महेन्द्र जनता उमावि, सप्तरी आशलाग्दो उपलब्धि

समयमा स्कूल नआउने र आएर पनि पठनपाठनलाई बेवास्ता गर्ने प्रवृत्तिका शिक्षकका कारण थुप्रै सामुदायिक विद्यालयको शैक्षिक स्थिति बर्बाद हुने गरेको छ । त्यस्ता शिक्षक माथि कारबाही गर्ने आँट र नैतिक बल भएका प्रधानाध्यापक र विद्यालय–प्रशासन फेला पार्न मुश्किल पर्छ । तर, सप्तरीको एउटा विद्यालय यो विषयमा अपवाद देखिएको छ । त्यहाँ, अहिले पनि १० बजेभन्दा ढिलो विद्यालय पुग्ने र ४ बजे अगाडि नै हिंड्ने अथवा विद्यालयमा अनुपस्थित हुने शिक्षक माथि कारबाही हुने गरेको भेटियो । लगातार तीन दिनसम्म ढिलो आएमा वा अनुपस्थित भएको खण्डमा शिक्षकले त्यति नै दिन बराबरको तलब जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ ।

यसरी शिक्षकलाई पूरै समय विद्यालयमा खटाउन लागिपरेको विद्यालय हो— सप्तरीको कञ्चनरूप नगरपालिका–१०; सीतापुरस्थित महेन्द्र जनता उमावि । उक्त विद्यालका प्रअ (हालसालै अवकाशप्राप्त) भरतप्रसाद यादव “आफ्नो कर्तव्यप्रति बेवास्ता गर्ने शिक्षकमाथि कडाइ गर्नु एउटा प्रअको रहर नभएर पदीय कर्तव्य” भएको बताउँछन् ।  

महेन्द्र जनता उमाविमा शिक्षक मात्रै होइन, विद्यार्थी माथि पनि निगरानी राखिन्छ । अति जरूरी काम बाहेक विद्यार्थीलाई विद्यालयबाट बाहिर जान दिइन्न । विद्यार्थी र शिक्षकमा असल आचरण बसाल्दै विद्यालयमा अनुशासित वातावरण बनाउनका लागि १७ बुँदे अपील (आचारसंहिता) कार्यालयको भित्तामा टाँसिएको छ ।

२०५४ देखि प्रस्तावित माविको रूपमा सञ्चालित महेन्द्र जनता उमाविमा हाल ८५० जना विद्यार्थी अध्ययनरत छन् । मावि तह तीन जना राहत शिक्षकको भरमा छ तर पनि विद्यालयको शैक्षिक उपलब्धि निरन्तर उकालोलाग्दो छ । एसएलसीमा सप्तरीको औसत उत्तीर्ण दर ८ देखि ९ प्रतिशत रहेकोमा यो विद्यालयको नतीजा ३० प्रतिशत भन्दा माथि छ ।

यहाँ शिक्षकहरू कक्षाकोठामा तयारीका साथ प्रस्तुत हुन्छन् । आज के कस्ता क्रियाकलाप गराउने, के कस्ता सन्दर्भ सामग्रीको प्रयोग गर्ने जस्ता विषय समेटिएको ‘पाठ नोट’ मा प्रअको हस्ताक्षर गराएर मात्रै शिक्षक कक्षाकोठामा छिर्नुपर्ने नियम नै बसालिएको छ । प्रअले कक्षा शिक्षणकै पनि निगरानी गर्दछन् । कक्षा निरीक्षणपछि आवश्यक परे सम्बद्ध शिक्षकलाई प्रअले पृष्ठपोषण पनि दिन्छन् ।

कक्षाकोठामा विद्यार्थीकेन्द्रित शिक्षण विधि अन्तर्गत छलफल, समस्या समाधानदेखि प्रश्नोत्तरलगायतका क्रियाकलाप गराएको बाहिरबाटै पनि देख्न सकिन्छ । बेला–बेलामा अभिभावक भेला गरी विद्यालयका प्रगति सुनाइन्छ र कमी–कमजोरी सुधार्ने विषयमा छलफल गरिन्छ । कोही शिक्षक फुर्सद छ भनेर बस्ने अवस्था हुँदैन । कतै पिरियड खाली भए छिरिहाल्छन् ।

विद्यालयमा राजनीति गर्ने र गफ चुटेर नपढाउने अवस्था छैन । “शिक्षकको जिम्मेवारीप्रति खेलबाड गर्न कुनै अवस्थामा पनि दिइनँ” प्रअ यादव सम्झ्न्छन् । यो विद्यालयको सिकाइ उपलब्धि, मावि तहको अंग्रेजी, विज्ञानको ५० प्रतिशत र गणितको ३९ प्रतिशत छ । प्रावि तहको सिकाइ उपलब्धि ४० प्रतिशतभन्दा माथि छ ।

यहाँ शिक्षकहरूले बुझएर पढाउने र कमजोर विद्यार्थीका लागि कोचिङको व्यवस्था भएकाले पनि विद्यार्थी विद्यालयप्रति सन्तुष्ट देखिन्छन् । घर पायक नपर्ने विद्यार्थीका लागि छात्रावासको पनि व्यवस्था छ ।

पाँच महीना लामो मधेश आन्दोलनका वेला जम्मा १६ दिन मात्रै विद्यालय बन्द रह्यो । विद्यालयको कडा अनुशासन अनि प्रअको निरन्तर उत्साह र जाँगरलाई शिक्षक तथा अगुवा अभिभावकहरूले समेत साथ दिएकाले विद्यालयले प्रगति गर्दै गएको शिक्षक मित्रानन्द चौधरीले बताए । “विद्यालयको शौचालय र स्कूल सफा गर्ने र विद्यालयको हितमा रात–दिन खटिने भरत सर जस्ता शिक्षक मधेशमा पाउन गाह्रो छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवुलाल चौधरीले भने ।

विद्यालयको आर्थिक हिसाब–किताब पारदर्शी राखिएको र नियमित सामाजिक परीक्षण गर्ने गरिएका कारण अहिलेसम्म महेन्द्र जनता उमावि आर्थिक विवादमा परेको छैन । यस विद्यालयमा व्यवस्थापन समिति पनि सधैं निर्विरोध चयन हुँदै आएको छ ।

तराई–मधेशका अधिकांश सामुदायिक विद्यालयमा हुने फोहोरी राजनीति र आर्थिक अनियमितताको सन्दर्भमा महेन्द्र जनता उमाविको यो पक्ष सबैका निम्ति अनुकरणीय हुनसक्छ । शिक्षकहरूबीच सहकार्य र सामूहिक भावना, व्यवस्थापन समितिले प्रअलाई निरन्तरको सहयोग र समुदायले पनि विद्यालयप्रति देखाएको चासोको कारण विद्यालयको अवस्था फेरिएको हो ।

विद्यालयमा अभिभावक नियमित आउँछन् । अभिभावककै सहमतिमा विद्यालयले कक्षा ९ र १० मा दलित छात्रछात्रा बाहेकका विद्यार्थीसँग मासिक रु.५० शुल्क लिंदै आएको छ । विद्यालयमा शिक्षक उपस्थिति दर ९५ प्रतिशत छ भने विद्यालयमा भर्ना भएका ८० प्रतिशत विद्यार्थीले मावि तह पार गर्ने गरेका छन् ।

विद्यालयमै ३६ वर्ष बिताएका प्रअ यादव जिल्लाका अन्य सामुदायिक विद्यालयका प्रअ र सप्तरी जिशिकाको तारीफको पात्र बनेका छन् । यादवको खटाइ र समर्पणले विद्यालय नमूना बनेको जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले बताए । हुन पनि, सप्तरी जिल्लाका ४४८ वटा सामुदायिक विद्यालयमध्ये महेन्द्र जनता भौतिक, शैक्षिक आदि धेरै हिसाबले नमूना बन्न पुगेको छ ।

२०१२ सालमा प्रावि तहबाट शुरूआत भएको विद्यालय २०२९ सालमा निमावि बने पनि भौतिक पूर्वाधार दयनीय हालतमा थियो । निमावि स्थापना भएको ६ वर्षपछि प्रअ भएर आएका यादवले स्थानीय राजनीतिक दल र समुदायको सहयोग लिएर काम गर्न थालेपछि विद्यालयको भौतिक पूर्वाधारले काँचुली फेरेको हो ।  

अहिले कक्षामा पर्याप्त डेस्क–बेञ्च छन् । आदर्श र प्रेरणादायी वाक्यले विद्यालय सजिएको छ । पिउनेपानी, खेल्ने ठाउँ, शीतल ताप्ने चौतारी, कार्यक्रम गर्ने स्थलदेखि कम्प्युुटर कक्ष, विज्ञान प्रयोगशाला आदिका साथै २०४५ सालपछि तीन वटा भूकम्प प्रतिरोधी भवन पनि बनेका छन् । एउटा सुविधासम्पन्न विद्यालयमा हुनुपर्ने सबै कुरा यो विद्यालयमा छ ।

विद्यालयको हाता सफा, चिटिक्क र हरियालीयुक्त छ । कक्षाकोठा मात्रै होइन शौचालय पनि सफा देखिन्छन् । विद्यालयभित्र फोहोर भेटिए प्रअलगायत सबैले टिप्छन् । हप्ताको एक दिन विद्यार्थीले गर्ने सरसफाइ कार्यक्रममा विद्यालयका सबै शिक्षक सरिक हुन्छन् ।

सरकारी सहयोग विना नै यो विद्यालयले २०६७ सालदेखि उमावि सञ्चालन गरेको छ । उमाविमा व्यवस्थापन र शिक्षाशास्त्र संकाय पढ्न विद्यार्थीले मासिक जम्मा रु.२२५ शुल्क तिर्छन् । विद्यालयभित्रै एशियाली विकास बैंक (एडीबी) को सहयोगमा रु.५५ लाखको लागतमा सामुदायिक सूचना केन्द्र पनि बनिरहेको छ । स्थानीय समुदायका साथै विद्यार्थीले सूचनाप्रविधिको लाभ लिन सकून् भनेर विद्यालयभित्रै सूचना केन्द्र राख्नलाई राजनीतिक दलहरूलाई मनाउन ठूलै कसरत गरेकोे प्रअ यादवले बताए ।

अति सीमान्तकृत मुसहर, दलित आदि समुदायका बालबालिकालाई घर–घरमा पुगेर फकाएर स्कूल भर्ना गरेकोले अहिले विद्यालयमा विद्यार्थी संख्या बढेको प्रअ यादवको भनाइ छ ।

२०३० सालमा धरानको बोर्डिङ्ग निमावि विद्यालयमा सरकारी शिक्षकका रूपमा खटिएका यादव त्यसपछि सप्तरीको डिमन माविमा सट्टा शिक्षकको रूपमा दुई वर्ष काम गरेपछि पुनः स्थायी शिक्षक भएर मेहन्द्र जनता माविमा छिरेका थिए । २०३३ सालदेखि प्रअको जिम्मेवारी सम्हालेका उनले २०५० सालमा राष्ट्रिय शिक्षा पुरस्कार पनि पाए । ३६ वर्ष आवासीय रूपमा विद्यालयमा खटिएर भौतिक र शैक्षिकस्तर उकासेका निमावि प्रथम श्रेणीका शिक्षक यादवको विदाइ विद्यालयले २०७२ चैतमा भव्य रूपमा ग¥यो ।

जिल्ला शिक्षा कार्यालय सप्तरीले उनले विद्यालयको भौतिक र शैक्षिक विकासमा पु¥याएको योगदानलाई स्मरण गर्दै कदर पत्र दिएको छ । अहिलेका निमित्त प्रअ विनोदकुमार शाह भन्छन्, “यादव सरले शुरू गरेका राम्रा कामलाई निरन्तरता दिंदै विद्यालयको शैक्षिकस्तर अझ् उँचाइमा पु¥याएर मधेशकै नमूना विद्यालय बनाउने हाम्रो आकांक्षा छ ।”

गोविन्द

commercial commercial commercial commercial