सके केन्द्रीय रूपमा वा क्षेत्रीय रूपमा त्यति नभए जिल्लागत रूपमै भए पनि प्रत्येक तीन वा चार वर्ष बिराएर सरुवाको व्यवस्था गर्ने हो भने ८० प्रतिशत यो समस्या हल भएर जान्छ । तर सरुवा गर्दा भने शैक्षिक सत्रको शुरूमा नै गर्नुपर्दछ । ता कि पढाइमा कुनै बाधा नपरोस् ।

मित्रता मावि, आँबुखैरेनी–१ सत्रसय, तनहूँ

commercial commercial commercial commercial