प्रश्न सोध्नु जवाफभन्दा पनि महत्वपूर्ण

प्रश्नले कुनै पनि विषयका चर्चा वा छलफललाई बढी व्यापक स्तरमा लैजान र कुरा खुलस्त पार्न सघाउँछन् । प्रश्न नहुने हो भने कक्षाकोठा प्रवचन कक्ष जस्तो र शिक्षक पुराण वाचन गर्ने पण्डितजी जस्ता हुन पुग्छन् ।

मलाई सम्झना छ, म स्कूलमा छँदा शिक्षकहरू प्रायः विद्यार्थीलाई कुनै न कुनै प्रश्न सोधिरहन्थे । सबै स्कूलमा यस्तै हुन्छ क्यार ! प्रश्न अधिकतर तिनै विद्यार्थीलाई सोधिन्थ्यो, जो कक्षामा बोल्न हिचकिचाउँथ्यो । कहिलेकाहीँ त प्रश्न यति डरलाग्दो पारामा सोधिन्थ्यो कि आइराखेको उत्तर पनि दिमागबाट चम्पट कस्थ्यो । कति विद्यार्थी आफूलाई उत्तर थाहा नभएकाले बोल्दैनथे, कतिलाई त्यस विषयमा रुचि नभएकाले तिनको ध्यान कक्षामै हुँदैनथ्यो अनि कति चाहिं उत्तर थाहा भए पनि संकोचवश बोल्न सक्तैनथे । र, शिक्षकहरू जवाफ दिन नसक्ता तिनलाई व्यंग्य र अपमान मिश्रित भारीभरकम संवादको माध्यमबाट कक्षामा उपहासको पात्र बनाइदिन्थे । कहिलेकाहीँ त्यस्तो दिन पनि आउँथ्यो, जब शिक्षकले ती विद्यार्थीलाई मात्र प्रश्न सोध्थे, जसलाई उत्तर आउँथ्यो र जो फटाफट बोल्न सक्थे । त्यो विद्यालय निरीक्षक अथवा अरू कुनै विशिष्ट मानिस आएको दिन हुन्थ्यो ।

कसैलाई केही सोध्नु छ ?
मेरो स्कूलमा शायद एक–दुई जना मात्र त्यस्ता शिक्षक थिए, जो विद्यार्थीसँग जवाफ माग्नुको सट्टा उनीहरूलाई प्रश्न गर्न भन्थे— कसैलाई केही सोध्नु छ ? बुझयौ कि बुझेनौ ? नबुझेको भए सोध आदि । तर यसमा पनि एउटा लफडा थियो । भन्न त ‘कसैलाई केही सोध्नु छ ?’ भनिन्थ्यो, तर एक–दुई पटक बताउँदा पनि कुरा बुझ्एिन र फेरि सोध्यो भने गाली खाइन्थ्यो । अनुहारमा आँखा गाडेर शिक्षकले भन्थे— क्याहो, दिमाग कहाँ छ ? अरू सबैले बुझे, तिमी के गर्दै थियौ नि ? कति शिक्षक त ‘पछि भनिदिउँला’ भनेर कुरा टार्थे र त्यो ‘पछि’ कहिल्यै आउँदैनथ्यो । यस सन्दर्भमा सबैभन्दा उदेक लाग्दो कुरा चाहिं के थियो भने कक्षामा पहिलेदेखि नै डराएर–खुम्चेर बसेका विद्यार्थीलाई प्रश्न गर्न कहिल्यै उत्प्रेरित गरिँदैनथ्यो ।

सबै विद्यार्थी त्यस्तै हुन्थे भन्ने पनि होइन । कति त जहिले पनि प्रश्नको झटरो हानिरहन्थे । तर त्यो तिनको आफ्नै बानी थियो, जसमा शिक्षकको कुनै योगदान थिएन । प्रश्न सोध्ने जुन बानी हुन्छ, त्यसको विकास गर्न मेरो स्कूलले कहिल्यै, कुनै मदत गरेन । आज हामीलाई थाहा छ— केटाकेटीले आफ्नो अनुभवबाट जे सिक्छन् त्यसको असर उनीहरूको वर्तमान र भविष्यमा समेत पर्छ । धेरैजसो त घरमै यसो नगर, त्यसो नगर, धेरै नबोल, बकबक नगर जस्ता प्रतिबन्ध लगाइने गरेका कारण केटाकेटी खुल्न सक्तैनन् र स्कूलमा पनि उनीहरूको व्यवहार त्यस्तै हुन्छ । यसका अन्य कारण पनि हुन सक्छन्, जस्तै कुनै विषयमा आत्मविश्वास नहुनु, प्रश्न मूर्खतापूर्ण ठहरिने डर, कुरा नबुझेको रहस्य अरूका सामु खुल्ने भय आदि ।

शिक्षकले ख्याल गर्नुपर्ने कुरा के हो भने विद्यार्थीमा त्यस्तो आत्मविश्वास जगाउन सकियोस्, जसले उनीहरूलाई साना–ठूला सबै खाले प्रश्न विनाकुनै हिचकिचाहट सोध्न उत्प्रेरित गरोस् । प्रश्नले हाम्रा विचारलाई स्पष्ट मात्र गर्दैनन्, आफ्नो तर्क प्रस्तुत गर्ने अवसर पनि उपलब्ध गराउँछन् । र, प्रश्नले कुनै पनि विषयका चर्चा वा छलफललाई बढी व्यापक स्तरमा लैजान र कुरा खुलस्त पार्न सघाउँछन् । प्रश्न नहुने हो भने कक्षाकोठा प्रवचन कक्ष जस्तो र शिक्षक पुराण वाचन गर्ने पण्डितजी जस्ता हुन पुग्छन् । अझ् विज्ञानको कुरा गर्ने हो भने त सम्बन्धित विषयमा सन्देह, अनुमान र प्रश्नको भूमिका झ्न् बढी हुन्छ । विख्यात वैज्ञानिक रिचर्ड फाइनम्यानले भनेकै छन्— ‘पहिले प्रतिपादित भइसकेका कुरालाई आँखा चिम्लेर स्वीकार्नुको सट्टा तिनमा सन्देह गर्नु र आफैले परीक्षण गरिसकेपछि मात्र तिनलाई सही मान्नु नै विज्ञानको पहिलो र महत्वपूर्ण चरण हो ।’ (फाइनम्यानको आलेख ‘विज्ञान के हो’, २०७० पुसको शिक्षक ।) र, यो काम शुरू हुन्छ प्रश्न गराइबाट । चाहे त्यसको उत्तर आफै खोजियोस् अथवा त्यसबारे अरूसँग विचार–विमर्श गरेर निष्कर्षमा पुगियोस् ।

हामी प्रायः ससाना केटाकेटीले अनगन्ती प्रश्न गरेको देख्छौँ । प्रत्युत्तरमा तिनले के पाउँछन् ? अक्सर लटरपटर जवाफ र त्यसमा चित्त नबुझएर फेरि फेरि सोधेमा डाँट–फट्कार ! हामीले त केटाकेटीलाई बढीभन्दा बढी प्रश्न सोध्न पो प्रेरित गर्न सक्नुपर्छ; त्यो पनि यस्तो किसिमले, जसबाट तिनले आफूले प्रश्न सोध्न लागेको पत्तै नपाउन् र प्रश्न नसोधी बस्नै नसकुन् । केटाकेटीले त्यस्ता कुरामा तपाईंको प्रतिरोध अवश्य गर्छन्, जसका बारेमा आफूलाई राम्ररी थाहा छ भन्ने उनीहरूलाई विश्वास हुन्छ । अँ, आफ्नै सरलाई ‘तपाईंले भनेको मिलेन’ कसरी भन्नु भन्ने अलिकति संकोच चाहिँ बरु तिनमा हुन सक्छ ।


म बाख्राको ठाउँमा कुकुरका विशेषता बताउँथेँ र कुकुरको ठाउँमा बाख्राको । ओखर भनेर लालमोहनको वर्णन गर्न थाल्थेँ र भन्थेँ— ओखर रातो रंगको, गुलियो चास्नीमा डुबाएको मिठाई हो र त्यो हलुवाईको पसलमा पाइन्छ । यति गर्दा नगर्दै केटाकेटीहरू बडो आनन्दका साथ मेरो गल्ती सुधार्न र सही कुरा बताउन थालिसकेका हुन्थे ।

यसरी प्रेरित गरेँ मैले
कतिपय स्कूलको भ्रमण गर्दा मैले यस्तै एउटा तरीका अपनाएँ र त्यसमा निकै हदसम्म सफल पनि भएँ । केटाकेटीसँग कुराकानी गर्दा म तिनलाई एकदमै गम्भीर किसिमले केही बताउँथेँ, कहिले कथाका रूपमा त कहिले पर्यावरण शिक्षा अथवा विज्ञानसँग जोडेर तथ्यका रूपमा । र, यसै क्रममा बडो गम्भीर मुद्रामा म उनीहरूका सामु उल्टो कुरा गर्न थाल्थेँ, जसले उनीहरूलाई चूप लागेर बस्नै नसक्ने अवस्थामा पुर्‍याउँथ्यो । उनीहरू बोल्न थाल्थे, शुरूमा प्रतिवादका रूपमा अनि क्रमशः प्रश्नका रूपमा ।

जस्तै, म गाईको प्रसंग उप्काउँथेँ र भन्थेँ, ‘भन त, गाई कसकसले देखेको छ ?’ जवाफमा धेरै केटाकेटीले हात उठाउँथे र तीमध्ये केहीले भन्थे, ‘मैले देखेको छु ।’ त्यसपछि म भन्न थाल्थेँ, ‘हो ? आहा ! त्यसो भए गाई तिमीहरू सबैले देखेका छौ, हगि ? क्या राम्रो ! ल, सुन त, अब म गाईका बारेमा बताउँछु । गाई मोटो डोरी जस्तो हुन्छ । यो कालो अथवा खैरो रंगको हुन्छ । भुइँमा सर्र बगे जस्तो गरेर हिँड्छ । एक दिन खेतमा मेरो खुट्टा नजिकैबाट सर्र अगाडि गएर घाँसभित्र पस्यो र हरायो ।’

मैले यसो भनिरहँदा केटाकेटीको प्रतिक्रिया खूब रमाइलो हुन्थ्यो । केही मुसुमुसु हाँस्तै एक–अर्काको अनुहार हेरिरहेका हुन्थे र केही चाहिँ अलिक संशयका साथ अलिअलि हाँस्तै साथीलाई ‘ल...ल... के भनेको सरले पनि !’ भन्दै हुन्थे । केही चाहिं हा...हा... गर्दै ताली बजाएर, मुन्टो हल्लाउँदै मजासँग हाँस्न थाल्थे । एकछिन नबित्तै केही विद्यार्थीले हाँस्तै मलाई रोक्न खोज्थे, ‘सर, गाई पनि कहीँ यस्तो हुन्छ त ? त्यो त सर्प भइहाल्यो नि । सर्प पो त्यसरी हिँड्छ त !’

म झस्किएको अभिनय गर्दै भन्थेँ, ‘हँ...? के भनेको त्यस्तो ? यो गाई नभए के हो त ? यस्तै त हुन्छ नि गाई !’ अनि उनीहरू मलाई विस्तारपूर्वक बताउन थाल्थे, गाई कस्तो हुन्छ र त्यसले के गर्छ भनेरः ‘सर, गाई त उभिएर चार खुट्टाले हिँड्छ । त्यसका सीङ हुन्छन्, कान हुन्छन् । त्यसले दूध दिन्छ ।’ म झ्न् छक्क परे जस्तो गरेर सोध्थेँ, ‘हँ...? त्यसो भए त्यसले कसरी बोल्छ नि ?’ अनि त के, चारैतिरबाट ‘बाँ...’ को आवाज आउन थाल्थ्यो । त्यतिखेर म ती केटाकेटी भए ठाउँ पनि पुग्थेँ, जो संकोचवश नबोली, ‘सर’ को उल्टो ज्ञानप्रति मुसुमुसु हाँसिरहेका हुन्थे ।

केटाकेटीलाई म त्यत्तिमै छोड्दिनथेँ । त्यसपछि बाख्राको ठाउँमा कुकुरको विशेषता बताउँथेँ र कुकुरको ठाउँमा बाख्राको । ओखर भनेर लालमोहनको वर्णन गर्न थाल्थेँ र भन्थेँ— ओखर रातो रंगको, गुलियो चास्नीमा डुबाएको मिठाई हो र त्यो हलुवाईको पसलमा पाइन्छ । यति गर्दा नगर्दै केटाकेटीहरू बडो आनन्दका साथ मेरो गल्ती सुधार्न र सही कुरा बताउन थालिसकेका हुन्थे । संकोचवश नबोल्ने बच्चाहरू पनि थाहै नपाई बोलिरहेका देखिन्थे, कहिलेकाहीँ त अरूभन्दा चम्केर ।

बुझिहाल्नुभयो होला, मैले केटाकेटीसँग ‘गाईका विशेषता बताऊ’, ‘ओखर कस्तो हुन्छ, कसलाई थाहा छ ?’ जस्ता कुरा गरिनँ । बरु उनीहरूका सामु ‘आफूले जानेको कुरा’ यसरी प्रस्तुत गरेँ, जसका कारण केटाकेटीहरू बेचैन भएर सही कुरा बताउन बाध्य भए, त्यो पनि दंग पर्दै र रमाउँदै । यसरी, कैयौँ स्कूलमा यो ‘हथकण्डा’ ले भरपूर काम गर्‍यो, जसका कारण बच्चाहरूले आफ्नो व्यावहारिक ज्ञानको आधारमा मेरो कुरालाई गलत साबित गरिदिए र पूर्ण आत्मविश्वासका साथ त्यसलाई सही तुल्याएर देखाइदिए ।

यही पाराले, र यस्तै कुरालाई आफ्नो विषयसँग जोडिदिने हो भने केटाकेटी सक्रिय भइहाल्छन् । जस्तैः मैले ‘रूख पनि जीवित वस्तु हुन् र ? मलाई त यसमा विश्वास लाग्दैन । तिमीहरूमध्ये कसैलाई विश्वास लाग्छ ?’ भनेँ भने निश्चित छ, केटाकेटीहरू रूख जीवित वस्तु हुन् भन्ने सिद्ध गर्ने प्रयासमा लाग्नेछन् । यसै क्रममा हामी आफ्नो प्रश्न र भ्रामक जानकारीको वहानामा उनीहरूलाई खेल–खेलमै उनीहरूले नै दिएका तर्क प्रयोग गरेर कुनै अवधारणा बुझउने अवस्था नजिक पुग्न सक्छौँ ।

अनि, रूखकै प्रसंगलाई अघि बढाउँदै मैले ‘रूखसँग भान्साघर अथवा चूलो त हुँदैन, त्यसले खाना कसरी खान्छ त ?’ भनेर सोधेँ भने शायद जवाफ आउला— पातबाट । त्यसपछि फेरि मैले ‘त्यति साना पातले त्यत्रो रूखलाई पुग्ने खाना कहाँबाट ल्याउँदा होलान् ?’ अथवा ‘पातले खानेकुरा पकाएको तिमीहरूले देखेका छौ त ?’ भनेर सोधेँ भने केटाकेटीले किताबी ज्ञानको सहारा लिएर केही न केही अवश्यै भन्लान् । त्यसपछि उनीहरूकै कुरा समातेर उनीहरूलाई यति अल्झइदिन सकिन्छ, जसबाट उनीहरू आफै सोच्न र प्रश्न गर्न बाध्य होउन्— रमाइलो मान्दै । यस्ता थुप्र्रै तरीका हुन सक्छन्, जसबाट हामी केटाकेटीलाई खेल–खेलमै आफ्ना तर्क प्रस्तुत गर्न र प्रश्न सोध्न उत्प्रेरित गर्न सक्छौँ ।

निष्कर्ष
मलाई लाग्छ, केटाकेटीको कुनै पनि प्रश्नमा बिर्सेर पनि हाँस्नु हुँदैन । एउटाको प्रश्नमा अरू केटाकेटी हाँसे भने पनि उनीहरूलाई सम्झइदिनुपर्छ— दुनियाँमा कुनै पनि प्रश्न गलत हुँदैन । हामी सबै अलग अलग तरीकाले कुरा बुझछौँ र अनुभव गर्छौं । त्यसैले प्रश्न सोध्नु प्रत्येक केटाकेटीको अधिकार हो, जसलाई घर होस् अथवा कक्षाकोठा, कहीँ पनि दब्न दिनु हुँदैन । अन्यथा उनीहरू प्रश्न सोध्न हिचकिचाउने हुन्छन् र जिन्दगीभर त्यस्तै रहन्छन् । उनीहरू कुनै पनि सही अथवा गलत कुरामाथि आफ्नो विचार व्यक्त गर्न सधैँ हिचकिचाई नै रहनेछन्, चाहे त्यो तिनकै अधिकारको कुरा होस्, कुनै शोषण विरुद्ध बोल्ने कुरा होस् अथवा गलत मान्यता र अन्धविश्वास विरुद्ध प्रश्न उठाउने मामिला होस् । प्रश्न उठ्तै गएपछि न जवाफ पाइँदै जाने हो !

प्रश्न गर्नु जवाफ दिनुभन्दा पनि महत्वपूर्ण हो । त्यसैले हरेक कक्षा, हरेक विषय, हरेक स्थान, हरेक अवसरमा केटाकेटीलाई प्रश्न सोध्न प्रेरित गर्नु जरूरी छ । प्रश्न उठे भने जवाफ पहिल्याउने छटपटी शुरू हुनेछ, परिकल्पना बन्नेछ र केटाकेटीले त्यसको उत्तर खोज्ने प्रयत्न गर्नेछन् ।

साभार : शैक्षणिक सन्दर्भ, पूर्णाङ्क ९६
भाषान्तर : शरच्चन्द्र वस्ती

२०७२ वैशाख अंकमा प्रकाशित ।

 

 

commercial commercial commercial commercial