अमेरिकामा फर्सी टिप्दा

अघिल्लो अर्थात् अक्टोबर महीनामा अमेरिकाको पश्चिमी तह क्यालिफोर्नियादेखि पूर्वी प्रान्त न्यूयोर्कसम्म यात्रा गर्दा फर्सीमय अमेरिका देख्ने अवसर मिल्यो । तर खास मजा चाहिं त्यतिबेला आयो जतिबेला तीन–चार वर्षका केटाकेटीसँग खेतमा फर्सी टिप्ने अवसर पाइयो । म न्यूयोर्क राज्यको राजधानी अल्बानी शहरमा मामा–माइजूलाई भेट्न पुगेको थिएँ । म पुगेको भोलिपल्ट मामाकी चार वर्षकी छोरीको स्कूलमा केटाकेटीलाई हालोइन पर्वका लागि फर्सी टिप्न लैजाने कार्यक्रम रहेछ; मामाले जाऊँ भन्नुभो । शुरूमा त फर्सी टिप्न पनि के जानु, के नै ठूलो कुरा हो र फर्सी टिप्ने काम जस्तो लाग्यो । तैपनि अमेरिकामा फर्सी कसरी टिपाउँदा रहेछन् त केटाकेटीलाई भन्ने उत्सुकता पनि थियो । त्यसै भएर म मामा र बहिनीको साथ लागें । २०÷२५ जना केटाकेटी, तिनका अभिभावक र शिक्षक–शिक्षिका समेत लगभग ५० को हूल एक जना किसानको बारीमा पस्यो । त्यसरी फर्सी टिप्न आउने बारे सम्बद्ध किसानलाई स्कूलले पहिले नै खबर गरिसकेको रहेछ ।

हामी पुग्ने वित्तिकै काठैकाठको सानो घरभित्र छिराइयो । त्यहाँ त्यो फार्मका बारेमा बनाइएको छोटो भिडियो देखाइयो । सबै भुईंमै बसेर भिडियो हेरेपछि अलि परपट्टि रहेका दुई वटा ट्याक्टरमा फर्सी टिप्न जानका लागि लाम लगाइयो । हामी पनि केटाकेटीसँगै लाइनमा लाग्यौं । ट्याक्टरको पछाडिको भाग चाहिं कन्टेनर जस्तो थियो; दुईतिर बस्न मिल्ने बेन्च थिए ।

फार्ममा छिर्ने वित्तिकै फर्सीका बारेमा विभिन्न प्रश्न तथा जानकारीमूलक ‘ब्रिफिङ’ को क्रम शुरू भयो । एकछिन अघिसम्म मैले फर्सी टिप्ने कुरालाई सामान्य रमाइलो भन्दा बढी ठानेको थिइनँ । तर फर्मको काठमा लेखिएका फर्सी सम्बन्धी प्रश्न एकपछि अर्को पढ्दै जाँदा त अधिकांशको उत्तर मै आफैंलाई पनि थाहा थिएन । जिन्दगीमा कति फर्सी खाइयो होला, तर फर्सीका बारेमा त्यहाँ सोधिएका धेरै प्रश्नको उत्तर मैले गुगलको सहयोग विना दिन नसक्ने खालका थिए । जस्तो— फर्सी तरकारी हो कि फलफूल ? फर्सीमा कति मात्रा पानी हुन्छ ? अहिलेसम्म फलेको सबैभन्दा ठूलो फर्सी कत्रो छ ? फर्सीको उत्पत्ति कहाँ भएको हो ? के सबै फर्सी सुन्तला रंगका हुन्छन् ? के सबै प्रकारका फर्सी खानुहुन्छ ?

शुरूमा मैले ठानेको थिएँ— यसो खेततिर गएर फर्सी टिपेर आउने त होला । तर यहाँ फर्सी टिप्ने प्रक्रिया पूरा गर्न झ्ण्डै दुई घण्टा लाग्यो । अमेरिकी शिक्षा त्यसै विश्वमै राम्रोमा गनिएको होइन भन्ने थाहा पाउन ती केटाकेटीलाई फर्सी टिप्दा सिकाइएका कुराबाटै प्रष्ट हुन्थ्यो ।

फर्सी टिप्दाका नियम कडा थिए । अभिभावकहरू केटाकेटीसँगै थिए, तर सबै काम केटाकेटीलाई नै गराइयो । ट्याक्टरमा चढेर फर्सी टिप्ने ठाउँसम्म पुग्ने समयमा फर्सी कसरी फल्छ भनेर फार्मका मान्छेले केटाकेटीलाई सुनाए । सबैलाई एउटा एउटा झेला दिए । सानासाना केटाकेटी बारीमै गए; आफैंले फर्सी रोजे र फार्मको मान्छेले केटाकेटीले रोजेपछि मात्रै फर्सीको लहराबाट फर्सी छुट्याइदिए । त्यहाँबाट फर्सी केटाकेटीले नै झेलामा बोकेर ट्याक्टरसम्म ल्याए । अभिभावकले कहीं–कतै पनि हस्तक्षेप गरेनन् । त्यस्तो कार्य यता हाम्रातिर भइदिएको भए ? मै आफैं पनि “तिमी यहीं बस; म टिपेर ल्याइदिन्छु है नानु !” भन्थें होला । अझ् बोक्ने बेला पनि ‘खै लेऊ बाबु तिमी सक्दैनौ’ भनिहाल्थ्यौं । फर्सी छान्ने बेलामा पनि ‘यो छान यो छान’ भनेर आफैं भन्न भ्याउँथ्यौं । अलि हरियो लिएको रै’छ भने, ‘हैन, हैन पहेंलो लिनुपर्छ’ भनेर बच्चालाई भनिहाल्थ्यौं । अनि ‘अलि ठूलो छान है बाबु या नानी’ भन्न पनि बेर लगाउँदैनथ्यौं । तर त्यहाँ हरेक कुरा बच्चालाई नै गराइयो— उनीहरूले नै रोजे उनीहरूले नै बोके ।

हेर्दा सामान्य लाग्छ, तर एउटा फर्सी टिप्दा त्यहाँ जुन स्वतन्त्रता बालबालिकाले उपयोग गरे, त्यसले उनीहरूको निर्णय गर्ने क्षमतामा वृद्धि गरिदिन्छ भनेर नै शायद शिक्षक–शिक्षिकाहरूले उनीहरूलाई नै सबै काम गराएको हुनुपर्छ । कुनै काम गर्दा त्योसँग सम्बन्धित कति कुरा थाहा दिइन्छ भन्ने कुरा देखेर म भने छक्क परिरहेको थिएँ । फर्सी टिपाउने काम सँगै उनीहरूलाई दिइने ज्ञान र काम गराउने तरीका हाम्रो भन्दा निकै भिन्न थियो । त्यति ठूलो काम गरेपछि त केटाकेटीलाई खेल्न दिनु प¥यो भनेर होला त्यसपछि फर्सी एक ठाउँमा राखेर केटाकेटीहरूलाई वरिपरि बनाइएका विभिन्न खेल्ने ठाउँहरूमा पठाइदिए । लगभग आधा दिन खर्च गरेर फर्सी टिपियो तर सबै अमेरिका घुम्दा पनि थाहा नभएका कुरा चाहिं सानासाना नानीबाबुहरूलाई फर्सी टिपाउँदा अपनाइएको काइदाले सिकायो ।

यता हाम्रो शिक्षा एकदम निषेधकारी छ । हाम्रो (अभिभावकको) बानी एकदमै संरक्षणकारी वा निषेधकारी छ । सकेसम्म हामी हाम्रो निर्णय लाद्न खोजिहाल्छौं; त्यसो गर्दा हाम्रा केटाकेटीको निर्णय क्षमता कमजोर हुन्छ भन्ने हामीले कहिल्यै बुझदैनौं । सानैदेखि हरेक कुरामा आफैंलाई निर्णय गर्न सक्ने बनाउने हो भने जसरी फर्सी टिप्दा केटाकेटीलाई स्वतन्त्रता दिइयो त्यसरी नै हरेक सिकाइलाई अगाडि बढाउनुपर्छ भन्ने पाठ राम्रैसँग सिक्न पाइयो । साना–साना सिकाइ भए पनि आधा दिनको फर्सी टिपाइ सम्झ्नलायक रह्यो ।

commercial commercial commercial commercial